युवतीका कारण तनावमा पूर्वरक्षामन्त्री
एक युवतीका कारण कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान तनावमा परेका छन् । संगीता अधिकारी नामक युवतीले प्रधानलाई प्रयोग गरी मानवतस्करीको प्रयास गरेको घटना यतिबेला प्रहरीले अनुसन्धान थालेपछि मन्त्री प्रधान समस्यामा परेका हुन् ।
प्रधान रक्षामन्त्री भएको बेला उनको सहयोगी बनाएर क्यानडा लैजाने भन्दै संगीताले १ करोड रुपैयाँ भन्दा धेरै उठाएकी थिइन् । त्यसका लागि सबै कागजपत्र समेत मन्त्रालयले तयार गरेको थियो । भिसा समेत जारी भइसकेको भनेर देखाएर पैसा उठाइको थियो । तर, कार्याक्रम रद्द भएपछि मानवतस्करी प्रकरण बाहिर आएको हो ।
संगीतालाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा मन्त्रीका पीएहरुको संलग्नता प्रष्ट देखिएको स्रोत बताउँछ ।
पक्राउ परेकी संगीता फुटबल खेलाडी निराजन रायमाझीकी श्रीमती हुन् । उनको मन्त्री प्रधानसँग चिनजान थियो । त्यही चिनजानको फाइदा उठाउँदै उनले मानवतस्करीको प्रयास गरेकी हुन् ।
‘क्यानडा नेपाल डेभलपमेन्ट फाउन्डेसन’ नामक संस्थाको आयोजनामा हुने ‘युथ आर पावर अफ द कन्ट्री एण्ड द प्राइभेट सेक्टर आर की अफ डेभलपमेन्ट’ नामक कार्यक्रममा सहभागी गराउने र कार्यक्रम पश्चात उनीहरुलाई क्यानडामै लुकाउने योजना बनेको थियो ।
सीएनडीएफ क्यानडाका प्रेजिडेन्ट ढुण्डीराज खनाल थिए । उनै खनालसँग मिलेर अधिकारीले पैसा कमाउने योजना बनाएकी थिइन् । कार्यक्रममा मन्त्रीलाई बोलाउने र सहयोगी बनाएर पाँच युवालाई क्यानाडा लैजान लागिएको थियो ।
कार्यक्रममा पीडितहरु रामदत्त पाण्डे पर्सनल सेक्युरिटी, इन्द्रमान महर्जन रक्षामन्त्रीका पर्सनल असिस्टेन्ट, रत्न महर्जन इन्द्र महर्जनको स्पाउज (पत्नी), नवीन तामाङ लिडर एडभाइजर, सुधीन खड्का, देवराज कार्की युथ लिडर, धिरेन्द्र कुमार पुलामी, थिरमणि भण्डारी, विकास खत्री र जयराम सुकुभाटु पर्सनल सेक्युरिटी रहने कागजपत्र बनाई भिसा प्रक्रिया अघि बढाइएको थियो ।
प्रहरीका अनुसार उनले प्रतियुवा आठदेखि २६ लाख रुपैयाँका दरले रकम संकलन गरेकी थिइन् । सबै गरी अहिलेसम्म एक करोड ३८ लाख रुपैयाँबराबरको ठगी भएको भन्दै उजुरी परेको प्रहरीको भनाइ छ । उनी ६ महिनादेखि बेपत्ता थिइन् । ‘झन्डै डेढ करोड रुपैयाँ ठगी भएको भन्दै जाहेरी परेको छ ।
आकर्षक रोजगारीमा पठाइदिने भन्दै रकम संकलन गर्ने गरेको पीडितको भनाइबाट खुलेको छ । उनलाई हामीले ६ महिनाअघिदेखि खोजिरहेका थियौँ,’ महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने ।
कबोल गरेअनुसार क्यानडा पठाउन नसकेपछि संगीताले पैसा लिएका युवकहरूलाई विभिन्न बैंकको चेक काटेकी थिइन् । तर, उनले काटेका सबै चेक बाउन्स भएको प्रहरीले जनाएको छ । संगीताले काटेको चेक बाउन्स भएपछि मात्रै पीडितहरू कानुनी उपचारका लागि उजुरी दिन प्रहरी कार्यालय पुगेका थिए ।
प्रहरीका अनुसार उनले भक्तपुरका जयराम सुकुभुटुसँग २० लाख, रामकृष्ण सुवालसँग १९ लाख ९० हजार, दोलखाका सुदिन खड्कासँग २६ लाख २० लाख, काभ्रेका धीरेन्द्रकुमार पुलामीसँग २२ लाख ५० हजार र नवीन तामाङसँग २३ लाख २५ हजार रुपैयाँ लिएकी थिइन् । त्यसरी उठाएकोमध्ये केही पैसा उनले तत्कालीन मन्त्री प्रधानका सहयोगीलाई समेत बुझाएको अनुसन्धानमा खुलेको छ ।
विगतमा यसरी मन्त्रीहरुसँग विदेश पठाएर मानवतस्करी हुने गरेको थियो । आफ्नै चिनजानका संस्थामार्फत् कार्यक्रम गराउन लगाउने र सोही कार्यक्रममा निमन्त्रणा पठाएर मानवतस्करी हुने गरेको छ । दृष्टि साप्ताहिकबाट