कम्युनिष्ट आन्दोलनको समस्या नै भ्रष्टीकरण हो- नारायणकाजी श्रेष्ठ, प्रवक्ता, (नेकपा)



 

१० वर्षको अन्तरालमा तपाईं तेस्रोपटक पार्टी एकतामा निर्णायक भूमिकामा देखिनुभयो । एकता केन्द्र हुँदै नेकपा माओवादी केन्द्रसँग जोडिएका सबै परिचय अब इतिहास बने । कस्तो लाग्दो रहेछ बारम्बार परिचय फेरिँदा ?
कम्युनिष्ट भनेका गतिशील क्रान्तिकारी हुन् । त्यसकारण तत्कालीन परिस्थितिको ठोस विश्लेषण गरेर नै हामीले निर्णय गर्नुपर्ने हुन्छ । र, हरेक पटकका निर्णयले तत्कालीक परिस्थितिको सन्दर्भमा सही निर्णय नै गरेको पुष्टि गरेको छ । हामीले शान्तिप्रक्रिया सफल पारेर नयाँ संविधान बनाउनका निम्ति पार्टी एकीकरण गरेर एकीकृत नेकपा माओवादी बनायौँ, त्यो सही नै थियो ।

 

अहिले संविधान निर्माण गरिसकेपछि संविधान कार्यान्वयनको नेतृत्व पनि कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूले लिनका लागि दुईवटा पार्टीका बीचमा एकता जरुरी थियो । त्यो एकता ऐतिहासिक वस्तुगत आवश्यकताले निर्देशित गरेको थियो ।  त्यसैले हामीले आत्मगत रूपले पहलकदमी गरेर पूरा गरेका छौँ । त्यसकारण पहिचान चैँ हाम्रो के हो भने, हामी कम्युनिष्ट क्रान्तिकारी हौँ । र, हामीले नेपाल र नेपाली श्रमजीवी वर्गको आवश्यकताअनुसार सही सही निर्णय गरेरै जानुपर्छ भन्ने कुराको पहिचान बनाएका छौँ ।

 

त्यसो हुनाले मलाई यो पहिचानबाट म आनन्दित नै छु । एउटै पार्टीको पहिचान सधैँ भइरहनुपथ्र्यो भन्ने हुँदैन । नामको होइन, कम्युनिष्ट क्रान्तिकारीको पहिचान छ कि छैन, देश र जनताको पक्षमा सही निर्णय गर्ने प्रवृत्तिको पहिचान छ कि छैन भनेर हेर्दा यो पहिचानबाट म खुसी नै छु ।

 

तर, पार्टी एकतापछि लामो समय अलमलमै बितेको देखिन्छ, नेकपाको राजनीतिक संगठन तलसम्म पु¥याउने काममा गतिशीलता देखिँदैन । के कमजोरी भयो ? 
पार्टी एकीकरण नेपाली समाज र नेपाली कम्युनिष्ट आन्दोलनको वस्तुगत आवश्यकताको उपज थियो । त्यसले एउटा परिणाम राम्रै दियो कि, करिब दुईतिहाइ बहुमतसहितको संघीय सरकारको हैसियत प्राप्त ग¥यौँ । यस्तै, ६ वटा प्रदेशमा सरकार सञ्चालन गर्ने तथा स्थानीय तहहरूमा पनि हामीले बहुसंख्यामा नेतृत्व गरिराखेका छौँ ।

 

तर, यो पार्टी एकतालाई पूर्णता दिनका निम्ति सांगठनिक एकीकरणको काम तलसम्म समयमै पु¥याउन सकेनौँ । त्यसले गर्दा पार्टीका यत्रा कार्यकर्ता, सदस्य जिम्मेवारीविहीन अवस्थामा, कमिटीविहीन अवस्थामा छन् । यो निश्चित रूपमा दुःखद र नकारात्मक कुरा हो । यो हाम्रो कमजोरी हो । समय घर्किन लागिसकेको छ । त्यसैले हामीले यो कमजोरीलाई समयमै सच्याउने दिशातर्फ पहलकदमी गरेका छौँ । सांगठनिक एकीकरणको कामलाई पूर्णता दिन बैठक बसिराखेका छौँ ।

 

अहिले सचिवालयको बैठक बस्दैछ । त्यसपछि हामी स्थायी समितिको बैठक बस्छौँ, र प्रदेश कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरण, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिल्ला कमिटीहरूको पनि एकीकरण प्रक्रियालाई अगाडि बढाउने गरी पहलकदमी गर्छौं र सांगठनिक एकीकरणको प्रक्रिया पूर्णताको दिशातिर लैजान्छौँ । म दोहो¥याएर भन्छु, कमजोरी भयो सच्याउनेतिर हामी छौँ ।

