नेकपाद्वारा प्रदेश कमिटीको एकीकरणलाई पूर्णता



 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटीमा प्रस्तावित नामावलीलाई अन्तिम रुप दिएको हो ।

 

‘प्रदेश संगठन कमिटीहरुको नामावलीलाई मापदण्डअनुसार अन्तिम रुप दिइएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जनसंगठनहरुको एकीकरणलगायतका एजेण्डामा अर्को बैठकमा छलफल हुनेछ ।’

 

प्रदेश कमिटीको नामावलीलाई अन्तिम रुप दिनुअघि सबै सदस्यहरुलाई प्रस्ताव बाँडेर पालैपालो नाम पढेर सुनाइएको एक नेताले बताए । वरिष्ठताको मापदण्डअनुसार भए नभएको अन्तिम छलफल गरेर प्रदेश कमिटीको नामावली पारित गरिएको हो ।

बिरामीलाई २० लाख क्षतिपूर्ति दिन निजामती अस्पताललाई निर्देशन

लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मस्तिष्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामती अस्पताललाई निर्देशन दिएको छ ।

 

जिल्ला क्षतिपूर्ति समिति र उच्च अदालत पाटनको फैसलाअनुसार क्षतिपूर्ति दिन सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अस्पताललाई बुधबार पत्राचार गरेका हुन् गलत औषधि प्रयोगका कारण बिरामी उद्धवसिंह ऐरको मस्तिष्कघात भएको भन्दै उनकी श्रीमती दीपादेवीले जिल्ला क्षतिपूर्ति समितिमा निवेदन दिएकी थिइन् ।

 

३० लाख माग भएकोमा क्षतिपूर्ति समितिले अस्पताल र चिकित्सकलाई दोषी ठहर गरी २० लाख ३६ हजार नौ सय ५६ रुपैयाँ क्षतिपूर्तिको निर्णय गरेको थियो । त्यसउपर अस्पतालले पुनरावेदन गरेकोमा उच्च अदालतले गत ९ असोजमा सोही क्षतिपूर्तिलाई सदर गरेपछि प्रशासनले अस्पताललाई पत्राचार गरेको हो ।

 

गलत औषधि प्रयोग गरिएको दाबी
२९ पुस ०७३ मा ऐर भर्‍याङबाट लडेर टाउकोमा चोट लागेपछि निजामती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । टाउकोमा चोट लागेकाले तत्काल सिटिस्क्यान गर्नुपर्ने चिकित्सकको भनाइ थियो ।

 

उपचारमा लापरबाहीका कारण नभई बिरामीलाई मधुमेह र उच्च रक्तचाप रहेकाले सोही कारण मस्तिष्कघात भएको दाबी उपचारमा संलग्न चिकित्सकले अदालतमा गरेका थिए ।

 

मदिरा सेवनको प्रभावले ऐर घरको भर्‍याङबाट लडी घाइते भएका थिए । अस्पतालमा पुर्‍याउँदा पनि मदिराको नशामा रहेका कारण उत्तेजक रहेपछि सिटिस्क्यान गर्न चिकित्सकले उनलाई लठ्याउने औषधि ‘मिडालोजाम’ प्रयोग गरेका थिए ।

 

त्यही औषधिका कारण ऐरको स्वास्थ्यमा नकारात्मक असर परेको थियो । शरीरमा मदिराको नशा रहेका वेला सो औषधि सेवन गराई सिटिस्क्यान गर्दा उनलाई मस्तिष्कघात भएको उनको परिवारको दाबी छ ।

 

उक्त औषधि कुनै उत्तेजना र आबेगमा आएका बिरामीलाई शान्त बनाउन तथा लट्ठ पार्न, शरीरमा कम्पन आएको खण्डमा नियन्त्रण गर्न प्रयोग गरिन्छ । तर, मदिरा नशामा रहेको र बिरामीको अवस्था असामान्य रहँदा सो औषधि प्रयोग गर्न नहुने कतिपय चिकित्सकको भनाइ छ । दोब्बर मात्रामा मिडाजोलम औषधि प्रयोग गरिएको दाबी पीडित पक्षको छ ।

 

सोही दाबीका आधारमा उपभोक्ता संरक्षण ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको क्षतिपूर्ति समिति र उच्च अदालतले क्षतिपूर्ति भराउने निर्णय गरेको हो । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी अध्यक्षताको क्षतिपूर्ति समितिले सो निर्णय गरेको थियो ।

 

बिरामीकी श्रीमतीले अस्पताल, अस्पतालका कार्यकारी निर्देशक दीर्घराज आरसी र उपचारमा संलग्न चिकित्सकद्वय डा. दिनेश लम्साल र डा. राजीव थपलियालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकी थिइन् । जिल्ला क्षतिपूर्ति समितिले १५ लाख ३६ हजार ९ सय ५६ रुपैयाँ उपचारमा खर्च भएको रकम र थप पाँच लाख राहत दिनुपर्ने निर्णय गरेको थियो ।

 

जसमध्ये अस्पतालले १० लाख ३६ हजार ९ सय ५६, अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसीलाई चार लाख तथा उपचारमा संलग्न दुई चिकित्सकले ३/३ लाख रुपैयाँ दिनुपर्ने फैसला गरेको थियो । उच्च अदालतले भने यसमा चिकित्सकलाई दोषी ठहर्‍याउन नमिल्ने भन्दै सबै क्षतिपूर्ति एकमुष्ठ रूपमा अस्पतालले दिनुपर्ने फैसला गरेको छ ।

 

असल नियतले नै सिटिस्क्यान गर्न सो औषधि प्रयोग गरेर बिरामीलाई लठ्याइएकाले उपचारमा संलग्न चिकित्सक दोषी हुन नसक्ने उच्च अदालतको फैसलामा उल्लेख छ । उच्च अदालतका न्यायधीशहरू रमेश पोखरेल र अग्निप्रसाद थपलियाको संयुक्त इजलासको फैसलामा भनिएको छ,

 

‘आकस्मिक कक्षमा नाजुक अवस्थामा आएको बिरामीलाई अत्यन्त तदारुकताका साथ व्यवस्था मिलाई उपचार गर्ने क्रममा चिकित्सकहरूको सामान्य मानवीय कमजोरी भएको देखिएकाले व्यक्तिगत रूपमा जिम्मेवार ठहर्‍याइएको जिल्ला क्षतिपूर्ति समितिको निर्णय मिलेको नदेखिँदा केहि परिवर्तन भई संस्थागत जवाफदेही वहन गर्र्नुपर्ने गरी परिवर्तन गरी दिएको छ ।’

 

‘मिडालोजाम’ कै कारण सिटिस्क्यानपछि बिरामी बेहोस भएको र अवस्था झन् जटिल भएपछि सिभिलले नर्भिक अस्पतालमा रिफर गरेको थियो । नर्भिकमा उपचारको क्रममा १५ लाखभन्दा धेरै खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल