कतिपय तीता अमिला कुराहरु छन् , सरकारको दिशा गलत छैनः योगेश भट्टराई
सबैभन्दा पहिले यो बताइदिनुहोस् कि तपाई केको सिलसिलामा युरोप आउनुभएको हो ?
हाम्रोजस्तो मुलुकमा प्रत्येक दिन सडक दुर्घटना बढिरहेको छ । न भनेजस्तो सडक छ, न त सवारी साधनको क्वालिटी नै राम्रो छ । यसै सन्दर्भमा सुरक्षित शहरका लागि सडक सुरक्षा सम्बन्धी विश्वव्यापी अभियानहरु चलिरहेका छन् । र, यस्तै कार्यक्रममा सहभागी बन्न युरोपको सानो पहाडी मुलुक एण्डोरामा आएका हौं । विश्वका १०३ वटा मुलुकहरुबाट करिव ३ सय प्रतिनिधिले कार्यक्रममा भाग लिएका छन् । यसैमा हामीले नेपालको प्रतिनिधित्व गरेका हौं ।
पछिल्लो समयमा वाइडबडी विमान खरिद प्रकरण, निर्मला पन्त हत्या प्रकरण, पोलपोलमा प्रधानमन्त्री, एसिया प्यासिफिक समिटलगायतका विवादस्पद विषयहरुले सरकार झनझन अलोकप्रिय बन्दै गएको हो ?
कतिपय तीता अमिला कुराहरु छन् । धेरै खायो भने बान्ता नै हुन्छ । तपाईले यति धेरै बुँदाहरु लिँदा केही राम्रा कामहरु पनि उद्धृत गर्न सक्नुहुन्थ्यो । यो सरकार बनेपछि हाम्रो बैदेशिक सम्बन्ध सुदृढ बनेको छ । देशभित्र लगानीको वातावरण बनेको छ । ठूला आयोजनाहरुमा विदेशीहरुको लगानी एकपछि अर्को गर्दै भित्रिँदै छन् । देशभित्र रोजगारीका अवसरहरु सिर्जना हुँदै छन् ।
हालै सामाजिक सुरक्षा योजना अगाडि बढायौं । संविधानको कार्यान्वयन दिशामा सही ढंगले बढिरहेका छौं । १६ वटा मौलिक हकका कानुनहरु बने । यी कुराहरु पनि तपाईले थपेको भए राम्रो समीक्षा हुन्थ्यो । अहिले नै सरकारप्रति आश मार्ने बेला भएको छैन । त्यस्तो अवस्था आए विकल्प पनि खोजौंला ।
हो, कतिपय कुरा गलत भएका छन्, तिनलाई छलफल गर्दै, सच्चाउँदै लैजानुपर्छ । मलाई लाग्छ, समग्र रुपमा सरकारको दिशा गलत छैन ।
अहिले नेपालमा एसिया प्यासिफिक समिटको चर्चा छ । यो समिटबारे तपाईको धारणा के हो ?