कमजोरी सच्याउनेतिर जाँदैछौँ त भन्नुभयो । कमजोरी भयो भन्ने महसुस गर्ने तर, नसच्चिनै रोग झाँगिँदो छ । अहिले पनि सामूहिक निर्णय प्रक्रिया भएन, विधि र पद्धति मिचियो भन्ने स्वर बढ्दो छ नि ? 
नेपाली कम्युनिष्ट आन्दोलनको समग्रतामा र आम रूपमा तपाईंले कुरा गर्नुभएको हो भने विधि प्रक्रियाको पालनाको समस्या, अन्तरपार्टी जनवादलाई सुनिश्चित गर्ने समस्या र सामूहिक नेतृत्वको अभ्यासको समस्या छँदैछ । त्यो हाम्रो पार्टीमा पनि एउटा वा अर्को रूपमा अभिव्यक्त भएकै छ । तर, जहाँसम्म अहिले हाम्रो ठोस विषयको कुरा छ, सचिवालय बैठकमा छलफल गरिरहेका छौँ ।

 

बैठकमा सबै कमरेडहरूले आआफ्ना धारणा, विचार राख्ने क्रम जारी छ । त्यसआधारमा निर्णयको प्रक्रिया अगाडि बढ्छ र त्यसलाई पनि अझ अगाडि बढाएर हामीले स्थायी समितिको बैठकमा आफ्नो प्रस्ताव पेश गर्छौँ र छलफल गरेर निर्णय गछौँ । त्यसकारण हामीले कमिटीबाटै निर्णय गरेर जान खोजिराखेका छौँ । अब रह्यो पार्टीभित्र कतिपय विषयमा मतभेद असन्तुष्टिका कुरा, एउटा कम्युनिष्ट पार्टीभित्र त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ । कम्युनिष्ट पार्टीभित्र मतभेदहरू राख्ने स्थिति बनेन, मतभेद नै भएन, अन्तरविरोध नै भएन वा अन्तरसंघर्ष नै भएन भने त्यो गतिशील र जीवन्त नै हुँदैन ।

 

कृत्रिम मतभेद खडा गरेर पार्टीमा अन्तरविरोध चलाउने होइन । कम्युनिष्ट पार्टी द्वन्द्ववादमा आधारित गतिशील पार्टी हो । त्यहाँभित्र मतभेदहरूलाई सहज रूपमा स्विकार गरिनुपर्छ । अन्तरविरोधले पार्टीको गतिशीलता र वैचारिक लाइनको परिमार्जनमा योगदान पु¥याउँछ । त्यसकारण पार्टीभित्र कतिपय विषयमा छलफल भएका छन्, हामीले स्वभाविक रूपमा लिन्छौँ र अझ त्यसलाई पार्टीको एउटा अनिवार्य अंगका रूपमा ठान्छौँ ।

 

देशमा तिनवटै तहमा सरकार मूलतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को छ । तर, तलतिर हेर्दा पार्टी देखिँदैन । एकता हुनुअघि नेकपा एमालेको सांगठनिक सुदृढिकरण लोभलाग्दो थियो । एकतापछि त्यसबेलाको माओवादी जस्तै भद्रगोल बन्यो भन्ने गुनासो सुनिन्छ । के भन्नुहुन्छ ?
यो कुरामा सत्य हो जस्तो मलाई लाग्दैन । किनभने हामीले पनि हे¥योँ, नेकपा एमालेको एउटा कुरामा मात्रै नियमितता रहेछ, पार्टीभित्र कमिटीको नेतृत्व र कमिटीका सदस्यहरूको चुनाव गर्ने । त्यो बाहेक, अन्य कुनै संस्थागतता हामीले देखेनौँ । पछिल्लो अवस्थामा उहाँहरूले पनि भन्नुहुन्छ, विधि, पद्धति, संस्थागतता, सामूहिकता एकदम कमजोर भएर गएको सत्य हो । हाम्रो पार्टीभित्र पनि त्यो समस्या थियो ।

 

अझ हाम्रो पार्टीमा त ठूलठूला कमिटी थिए, जसको बैठकै बस्न नसक्ने, विधि पद्दतिको अभ्यासै नगरिने स्थितिमा पुगेको थियो । र, त्यहाँ एकजना दुईजना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष भन्नेहरूले नै पार्टी कमिटीको निर्णय भन्दै आफूले निर्णय गर्दै जाने स्थिति बनिराखेको थियो, स्थानीय कमिटीहरूमा । त्यसकारण हाम्रो यो साझा कुरा बन्या छ, एउटा कुरा त । दोस्रो कुरा, अहिले तल पार्टीहरू छैनन् भन्ने कुरा चैँ सही हो । पार्टीका मान्छेहरू छन्, पार्टी कमिटीहरू छैनन् । त्यो त तथ्य भयो नि त ।

 

किनभने हाम्रो सांगठनिक एकीकरणले कहीँ पनि पूर्णता पाएको छैन । भर्खर प्रदेश कमिटीको पदाधिकारीसम्म बनाएर अहिले सचिवालयले प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दियो । तर, त्यो कार्यान्वयनमा त गएको छैन । किनभने त्यसलाई स्थायी समितिमा लैजानै छ । त्यस्तै, जिल्ला कमिटीहरू छैनन् । जनवर्गीय संगठनहरू छैनन् । तल्ला कमिटीको एकीकरण भइसकेको छैन ।

 

त्यसकारणले पार्टी कमिटीहरू छैन, त्यसअर्थमा पार्टी छैन । पार्टीका कार्यकर्ता र सदस्यहरू छन् जस्तो अहिले भएको छ । यो कुरा सत्य हो । अब हामी सांगठनिक एकीकरणको कामलाई छिटै पूरा गर्छौं र, पार्टीलाई अत्यन्तै गतिशील र सक्रियढंगले अगाडि बढाउँछौँ ।

 

केन्द्रमा पार्टी एकीकरण भएको यतिका समयसम्म तल्ला तहमा पार्टी बन्न सकेको छैन । यस्तो होला भन्ने कहिल्यै सोच्नुभएको थियो ?
थिएन । यस्तो होला भन्ने त कल्पनै थिएन । ६, ७ महिनासम्म सांगठनिक एकीकरणको काम पनि पूरा नहुने, त्यसपछि पार्टीलाई सुदृढ गर्ने, व्यवस्थित गर्ने, रुपान्तरण गर्ने अभियान त बाँकी नै छ । तर, सांगठनिक एकीकरणको समय यति धेरै लाग्ला, ६ महिनासम्म राजनीतिक प्रतिवेदन नै प्रकाशित नहोला जस्तो मैले कल्पना गरेको थिइनँ ।

 

तर, अहिले भोगिएको छ । अहिले यथार्थ त्यही भयो । तर पनि यसबाट हतासिएर भएन, निराश भएर भएन । यसलाई विधिपद्धतिअन्तर्गत अगाडि बढाउन, सांगठनिक एकीकरणको कामलाई टुंगो लगाउन र राजनीतिक रूपमा पनि सही दिशा निर्धारण गर्दै अगाडि बढाउन पनि प्रयत्न गर्ने काम म जारी राख्छु ।

 

किनभने कम्युनिष्ट हुनुको नाताले हामी आलोचनात्मक चेतसहित अगाडि बढ्नुपर्छ । त्यसमा पनि पार्टी एकता हुनुपर्छ । कम्युनिष्टहरू एकठाउँमा आउनुपर्छ भनेर लगातार पहलकदमी गर्ने एउटा मुख्यपात्रका हिसावले पनि मैले आफ्नो नैतिक जिम्मेवारी धेरै महसुस गरेको छु ।

तपाईंले मात्रै महसुस गरेर त हुने होइन होला । समग्रमा ढिला भइसक्यो है भन्ने ‘रियलाइजेसन’ छ कि छैन सचिवालयमा ?
सांगठनिक एकीकरणको सवालमा अब ढिला भयो भन्नेमा चैँ सचिवालयका सबैजसो नेतृत्वदायी कमरेडहरू सहमतै हुनुहुन्छ । तर, समग्रतामा छलफल, बहस अझै बढी आवश्यक छ भन्ने मैले महसुस गरेको छु ।

 

भनेपछि रुपान्तरणको बहस अझै धेरै बाँकी छ ? 
त्यो त धेरै चुनौतिपूर्ण छ हेर्नुस् । नेपाल कम्युनिष्ट पार्टी विश्वमा नै उदाहरण दिन सक्ने राजनीतिक उपलब्धी लिएर अगाडि बढिरहेको छ । यसको अत्यन्तै उज्वल पक्ष हो । त्यसले हामीलाई नयाँ नेपाल फेर्ने ऐतिहासिक अवसर पनि दिएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा पनि आशाको तारोको रूपमा यो स्थापित भएको छ । तर, वैचारिक स्खलन र चारित्रिक भ्रष्टिकरण हाम्रो पार्टीको र समग्रतामा सिंगै नेपाली कम्युनिष्ट आन्दोलनको अर्को ठूलो समस्या बनेको छ ।

