सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता, प्रदेश ३ को राजधानीको टुंगो मतदानबाट
सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन शुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन शुरु गरेको हो ।
आव २०७४/०७५, २०७३/०७४ र २०७२/७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको छ । हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ । तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन् ।,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सोमबार सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेका हुन् ।
यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ ।
पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ ।
प्रदेश नं २ मा २१५ जनाको प्रदेश कमिटी गठन हुनेछ । प्रदेश नं ३ मा २१७ जना सदस्यीय प्रदेश कमिटी रहनेछ । यस्तै गण्डकी प्रदेश कमिटीको सङ्ख्या १८७ रहनेछ । प्रदेश नं ५ को कमिटी २०३ सदस्य बन्ने भएको छ । कर्णाली प्रदेशमा १७५ सदस्यीय छ । सुदूर पश्चिम प्रदेश कमिटी १८३ सदस्यीय बनेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल रु ११४ तथा डिजेल र मट्टितेल प्रति लिटर रु १०१ मा खरीद बिक्री हुँदै आएको थियो । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेपत्ता सूचीका १९ जना जीवितै
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत अध्ययनका क्रममा बेपत्ता भनी उजूरी गरिएकामा १९ जना जीवितै भेटेको छ । आयोगले बेपत्ता व्यक्तिको उजुरीका आधारमा अध्ययनका क्रममा जाँदा कञ्चनपुरका कृष्णप्रसाद दुलाल, देवेन्द्रसिंह कुँवर र धनबहादुर दाहाल, नुवाकोटका लक्ष्मण भट्ट र सन्तकुमारी तामाङ, बर्दियाका धनबहादुर खड्का र अशोक शर्मा, महोत्तरीका गङ्गा मण्डल, चिवतनका गङ्गाधर तिम्सिना, ओखलढुङ्गाका गोपी भट्टराई, इलामका कुमार विक, झापाका सोमनाथ खनाल र धनुषाका हरिदेव कुसियतलाई जीवित भेटेको छ ।
त्यस्तै डडेल्धुराका कालुसिंह ठगुन्ना, ललितपुरका राजकुमार राना मगर, नवलपरासीका केशव उपाध्याय पौडेल, सल्यानका पहालमान बस्नेत र धनबहादुर दमार्इं तथा कैलालीका हेमराज जोशी जीवित रहनुभएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरी सो व्यक्ति भेटिएको जानकारी दिएको हो ।
आयोगको म्याद अब करीब दुई महीना मात्र बाँकी छ । आयोगले हालसम्म ५६ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरेको आयोगमा प्रवक्ता डा विष्णुप्रसाद पाठकले बताए ।
कांग्रेस बैठकमा विधान मस्यौदामाथि छलफल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको प्रस्तावित विधान मस्यौदामाथिको छलफल जारी छ । कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।
पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावित विधानको मस्यौदामाथि छलफल चलिरहेको हो । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ ।
सोमबार केन्द्रीय सदस्य बलबहादुर केसी, डा नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, डा शेखर कोइराला, जीवनबहादुर शाही, रत्ना शेरचन र किरण यादवले आ–आफ्नो धारणा राखेको पार्टी कार्यालयले जनाएको छ ।
बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
भूमि समस्या समाधानार्थ शक्तिशाली आयोग गठन हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । मोरङ जिल्लाका जनप्रतिनिधिसँग सोमबार सिंहदरबारमा छलफल गर्दै उहाँले भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीसमक्ष मोरङ जिल्लाका कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख र उपप्रमुखले विशेष नापी टोली खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गर्नुभएको थियो । मोरङका जनप्रतिनिधिले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गर्नुभएको थियो
जन्मसिद्ध नागरिकतासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित
प्रदेश नं २ को सोबार बसेको प्रदेशसभा बैठकले ऐन संशोधन नगरेर संघीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभामा पाससँगै संघीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाब बढ्नेछ ।
प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको ४५ औंँ बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले ‘जन्मसिद्ध नागरिकताप्राप्त नागरिकहरूका सन्तानले प्राप्त गर्ने नागरिकतासम्बन्धी जरुरी सार्वजनिक महत्वको सुझाव प्रस्ताव’ पेश गरेपछि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
चार किलोग्राम चरेससहित एक पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चार किलोग्राम चरेससहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका श्यामलाल तामाङ रहेका छन् ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ना७ख २६७ नंको यात्रुवाहक बसलाई चेकजाँचका क्रममा उनलाई चार किलोग्राम चरेससहित पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।
प्रदेश ३ को राजधानीको टुंगो मतदानबाट
प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमबार अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।
उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताइन् । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उनले भनिन्, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।”
यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन् । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा कांगे्रस महासमिति बैठक र नेवारी समुदायको चाड परेकाले बैठक बस्ने सम्भावना न्यून छ ।
सार्वजनिक खरीदसम्बन्धी प्रदेश नं ५ को कार्यविधि स्वीकृत
प्रदेश नं ५ सरकारले सार्वजनिक खरीदसम्बन्धी अन्तरिम कार्यविधि २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विधेयकलाई स्वीकृति प्रदान गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
सार्वजनिक निकायले निर्माण कार्य, मालसामान खरीद र अन्य सेवा लिँदा एक करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्राङ्कित तृतीत श्रेणीको कार्यालय प्रमुखबाट स्वीकृत गराउनुपर्ने, रु पाँच करोडसम्मको राजपत्राङ्कित द्वितीय श्रेणीको कार्यालय प्रमुखबाट र रु पाँच करोडभन्दा माथिको लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृत गराउनुपर्ने निर्णय बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले मङ्सिर २६ गते प्रदेशसभा आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रवक्ता चौधरीका अनुसार सभामा छलफलका लागि १५ वटा विधेयक तयारी अवस्थामा रहेको छ ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु
काठमाडौँ अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा मंगलबारदेखि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु हुने भएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा हुने उक्त प्रतियोगितामा नेपालसहित विभिन्न २० राष्ट्रका ६१ महिला र ११७ पुरुषले सहभागिता जनाउने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा नेपालसहित, अमेरिका, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, माल्दिभ्स, बहराइन, थाइल्याण्ड, भियतनाम, मलेसिया, मरिसस, भूटान, श्रीलङ्का, बङ्गलादेश, इरान, मङ्गोलिया, पाकिस्तान, म्यान्मा, सिङ्गापुर र भारत सहभागी हुने छन् ।
त्यस्तै प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल तथा मिश्रित युगल गरी पाँच स्पर्धामा १७८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने पुरुष एकलमा १६ तथा महिला एकलमा १३ खेलाडीले भाग लिनेछन् । प्रतियोगिता यही मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ ।