पानी पैंचो खाने जनताका प्रतिनिधि चढ्छन् ६५ लाखको गाडी
तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ५, फर्तपाका स्थानीय बिहान झिसमिसै खानेपानीको खोजीमा हिँड्छन्। एक गाग्री पानी बटुल्न गृहिणीहरूले बिहान बिताउँछन्।
भिरालो र रातो माटो भएको यस क्षेत्रमा पानीका मुहान खासै छैनन्। बर्खायाममै पनि भएका मुहानबाट एक गाग्री पानी बटुल्न निकै मुश्किल पर्छ।
स्थानीय सरकार गठन भएपछि यो आधाभूत आवश्यकता केही हदसम्म पूरा हुने यहाँका जनताले सपना देखेका थिए। गठन भएको दुई वर्षसम्म समस्या उस्तै हुँदा जनताले स्थानीय सरकारको महसुस गर्न सकेका छैनन्।
गाउँपालिका प्रमुख सन्तबीर लिम्बूकै अनुसार यहाँका जनताले पानी पैंचो खान्छन्। ‘पेप्सी र कोकाकोलाको बोतलबाट यहाँका मान्छे पानी अैंचोपैंचो गर्छन्,’ प्रमुख लिम्बू भन्छन्।
गाउँपालिका प्रमुखकै भनाइले यहाँका जनताको आधारभूत आवश्यकता के हो स्पष्ट पारेको छ। फर्तपाबाहेक यही वडाको भोर्ले, ओख्रे साबिक २, ३, ५ र ६ का जनता पनि खानेपानी समस्या झेलिरहेका छन्।
आधारभूत आवश्यकता धान्नै मुस्किल परिरहेको यही गाउँपालिका अध्यक्ष लिम्बूले आफ्नो लागि ६५ लाख रुपैयाँको गाडी खरिद गरेका छन्। आधारभूत आवश्यकताबाट बिमुख भइरहेको गाउँपालिकाका अध्यक्षले महंगो गाडी खरिद गरेपछि स्थानीय छक्क परेका छन्।
प्रमुखका लागि भर्खरै इसुजु कम्पनीको महंगो गाडी गाउँपालिकामा आएको छ। यो देखेपछि जनताले प्रश्न गर्न थालेका छन्, ‘यस्तो महंगो गाडी कहाँ कुदाउने? यो गाडी चढेर गाउँले प्रमुखले के अवलोकन गर्लान्? फर्तपाका गृहिणीहरू खानेपानीको रित्तो गाग्रो बोकेर पानी खोज्दै भौंतारिरहेको हेर्लान् या पढाइ छोडेर आरन चलाइरहेको विश्वकर्माको छोरोको दुःख?’
वडा नम्बर ५ घर भई हाल शुक्रबारेमै बसिरहेका मिलन पौडेल यो महंगो गाडी चढेर गाउँले प्रमुख त्यस्ता क्षेत्रमा पुग्न सक्ने सम्भावना देख्दैनन्। उनी भन्छन्, ‘यस्तो बिलासी गाडी कुद्ने बाटो कहीँ कतै छैन। रहरले यस्तो मोटर किन्नुभएको होला।’
उनको घर डिहिगाउँमा स्थानीय सरकार गठन भइकन खानेपानी पुगेको छैन। खोल्साखोल्सीमा भएका पानीका मुहान सुकेका छन्। ‘हामीलाई त पानीकै समस्या छ, पानीको समस्या कम भए पनि अरू धेरै समस्या भुल्न सकिन्थ्यो,’ उनी भन्छन्।
कतिपय वडामा बाटोघाटोको ट्रयाक खोलिएको छ। मुस्किलले ट्याक्टर पुग्छ। वर्षायाम सुरू भएपछि ट्याक्टर चल्दैन। सुदाप, ओख्रे र पञ्चकन्यामा बाटो केही सुध्रिएको छ। हिउँदमा यहाँ बस पुग्छ।
गाउँपालिकाका सबैतिर बाटो पुगेको छैन। गाउँपालिकाको आम्दानी स्रोत केही पनि छैन। निकासी कर, हाट बजारबाट वर्षमा दुई चार लाखसम्म संकलन हुन्छ। गाउँपालिका कार्यालय रहेकै शुक्रबारे बजार पूरै ऐलानी जग्गामा छ। हाट बजारबाहेक यहाँबाट घर जग्गा तथा अन्य कुनै किसिमको कर उठाउन सकिएको छैन। केन्द्रीय र प्रदेश सरकार यो गाउँपालिकाको आम्दानीको प्रमुख स्रोत हो।
