क्रिश्चियन धर्म प्रचारकको कार्यक्रममा हिन्दुवादी नेता !



हाम्रो इकोनोमि

 

हिन्दु धर्मको कट्टर समर्थन गर्ने पार्टीको रुपमा चिनिएको भारतीय जनता पार्टीका नेता विजय जोली यतिखेर नेपालमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका छन् ।

 

क्रिश्चियन धर्मको प्रचारक संस्था युनिभर्सल पिस फेडरेशन (यूपीएफ) को मुख्य आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म हुन गइरहेको ‘एसिया प्यासेफिक समिट–२०१८’ को तयारीमा जोली लागेका छन् । सम्मेलनबारे जानकारी दिन काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा समेत जोलीको उपस्थिति रहेको थियो ।

 

उनी यो कार्यक्रमको तयारीका लागि एकसाता अघिदेखि नै नेपाल आएका हुन् । परिवार दलका अध्यक्ष एवम् युनिभर्सल पिस फेडरेशन नेपालका अध्यक्ष एकनाथ ढकालका साथमा सम्मेलनको तयारीमा लागेका जोलीको यो कामको भाजपाका नेताहरुले विरोध गरेका छन् ।

 

भाजपाका नेता तथा सांसद सुब्रमण्यम स्वामीले विजय जोलीलाई पार्टीले पठाएको नपठाएकोबारे आफूलाई थाहा नभएको तर क्रिश्चियन धर्म प्रचारक संस्थाको रुपमा चिनिएको यूपीएफले गर्न लागेको सम्मेलनमा सहभागी हुन जानु गलत भएको बताएका छन्  । उनले भने, ‘यो विषयमा मैले बुझेर पार्टीसँग कुराकानी गर्छु ।’

 

भाजपा युवा मोर्चाका नेता अमरेशकुमार यादवले ‘विजय जोली क्रिश्चियनहरुको कार्यक्रममा सहभागी हुनु एकदमै गलत भएको र यसले पार्टी बदनाम हुने’ बताए ।

 

उनले भने, ‘जोलीजीको आफ्नो व्यक्तिगत स्वतन्त्रता पनि होला तर उहाँ पार्टीको जिम्मेवार नेता भएकाले त्यसरी कार्यक्रममा सहभागी हुनुहुँदैनथ्यो ।’

 

कट्टर हिन्दुवादी पार्टी भाजपाले क्रिश्चियन धर्मले आक्रामक रुपमा बढाएको धर्म परिवर्तनलाई विरोध गर्दै आइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतको छतिसगढमा भएको एक कार्यक्रममा क्रिश्चियन धर्मका क्रियाकलापप्रति कडा टिप्पणी गरेका थिए । योगी आदित्यनाथ मात्र होइन, भाजपाका प्रायः सबै नेताले क्रिश्चियन धर्मको विरोधमा आफ्ना अभिव्यक्तिहरु दिँदै आएका छन् ।

 

यहाँसम्म कि नेपालमा हुने क्रिश्चियन गतिविधिप्रति पनि भाजपाका नेताहरुले कडा टिप्पणी गर्दै आएका छन् । बरु भाजपाका कतिपय नेताहरुले नेपाल हिन्दु राज्य हुनुपर्ने खुलेर नै अभिव्यक्ति दिने गरेका छन् ।

 

अहिले भने सोही पार्टीका नेता विजय जोली नेपालमा आएर क्रिश्चियन धर्मको प्रचारक संस्थाको कार्यक्रममा सहभागी छन् ।

 

जोली भारतीय जनताको पार्टीको विदेश विभागमा हुँदा नेपालसँग राम्रो सम्बन्ध बनाएका थिए । जोली अहिले सो विभागमा नभए पनि नेपालमा आफ्नो प्रभाव कायम राखेका छन् । उनी बारम्बार नेपाल आइरहन्छन् ।

 

स्रोतका अनुसार एसिया प्यासेफिक सम्मेलन शुरुमा फिजीमा गर्ने चर्चा चलेको थियो तर फिजीले कार्यक्रम गर्न स्वीकृति नदिएपछि भारतमा गर्ने सोच बनाइएको थियो ।

 

स्रोत भन्छ, ‘भारतमा चुनावको महोल चलिरहेको र त्यसमा पनि सत्ताधारी दल भाजपा पुनः सत्तामा आउने तयारीमा रहेका बेला यो कार्यक्रम त्यहाँ हुन दिने कुरा नै थिएन । दुई स्थानमा सम्भव नभएपछि कार्यक्रम स्थलको रुपमा नेपाल रोजिएको हो ।’

 

भाजपा नेपालका एक नेताले रातोपाटीसँग कुरा गर्दै भने, ‘एसिया प्यासेफिक सम्मेलन नेपालमा हुन लागेको छ । त्यसले भारतमा हुने चुनावलाई पनि प्रभाव पार्नसक्छ । भारतीय जनता पार्टीले हिन्दुको सेन्टिमेन्टबाट चुनावको नतिजा हात पार्ने हो । तर छिमेकी देशमै क्रिश्चयनहरुको यति ठूलो सम्मेलन हुनु भाजपाको हितमा हुन्न ।’

 

यो सम्मेलनमा भारतका पूर्वप्रधानमन्त्री एचडी देवीगौडा सहभागी हुँदैछन् । उनी जनता दल (युनाइटेड फ्रन्ट) का अध्यक्ष हुन् । भारतीय काँग्रेसका भुवनेश्वर कालिटा आयोजक समितिमा नै रहेका छन् । उनी भारतीय राज्यसभाका सांसद पनि हुन् ।

 

यो कार्यक्रममा भाजपाको तर्फबाट आधिकारिक रुपमा कोही पनि सहभागी भएका छैनन् । उता, कार्यक्रमको विश्व हिन्दु महासंघले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

 

के हो युनिभर्सल पीस फेडरेशन ?

इसाईं धर्म उदार भएर धेरै विकृति आयो भन्दै युनिभर्सल पिस फेडरेशन नामक संस्था खोलेर दक्षिण कोरियाका उद्योगी सन म्योङ मुन क्रिश्चियन धर्मको प्रचारप्रसारमा लागेका लागेका थिए । यो संस्था निकै विवादीत मानिन्छ । एकनाथ ढकालले नेपालमा त्यसको शाखा खोलेर अध्यक्ष बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...