पहिलो कुरा, नेपाल धार्मिक हिसावले स्वतन्त्र मुलुक हो । दोस्रो कुरा, हाम्रो संविधानमा पनि धर्म, संस्कृति, परम्पराहरुलाई प्रवद्र्वन गर्ने, प्रचार प्रसार गर्ने, संरक्षण गर्ने राज्यको दायित्व हो भनेर पनि लेखिएको छ ।
एशिया समिटको चर्चा आइरहँदा, विशेष गरी नेपालमा अहिले भय सिर्जना भएको छ । कतै जबरजस्त पश्चिमाहरु (बिशेष गरी क्रिश्चियन धर्म ) को प्रचारका लागि प्रायोजित कार्यक्रम त होइन ? यस्तो पनि प्रश्न छ । यदि त्यस्तो भएमा यो गलत नै हो । तर, कुनै क्रिश्चियन संस्थाले वा चर्चले नेपालमा गतिविधि नै गर्न नपाउने भन्ने प्रश्न रहँदैन ।
नियतवश ढंगले यस्ता कार्यक्रमहरु आयोजना गरिएको भए नेपालकै धर्म, संस्कृति र परम्परामाथि धावा बोलेको छ । यदि त्यो स्थिति हो भने कत्ति पनि स्वीकार्य छैन । तर, विश्वका अन्य मुलुकहरुमा पनि यस्ता कार्यक्रमहरु भएको सुन्छांै । कहिँ पनि विवादमुक्त भने छैनन् । त्यसैले प्रमुख दलका नेताहरु वा सरकार आफैं नलाग्दा राम्रो हुन्थ्यो । उही संस्थाले आफ्नो काम गथ्र्याे, जान्थ्यो ।
तपाईकै पार्टीका एक नेता भीम रावलले कडा प्रतिक्रिया दिनुभएको छ । पटक–पटक जेल परेका विवादस्पद एवं अन्य काण्डहरुमा मुछिएका व्यक्तिहरुबाट सञ्चालित निजी संस्थालाई नेपालमा ल्याएर कम्युनिष्ट पार्टीको सरकारलाई बदनाम गराएको उहाँको तर्क छ । नेपाललाई धार्मिक द्वन्द्वमा हाल्ने षडयन्त्र गरेको भन्दै यति ठूलो रकम कहाँबाट आयो भनेर रावलले सरकारलाई प्रश्नसमेत गर्नुभएको छ नि ?
यसमा म त्यति बहस गर्न चाहन्नँ । बहस गर्नु पनि राम्रो हुँदैन । किनकि, यो ज्यादै संवेदनशील विषय हो । मेरो पार्टीका नेताहरुले के भनेका छन् र सम्मेलनमा किन भाग लिए भन्नेबारे मैले सार्वजनिक ढंगले खण्डन र बहस गर्न मिल्दैन ।
तर, एउटा कुरा त भनिदिनुहोस् न, मुलुकका प्रधानमन्त्री धर्मप्रचारसँग गाँसिएको विषयमा सहयोगी बनेको, सोल्टी होटलमै बास बसेको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी भएका छन् । यसले नेपालको कुटनीतिक मर्यादालाई कतातिर लैजान्छ ?
मैले भनिहालें नि । यस्ता संवेदनशील विषयहरुमा म धेरै टिप्पणी गर्दिनँ । आम जनताबाट जे टिप्पणीहरु उठेका छन्, सरकारले त्यसलाई सकारात्मक ढंगले लिनुपर्छ । यदि कमजोरीहरु भएका छन् भने सच्याउनुपर्छ ।
त्यसोभए यो समिटमा सरकारको भूमिकालाई तपाईले सामान्यरुपमै लिनुहुन्छ ?
मान्छे आएपछि स्वागत गर्नैपर्यो । सुरक्षा दिनै पर्यो । बहस गर्दै जाने हो भने त बुद्वजयन्तीमा प्रधानमन्त्री जाने कि नजाने ? पशुपतिनाथको दर्शनमा प्रधानमन्त्री जाने कि नजाने ? यस्ता प्रश्न पनि उठ्लान् । तर, पनि राज्यलाई धार्मिक गतिविधिबाट सकेसम्म अलग रोक्नुपर्छ ।
सबै धर्मप्रति समान सम्मान छ । कुनै धर्मलाई काखी च्यापेर अर्को धर्मलाई आक्रमण गर्ने नीति पार्टीले मान्दैन । पैसा र प्रलोभनमा कसैको पनि धर्म परिवर्तन गर्न पाइँदैन । त्यो राज्यले पनि गर्न पाउँदैन । कुनै पार्टीले पनि गर्न पाउँदैन । मैले पार्टीको नीति बताइसकें । अहिले यो नीतिअन्तर्गत कुनै नेताहरुको आचरण भएको छैन र व्यवहार ठीक छैन भने आलोचना हुन्छ, त्यसलाई सच्चाउनुपर्छ ।
तर, अहिले भइरहेको आलोचनाका कारण सरकार र पार्टी दुवैलाई नोक्सान पुगेजस्तो लाग्दैन ?
यो प्रधानमन्त्रीले सुन्नुभएको होला ।
आगामी दिनहरुमा यसलाई सच्चाउनुपर्दैन ?
