अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षा : सय नम्बर नल्याए लाइसेन्स खारेज



 

डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो ।

 

यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ । सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ ।

 

‘यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि आजीवन दोहो-याएर हेर्ने परिपाटी थिएन,’ नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा. सुदीप आचार्यले भने, ‘अब समय अवधि नै तोकेर अपडेट गर्ने भएका छौँ । उनीहरूले तोकेको कोर्स पूरा गर्नैपर्छ, सय नम्बर ल्याउनैपर्छ । नभए लाइसेन्स खारेज हुन्छ । ९९ नम्बर ल्याए पनि बिरामी जाँच्ने अधिकार खोसिनेछ ।’

 

तालिमको ३० र कार्यक्रमको ७० अंक
पेसामा विकासको निरन्तरता (सिपिडी) कार्यक्रममार्फत काउन्सिलले डाक्टरहरूको परीक्षा लिनेछ । कार्यक्रममा सबै डाक्टरलाई सहभागी हुन बाध्यात्मक व्यवस्था बनाएको छ । काउन्सिलमा २२ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन् ।

 

उनीहरूले पूरा गर्नुपर्ने तालिम र कार्यक्रमका लागि नम्बर छुट्याइएको छ । तालिमको ३० र कार्यक्रमको ७० अंक राखिएको छ । कुन तालिम र कार्यक्रमको कति नम्बर दिने भन्ने मापदण्ड पनि काउन्सिलले बनाउनेछ ।

 

पाँच वर्षको अवधिभित्र तोकिएको तालिम र कार्यक्रममा सहभागी भएर सय नम्बर प्राप्त गर्नुपर्छ । काउन्सिलले तोकेको तालिम र कार्यक्रममा सहभागी भएर पूरा अवधिभर बस्नैपर्ने बाध्यता डाक्टरहरूलाई हुने आचार्यले बताए । डाक्टरले लिखित परीक्षा भने दिनुपर्दैन ।

 

यसरी हुन्छ डाक्टरको परीक्षा
चिकित्सकको सहजताका लागि काउन्सिलले सातवटै प्रदेशका हरेक अस्पताल, मेडिकल कलेजहरूमा सिपिडी युनिट गठन गर्नेछ । केन्द्रमा कम्तीमा पाँचजना विज्ञ चिकित्सकलाई तालिम दिनेछ । उनीहरूले प्रत्येक प्रदेशमा आवश्यकता हेरेर चिकित्सकलाई तालिम दिनेछन् ।

 

ती चिकित्सकले फेरि आफ्नो प्रदेशमा रहेका सबै चिकित्सकलाई तालिम र कार्यक्रम गराउनेछन् । चिकित्सकको काममा असहज हुने गरी तालिम नहुने काउन्सिलका सदस्य डा. आचार्यले बताए । समय अवधिभर चिकित्सकले तालिम तथा कार्यक्रममा सहभागिता जनाएनन् भने उनीहरूको नम्बर घट्छ ।

 

जनताको सेवामा राम्रो नतिजा दिने विश्वास छ 
प्रा.डा. धर्मकान्त बास्कोटा
अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
बिरामीको सेवालाई ध्यानमा राखेर पेसामा विकासको निरन्तरता (सिपिडी) कार्यक्रम लागू गरिएको छ । काउन्सिलले तोकेका कार्यक्रम र तालिममा डाक्टर उपस्थित हुर्नैपर्ने बाध्यात्मक अवस्था छ । नभए नम्बर घट्छ । तोकिएको सय नम्बर प्राप्त नहुँदा लाइसेन्स नवीकरण हुँदैन । तर, चिकित्सकलाई सहज हुने किसिमले नै तालिम र कार्यक्रम हुन्छन् । मनपरी गर्ने चिकित्सकलाई मात्रै समस्या पर्ने हो । यो कार्यक्रममले जनताको सेवामा राम्रो नतिजा दिने विश्वास छ ।

 

स्वास्थ्य संस्थाको विज्ञापनमा आचारसंहिताविपरीत डाक्टरको नाम
मेडिकल काउन्सिलका अधिकारीहरूले विभिन्न स्वास्थ्य संस्थाले आचारसंहिताविपरीत डाक्टरको नाम राखेर आफ्नो विज्ञापन गरिरहेको बताएका छन् । एक हजार स्वास्थ्य संस्थामध्ये ५० प्रतिशतले चिकित्सकलाई जानकारी नै नदिई विज्ञापनमा समेटेको काउन्सिल बताउँछ । काउन्सिल अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटाले डाक्टरहरूलाई फ्याक्ट्रीले उत्पादन गर्ने वस्तुजस्तो बनाइएको बताए ।

 

सिमेन्टको झैँ डाक्टरको विज्ञापन गरियो
प्रा.डा. रमेशकान्त अधिकारी
शिक्षण अस्पताल
डाक्टरभन्दा पनि डाक्टरको नाम बिकाइएको छ । यो सिमेन्टको विज्ञापन गरेभन्दा फरक छैन । ती संस्थाहरूले चिकित्सकको नामलाई गलत प्रचारबाजी गरेका छन् । कतिपय विज्ञापनमा चिकित्सकको सहमति हुँदैन भने कतिपय चिकित्सकलाई आफ्नो नाम समेटिएकै थाहा हुँदैन । यो प्रवृत्ति रोक्न अनिवार्य छ ।

 

आचारसंहिता उल्लंघन भएको छ 
डा. ढुण्डीराज पौडेल
संयोजक, इथिकल कमिटी, मेडिकल काउन्सिल
सेवाका नाममा आमनागरिकमा भ्रम सिर्जना हुने किसिमका विज्ञापन, होर्डिङ बोर्ड, पोस्टरलगायत राख्नु चिकित्सक आचारसंहिताको ठाडो उल्लंघन हो । नयाँ सेवा सुरु गर्दा, ठाउँ परिवर्तन गर्दा सामान्य विज्ञापन गर्न मात्रै पाइन्छ ।

 

स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकबाहेक अन्यको बोर्ड राख्न पाइँदैन । ५० प्रतिशत स्वास्थ्य संस्थाले चलेका चिकित्सकको नाम झुन्ड्याएर विज्ञापन गरेका छन् । जब कि ती चिकित्सक नै आफ्नो नामको विज्ञापन गरिएकोमा अनभिज्ञ छन् ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने