हिन्दू राष्ट्रको माग गर्दै जनकपुरधाममा ज्ञानेन्द्र, मित्र योगी आदित्यनाथलाई यसरी फकाउँदैछन् पुर्व राजाले



 

कम्युनिष्ट सरकार गठन भएको नौ महिना बितिसक्दा पनि खासै उल्लेख्य काम गर्न नसकेको भनेर जनस्तरबाट आलोचना भइरहेको बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले औपचारिकरुपमै हिन्दू धर्म बारे जनमत संग्रहको बहस चलाउने संकेत गरेको छ ।

 

धर्म निरपेक्षता हटाई संविधानमा हिन्दू अधिराज्य लेखाउन बर्षाैदेखि अभियानमा जुटेका हिन्दूवादीहरू ७ मंसिरमा कांग्रेस महामन्त्री शशांक कोइरालालको हिन्दू धर्म बारे जनमत संग्रहमा जानु पर्ने अभिव्यक्तिले हौषिएका छन् ।

 

महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति नौलो भने होइन । उनले बेला बेलामा जनमत संग्रहको बारेमा अभिव्यक्ति दिदै आइरहेका छन् । महामन्त्री शशांक कोइरालालाई भारतका अति निकट मित्र भनेर नेपालको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ,

 

संसदमा कमजोर उपस्थिति÷अवस्थामा रहेको कांग्रेससंग आगामी निर्वाचन फेस गर्ने प्रमुख आधार र चुनावी मुद्धा भने हिन्दू धर्म बारेको जनमत संग्रह हुन सक्ने अनुमान गर्न थालिएको छ ।

 

पूर्व महाराजा ज्ञानेन्द्र शाह, टुक्राटुक्रामा विभाजित भएका हिन्दू संगठनहरू र बर्षौदेखि नेपालमा हिन्दू धर्म सम्बन्धी काम गरिरहेका दुई दर्जन भारतीय ऐजन्सीहरूका पछिल्ला गतिविधिले जनमत संग्रहका लागि आधारभूमि तयार भइरहेको जानकारहरूको बिश्लेषण छ ।

 

दुई तिहाइको कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै विपक्षीहरू मात्रै होइन स्वयं नेकपाकै नेता कार्यकर्ताहरू केपी ओली सरकारको उछितो काढ्न लागेका छन । यही बेलामा तीन टुक्रामा विभाजित  पूर्व पञ्चहरू पनि पार्टी एकताको प्रक्रियामा अघि बढिरहेका छन् ।

 

संविधानमा धर्म निरपेक्षताको खारेजी र हिन्दू धर्म कायम गराउने अभियानको थालनी अन्तर्गत देशभरी गतिविधिहरू सञ्चालन गर्न तयारी हिन्दूवादीहरूले गरेका छन् ।

 

आदित्यनाथ सरकारको टाउको दुखाई

२६ मंसिरमा आयोजित विवाह(पञ्चमी) महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमण सरकारको टाउको दुखाइको विषय बनेको छ ।

 

भारतमा अल्पमतमा रहेका धर्मावलम्बीहरूप्रति अनुदार देखिने योगी नेपालमा हिन्दू राजतन्त्रको पक्षमा वकालत गर्दै आएका विवादस्पद पृष्ठभूमिका व्यक्ति हुन् । भड्काउ भाषण दिने नेताका रुपमा आलोचित भइरहने योगीले कतै जनकपुरमा हिन्दू राजतन्त्रको बारेमा भड्काउ अभिव्यक्ति दिने हुन कि भनेर सरकारले आशंका व्यक्त गरेको छ ।

 

मुख्यमन्त्री योगीको जनकपुर भ्रमण औपचारिक वा अनौपचारिक के हुने हो नेपाल सरकार समक्ष जानकारी आइनसकेको अधिकारीहरूले बताएका छन ।

 

गोरखपुरस्थित गोरखनाथ मंदिरका महन्त समेत रहेका योगी आदित्यनाथको जनकपुर भ्रमणका विषयमा नेपाल सरकारसंग समन्वय नभएको बताइएको छ भने उता २ नम्बर प्रदेश सरकारले योगी आदित्यनाथको आगमनमा भब्य स्वागतको तयारी थालेको छ ।

 

अयोध्यास्थित राम मंदिरबाट जन्ती टोलीको नेतृत्व गर्दै योगी आदित्यनाथ जनकपुर आउने जानकारी प्राप्त भएको जानकी मंदिरका छोटे महन्थ रामरोशन दाशले बताएको खबर जनकपुरका पत्रकारले दिएका छन् ।

 

योगीको जनकपुर भ्रमण नितान्त धार्मिक भ्रमण भएकाले संघीय वा प्रदेश कुनै पनि सरकारको अनुमति नचाहिने विद्वानहरूले तर्क गरेका छन् । विवाह पञ्चमीमा राम नगरी भारतको अयोध्याबाट जन्ती लिएर सीता नगरी जनकपुर आउने परम्परा रहँदै आएको छ ।

