प्रदेश कमिटीको नामावली भोलिसम्म सार्वजनिक हुन्छ– महासचिव पौडेल



हाम्रो इकोनोमि

 

करिब एक साता अघि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले निर्णय गरेको प्रदेश कमिटीको पूर्ण नामावाली अझै सार्वजनिक भएको छैन ।

 

गत १२ गते (बुधबार) बसेको सचिवालय बैठकले सात प्रदेशका कमिटिको एकीकरणलाई पूर्णता दिएको निर्णय गरेको थियो ।  तर नामावली १३ गते विहिबार मात्र सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि बताएका थिए ।

 

श्रेष्ठले भनेका थिए, ‘सातै प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिइयो अर्थात् सबै प्रदेश कमिटिका सदस्यको नाम टुंगो लगायो र नामावली हामीले भोलि अर्थात विहिबार मात्र सार्वजनिक गर्नेछौं ।’ सार्वजनिक गर्ने भनिएको सातादिन वित्नै लाग्दा नामावली सार्वजनिक हुन सकेको छैन ।

 

नेकपा स्रोतका अनुसार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश कमिटीको अन्तिम नामावलीमा असन्तुष्टि प्रकट गरेपछि साता दिन वित्नै लाग्दा पनि नामावली सार्वजनिक नगरिएको हो । यद्यपि प्रदेश नम्बर १, २ र ३ बाहेक अन्य प्रदेश कमिटीको लागि सिफारिस गरिएका नामावलीको अन्तिम टुंगो भने लाग्न सकेको छैन ।

 

माधव नेपालको असन्तुष्टिका कारण नामावली सार्वजनिक नभएको विषयलाई नेकपाका महासचिव विष्णु पौडेल भने अस्वीकार गर्छन् ।

 

महासचिव पौडेलले प्रदेश कमिटीको नामावलीमा सचिवालयका कुनै सदस्यको असहमति नभएको दाबी गरे । ‘सम्भवतः प्रदेश कमिटीको नामावली आजै या नभए भोलिसम्म सार्वजनिक हुन्छ’ पौडेल भन्छन्,‘त्यस लगत्तै हामी पोलिटब्युरो गठन गर्ने छलफलमा जुट्नेछौं ।’

 

पौडेलका अनुसार प्रदेश कमिटी गठनको लागि सहमति जुटिसकेको छ । नामावली सार्वजनिक भयो कि भएन भन्ने विषय गौण भएको पौडेलले बताए ।

 

के थियो निर्णय ?

तल्लो तहमा देखिएको एकताको विवाद हल गर्नको लागि गत कार्तिक ८ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीलाई पूर्णता दिन र जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको थियो । सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्नका लागि नयाँ विधि र मापदण्ड बनाउने निर्णय भएको थियो ।

 

बैठकमा नयाँ विधि र मापदण्डको मस्यौदा तयार पार्न सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरेको थियो ।  तर, हालसम्म पनि उक्त कार्यदलले नयाँ विधी र मापदण्डबाट प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालयबाट टुङ्गो लगाई स्थायी समिति बैठकमा पेश गरेको छैन ।

 

केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदलले अझै पनि गृहकार्य गरिरहेको बताएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजनपछि मात्र पोलिटव्युरो गठनको तयारीमा नेकपा रहेको महासचिव पौडेलले बताए । तर, केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लगाउने विषयमा धेरैको असहमति रहेको देखिन्छ ।

 

असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिवको टुंगो लगाएको थियो । प्रदेशको नेतृत्वलाई लिएर सचिवालयमा विवाद देखिएको थियो । माधव नेपाल लगायतले उक्त निर्णयको विरोध गरेका थिए । त्यतिबेलै नेकपामा देखिएको असन्तुष्टि हालसम्म कायमै रहेको छ । स्थायी कमिटिलाई ‘बाइपास’ गर्दै दुई अध्यक्षले नेतृत्व छनौट गरेको भन्दै विवाद उत्पन्न भएको थियो ।

 

पार्टीका शीर्ष नेताद्वय माधवकुमार नेपाल घाना र नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएको समयमा भएको निर्णयको विरोध नेता नेपालले गरेका थिए । उनले सकारको कामकारवाहीलाई लिएर समेत संसदबाटै आलोचना गरेपछि नेकपाको विवाद सतहमा देखिएको थियो ।

 

स्रोतका अनुसार प्रदेश नम्बर पाँचको नेतृत्व विवाद सबभन्दा बढी पेचिलो छ । पूर्व एमालेको भागमा परेका सात वटै जिल्लाको नेतृत्वमा केपी ओली निकट नेताहरू मात्र सिफारिस भएपछि वरिष्ठ नेता माधव नेपाल समूह आक्रोशित भएका थिए ।

 

२२ को असन्तुष्टि कायमै

यसबीचमा २२ केन्द्रीय सदस्यहरुले बुधबारको सचिवाल बैठकको पूर्व सन्ध्यामा पार्टी र सरकार सञ्चालन सही ढंगमा नभएको भन्दै पार्टी शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पार्टीका निर्णय व्यक्तिमा केन्द्रीत भएको सरकार सही ढंगमा सञ्चालन हुन नसकेको भन्दै पार्टी र सरकारको आलोचना गर्दै केही सुधारका लागि सुझाव दिएका थिए । यस विषयमा पनि सचिवालय बैठकमा छलफल भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...