‘निर्मलाको बालाई हामीले मार्दैछौं भनेर लेख्दिनुस्’
निर्मलाका बालाई हामीले मार्दैछौं भनेर लेख्दिनुस् , शुरूआतमै यो कुरा क्लीयर गर्न चाहन्छु : यो ‘आत्मकथा’ हैन ।
यस देशको नागरिक हुनुको नाताले देशमा हुने हरेक घटनाले मनमा चोट पर्ने कुरा र ती घटनाप्रति चासो र सरोकार हुने विषय स्वाभाविक छ । सामाजिक सरोकारका सन्दर्भमा कोही माईकालालसँग कुनै पनि मूल्यमा सम्झौता गरिँदैन । हुनसक्छ पद, मर्यादा र हैसियतका आधारमा तलमाथि । तर यस्तो किसिमको तलमाथि मजस्तो फकीरको निम्ति खासै ठूलो कुरा हैन ।
बलात्कारपछि हत्या गरिएको भनिएकी कञ्चनपुरकी निर्मला पन्तको प्रकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूप लियो ।
महिलाविरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक डुब्राभ्का सिमोनोभिकले निर्मलाको बलात्कार तथा हत्या अनुसन्धान तथा न्याय निरूपणमा नेपाल सरकारले कमजोरी देखाएको बताइन् । यस घटनामा नागरिक स्तरमा शंका तथा उपशंकाहरू अनेकौं उठे । विरोध र आन्दोलनका स्वरूपहरू पनि विशाल भए । मिडियाहरू यो विषय उठाउन कहिल्यै थाकेनन् ।
आमरण अनशनमै रहेका बेला एकाएक मानसिक सन्तुलन बिग्रिएपछि निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गर्न ल्याइयो । यसभन्दा अघि यज्ञराजको खल्तीमा ज्यान जान सक्ने विषादी भेटिएको समाचारहरू सम्प्रेषण भए । तर उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले दाबी गरिरहेका छन् ।
अनेकौं दुःख झेलेका यज्ञराजलाई टिचिङ अस्पतालमा भर्ना गरेपछि उनलाई हेर्न भनौं वा सहानुभूति प्रकट गर्न जाने मानिसको लर्को नै लाग्यो । विभिन्न दलका शीर्ष नेताहरू, एनजीओ तथा आईएजीओकर्मीहरू, महिला तथा मानवअधिकारकर्मीहरू सबै समूह बनाएरै पुगे । तर गोप्य स्रोतको सूचनाअनुसार यज्ञराजको उपचारमा लापरवाही भइरहेको जानकारी आएपश्चात् म बबुरो चाहिँ झसंग भएँ ।
तपार्इं पाठकहरूले टिचिङ अस्पतालको बेथितीहरू बेलाबेलामा पढिनैरहनुभएको होला भन्ने लाग्छ । हुन त यस्तो लाग्छ यो देश त बेथितीहरूकै देश हो । अस्पतालको लकरमा हतियारसमेत भेटिने अस्पताल हो टिचिङ । अनि उपचारमा गम्भीर लापरवाही भएका कैयौं उदाहरणहरू समेत छन्, ती गूगलमा खोज्दा भेटिएलान् । के यज्ञराजको उपचारमा पनि लापरवाही भइरहेको छ त ? म त्यो जान्न चाहन्थें । किन जान चाहन्थें भने म देशको जिज्ञासु नागरिक हुँ ।
मैले झोलामा एक किलो स्याउका दानाहरू हालेर सरासर टिचिङ अस्पतालतिर निस्के । मेरो हैसियत नै यत्ति थियो । यो यही मंसिर १३ गते बिहान अन्दाजी साढे दश बजेतिरको कुरा हो । वास्तवमा म त्यो टिचिङ अस्पतालमा पहिलोपटक पुगेको थिए । बिरामीहरूको भीडभाड थियो । यज्ञराज कुन वार्डमा छन्, मलाई थाहा थिएन । खोज्दै जाँदा दोस्रो तलामा छन् भन्ने थाहा भयो ।