 

योगीको स्वागतमा जनकपुर शहर योगी आदित्यको ‘बस्त्र’ गेरु रंगमय बनाइँदैछ । उपमहानगरपालिकाले सडक छेउका सम्पूर्ण घरहरू गेरुले रंग्याउन निर्देशन दिएको छ ।  मोदीपछि अब युपीका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भब्य स्वागत हँुदैछ र उनको स्वागत सत्कारका लागि प्रदेश सरकारले औपचारिक रुपमै पचासौ लाख खर्च गर्दैछ ।

 

यस्तै विश्व हिन्दू परिषदले २०७५ मंसिर १५ गते जनकपुरमा प्रदेश नम्बर २ का ५ हजार सन्त महन्तहरूको महासम्मेलनको आयोजना हुँदैछ ।पाँच हजार सन्त महन्तहरूको महासम्मेलनमा हिन्दू राष्ट्रको माग गरिने भएको स्रोतको दावी छ ।

 

हिन्दू राज्यको स्थापनाका लागि अभियान चलाइरहेको परिषदले यस सम्मेलनलाई मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणसंग जोडेर हेर्न नमिल्ने भने पनि योगीकै भ्रमण सफल बनाउन यति बेला देशभरका हिन्दूहरू जनकपुरमा भेला भइरहको स्रोतको दाबी छ ।

 

भारतीय नेता काठमाण्डौ आउँदै 

नेपालको राजनीतिक मामिलामा चिन्तन गर्न भारतीय नेताहरू काठमाण्डौं आउने प्रचलन पुरानै हो । तर दुई तिहाइको सरकार गठन भए यता नेपालको राजनीतिक मामिलामा राजनीतिक विचार प्रकट गर्न पहिलो पटक काठमाण्डौ आउन लागेका भनिएका भारतका पूर्व अर्थमन्त्री यशवन्त सिन्हा र अभिनेता तथा सांसद शत्रुघन सिन्हाको मुख्य उद्देश्य राजनीतिक प्रवचन मात्र नभई धर्म निरपेक्षाको खारेजीका लागि दवाब सिर्जना गर्नु रहेको आशंका गर्न थालिएको छ ।

 

वरिष्ठ भारतीय नेता सिन्हा नेपाली शीर्ष नेताहरूका रोजाइका पात्र हुन् । सिन्हाका कुरा नेपाली नेताहरूले सुन्ने गरेको जानकारहरू बताउछन् । सिन्हाले काठमाण्डौमा रहँदा शीर्ष नेताहरूसंग भेटवार्ता गर्नेछन् ।

 

१ सय ५० औं गान्धी जयन्तीका अवसरमा क्रियसन नामक संस्थाको आयोजना र नेपाल पोलिसी सेन्टर नामको संस्थाको सह आयोजनामा हुन लागेको अन्तरक्रियाका वक्तामा पूर्व राष्ट्रपतति डा. रामबरण यादव र कांग्रेस नेता प्रदिप गिरी पनि रहेका छन् ।

 

अब योगीकै भरमा ज्ञानेन्द्र शाह

शासन सत्ता फर्काउन सकिन्छ कि भनेर देश विदेशका विभिन्न शक्ति केन्द्र धाउदै, भेटघाट छलफल गर्दै, हिंडेका पूर्व राजा ज्ञानेन्द्र शाहका पछिल्ला भरपर्दा मित्र बनेका छन् उत्तर प्रदेश भारतका मुख्यमन्त्री योगी आदित्यनाथ । भारतका अरु राजनीतिक ब्यक्तिहरूबाट खासै पार नलाग्ने ठानेपछि पूर्व राजा ज्ञानेन्द्र शाह आफ्ना पुराना मित्र, शुभ चिन्तक, हिन्दू राष्ट्र र राजतन्त्रका पक्ष्ँधर योगी निकट रहेका छन् ।

 

योगीले काठमाण्डौ आउँदा पूर्वमहाराज शाहलाई हिन्दू राष्ट्रसहितको राजतन्त्र फर्काउन मद्दत गर्ने बचन दिएका थिए । गत बर्ष पुसमा शाह योगीलाई भेट्न लखनउ पनि पुगेका थिए । योगीको लखनउस्थित सरकारी निवासमा पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत भएको थियो ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने योगीले पूर्व राजा शाहलाई नेपालमा हिन्दू राजतन्त्र ल्याउन मोदीसंग पनि छलफल गर्न प्रतिवद्धता व्यक्त गरेको सञ्चारमाध्यमहरूले जनाएका थिए ।

 

योगीको जनकपुर भ्रमणबाट हिन्दू राजतन्त्रका समर्थकहरू खुसी भएको खबर छ । जनकपुरमा योगीले राजतन्त्रका बारेमा अभिव्यक्ति दिने राजावादीहरूले अपेक्षा गरेका छन । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल