मूल्यवृद्धिविरुद्धको आक्रोश, पेरिस तनावमा, सरकार जनताबाट टाढिनुको परिणाम



हाम्रो इकोनोमि

 

फ्रान्समा विगत तीन हप्तादेखि पहेंलो ज्याकेट लगाएका आन्दोलनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् । इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै शुरू भएको यो आन्दोलनका क्रममा हिंसा पनि भएको छ । खासमा यो गरीब र निमुखा जनतालाई सरकारले गरेको बेवास्ताका कारण जन्मिएको क्रोधले अभिप्रेरित गरेको आन्दोलन हो ।

 

आन्दोलनका क्रममा १३० भन्दा बढी मानिस घाइते भएका छन् भने लगभग ३०० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

स्थिति नियन्त्रणबाहिर गएपछि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले आपतकालीन बैठक बोलाएका छन् । कुनै पनि आन्दोलनका अगाडि घुँडा नटेक्ने दृढसंकल्प लिएका कारण म्याक्रोंले इन्धनको मूल्यवृद्धि त फिर्ता लिन मानेका छैनन् तर सर्वसाधारणको जीवनयापन सहज होस् भनी योजना बनाउन सरकारलाई निर्देशन चाहिँ दिएका छन् ।

 

पहेंलो ज्याकेट आन्दोलनको पृष्ठभूमिको कुरा गर्नुपर्दा फ्रान्समा सबै वाहनचालकलाई टाढैबाट टल्किने पहेंलो ज्याकेट लगाउन अनिवार्य गरिएको छ । त्यही पहेंलो ज्याकेटलाई आफ्नो विरोधको प्रतीक बनाएका छन् आन्दोलनकारीहरूले । सरकारले आफूलाई पूरै बेवास्ता गरेको भएर उसले देखोस् भन्नका लागि आन्दोलनकारीहरूले पहेंलो टल्किने ज्याकेट लगाएका हुन् ।

 

यो आन्दोलन स्वतःस्फुर्त रूपमा उठेको हो र यसमा कसैको नेतृत्व देखिँदैन । आन्दोलनकारीहरू कुनै राजनीतिक दल वा संगठनसँग पनि सम्बन्धित देखिँदैनन् । सामाजिक सञ्जालमा गरिएको आह्वानका आधारमा देशका विभिन्न भाग, विशेषगरी राजधानी पेरिस, मा आन्दोलन भइरहेका छन् ।

 

हुन त पेट्रोल र डीजेलको मूल्यवृद्धिविरुद्धको आक्रोशका रूपमा आन्दोलन शुरू भएको हो तर अहिले यसले यथास्थितिविरुद्धको जनआक्रोशलाई समेटेको छ । जीवनयापन गर्नै पनि अत्यन्त महंगो भएको भनी सर्वसाधारणहरू क्रुद्ध छन् । आर्थिक असमानता चुलिएकाले सामान्य जनता अत्यन्तै असहज स्थितिमा पुगेका छन् ।

 

मजदूर वर्गका मानिस यो आन्दोलनका प्रमुख पात्र हुन् । उनीहरूलाई जिन्दगी चलाउनै धौधौ परेको छ र कहिलेकाहीँ त महिना मर्ने बेलामा एक पैसा पनि बाँकी नरहेको स्थिति आइपरेको छ ।

 

यो आन्दोलनले सम्भ्रान्त र शहरमुखी फ्रान्सेली सरकार तथा गरीब र ग्रामीण जनताबीचको ठूलो खाडललाई प्रस्टसँग देखाएको छ । क्रुद्ध आन्दोलनकारीहरूले पेरिसमा धनीहरूले शपिङ गर्ने पसलमा तोडफोड समेत गरेका छन् ।

 

राष्ट्रपति म्याक्रोंले प्रचण्ड बहुमत ल्याएर चुनाव जितेको भएपनि अहिले उनको समर्थन सूचकांक ह्वात्तै घटेको छ । आन्दोलनकारीहरूले उनलाई धनीहरूको मात्र राष्ट्रपति भएको आरोप लगाएका छन् । त्यसैले आन्दोलनकारीहरूको आक्रोश उनीविरुद्ध चुलिएको छ ।

 

पेरिसको प्रसिद्ध शम्श एलिसीमा आन्दोलनकारीहरूले डेमिसन म्याक्रों अर्थात् म्याक्रों राजीनामा देऊका नाराहरू चर्काएका छन् । एकजना आन्दोलनकारीले त म्याक्रों नयाँ लुई चौधौं भएको र लुई चौधौंको अन्त्य गिलोटिनमा काटिएर भएको समेत भने ।

 

 

त्यसो त म्याक्रों सन् २०१७ मा राष्ट्रपति भएपछि मात्रै फ्रान्समा शहर र गाउँबीचको विभाजन बढेको भन्न मिल्दैन । विगत ४० वर्षदेखि फ्रान्समा एकपछि अर्को सरकारले चारपाँचवटा ठूला शहरमा बढी ध्यान दिँदै साना नगर र ग्रामीण क्षेत्रलाई बेवास्ता गर्ने गरेका छन् । ती ग्रामीण क्षेत्रका निवासीहरूले सार्वजनिक सेवा पाउन सकेका छैनन्, त्यहाँ बेरोजगारी डरलाग्दो गरी बढेको छ र उनीहरूले सीधै ठूला शहरहरूसँग यातायात सम्पर्क गर्न पनि पाएका छैनन् ।

 

म्याक्रोंले शहर र गाउँबीचको यो विभाजनलाई झनै गहिरो बनाएका छन् । उनले महानगरका सम्भ्रान्तहरूलाई कर छुट दिएर लगानीको वातावरण बनाउन खोजेको देखिन्छ । धनीलाई फाइदा गराउने क्रममा उनले गरीबहरूलाई इन्धनको मूल्यवृद्धि हुँदा कति अप्ठ्यारो स्थिति आइलाग्छ भनेर चाहिँ ध्यान नदिएको देखिन्छ ।

 

हुन त धूवाँ फाल्ने कारहरूको प्रयोगलाई निरुत्साहित गरेर वातावरण संरक्षणका लागि सरकारले इन्धनको मूल्यवृद्धि गराएको हो । तर विद्युतीय कारहरूको भरपर्दो विकल्पलाई व्यापक मात्रामा अघि नसारिकनै उनले मूल्यवृद्धिको बाटो अपनाउँदा त्यसको प्रत्युत्पादक परिणाम आएको छ ।

 

मूल्यवृद्धिले जनताको जीवनको वास्तविकतालाई बेवास्ता गरेको देखियो । प्रमुख शहरबाहिर बस्ने मानिसहरू आफ्नो कारमा बढी नै निर्भर छन् । निजी कारको विकल्पमा सार्वजनिक यातायातको स्थिति बलियो नभएको हुँदा उनीहरू त्यसको सहज उपयोग गर्न पाइरहेका छैनन् । अनि उनीहरू रातारात आफ्नो गाडी बेचेर विद्युतीय कार किन्न पनि त सक्दैनन् ।

 

त्यसैले मर्कामा परेका जनताले सरकारविरुद्ध प्रदर्शन गर्नुको विकल्प रहेन । प्रदर्शनमा दक्षिणपन्थी, मध्यमार्गी र वामपन्थी सबैथरी विचारधारा भएका मानिसहरू सहभागी भएका छन् ।

 

राष्ट्रपति म्याक्रोंले आन्दोलन शुरू हुँदा त्यसलाई लाजमर्दो भनी गिल्ला गरेपनि आन्दोलन चर्किएपछि जनताको वास्तविक दुःखपीडाको सुनुवाइ गर्नुपर्ने बताए । तर उनको सरकारले यो आन्दोनलाई कसरी सम्बोधन गर्ने हो भनी कुनै योजना बनाउन नसकेको देखिन्छ ।

 

अनि विपक्षीहरूले पनि खुलेर आन्दोलनको समर्थन नगरिरहेको स्थिति छ । म्याक्रोंसँग राष्ट्रपति चुनावमा पराजय बेहोरेकी मरिन ले पेंले व्यक्तिगत रूपमा आन्दोलनमा भाग नलिने बताएपनि आफ्ना कार्यकर्तालाई चाहिँ भाग लिन भनेकी छिन् । ती उग्रदक्षिणपन्थी कार्यकर्ता आन्दोलनमा मिसिएपछि अन्य विपक्षी दलका सांसदले विरोध प्रदर्शनमा भाग लिन ठाडै अस्वीकार गरेका छन् ।

 

अनि कडा वामन्थी नेता जाँ लक मेलेन्चोनले आन्दोलनकारीहरूको क्रोध जायज रहेको बताएका छन् । तर उनको दलले जीवनयापन खर्च धान्न मुश्किल परेको जनताको समस्यामा सहानुभूति देखाएपनि प्रदूषण गराउने गाडीहरूलाई विस्थापित गर्ने गरी इन्धनको मूल्यवृद्धिलाई समर्थन गरेको छ । त्यसैले उनको दल विरोधकर्ताहरूको आन्दोलनमा मिसिन सकेको छैन ।

 

राजनीतिक दलहरू किंकर्तव्यविमूढ भएपनि मारमा परेका जनताले आन्दोलन गरिनैरहेका छन् । यो आन्दोलन कति समयसम्म जाला भनी कसैले अनुमान गर्न सकेको छैन । तर शहरमुखी सम्भ्रान्तविरुद्ध निमुखा र विपन्न जनताको यो आन्दोलन तार्किक निष्कर्षमा नपुगी टुंगिने स्थिति पनि छैन । आन्दोलनलाई सरकारले उचित सम्बोधन नगरेमा उग्रवादी तत्त्वहरूले यसको दुरुपयोग गर्ने जोखिम प्रबल छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...