कनकमणिको हत्याप्रयासमा प्रहरी नै



हाम्रो इकोनोमि

 

 

यदि कुनै शक्तिकेन्द्रले चमत्कार देखाएन र अभियुक्तको बयानलाई प्रहरीभित्रै गुपचुप राखिएन भने केही समयमै सुडान र सुनकाण्डभन्दा पनि डरलाग्दो एउटा काण्ड पटाक्षेप हुँदैछ । बयान दिने व्यक्तिहरूको मानसिक सन्तुलन ठीक छैन, कसैको उक्साहटमा बकाइएको प्रमाणित भए अर्कै कुरा, नत्र अब प्रहरीभित्र हलचल मच्चिने घटना टर्न मुस्किल भएको अनुसन्धानरत प्रहरीहरू बताउँछन् ।

 

अपराधीको बयान हो, ‘नागरिक अगुवा तथा पत्रकार कनकमणि दीक्षित कात्तिक महिनाभित्रै मारिँदै थिए । पाटनढोकामा उनको अफिस (हिमाल मिडिया, मदन पुस्तकालय) र घर छ । विहान र साँझ उनकै घर परिसरमा अवस्थित ‘ढोकैमा क्याफे’ मा कफी पिउन निस्कने गरेका छन् ।

 

सकेसम्म बिहानै, नभए पनि बेलुकी क्याफेभित्र छिरेर कञ्चटमा पेस्तोल ताक्ने । त्यो क्याफेबाट भाग्ने ठाउँ थुप्रै छन् । अगाडिबाट भागे पनि, पछाडिबाट भागे पनि हुन्छ । पछाडिबाट भागे पाटनको गल्लीतिर छिर्दा सजिलो । अगाडिबाट भाग्दा चाकुपाट हुँदै दायाँबायाँ जता गए पनि सुरक्षित हुइन्छ ।’

 

बानेश्वर खरिबोटमा ०७४ असोज २३ गते दिउँसो मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचनको हत्यामा संलग्न व्यक्तिहरूको छानवीनका क्रममा पक्राउ परेका अभियुक्तले यस्तो गम्भीर घटनाको खुलासा गरेका हुन् ।

 

नेपालको राजनीतिक र सुरक्षा प्रशासनलाई असफल बनाउने गरी रचिएको कनकमणि हत्याको यस्तो योजनामा केही प्रहरीको संलग्नताबारे पनि अभियुक्तले बयान दिएका छन् । गौचन हत्याको अभियोगमा पक्राउ परी पुर्पक्षको लागि जेल चलान भएका गुण्डा नाइके समीरमानसिंह बस्नेत उक्त घटनाका मुख्य योजनाकार थिए । समीरकै बयानका आधारमा प्रहरीको अपराध महाखाशा थप कसुरदारको खोजीमा थियो ।

 

उक्त टोलीले गत कात्तिक १२ गते झापाको काँकडभिट्टाबाट अम्बरबहादुर राना मगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई पक्राउ ग¥यो । यी तीनले दिएको बयानका आधारमा ६ दिनपछि, अर्थात् कात्तिक १८ गते समीरमानकी पत्नी माया शेरचन पक्राउ परिन् । कारण थियो, ‘हाईप्रोफाइल मर्डर’ को तयारी । यसअघि ०७३ चैत २९ गते गौरीघाट, नयाँबस्तीस्थित फिट्नेस क्लबमा छिरिरहेको बेला अज्ञात समूहले दावा लामामाथि गोली प्रहार गरेको थियो । कात्तिक १२ मा पक्राउ परेका अम्बर, लोप्साङ र रोशनले एउटै कुरा बताए, त्यसदिन दावामाथि प्रहार गरिएको पेस्तोल र गौचनको हत्यामा प्रयोग भएको पेस्तोल समीरपत्नी मायाले दिएकी थिइन् ।

 

यीमध्ये लोप्साङ इटहरीका हुन् । बुटवलमा मारिएका दुर्गा तिवारीलाई गोली हान्ने उनै थिए । त्यसको जिम्मा मनोज पुनले लिए । अर्थात्, पछिल्लो समय आपराधिक क्रियाकलापमा मनोज पुन र समीरको मिलेमतो थियो । दावालाई गौरीघाटमा गोली हान्ने राम राना हुन्, तर जिम्मा लिए लोप्साङले । दशैंअघि गौशालास्थित पशुपति भिजनमा गणेश लामालाई लक्ष्य गरी गोली चलाउने पनि राम नै थिए ।

 

यसरी एकपछि अर्को समीरको योजनामा व्यक्ति हत्या गर्ने र त्यसका लागि आवश्यक हतियार, सेल्टर र खर्च पत्नी मायाले उपलब्ध गराउने गरेकी थिइन् । उनैले ‘कात्तिकभरि काम सिध्याउनुपर्छ’ भनी ‘हाईप्रोफाइल मर्डर’ का लागि तयार हुन उनीहरूलाई खबर पठाएको बताइन्छ । समीर गत वर्ष मंसिरमा भारतबाट पक्राउ परे ।

 

उनी पुर्पक्षका लागि जेल चलान भएपछि पत्नी माया उनलाई छुटाउन विभिन्न शक्तिकेन्द्र धाइरहेकी थिइन् । संगठित अपराध र कर्तव्य ज्यान मुद्दा लागेका समीरले जेल चलान भएको केही दिनपछि पत्नीलाई जेलकै ल्याण्डलाइनबाट फोन गरेर कुनै प्रहरी कर्मचारीले भेटेर योजना बताउने हँदा त्यहीअनुसार चल्न भनेका थिए । पक्राउ परेका समीरका सहयोगीले दिएको बयानअनुसार, मायाले उनीहरूलाई फलानो–फलानो प्रहरीबाट खतरा नरहेको भनी नाम पनि टिपाएकी थिइन् । ती नाम उनीहरूले बयानमा भनेका छन् ।

 

उनीहरूले नै कनक हत्याका लागि मायालाई प्रेरित गरेको हुनसक्ने आशंका बयानमा व्यक्त गरेका छन् । यस्तो स्थिति आएपछि कतिपय प्रहरीहरू जागिरबाटै पन्छिएका छन् । नाम पोलिएको समूहका एकजना प्रहरी अधिकृतले हालै राजीनामा दिएका छन् ।

दावाको डर

 

समीरमान समूहबाट गोली प्रहार गरिएपछि काठमाडौं छाडेका क्यासिनो लगानीकर्ता दावा लामा अहिले सिक्किममा छन् । उनी तरुण दल, काभ्रेका अध्यक्ष पनि हुन् । गत वर्ष फुटवलको सट्टेबाजीमा संलग्न भएको आरोपमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिलिगुडी, बागडोरा उड्ने क्रममा पक्राउ परेका थिए । पछि सफाइ पाएर रिहा भए । रिहालगत्तै बैंकक, दुबई र सिक्कितिर बस्न थालेका हुन् । काठमाडौंमा प्रहरी संरक्षित आपराधिक समूहबाट आफू खतरामा रहेको बताउने गरेका छन् ।

 

उनीमाथि गोली प्रहार हुँदा समीरमानको समूह प्रयोग भएको, तर योजनाचाहिँ गिरी थरका अर्का उनीजस्तै व्यवसायीले गरेको बताउँछन् । समीरमानका सहयोगीहरूले बयानमा उल्लेख गरेका प्रहरीहरू गिरीसँग पनि निकट रहेको कारण आफू खतरामा रहेको र नेपाल छिर्न नसक्ने उनको दाबी छ ।जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...