 

वैचारिक स्खलन र भ्रष्टिकरणको यो नकारात्मक प्रवृत्ति जसरी तीव्र रुपमा अगाडि बढिरहेको छ, त्यसलाई त्यसलाई रोकेर वैचारिक सांस्कृतिक आन्दोलन चलाएर पार्टीलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता छ । तर, यो तुरुन्तै भइहाल्दैन । एउटा जादुको छडी चलाए जसरी निर्णय गरेको भरमा यो हुने होइन । हामी सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूले हाम्रो पार्टीको यो मुख्य समस्या वैचारिक सांस्कृतिक भ्रष्टिकरणको समस्या हो भन्ने कुरा आत्मसाथ गर्दै वैचारिक सांस्कृतिक अभियान चलाउनुपर्छ  ।

 

र, पार्टीमा एकातिर वैचारिक लाइनलाई स्पष्ट पार्ने, अर्कोतिर सबैलाई नेता–कार्यकर्तालाई वैचारिक रूपले सुसूचित बनाउँदै भ्रष्टिकरण, सांगठनिक रूपमा नोकरशाही केन्द्रियता र अराजकतावादी प्रवित्तिविरुद्ध अभियान छेड्ने, जनवादी केन्द्रियताको अभ्यास गर्दै विधिपद्धितिअनुसार पार्टीलाई सञ्चालन गर्ने यो अभियान हामीले चलाउन सक्नुपर्छ ।

 

माओवादी पार्टीमै हुँदा पनि यहाँले विधि, पद्धति, सामूहिक नेतृत्व, सांगठनिक तथा आर्थिक पारदर्शीताको कुरा गर्नुहुन्थ्यो । एकतापछि बनेको पार्टीमा त्यस्ता थुप्रै समस्या देखिन्छन् । विभिन्न समूह सक्रिय छन् । विधिप्रक्रिया मिचियो भन्ने असन्तोष सुनिन्छ । पारदर्शीता छैन । नेताहरूका जीवनशैली झनझन भड्किलो बन्दै गएको गुनासो बढेको छ । यो प्रवृत्ति फेर्नै नसकिने रहेछ कि के हो ? यहाँको अभियान कहाँ पुग्यो ? 

 

अभियान जारी छ । मलाई यो सरल लागेको छैन । चुनौतिपूर्ण छ, धेरै जटिल छ भन्ने कुरा बोध हुन्छ । तर, सफल हुनै सकिँदैन भन्ने छैन । आशावादी हुँदै प्रयत्न जारी राखिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको जुन वैचारिक र चारित्रिक भ्रष्टिकरणको समस्या छ, यो ठूलो रोग हो र यो लामो समयदेखि छ ।

 

यसका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलनले यति धेरै समर्थन प्राप्त ग¥यो त्यो धेरै ठूलो कुरा हो । राजनीतिक एजेन्डामा यो सफल हुँदै आएको छ । अब चाहीँ यो राजनीतिक एजेन्डाले मात्रै सफलता हासिल गर्दैन । अब चाहीँ व्यवहारमा जनताले आफ्नो जीवन परिवर्तन यो राजनीतिक परिवर्तनबाट भयो कि भएन भनेर हेर्न चाहन्छन् । त्यसका निम्ति हामीले आफ्नो पार्टीलाई शक्तिशाली पनि बनाउने, क्रान्तिकारी पनि बनाउँदै जनमुखी काम गर्न जरुरी छ । यसकालागि ठूलो बहसको खाँचो छ ।

 

ठूलो राजनीतिक उपलब्धी रक्षा गर्दै नेपाली समाजको सामाथिक आर्थिक रुपान्तरणको काम गर्नुपर्छ, यो ऐतिहासिक अवसरलाई चुक्न दिनुहुँदैन र त्यसका निम्ति पार्टीलाई पनि कम्युनिष्ट क्रान्तिकारी पार्टी जस्तो बनाउनुपर्छ भन्ने नेता–कार्यकर्ताको ठूलो जमात नेपाल कम्युनिष्ट पार्टीभित्रै छ । त्यसकारण एउटा ठूलो बहस र छलफलको प्रक्रियाबाट वैचारिक सांस्कृतिक रुपान्तरणको प्रक्रिया अगाडि बढाउन सकिन्छ । यो पार्टीलाई शक्तिशाली पनि र क्रान्तिकारी पनि बनाउन सकिन्छ भन्ने विश्वास मलाई छ ।

विश्व कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेकै छ । हाम्रो दक्षिणको छिमेकी भारतका कतिपय राज्यमा लामो समय शासन गरेका कम्युनिष्ट सरकार धमाधम गिरेका छन् । तर, यहाँ नेकपाको फैलावट बढ्दो छ । यो फैलावट रोक्न, तहसनहस बनाउन बाह्य चलखेल कत्तिको होला ?