सामान्य बिरामीलाई भेट्न जाँदा हामी जुन मानसिकताका साथ जान्छौं होला, त्यही मानसिकता बोकेर गएको थिएँ म । अरू केही मतलब थिएन । मतलब यही थियो, यज्ञराजको उपचारमा लापरवाही भएको छ भन्ने स्रोतको सूचना सही हो कि हैन होला भन्ने कुराको छिनोफानो गर्नुपर्ने थियो ।
साँचो कुरा भेट्न डाक्टरहरूसँग नै बुझ्नपर्ला भन्ने लागेको थियो । डाक्टरले बिरामीको के डायग्नोसिस गरेको छ ? औषधि कुन कुन चलाएको छ ? हेर्न पाए ‘गूगल सर्च’ गरेर केही जानकारी हासिल गर्न सकिन्थ्यो भन्ने पनि लागेकै थियो ।
यज्ञराजलाई राखिएको वार्डबाहिर पुग्दाबित्तिकै त्यहाँ एक किसिमको रौनक देखियो । तर नमीठो रौनक । बाबा ठाकुरे, त्यो रौनकको स्मरण म भुलेर पनि गर्न चाहन्नँ । यो गणतान्त्रिक मुलुकमा यस हदको रौनक कानले सुन्नुपर्ला भनेर मैले कहिल्यै सोचेको पनि थिइनँ । गाइँगुइँ हल्ला चलेको सुनें, ‘दिल निशानी मगर भन्ने मान्छे यही हो, माथि नसोधी यिनलाई भित्र जान दिन हुन्न । यिनले उल्टोसुल्टो जस्तो नि लेख्न सक्छन् ।’
मेरो कानमा परेको आवाज कसकसको थियो मैले चिन्ने कुरा भएन । थाहा छैन । तर म केहीबेर स्तब्ध भएर उभिए । मैले कति ठूलो भ्रम पालेर बाँचेको रहेछु यो देशमा भन्ने लाग्यो । अनि बिस्तारै बिरामी वार्डको ढोका खोल्ने प्रयास गरे । मुश्किलका साथ ढोकाको सानो छिस्किनी उघारियो । भित्रबाट निकै ज्याद्री देखिने महिलाले हेरिन् । मानांै कि बाहिर कोही चोर आएको छ कि भनेर घरबेटीले ढोका उघारेर हेरेजस्तो । म आफूलाई पहिलोपटक चोरको रूपमा आफूलाई त्यहाँ उभिएको पाएँ ।
त्यो वार्डको इन्चार्ज रहेछिन्, दिलमाया बुढाथोकी । तिनले टिचिङ अस्पताललाई आफ्नो घरजस्तो ठान्ने रहेछिन् । गज्जब ! हरेक कर्मचारी यस्तै होस्, दिलमाया जस्ती । कामप्रति बफादार, इमान्दार । तर सी वाज भेरी रुड एन्ड भल्गर वुमन, सी डिड नट नो हाउ टु डील विथ पिपुल, सी वाज जस्ट ब्ला, ब्ला, ब्ला, ओभर स्मार्ट । आई वाज कन्फ्युज्ड । बाबा ठाकुरे नि हो ।
मैले दिलमाया म्याडमलाई विनम्र आग्रह गरें, ‘म फलना हो, यज्ञराजजीलाई नजिकबाट हेर्न चाहन्छु । यज्ञराजले कुन औषधि खाइरहनुभएको छ त्यो पनि जान्न पाए राम्रो हुनेथियो किनभने म हल्काफुल्का लेख्ने काम पनि गर्छु । बरू डाक्टरहरूसँग पनि यज्ञराजको मुख्य समस्या के हो सोध्न मन छ ।’ दिलमायाले जवाफ दिइन्, ‘म तपार्इंलाई चिन्छु तर अनुमतिविना तपार्इंलाई प्रवेश निषेध छ ।’
‘कस्को अनुमति ?’ मैले सोधें ।
किनभने सामान्यतया बिरामी भेट्न जाँदा अस्पतालको अनुमति लिनुपरेको अहिलेसम्मको मेरो अनुभव थिएन । म छक्क परें । मैले सोधें, ‘हैन म्याडम, केको अनुमति चाहियो ? म त्यस्तो शंकास्पद मानिस हुँ र ?’ दिलमायाले भनिन्, ‘अस्पताल प्रमुखको अनुमतीविना तपार्इंलाई भेट्न मनाही छ ।’ मैले भनें, ‘अनुमति त स्वास्थ्यमन्त्रीकै लिएर पनि आउन सकिन्छ तर के प्रायोजनका निम्ति अनुमति हो ? कुन कानूनमा छ यो कुरा ?’ मैले केहीबेर गनगन गरें ।
दिलमायाको कथन थियो, ‘तपाईं जहाँ जानुहुन्छ जानुहोस्, तर अनुमतिपत्र लिएर आउनुहोस् ।’ रुखो स्वभावकी दिलमायाले कताकता फोन घुमाउन थालिन् । म भने प्रशासन खोज्न दौडिएँ । खोज्दैजाँदा थाहा भयो, प्रशासन प्रमुख रहेछन्, सूर्यप्रसाद अधिकारी । ती अधिकारी कुर्सीमा गजधम्म बसिरहेका थिए । उनका साथमा एकजना हँसिला बूढापाका थिए । तिनीहरू घरायसी बात मारेर बसिरहेका थिए ।
हाकिम साहेबलाई नमस्ते टक्राएपछि मैले निर्मला पन्तका बिरामी बुवा यज्ञराजलाई भेट्न पाउने अनुमति दिनुहुन्छ कि भनी बिन्ती बिसाएँ । बडो भारी मनले बिसाएँ यो बिन्ती । हो, अस्पतालमा भीडभाड हुन्छ ।
भिजिटरको चाप हुन्छ । व्यवस्थापन गर्न मुश्किल छ, कम्तीमा मजस्तो सिभिलाइज्ड मान्छेलाई यो कुरा थाहा छ । म कुनै उपहार चिट्ठा थुत्न त गएको थिइनँ नि त्यहाँ । र त्यो समय त्यहाँ अस्पतालका स्टाफहरू र यज्ञराजकी श्रीमतीबाहेक अरू कोही पनि थिएनन् । त्यो वार्डमा भीडभाड रत्तिभर थिएन ।
हाकिम साहेब, सूर्यप्रसाद अधिकारीले आफूलाई सम्बोधन गरेर निवेदन लेख्न लगाए । मैले उनकै अगाडि निवेदन लेखें । यज्ञराजलाई भेट्न पाऊँ भन्ने किसिमको निवेदन लेखें । त्यसपछि उनले तोक लगाए । सही गरे । आदेश लेखे । तर तिनले मेरो नामप्रति ध्यान दिएका थिएनन् भन्ने लाग्छ । तिनले तोक लगाएको पत्र मलाई थमाए । म फेरि रुखो स्वभाव भएकी दिलमाया इन्चार्ज म्याडम भएको वार्डमा पुगें ।
शायद सरकारको पोलिसी हुनुपर्छ, यज्ञराजलाई भेट्न कसलाई दिने र कसलाई नदिने भन्नेबारे । त्यो म मान्छु । तर अति गरे खति हुन्छ भनेजस्तो नागरिकको सूचना पाउने मौलिक हक हो । पछि ती हाकिमले मेरो नाम थाहा पाएछन् क्यारे । इन्टरकममा फोन गरेर माथि यज्ञराजको वार्डमा रहेका स्टाफहरूलाई फेरि केही आदेश दिएको चाल पाइहालें किनभने म ढोकामा पुगिसकेको थिएँ ।
यज्ञराजलाई भेट्ने लफडामा फसेको पनि २ घन्टा बितिसक्यो । र बडो मुश्किलले इन्चार्ज दिलमायालाई हाकिमसाहेबको तोक आदेश भएको पत्र देखाएँ । तर उनले फेरी पनि इन्कार गरिन् । र भनिन्, ‘भित्र सफाइको काम चलिरहेको छ, जान मिल्दैन । कुर्नुहोस् ।’ मैले कम्तीमा ३० मिनेट फेरि कुरें । त्यतिन्जेल ती इन्चार्ज आफ्नो कार्यकक्षमा गएर आराम गरेर बसेकी रहिछन् । मैले सोधें, म्याडम ३० मिनेट भइसक्यो, सफाइको काम सकिएन ?’
‘सकिएको भए त मैले भनिहाल्थें नि, तपाईं मलाई झम्टिन आउने ?’ भन्दै ती दिलमाया इन्चार्ज झर्किन् । तर उनलाई थाहा थिएन, सफाइको काम धेरै अगाडि सकिएको थियो । अरू भिजिटरहरू भेट्न गएका छन् भित्र । डाक्टरहरू पनि गएका छन् । अन्तिमपटक ती म्याडमसमक्ष अनुमतिपत्र देखाउँदै फेरि गएँ । ती इन्चार्जले भनिन्, ‘तपाईं जाँदा बिरामीलाई इन्फेक्सन हुन सक्छ । तपाई डाक्टर हो र ? तपाईंले निको पार्ने हो र ? किन जाने ?’
मलाई बडो अचम्म लाग्यो र मैले आफू यज्ञराजलाई किन भेट्न खोजेको भन्ने बारेमा जानकारी गराएँ । इन्फेक्सनको सम्भावना छ भने बरू आफैं किनेर शरीरमा स्टेरलाइज्ड सामानहरू प्रयोग गरेर जान्छु भनें । तर ती इन्चार्ज छक्क परिनन्, बरू उल्टै गाली गरिन् । ‘तपाईंहरू के लेख्नुहुन्छ भन्ने कुरा सबै थाहा छ, सबै उल्टोपाल्टो लेख्नुहुन्छ । तपार्इंलाई म जान दिन्नँ, जानुहोस् जहाँ गएर भन्नु छ भन्नुहोस् । सरकारलाई भने नि फरक पर्दैन ।’
त्यसपश्चात् भने मलाई बहुत डर लाग्यो । सरकारी नून खाएका मानिस गुण्डाको जस्तो भाषा कसरी बोल्न सक्छन् ? हाम्रो कर्मचारीको संस्कार किन यति रुखो ? के म उनको घरको ढोका ढकढकाउन गएको थिएँ र ? वा मैले तिनलाई तरुनी ठानेर जिस्काएको थिएँ ? पटकपटक तिनको अगाडि उभिन जान मन लाग्ने के तिनी विश्वसुन्दरी हुन् र ? के म चोर, फटाहा, अपहरणकारी, हुण्डीवाला हुँ र ? अरे यार, हातमा बकाइदा हाकिमको आदेशपत्र छ त ।
मैले यस्तै तर्क गर्दा उनले केही डाक्टरहरू बोलाइन् र मलाई झपार्न लगाइन् । डाक्टरहरू गुरगुरती आए, मलाई हेरे । मेरो तर्कका सामु ती नून खाएको कुखुरा झैं भए । झपार्न सकेनन् । कतिपयले मलाई चिने पनि होलान् ।
एकजना डाक्टरले भन्दै थिए, तपाईंलाई कता देखे देखे जस्तो पो लाग्यो । मैले कडा प्रतिवाद गरें, ‘डक्टर समथिङ रङ गोइङ अन ओभर हीयर, इज इट नट ?’ मलाई झपार्न आएका डाक्टरहरू आआफ्नो काममा फर्किए । बरा डाक्टर पनि डन बनेर आएका थिए ।
केही सीप नलागेपछि यज्ञराजलाई राखिएको वार्ड इन्चार्ज दिलमाया म्याडमले अस्पताल परिसरमा रहेका सम्पूर्ण सेक्युरिटी गार्डहरूलाई फोन गरेर बोलाइन् । मलाई समातेर अस्पताल बाहिर निकाल्न भनिन् । उनको पछिल्लो आरोप थियो, ‘होहल्ला भएको र बिरामीलाई डिस्टर्ब भएको ।’ तर सबैभन्दा धेरै होहल्ला गर्ने उनी नै थिइन् । नभन्दै अस्पतालका सेक्युरिटी गार्डहरू गुरगुरती आए । बाबा ठाकुरे, मलाई त त्यसबखत बहुत डर लाग्यो । आँतै काँप्यो जिरिरी ।
तर ती गार्डहरूले मलाई समात्न भने सकेनन् । फुच्चेहरू थिए । कतै लरबराए । तिनीहरू भित्र पसे । स्टाफहरूसँग सल्लाह गरे । र मलाई भने, ‘सर, जाम् हिँड्नुहोस् तल ।’ मैले भने, ‘कहाँ तल ?’ उनीहरूको जवाफ थियो, ‘प्रशासनमा ।’
सानो स्वर निकालेर मैले भनें, ‘अरे यार, म किन जाने प्रशासनमा ? म त्यही प्रशासनको अनुमति कागज बोकेर यज्ञराजलाई भेट्न आएको हुँ । यो हेर, कागज । मलाई उपचारमा शंका छ । लापरवाही छ भन्ने लागेको छ । म यो देशको नागरिक हुँ । विशेष परिस्थिति केही छैन । मलाई भेट्न दिनुहोस् ।’
तर गार्डहरूले मलाई हात समातेर प्रशासनमा ल्याइछाडे । सात गाउँमा डाँका काम गरेर भागेको चोरजस्तो भएँ म । के सोचें मैले, के भयो अहिले भन्ने पुरानो मार्मिक गीतको याद आयो । आखिरीमा म चार्ल्स शोभराज भएँ । शायद मैले अघिल्लो जन्ममा कुनै पाप गरेको हुनुपर्छ र नतिजा यो जुनीमा भोग्नुपर्यो भन्ने लाग्यो । एकजना गार्ड त महिला पनि रहिछन् । ती मुसुक्क मुस्कुराइन् । म तिनको पिछा गरिरहें ।
ती हँसमुख नभएका हाकिम सूर्यप्रसाद अधिकारी मुखमा फिँज काढेर गजधम्म कुर्सीमा बसेका थिए । शायद बेलाबेलामा गाँजा सेवन गर्ने रहेछन् क्यारे । मैले ‘हाकिम साहेब, के हो यस्तो ? डेमोक्रेसीमा नि यस्तो हुन्छ यार ? भनेर प्रश्न गरें । तर उनीसँग कुनै जवाफ थिएन । तैपनि वाक्य निकालिहाले, ‘हेर्नुहोस्, हाम्रा लागि सबै बिरामी समान हुन्, यज्ञराज पनि हाम्रा लागि सामान्य बिरामी नै हुन् ।’
‘यज्ञराज सामान्य बिरामी हुन् भने उनलाई भेट्न किन नदिएको त ? तपाईंकै आदेश किन बदर भयो त ? अघि केही समयअघि तपाईंले नै तोक आदेश दिएको हैन राणा र पञ्चेकालीन खरदारले जस्तो ? र यज्ञराजलाई तपार्इंले कसरी सामान्य बिरामी भनेर परिभाषित गर्नुहुन्छ ? अनि देशमा यत्रो बबण्डर भइरहेको विषयलाई तपाईंले सामान्यीकरण गर्न मिल्छ ? तपाईंले अलग्गै नियम बनाउन मिल्छ ?’ मेरा ती तमाम प्रश्नका अगाडि हाकिमसाहेब लाचार थिए ।
आखिरीमा ती हाकिम पनि के कम, जंगिए । तिनले भने, ‘तपार्इंलाई यज्ञराज भेट्न दिन्नँ, जे गर्नुहुन्छ गर्नुहोस् । खै ल्याउनुहोस्, अघिको आदेशपत्र म च्यातेर फाल्छु । र अर्को कुरा, जानुहोस् निर्मलाको बालाई हामीले मार्दैछौं भनेर लेख्दिनुहोस् । केही फरक पर्नेवाला छैन । प्रधानमन्त्री र गृहमन्त्री, प्रहरी प्रमुख सबैलाई फरक परेको छैन । लेखेर के हुन्छ ? जानुहोस्, लेख्दिए हुन्छ । केही फरक पर्दैन मलाई ।’ मैले मनमनै गम खाएँ । नेपालमा नयाँ जंगबहादुर जन्मिएछ । त्यो पनि टिचिङ अस्पतालमा ।
मलाई फेरि पनि डर लाग्यो । सातोपुत्लो उड्यो । आर्मीको जंगी अड्डामा छु कि अस्पतालमा भनी भेद छुट्ट्याउन पनि बडो मुश्किल भयो । आँखाहरू तिरमिराउन थाले । र मनभित्रका शंकाहरू झन् सलबलाउन थाले । र हाकिमसाहेबलाई अन्तिमपटक नमस्कार गर्दै म टिचिङ अस्पतालबाट बाहिर निस्कें । गेटबाहिर एकजना भाइले डोकोमा सुन्तला बेच्न राखेको रहेछ । दुईगोटा सुन्तला किनें र सुन्तलाको गेडा समेत चपाएर निलें । यस्तो लाग्यो, यस देशको कर्मचारीतन्त्रको अनुशासन र गेडामा कुनै भिन्नता छैन ।