यदि, हाम्रो गल्ती भएको छ भने सच्चाउनुपर्छ ।
तर, आम मानिसहरुले भन्न थालिसके नि, सरकारले सिन्को भाँचेन । महिनौं बित्दासमेत एउटा बलात्कारीलाई समात्न सकेन । तपाई आफैं भन्नुहुन्थ्यो, नेपाल प्रहरीप्रति गर्व छ, निर्मलाको हत्यारा समातिन्छ, कानुनी कारवाही हुन्छ भनेर…
नेपालको पुलिसप्रति अहिले तपाईसँग स्पेनको बार्सिलोना बसेर पनि गर्ब गर्छु । स्पेनमा तपाईले अधिकारसम्पन्न, सुविधासम्पन्न पुलिसहरु देख्नुभएको होला । तर, हाम्रो देशका पुलिसहरु साधनस्रोत नभए पनि २४ घण्टा नै खट्छन् ।
ठीक छ, आफ्नो देशका प्रहरीप्रति हामी सबैले गर्व गर्छौं । तर, यो पनि भनिदिनुहोस् न, निर्मलाका बा–आमाले कहिले न्याय पाउँछन् ?
छिट्टै पाउँछन् । पन्तका बा–आमा त एउटा सिम्बोल मात्र हुन् ।
पुलिस प्रशासनलाई छिटोभन्दा छिटो तदरुकताका साथ यस्ता कतिपय विवादास्पद मुद्दाहरुको निर्क्योल गरेर तथ्य बाहिर ल्याउनका निम्ति भनेका छौं । दोषीहरु समातिन्छन् र कारवाही हुन्छ । कुनै पनि दोषीहरु नेपालको कानुनबाट उम्कँदैनन् ।
तर, अझै पनि बाग्लुङका सडक हुन् वा पोखराका गल्लीहरु, वा पेरिसको आईफिल टावरमुनि नै किन नहोस्, विरोध प्रदर्शन गर्दै नागरिकहरुले निर्मलालाई न्याय देउ भनिरहेका छन् नि ?
हो, लोकतन्त्रमा बिरोध प्रदर्शन हुन्छ । सरकारले सकारात्मकरुपमा लिनुपर्छ । तपाईलाई म भनुँ ? आईफिल टावरमुनि, अमेरिकामा संयुक्त राष्ट्र संघको अगाडि वा काठमाडौको माइतीघरमा बिरोध प्रदर्शन गर्न पाउने अधिकार त हामीले ल्याएका हौं नि ।
यो अधिकार आम जनताले उपयोग गरेका छन्, त्यसमा खुशी नै लागेको छ । यसले हाम्रो लोकतन्त्रलाई जवाफदेही बनाउँछ । हाम्रो सरकारलाई जवाफदेही बनाउँछ । यी आवाजहरुलाई सुन्छौं । गलत भएको छ भने सच्याउँछौं ।
अब सरकारले गत साता घोषणा गरेको सामाजिक सुरक्षा योजनाबारे चर्चा गरौं । सरकारले पोलपोलमा प्रधानमन्त्रीको तस्वीर टाँस्दै नयाँ युग सुरुवातको घोषणासहित ‘सामाजिक सुरक्षा योजना’ सुरु गरेको छ । यसमा तपाईको प्रतिक्रिया के छ ?
अकबरी सुनलाई कसी लाउनुपर्दैन । अकबरी सुन भनेर आम मान्छेले थाहा नपाउलान् कि भनेर सरकारबाट कसी लाउने प्रयास भयो, त्यो आवश्यक थिएन ।
सामाजिक सुरक्षा योजना आफैंमा ऐतिहासिक छ । राम्रो छ । किनभने, यसले बीसौं लाख श्रमिकहरुलाई सामाजिक सुरक्षाको कार्यक्रमभित्र आवद्व गराएको छ । योगदानमा आधारित सुरक्षाको व्यवस्था गरेको छ । कुनै जोखिम भएमा सुरक्षाको प्रवन्ध गरेको छ । निश्चित उमेर पछाडि जीवननिर्वाहका निम्ति सहज बनाएको छ । औषधि उपचार खर्चको निम्ति सहज बनाएको छ । यस हिसावले यो एउटा समाजवादी कार्यक्रम हो ।
तर, पोलहरुमा नयाँ युगको सुरुवात भन्दै प्रधानमन्त्रीको तस्वीर टाँस्नु उपयुक्त थियो र ? राजा–महाराजाको शैलीमा प्रचार भयो र निकै भड्किलो देखियो भन्ने प्रतिक्रिया आएको छ नि ?