शुक्रबारे बजारसम्म सडक पिच हुन सकेको छैन। ग्राभेल सडक बनिरहेको छ। यस बर्खायाममा शुक्रबारेसम्म बस पुग्न निकै मुश्किल छ। यसपटक सडक पिच गर्ने योजना भएकाले यो समस्याबाट पार लाग्ने गाउँपालिका प्रमुख लिम्बू बताउँछन्।
साबिक ५ र ६ नम्बर वडाका जनता त खानेपानीकै समस्याले बसाइँ सरिरहेका छन्। गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष पुण्य ढकाल भन्छन्, ‘कोही खानेपानी भएको क्षेत्रमा सर्छन्, वैदेशिक रोजगारीबाट अलिअलि पैसा जोहो गरेका जनता तराईतिर बसाइँ सर्छन्।’
यही गाउँपालिकाकै पञ्चकन्या, फाक्चामारा, हाकपारा, दोबाटेलगायत ठाउँका स्थानीय पनि खानेपानी समस्याले आजित छन्।
उता, वडा नम्बर ३ पञ्चकन्याका स्थानीय खानेपानी लिन गाग्री बोकेर झिसमिसै कुवा र धारामा पुग्छन्। यस क्षेत्रमा मुहान सुक्दै गएपछि खानेपानी समस्या बढ्दै गएको स्थानीय पदम दाहाल बताउँछन्। पञ्चकन्याको साबिक ४ र ५ मा रहेका धारामा पानी भर्न स्थानीयको भीड नै लाग्ने गरेको उनले बताए।
करीब ८०० घर रहेको यस क्षेत्रमा जोडेका धारा पुराना छन्। टोलटोलमा धारा छन्, पानी छ महिना आउँदैन। खानेपानी समस्या समाधान गर्न ‘डिप बोरिङ’ गरी पानी निकालिए पनि १६ हजार ७१५ जनसंख्या रहेको छथर गाउँपालिकाका एक हजार घरमा पानी पुग्न सकेको छैन।
खानेपानीकै समस्याले पिरोलिएका जनताका छोराछोरीलाई शिक्षादीक्षा मुस्किल छ। स्कुलका भवनहरू चुहिन्छन्, कतिपय भत्केका छन्। ‘वर्षा हुँदा छानो चुहिएर पठन-पाठन बन्द गर्नुपर्ने स्थिति छ,’ श्री भगवती उच्च माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक ढुण्डीराज ढकाल भन्छन्, ‘समस्या लिएर पहिले शिक्षा कार्यालयमा धायौं, अहिले स्थानीय सरकारमा धाइरहेका छौं।’
यस्ता समस्याका बीच महँगो गाडी खरिदको औचित्यबारे गाउँपालिका प्रमुख लिम्बू भन्छन्, ‘गाउँका आवश्यकताहरू विस्तारै पूरा हुँदैछन्। ठूलै आवश्यकता महसुस भएरै नयाँ गाडी खरिद गरिएको हो।’
स्थानीयका अनुसार लिम्बू सो गाडी चढेर धनकुटाको सिधुवा बजार हुँदै वसन्तपुर, तेह्रथुमसम्म पुग्न सक्छन्। सिधुवाबाट कोसी राजमार्ग हुँदै केन्द्रीय सरकार र प्रदेश सरकारसम्म जान सक्छन्। तर, गाउँ-गाउँ पुग्न सक्दैनन्।
लिम्बूले भने गाउँपालिकाका सबै स्थानमा यो गाडी गुड्ने दाबी गरे। ‘भौगोलिक विकटता भएको क्षेत्रमा गुड्ने खालको मोटर खरिद गरिएको हो, अलि बढी महंगो पर्दो रहेछ,’ उनले भने।
लिम्बूका अनुसार पहिले एउटा गाडी भाडामा चलाइएको थियो। भाडामा चलाउँदा खर्च बढेपछि सवारीसाधन आवश्यक देखियो। ‘मोटरसाइकलमा सबैतिर हिँडडुल गर्न निकै कठिन हुँदो रहेछ, त्यसैले गाडी नै चाहियो,’ उनले भने, ‘कार्यक्रम हुँदा गाउँपालिकाको टिम नै लिएर हिँड्नुपर्छ, त्यसका लागि पनि गाडी चाहियो।’