यज्ञराजसँग मलाई भेट्न किन दिइएन ? त्यो गौण कुरा हो । म को हुँ र ? न म पूर्वराजा हुँ, न म प्रधानमन्त्री हुँ, न म बाबुराम भट्टराई नै हुँ । म त फगत दिलबहादुर मगर हुँ । तर म पनि सकेसम्म बाठो नै बन्ने कोशिश गर्छु । दुईगोटा सुन्तला निलेर भेष बदलेर मुखमा मास्क लगाएर फेरि दिलमाया इन्चार्ज भएकै वार्डमा गएँ । ए मेरा बा, मानिसहरू फटाफट पसिरहेका थिए, यज्ञराजलाई भेटिरहेका थिए । शायद एनजीओकर्मीहरूलाई प्रशासनको अनुमति पर्दैन रहेछ ।
बाबाले त सन्तुलन गुमाइहाले । शायद निर्मला पन्तकी आमा छोरीको दुःखद् घटनालाई लिएर जति चिन्तित छिन् त्यसभन्दा धेरै वा त्यति नै मात्रामा नेपाल आमा पनि चिन्तित छिन् । सिङ्गो देश नै चिन्तित छ । हामी पनि चिन्तित छौं । यसभन्दा अगाडि पनि मैले एउटा स्टोरी लेखिसकेको छु । यसको अर्थ हो, म पनि चिन्तित छु । तर जुन अपमान अस्पतालमा भोगें त्यो केवल अनुभवको पाटो बन्यो ।
अहिले परिस्थितिमा केही फेरबदल आएको छ भन्ने लाग्छ । विभिन्न स्रोतका अनुसार यज्ञराज चाँडै निको नहुन् र आन्दोलन झन् चर्किरहोस् भन्ने ध्याउन्नमा धेरै शक्तिकेन्द्रहरू लागिरहेका छन् । र अर्को शक्ति चाहिँ यज्ञराजको उपचार प्रभावकारी नहोस् र उनी चाँडै मरून् भन्ने पक्षमा उभिएका छन् । विभिन्न स्वार्थले काम गरेको छ । यज्ञराजको खल्तीमा विषादी भेटिनु यसको एउटा प्रमाण हो ।
निर्मला प्रकरणले सरकारको दिनदिनै बदनाम भइरहेको, मिडियामा प्रचार ज्यादै नै भइरहेको र गृहमन्त्री तथा आईजीपीको मर्यादा र कामप्रति नै प्रश्न उठेको बेला म वा अरू कोहीलाई यसरी यज्ञराजलाई भेट्न सुनियोजित रूपमा बन्देज लगाइनु रहस्यमय देखिन्छ । र भेट दिइहाले अस्पताल प्रशासनको अनुमति लिनुपर्ने जुन व्यवस्था गरिएको छ, यो हर्कतले निरंकुश राणाशासनको झल्को दिन्छ ।
निर्मला पन्तकी आमा पनि आजकल मिडिया फेमिलियर देखिन्नन् भन्ने सुनिन्छ । हुन त बिचरी उनलाई मिडियाको प्रभावबारे धेरै थाहा नहुन सक्छ । आफैं कति धेरै तनावमा होलिन् तर एनजीओ र केही मानवअधिकारवादी भनिएका नेताहरूको कुरा धेरै सुन्ने, मान्ने र अरूसँग झर्को मान्ने गरेको धेरैले बताएका छन् । जे होस्, निर्मला प्रकरण अब हामीजस्तो सामान्य नागरिकको बहसको विषय रहेन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको, रबिन शर्माले गाएको यो गीत मलाई सारै मन पर्छ :
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा
मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छाना
इन्द्रियहरूका द्वार !
नसानदीका तरल तरङ्ग,
मन्दिर आफू अपार ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज ।
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजिहिँड्छौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ,
बत्ती बाली तेज प्रचुर
साथी यात्री बीच सडकमा,
ईश्वर हिँड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ ।
सडक किनारा गाउँछ ईश्वर
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दुःखको गानामा
दर्शन किन्तु कहीँ दिँदैन,
चर्मचक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।
दिलनिशानी मगर लोकान्तर