प्रचारको शैली जनतालाई चित्त बुझेन । यो जनताको गुनासो हो । टिप्पणी जायज छ । तर, कार्यक्रम असाध्यै राम्रो छ ।
यसलाई ओली सरकारको ‘अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी’ भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले टिप्पणी गरेको छ नि ?
लुकाउनुपर्ने अंगहरु पनि देखिने गरी भ्वाङ परेको लुगा लगाउने मान्छेले अर्कोलाई पनि कहिँलेकाहिँ नाङ्गो नै देख्छ । यसको लोकप्रियताबाट कम्युनिष्ट पार्टीको जनमत बढ्छ कि भन्ने त्रासको अभिव्यक्ति हो ।
उहाँहरुले प्रचारको पक्षलाई अलि उचाल्नुभएको छ, जुन मैले नै शैलीका बारेमा टिप्पणी गरेको छु । तर, कांग्रेसलाई चुनौतीका साथ भन्न चाहान्छु– सरकारले घोषणा गरेको सामाजिक सुरक्षाको कार्यक्रम कहाँ गलत छ ? कुन– कुन कार्यक्रम पातलो पछ्यौरी हो ? एक–एक गरी हामीसँग बहस गर्न आउनुहोस् ।
हाम्रोजस्तो मुलुक जहाँ लोकतन्त्र र पारदर्शिता संस्थागत भएको छैन, यस्तो अवस्थामा सामाजिक सुरक्षा कार्यक्रम जनताको हितमै हुन्छ भनेर कसरी विश्वास गर्ने ?
कामहरु नथाल्दै त्यसमा धेरै शंका गर्नु हुँदैन । चुनौतिहरु छन् भनेर भाग्न मिल्छ र ? राम्रो काम त जतिसुकै चुनौति भए पनि सामना गर्नुप¥यो नि । रोजगारदाताहरुको योगदान त्यसमा हुन्छ । श्रमिकहरुको आफ्नै पैसा जम्मा हुन्छ । अझ त्यसमाथि सरकारले समन्वय गर्छ । अहिले नै नेपालमा झन्डै ५० अर्ब रुपैयाँको कोष बनिसकेको छ ।
देशमा सामाजिक सुरक्षा भएन भन्ने विदेशमा बस्ने नेपालीहरुको गुनासो थियो । पाको उमेर भएपछि के गर्ने भन्ने ग्यारेन्टी भएन भन्थे । तर, अब यसले गैरआवासीय नेपालीहरुलाई समेत मुलुक फर्कन आकर्षित गर्ने छ ।
अब अलिकति युरोपतिरकै कुरो गरौं । एण्डोरा पुग्दै गर्दा स्पेन पनि आउनुभयो । प्रमुख पर्यटकीय गन्तव्य बार्सिलोना शहरलाई नजिकबाट नियाल्दा त्यस्तो के लाग्यो, जहाँ बर्सेनि लाखौं पर्यटकहरुको ध्यान केन्द्रित भएको छ ?
पर्यटन क्षेत्रलाई विकास र समृद्विको आधार ठानेका छौं । यसको विकासका लागि मूलतः पर्यटकलाई तान्न सक्ने विशेषताहरु पनि हुनुपर्छ । नेपालको सन्दर्भमा हामीले ३/४ वटा कुराहरु हेरेका छौं । एउटा एडभान्चर टुरिजम हो । हामीसँग यो दुनियाँमा कसैले पनि खोस्न नसक्ने हिमालहरु छन् । र, दोस्रो, ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानहरु पनि छन् ।
विशेष गरी नेपालमा बौद्व र हिन्दु धर्मालम्वीहरुका महत्वपूर्ण गन्तव्यहरु छन् । हामीकहाँ भौगोलिक विविधता छ ।
मूलतः स्पेन, एण्डोरा वा पर्यटकीय गन्तव्य बनिसकेका अन्य मुलुकहरुमा पूर्वाधारको विकास भएको छ । त्यसैले पर्यटकहरु त्यो ठाउँमा सहज ढंगले पुगेका छन् । तर, हाम्रोमा भौतिक पूर्वाधार छैन । यो नै प्रमुख बाधक बनेको छ । तर, अब सरकारले पूर्वाधार बिकासमा जोड दिनुपर्छ ।
चीन र भारतजस्ता ठूला मुलुकहरुको बीचमा रहेको भूपरिवेष्टित मुलुक नेपालजस्तै फ्रान्स र स्पेनबीच रहेको निकै सानो मुलुक हो एण्डोरा । तपाई त्यहाँ पुगिसक्नुभयो । एण्डोरा र नेपालको परिदृश्यलाई कसरी तुलना गर्नुहुन्छ ?
तपाईले जुन प्रश्न उठाउनुभयो, यो अत्यन्तै कठिन प्रश्न हो । अर्थतन्त्र र जनसंख्याका हिसावले ठूला छिमेकीहरु हुनु सानो मुलुकका लागि एउटा अवसर र सौभाग्य पनि हो । यसले आफैँमा एउटा ठूलो मार्केट सिर्जना गरिदिन्छ ।
तर, नेपालको सन्दर्भमा आजसम्म पनि यो सही साबित भएको छैन, ठीक उल्टो भइरहेको छ । पटक–पटक छिमेकीबाट धोका पाएका छौं । विशेष गरी दक्षिणतिरको छिमेकी राष्ट्रले हामीलाई दुःख दिइराखेको छ । हाम्रो अर्थतन्त्रमाथि वा परराष्ट्र सम्बन्धमाथि कब्जा जमाउने प्रयास भइराखेको छ । त्यस्तै प्राकृतिक स्रोत र साधनहरुमाथि अनावश्यक विवाद उत्पन्न गराउने काम भइराखेका छन् ।
तर, अर्कोतर्फ फ्रान्स र स्पेनबाट एण्डोरामाथि त्यस्तो गिद्धेदृष्टि लगाएका समाचार सायद छैनन् । अझ उनीहरुले त एण्डोराको बिकासमा सघाइरहेका छन् । यसकारण पनि हामीले छिमेकीहरुको मनस्थिति बदल्नुपर्छ । नेपालमा जन्मेका गौतम बुद्वलाई छिमेकीले भारतमा जन्मेका हुन् भनेर प्रचार गरिदिन्छ । यस्ता अन्तराष्ट्रिय प्रोपोगाण्डहरु भइराखेका छन् ।
झन्डै ८०/९० मात्र हजार जनसंख्या रहेको एण्डोरामा बर्सेनि ५० लाख भन्दा बढी त, पर्यटकहरु नै पुग्छन् । त्यहाँको पर्यटन क्षेत्रको बिकास देखेर तपाईलाई कस्तो लाग्यो ?
तपाईले जस्तै, धेरैले यस्तै प्रश्न गर्नुहुन्छ । तर, हाम्रो देशमा पनि पर्यटनको क्षेत्रमा धेरै महत्वपूर्ण काम भएका छन् । यद्दपि चाहेजति पर्यटकहरु भित्र्याउन सकेका छैनौं । क्रमशः प्रमुख गन्तव्यहरुसम्म पूर्वाधारको विकास गर्ने योजना छ । सडक, हवाई लगायत विभिन्न माध्यमबाट जोड्दैछौं ।
विकट पहाडी गन्तव्यहरुमा क्रमशः केबुलकारहरु निर्माण गर्ने योजना छन् । केही सञ्चालनमा पनि आएका छन् । भविश्यमा पक्कै पनि विकासको सम्भावना छ । तर, पनि भूगोलको हिसाव मिल्दोजुल्दो एण्डोराबाट पर्यटकको निम्ति सहज आवास, ब्यापक प्रचारप्रसार, व्यवस्थापन, यातायातको सहजता लगायतका पक्षहरु सिक्न जरुरी छ ।अनलाईनखबरबाट