बिदेशी मिडियाले श्रृंखला खतिवडा मिस वर्ल्डको दाबेदार भएको लेखे यस्तो समाचार,यसरी छानिन्छन् ‘मिस वर्ल्ड’



 

चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा सहभागी तथा मिस वर्ल्डकी एक दावेदार श्रृंखला खतिवडालाई नेपालीहरुले मरिहत्ते गरेर गरेको भोट खेर गएको हो?

 

नेपाल सुन्दरी समेत रहेकी श्रृंखला ‘हेड टु हेड’ मा श्रृंखला पराजित भएपछि देशभित्र चौतर्फी रुपमा उठिरहेको प्रश्न हो यो।

 

तर, यो प्रश्नको उत्तर अहिलेसम्म कतैबाट आएको छैन। तर, यति कुराचाहिँ निर्धक्कसँग भन्न सकिन्छ कि, उनका शुभेच्छुकहरुले दिएको भोट चाहिँ खेर गएको पक्कै छैन।

 

भोट ‘मल्टिमिडिया अवार्ड’ अन्तर्गत गनिन्छ। त्यसैले, यसैका आधारमा श्रृंखला मल्टिमिडिया अवार्ड जितेर सिधै टप-३० मा जाने सम्भावना अहिलेपनि कायमै छ।

 

पराजित भएकै हुन्?
यसअघि (शुक्रबार) श्रृंखला ‘टप २०’ मा परेर सिधै अर्को चरणमा प्रवेश गरेको हल्ला चल्यो। शनिबार फेरि श्रृंखला पराजित् भइन् भन्ने हल्लाले सनसनी मच्चायो। दुबै सूचनारसमाचार सत्य हुन्।

तर, तथ्यमा केही तलमाथि भएको भने पक्कै हो।

 

‘हेड टु हेड’ च्यालेन्ज अन्तर्गत पहिलो चरण प्रवेशका लागि २० वटा समूह विभाजन गरिएको थियो। त्यसमा नेपाल बोस्निया, गुमा, लग्जमवर्ग, मोल्डाभा रहेको समूह-१३ मा थियो। यस समूहको विजेता बन्दै श्रृंखला ‘हेड टू हेड’ च्यालेन्जअन्तर्गत दोस्रो चरणमा प्रवेश गरिन्।

 

यस समूहमा सहभागी सबैलाई ‘तपाईंको देशले सामना गरेको सबैभन्दा ठूलो समस्या के हो र यसको समाधान कसरी गर्ने?’ भन्ने प्रश्न सोधिएको थियो। उत्तरमा श्रृंखलाले जवाफ दिएकी थिइन्, ‘नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो र थुप्रै युवा रोजगारीका लागि विदेश जाने गरेका छन्।’

 

यो समस्याको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा पनि उनले आफ्नो विचार प्रकट गरेकी थिइन्। उनले सुझाएको उपाय थियो, ‘नेपाल विविध भाषा, धर्म, संस्कृति, परम्परा, प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो। त्यसैले, नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर रोजगारी सृजना गर्न सकिन्छ।’

 

उनको यो उत्तरलाई निर्णायक मण्डलले ‘उत्कृष्ट जवाफ’ को रुपमा मूल्याङ्कन गर्‍यो। र, उनलाई अर्को चरण प्रवेशका लागि हरियो झण्डा देखायो।

 

२० समूहमा विभाजित सबै समूहबाट एक-एक जना विजेता दोस्रो चरणका लागि छानिए। त्यसमा नेपालले सिंगापुरको सामना गर्नुपर्ने भयो। १० समूहमा विभाजित यो समूहको प्रत्येक समूह विजेता बल्ल ‘मिस वर्ल्ड’ को अर्को चरणमा अर्थात उत्कृष्ट ३० मा पर्न सक्थ्यो।

तर, नेपालभन्दा सिंगापुरले राम्रो उत्तर दिएपछि श्रृंखला निराश हुनु गर्‍यो।

 