 

कम्युनिष्ट क्रान्तिकारीहरूका लागि अन्तर्राष्ट्रिय परिस्थिति त्यति अनुकुल छैन भन्ने कुरा सत्य हो । तर, म के कुरामा दृढ विश्वास राख्छु भने मुख्यतः हाम्रो भूमिकामा नै यो भर पर्छ । त्यसोतः कम्युनिष्ट क्रान्तिकारीबीच पार्टी एकता नहोस्, चुनाव नजितोस् भनेर यहाँभित्रका र दुनियाका प्रतिक्रियावादी शक्तिहरूको संयुक्त चाहना थियो होला । तर, त्यसलाई चिर्न हामी सफल भयौँ । अब कम्युनिष्ट सरकारलाई राम्ररी सञ्चालन गर्न, जनतामा अत्यन्त राम्रो प्रभाव दिन, देश र जनताको पक्षमा लगातार काम गरेर त्यो चरित्र र छविलाई अझ बढी उज्यालो बनाउन सकिन्छ ।

 

त्यसो हुनाले मुख्यकुरा हामीले के गर्छौँ भन्ने नै हो । मलाई अहिले सबैभन्दा बढी चिन्ता पनि त्यसैमा छ । कम्युनिष्ट विरोधी, साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादी शक्तिहरूले कम्युनिष्ट नामको सरकार पनि नटिकोस् भन्ने चाहन्छन् । त्यसकारण उनीहरूको भित्रदेखि हामीलाई समर्थन हुँदैन भन्ने कुरा हामीले बुझेका छौँ । तर, अहिलेको विश्वमा त्यति सजिलो पनि छैन । संविधान हामीले ल्यायौँ । त्यो संविधानअन्तर्गत निर्वाचन गरियो र त्यो निर्वाचनबाट आएको शक्तिसँग सम्बन्ध नराख्ने वा बाह्य रूपमा नै असहयोग गर्न सक्ने स्थिति पनि बन्दैन । हामीले राम्रो काम ग¥यौँ भने कसैले छेक्न सक्दैन ।

 

चिन्ता चैँ हामी आफैँले के गर्छौँ भन्ने हो । हामी हाम्रो उद्देश्यप्रति गम्भीर रूपले प्रतिबद्ध हुन्छौँ कि हुँदैनौँ ? हाम्रो कार्यशैली र जनमुखी, श्रमजीवी वर्गमुखी र राष्ट्रमुखी हुन्छ कि हुँदैन ? मुख्य चिन्ता र चासोको विषय यो हो । हामीले जति हदसम्म आफूलाई राष्ट्र र जनताको पक्षमा प्रस्तुत गर्छौं, जतिहदसम्म श्रमजीवी वर्गको पक्षमा प्रस्तुत गर्छौं, त्यति हदसम्म हामी सफल हुँदै पनि जान्छौँ ।

 

हामीले त्यो काम गरेनौँ भने दुनियाँको कुनै तागतले समर्थन गरेर पनि हामी सफल हुन सक्दैनौँ । हामी सफल हुन सक्छौँ । तर, हामीभित्र गम्भीर र निर्मम आत्मसमीक्षाको आवश्यकता छ । हाम्रा सकारात्मक र सवल पक्षहरूलाई आत्मसाथ गर्दै हाम्रा कमजोर पक्षलाई समयमै सच्याएर अगाडि बढ्यौँ भने निश्चित रूपमा सफल हुन सक्छौँ ।

बुँदागत रुपमा भन्दा नेकपाका अबका कार्यसूची के के हुन् ?
अहिले हाम्रो सचिवालय बैठक बसिरहेको छ । पहिले त हामी अहिले हामी पार्टीको सांगठनिक एकीकरणको कुरा टुंगो लगाउँदैछौँ । दुई, हामी सरकारको समीक्षा गर्छौं र, सरकारलाई पनि सही ढंगले अझ परिणाममुखी र प्रभावकारि ढंगले अगाडि बढाउन मेहनत गर्छौं ।

 

तीन, पार्टीलाई विधि पद्धति र संस्थागत ढंगले सञ्चालन गर्न, पार्टीमा देखा परेको भ्रष्टिकरणविरुद्ध अभियान चलाउन, पार्टीमा जनकार्यशैलीको अभ्यासलाई अगाडि बढाउन मेहनत गर्छौं र चार, महाधिवेशनको सेरोफोरोमा ठूलो वैचारिक सांस्कृतिक अभियान छेड्ने र वैचारिक राजनीतिक कार्यदिशा तय गर्दै पार्टीलाई रुपान्तरण गर्ने अभियानमा लाग्छौँ ।

अब सरकारको कुरा गरौँ । सरकारका कामकारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पहिलो कुरा त, यो सरकारको समग्र समीक्षा गर्ने बेला भइसकेको छैन । सरकारले देश र जनताको पक्षमा केही सकारात्मक पहलकदमी गरेकै छ । सामाजिक न्यायसहितको समृद्धिको पक्षमा केही सकारात्मक काम भएका छन् । स्वतन्त्र परराष्ट्रनीतिको अवलम्बन गर्दै दुवै छिमेकी मित्रहरूसँग समनिकटताको आभारमा मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने र नेपालको बारेमा नेपालीले नै फैसला गर्ने पहलकदमी अगाडि बढाएको छ । यो पहिलो कदम हुनुपथ्र्यो र सरकारले पहिलो कदम सही चालेको छ ।

 

दोस्रो, संविधानमा व्यवस्था गरिएको मौलिक अधिकारहरूको कार्यान्वयनका निम्ति समयभित्रै कानुनहरू बनाउने काम सकेको छ । तेस्रो, संघीय संरचनामा देश गइसकेपछि संघीय कानुन, प्रादेशिक र स्थानीय कानुन, विनियम, निर्देशिकाहरू बनाउनुपर्ने  आवश्यकता थियो, त्यो दिशामा सरकारले सकारात्मक पहलकदमी गरेको छ । यद्यपि, यो काम पूरा भइसकेको छैन । चौथो,  संघीयतामा गइसकेपछि संरचनागत रूपमा कर्मचारीहरूको पुनर्संरचना गर्नुपथ्र्यो ।

 

त्यो काममा वर्तमान सरकारले केही न केही कदम अगाडि बढाएको छ । अर्को महत्वपूर्ण काम, यसले भर्खरै सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रम निश्चित रूपमा निकै ठूलो महत्वपूर्ण, सकारात्मक गुणतत्वयुक्त कार्यक्रम हो, जसले नेपाली जनता विशेषगरी श्रमजीवी जनतालाई निश्चित रूपमा ठूलो लाभ दिन्छ । तर, गर्नैपर्ने, शिर ठाडो पारेर भन्न सकिने केही काम हुन सकेको छैन ।

जस्तो, सरकारले के काम गर्न सकेन ? 
भ्रष्टाचारविरोधी अभियान तीव्र पार्नुपर्ने र सुशासनको प्रत्याभूति गर्नुपर्ने काममा अपेक्षित परिणाम दिन सकिएको छैन । कम्युनिष्ट पार्टीको सरकार आएपछि भ्रष्टाचारीहरू लगलग काम्नुपर्ने, भ्रष्टाचारीमाथि कारबाही भएको देखिनुपर्ने, भ्रष्टाचारीहरू अवसरविहीन अवस्थामा पुगेको र इमान्दार, स्वच्छ छवि भएका मान्छेहरू प्रोत्साहित भएको, जनताका नियमित कामहरू घुस नखुवाई हुने प्रक्रिया तीव्र हुनुपर्ने थियो । यसमा हामीले सोचे जस्तो प्रगति हुन सकेको छैन । सुशासन पनि राम्ररी स्थापित गर्न सकिएको छैन । यो विषयमा हामी पार्टीभित्र गम्भीर समीक्षा गर्दैछौँ ।

विपक्षी दलले मात्र होइन, नेकपाकै कतिपय नेताले सरकारको ‘पफर्मेन्स’ कमजोर भयो भनिरहेका छन् । त्यत्रो जनसमर्थन रहेको सरकार ‘डिफेन्सिभ’ बन्दै गएको छ । के कारण यो अवस्था आयो जस्तो लाग्छ ?