प्रशासकीय अधिकृत सूर्य भण्डारीका अनुसार प्रमुखका लागि बाहेक चार वटा मोटरसाइकल दुई लाख १७ हजारका दरले आठ लाख ६८ हजार र दुई लाख ६० हजारमा थप अर्को एउटा मोटरसाइकल खरीद गरिएको छ। यसहिसाबले ७५ लाख रुपैयाँ त यो गाउँपालिकाले सवारीसाधन खरिदमै सिध्याएको छ।
भण्डारीका अनुसार बिखेमा ४० लाख रुपैयाँमा खानेपानी आयोजना सुरू गरिएको छ। ‘डिप बोरिङ’बाट खानेपानी निकाल्न थालिएको पनि थियो। गाउँपालिकाका ७०० घरमा पानी पुग्न थालेको थियो।
यहीबीचमा उपकरण खरिदमा व्यापक भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो। १८ लाख पर्ने उपकरणलाई ३२ लाख परेको बिल बनाएर गाउँपालिका प्रमुख तथा कर्मचारीले अनियमितता गरेको आरोप लागेको छ। अख्तियारले अनुसन्धान सुरू गरेसँगै यो खानेपानी थप अगाडि बढ्न सकेको छैन।
लिम्बूले भने यस वर्षभित्र यो खानेपानी पूरा हुने बताए। आगामी आर्थिक वर्षमा तीन करोडका तीन खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य रहेको उनले बताए। यी पूरा भए भने सबै घरमा खानेपानी पुग्ने उनको भनाइ छ। खानेपानी, बिजुली, सडकलगायतमा चालू वर्षमा १३ करोड बजेट खर्च भइरहेको उनले बताए।
आम्दानीको स्रोत नहुँदा बजेट परिचालनमा समस्या भएको उनी बताउँछन्। ‘आम्दानीको स्रोत खासै केही पनि छैन, स्रोत नहुँदा बजेटमा माथिकै भर परिरहेका छौं,’ उनले भने।
तेह्रथुम भौगोलिक विकटतासँगै आर्थिक स्रोतसाधनको अभाव भएको जिल्ला हो। यही जिल्ल्लाभरका गाउँपालिकाले यसपालि करोडौंका बिलासी गाडी किनेका छन्।
महँगा र बिलासिताका सवारी खरिदपछि स्थानीयका आधारभूत तथा तत्काल आवश्यक विकासका कार्यहरू ओझेलमा परेका छन्।
म्याङ्लुङ नगरपालिकाले ५५ लाखमा एउटा स्कार्पियो गाडी खरिद गरेको छ। २९ लाखमा १० वटा मोटरसाइकल खरिद गरेको छ।
१९ लाखमा एउटा ट्याक्टर किनेको छ। कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी गरिरहेको छ। नगरपालिकाले पहिले ३० लाखमा किनेको पिकअप गाडी चलिरहेकै छ।
लालीगुराँस नगरपालिकाले ३३ लाखको गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ। नौ वटा मोटरसाइकल दुई लाख १७ हजारका दरले, तीन वटा दुई लाख ६० हजारका दरले र बाँकी तीन वटा भने दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरीद गरेको छ।
मेन्छ्यायेम गाउँपालिकाले ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरिद गरेको छ। दुई लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरिद गरेको छ।
फेदाप गाउँपालिकाले ५४ लाख १५ हजारको स्कार्पियो गाडी र पाँच लाख ९४ हजार ९०० का दरले तीन वटा मोटरसाइकल खरिद गरेको छ।
आठराई गाउँपालिकाले ५२ लाखमा एउटा स्कार्पियो गाडी र दुई लाख १५ हजारका दरले चार वटा मोटरसाइकल खरिद गरेको छ सेतोपाटीले जनाएको छ ।