‘भविष्यको योजना के हो?’ भन्ने प्रश्नमा ‘मिस सिंगापुर’ भेनेसा पी टीङ टीङले जितिन्। यस प्रतिस्पर्धामा तीन पूर्व मिस वर्ल्ड मेगन योङ, स्टेफेन मारी डेल भा र मानुषी चिल्लर ‘जज’ का रुपमा थिए। तीनै जनाले मिस सिंगापुरलाई भोट दिएका थिए।

 

अब के हुन्छ?
यति हुँदाहुँदै पनि ‘टप-३०’ मा पुगेर ‘मिस वर्ल्ड’ बन्ने बन्ने बाटो अझै खुला छ, श्रृंखलाका लागि। हालसम्म १३ प्रतिस्पर्धीले आफूलाई ‘टप–३०’ मा पार्न सफल भएका छन्। १० प्रतिस्पर्धी ‘हेड टू हेड च्यालेन्ज’ का आधारमा र अन्य तीन ट्यालेन्ट, स्पोर्टस् र डिजाइनर प्रतिस्पर्धाबाट अर्को चरणका लागि छानिएका हुन्।

 

बाँकी १७ जनामध्ये १५ जना ‘जज’ ले आफै छनोट गर्नेछन्। त्यस्तै, दुई मल्टिमिडिया र ‘व्यूटी विथ द पर्पस्’ प्रतिस्पर्धाबाट छानिने छन्।

 

मल्टिमिडियामा श्रृंखलाको सम्भावना बलियो छ। यसमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोट गणना गरिन्छ। मिस वर्ल्डको अफिसियल साइटमा श्रृंखलाको पक्षमा सबैभन्दा धेरै ३५ प्रतिशत भोट छ।

 

सामाजिक सञ्जाल फेसबुकमा पनि उनको पकड बलियो छ। मोब स्टार एप डाउनलोड गरेर भोट गर्न विभिन्न सर्कुलेसन जारी गरिएको खबर यसअघि दिइसकेको छ। त्यसैले, श्रृंखलाले पनि यसैमा धेरै आश गरेकी छन्।

 

‘टप ३० का लागि अझै पनि सम्भावनाहरु बाँकी छन्, १७ स्थान खाली छ’ श्रृंखलाले भनेकी छन्, ‘ब्यूटी विथ पर्पस् र मल्टिमिडियामा पनि सम्भावना राम्रो सम्भावना छ, त्यसैले तपाईंहरु नआत्तिनु होला।’

 

यदि यी दुई उपाधि प्राप्त गर्न सकिनन् भनेपनि ‘जज’ हरुको उत्कृष्ट १५ मा परेर ‘टप-३०’ मा पर्ने सम्भावना रहन्छ। श्रृंखलाले जारी प्रतियोगितामा जवर्जस्त फरक शैली, कलात्मक प्रस्तुति प्रदर्शन गरेकी छन्।

 

त्यसबाहेक सबैसँग सुमधुर सम्बन्ध कायम गरेकी छन्। यी र उनको पक्षमा नेपालबाट भइरहेको समर्थनका कारण पनि ‘जज’ हरुका लागि उनी नजरअन्दाज गर्न नसकिने प्रतियोगी बनेकी छन्।

 

विदेशी मिडियाहरुले समेत उनलाई मिस वर्ल्डको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन्। त्यसैले, अझै निराश हुनुपर्ने खासै कारण छैन।

 

कसरी छानिन्छन् मिस वर्ल्ड?
‘टप-३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ। त्यो प्रतियोगिताबाट ‘टप-१५’ छनोट हुनेछन्। त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप-५’ छानिनेछन्।

 

यसरी छनोट भएका ‘टप-५’ बाट तीन जना क्रमैसँग मिस वर्ल्ड, फर्स्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन्। बाँकी दुई जनाले भने निराश हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्