 

यस विषयमा पार्टीमा गम्भीर समीक्षा गरिसकेपछि नै हामी विस्तारमा कुरा गर्न सकौँला । किनभने अहिले सचिवालय बैठकमै यो विषयलाई कार्यसूचीमा राखिएको छ । तर, सामान्यतया देखिने कुरा के हो भने, हामीले पार्टीका घोषणापत्र, कार्यक्रमहरू लागू गर्न जुन गम्भीरता र तत्परता देखाउनुपथ्र्यो, त्यति भएन कि भन्न सकिन्छ, पहिलो त । दोस्रो कुरा, पार्टीले महत्वपूर्ण नीति कार्यक्रम र त्यसलाई लागू गर्ने संरचनाहरूको सन्दर्भमा पार्टीमा छलफल गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा जानुपर्ने थियो । यो विषयमा पनि हामी बैठकमा समीक्षा गर्दैर्छौं ।

 

तेस्रो कुरा, कामको प्राथमिकता निर्धारण गर्ने क्रममा पो कमजोरी भयो कि भनेर पनि समीक्षा आवश्यक देख्छु । चौथो कुरा यो मुख्यकुरा पनि हो, भ्रष्टाचारविरोधी अभियान र सुशासन स्थापित गर्ने अभियानमा सायद हामीले आफूलाई एकदम कठोर बनाउन सकिरहेका छैनौँ । कठोर नभई भ्रष्टाचार अन्त्य र सुशासन स्थापित गर्ने अभियान सफल हुन सक्दैन । त्यसो नभई समृद्धिको सपना पूरा हुन पनि सक्दैन भन्ने कुरालाई हामीले आत्मसाथ गर्न जरुरी छ ।

 

यति हुँदा हुँदै पनि सरकारको एजेन्डा सामाजिक न्यायसहितको समृद्धि नै हो । यसले केही सकारात्मक पहलकदमी गरेको छ । पूर्ण सन्तुष्ट हुन सकिने स्थिति निश्चित रूपमा पैदा भइसकेको छैन । तर, यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउने सम्भावना छ । त्यसका निम्ति हामी गम्भीर समीक्षा गरेर अगाडि बढ्छौँ ।
अहिले पार्टीको कुनै पनि निकायले सरकारलाई गाइड गरेको देखिँदैन । पार्टीले सरकार संचालनमा सुझाब दिने गरी कुनै संयन्त्र बन्ने सम्भावना छ ?
मैले अघि नै भनेँ कि सरकारको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण पक्षहरूमा पार्टीद्वारा निर्देशित हुने स्थिति सुनिश्चित हुनुपर्छ । हामी छलफलकै क्रममै छौँ, सायद त्यो दिशातिर जाला भन्ने आशा गरौँ ।

 

जे होस्, महत्वपूर्ण पक्षहरूमा पार्टीद्वारा निर्देशित हुने स्थिति बन्नुपर्छ । पार्टीले सरकारलाई सहयोग गर्ने त्यसप्रकारको कुनै ‘मेकानिजम’ बन्छ कि बन्दैन भन्नेबारेमा चैँ विचाराधीन छ । अब पार्टीले नै निर्णय गर्ने कुरा हो । निश्चित रूपमा सरकार सञ्चालनको आफ्नै प्रक्रिया छ । दैनिक रूपमा पार्टीले सरकारको कामकारबाहीमा हस्तक्षेप गर्न मिल्दैन । नकारात्मक काममा त पार्टीले झन हस्तक्षेप गर्नै मिल्दैन ।

 

सकारात्मक काममा पनि पार्टीले आधारभूत विषयमा मूलभूत रूपमा गाइड गर्ने हो । त्यो गाइड गर्ने काममा पार्टीले जसरी भूमिका खेल्नुपर्ने हुन्थ्यो, त्यो भूमिका खेल्न के गर्नुपर्छ भनेर पार्टीमा हामी छलफल गर्छौँं ।

 

कर्मचारीतन्त्रको असहयोगले काम हुन सकेन भनेर कतिपय मन्त्रीले नै गुनासो गरेको सुनिन्छ । महत्वपूर्ण मन्त्रालय सम्हालेको अनुभव तपाईंसँग छ । तपाईंको अनुभवले के भन्छ, कर्मचारीतन्त्र बाधक हो कि मन्त्रीहरूमा परिचालन सीप नभएको ?

 

नेपालको परिवर्तनको प्रक्रियाको एउटा कमजोर पक्ष के हो भने न्यायालय र कर्मचारीतन्त्रको पुनर्संरचना भएन । त्यसकारण ती संस्थाहरूले अहिलेको परिवर्तनलाई कति आत्मसाथ गरेका छन् भन्ने प्रश्न उठेकै छ । कर्मचारी प्रशासनमा समस्या नभएको पनि होइन । त्यसकारण जति सहयोगी हुनुपथ्र्यो, त्यति सहयोगी हुन नसकेको भन्ने गुनासो अन्यथा देख्दिनँ । तर, मन्त्रालयको नेतृत्व ‘लिडरसिप’ सही छ भने, स्वच्छ भने, ‘भिजनरी’ (दृष्टिकोणसहितको) छ भने, ‘कम्पिटेन्ट’ (क्षमतावान) छ भने व्युरोक्रेसीलाई हाम्रो कामको पक्षमा ल्याउन सकिन्छ भन्ने मेरो व्यक्तिगत अनुभव छ ।

 

संघीयता कार्यान्वयनको चरणमा छ । तर, सिके राउत र र नेत्रविक्रम चन्द विप्लवका अभियान पनि बढ्दैछन् । यी दुई पक्ष मुलुकका लागि कत्तिको हानिकारक देख्नुहुन्छ ?

हामीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने काममा दृढता देखायौँ र त्यो विषयमा चुकेनौँ भने, संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रूपान्तरणको काममा सफलता हासिल ग¥यौँ र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगको समुदायलाई अधिकारसम्पन्न गर्ने र उनीहरूको जीवनस्तर उठाउने काम ग¥यौँ, सामाजिक न्यायसहितको समृद्धि देशमा ल्यायौँ भने विखण्डनकारी वा देशभित्रका अरु अतिवादी शक्तिहरू स्वभाविक रूपमा कमजोर भएर जान्छन् ।

 

नेपाली समाजको अहिलेको परिवर्तनको प्रक्रियाले स्थायित्व पाउँछ, सुदृढ भएर जान्छ । तर, राष्ट्रियताको पक्षमा चुक्नुभयो वा संविधानको कार्यान्वयनको पक्षमा चुक्नुभयो वा सामाजिक आर्थिक रुपान्तरण गर्न सक्नुभएन, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्नुभएन वा उत्पीडित जाति, क्षेत्र, वर्ग, लिंग र आम जनतालाई यो परिवर्तनबाट मैले यति अधिकार पाएँ भन्ने दिन सक्नुभएन त विखण्डनको खतरा र अतिवादी उग्रवादको खतरा बढ्न सक्छ । तर, मलाई विश्वास छ, हामीले राष्ट्रिय स्वाधीनताको रक्षा गरेर, संविधान कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरणको काम गर्छौँ र सबै अतिवादी र विखण्डनकारी प्रवृत्तिलाई परास्त गर्छौँ ।

सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा नेताबारे अनेक टिप्पणी आउँछन् । नेताहरूले नै कमजोरी गरेर यो ठाउँ दिएको हो कि सामाजिक सञ्जालले मर्यादा नाघेका हुन् ?

यो विषयमा म धेरै टिप्पणी गर्न चाहन्नँ । सञ्चारजगतका साथीहरूले नै समीक्षा गरे हुन्थ्यो भन्ने मलाई लाग्छ । नेपाली मिडियाको विकास तीव्रतापूर्वक भइरहेको छ । तर, यसका साथै, पछिल्ला समय विकृतिहरू पनि झांगिँदै गएको छ । त्यसमा आत्मसमीक्षा गरोस् भन्ने चाहन्छु । त्यसो त नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा अहम् भूमिका खेल्दै ठूलो योगदान पनि गरेको छ ।

 

नेपाली राजनीतिमा थुप्रै फोहोर छ भन्ने लागेर नै म त्यो सफा गर्नुपर्छ भन्ने अभियानमा छु । सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न र अहिलेको परिवर्तनलाई स्थायित्व दिने हो भने अबको काम भनेकै राजनीति सफा गर्ने हो । जहाँसम्म तलाईंले संकेत गर्न खोज्नुभएको विषय हो, त्यसबारे मैले बारम्बार स्पष्ट पारेको छु र, यहाँमार्फत् पुनः स्पष्ट पार्न चाहन्छु कि मेरो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गरिराखेको छु । अब पनि म सम्पूर्ण रूपले देश र जनताको पक्षमा समर्पित भएर बाँच्न चाहन्छु ।

 

मैले मेरो जीवनलाई मुक्ति यात्रा हो भन्ठान्छु । र, मुक्ति यात्राको अभिन्न अंग मैले राजनीतिलाई ठानेको छु । त्यससन्दर्भमा मैले विवाहसम्बन्धी दृष्टिकोण पनि स्पष्ट पारेको छु । त्यसकारण वैवाहिक पारिवारिक सम्बन्धमा प्रवेश गर्ने मेरो सोच छैन । मैले यो कुरा सार्वजनिक रूपमा बारम्बार गरेको छु । तर, पनि केही जिम्मेवार मिडियाले नै मेरो बारेमा भ्रामक समाचार छापेर मेरो चरित्रहत्या गरिरहेका छन् ।
(प्रस्तुति : छविरमण अधिकारी  दृष्टि साप्ताहिकबाट )

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले