चर्चामा श्रृंखला खतिवडा : मिस वर्ल्डले के हुन्छ नेपाललाई ?



 

मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन्।

 

इतिहास हेर्ने हो भने वामपन्थी विचारधारा बोक्ने नेता तथा कार्यकर्ता सुन्दरी प्रतियोगिताका विरोधी देखिन्छन्। श्रृङ्खला खतिवडा वामपन्थी विचारधारकै नेताकी छोरी भएर सुन्दरी प्रतियोगितामा गई मिस नेपालको ताज पहिरी मिस वर्ल्ड जित्ने दाउमा छिन्।

 

सोही विचारधाराका नेताहरुले नै उनको समर्थन गर्दै उनलाई जिताउन अपिलसमेत गरेका छन्। यस कार्यको समर्थन तथा विरोध दुवै थरीका विचारले सामाजिक सञ्जाल राँकिएको छ।

 

सुन्दरी प्रतियोगितालाई कटाक्ष गर्दै लेखक सीमा आभास आफ्नो फेसबुक मार्फत प्रश्न गर्छिन्, ‘अब यो सुन्दरी प्रतियोगिता क्रान्तिकारीहरुको लागि गर्वको विषय हो कि विरोधको ?’

 

उनले थप अर्को स्ट्याटस् मार्फत्, ‘कामरेड श्रृङ्खला खतिवडाले विश्वसुन्दरीको ताज पहिरेर सिंगो देशलाई उच्च बनाएकोमा यो बहुमतको सरकार र सिंगो पार्टी गर्व गर्छ।’ भनेको शुभकामना पढ्ने र सुन्ने इच्छा तीव्र छ। कामना पुर्‍याइदेऊ प्रभु।’ भन्दै सुरुवातदेखि नै सुन्दरी प्रतियोगिताको विरोध गर्दै आइरहेका कम्युनिस्ट पार्टीका नेताहरु एकाएक श्रृङ्खलाको पक्षमा भोट माग्न उत्रिएको कार्यप्रति व्यङ्ग्य गरेकी छिन्।

 

त्यस्तै लेखक सरिता तिवारीको पनि ‘यो न्याय मरेको देशमा श्रृङ्खला खतिवडाको सुन्दरी ताज एउटा भद्दा मजाकभन्दा बढी केही हुने छैन। नानी श्रृङ्खला तिमीले हार्नुपर्छ। जित्ने बल नगर।’ भन्दै स्ट्याटसमार्फत निर्मलाले न्याय नपाएको प्रसङ्ग जोड्दै मिस वर्ल्डप्रति आफ्नो धारणा राखेकी छिन्।

 

नेपालीहरुको गर्वको विषय ?

नेपालकी पहिलो मिस नेपाल (१९९४) रुवी राना मिस वर्ल्डमा श्रृङ्खला खतिवडा सहभागी हुनु र उनले विश्व सुन्दरीको ताज पहिरिनु नेपालकै लागि गर्वको विषय हुने धारणा राख्छिन्। उनी भन्छिन्, ‘श्रृङ्खलाले विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर विश्वसुन्दरीको ताज पहिरिनु नेपालको लागि ऐतिहासिक उपलब्धी हो।

 

यसले छायामा रहेको नेपाललाई केही हदसम्म भए पनि मिस वर्ल्ड श्रृङ्खला खतिवडाको देश भनेर विश्वसामु चिनाउने काम गर्छ। यो सबै नेपालीहरुको लागि गर्वको विषय हो।’

 

‘कुनै पनि सौन्दर्य प्रतियोगितामा शरीर सुन्दर भएर मात्र जित हासिल गर्न सकिँदैन’ उनले भनिन्, ‘यो शारीरिक सौन्दर्यसँगै बौद्धिक क्षमतामाको पनि प्रतिस्पर्धा हो। सौन्दर्य प्रतियोगिताहरुबाट विजयी भएकाले नै नेपालमा हिडेन ट्रेजर नामक संस्था चलाएर सामाजिक विकासका कार्यहरुमा पनि योगदान दिइरहेका कुरालाई हामीले बिर्सनु हुँदैन।’

 

सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिए नेपाललाई बहुपक्षीय उपलब्धी हुने बताउँछिन्, ‘श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिनु भनेको नेपाललाई धेरै थरीको फाइदा हुनु हो। सबैभन्दा बढी त यसले नेपाललाई विश्वसामु चिनाउने काम गर्छ। पहिचानसँगै पर्यटन बढाउन पनि यसले मद्दत गर्छ।’

 

उनी भन्छिन्, ‘नेपालमा सामाजिक आर्थिक क्षेत्रको विकासमा पनि यसले निकै टेवा पुर्‍याउँछ। विश्वका बहुद्देश्यीय कम्पनीहरुको ध्यान नेपालतर्फ आकर्षित गरी आर्थिक लगानी भित्र्याउन सहयोग गर्छ। नेपाल आर्थिक रुपमा पनि समृद्ध हुन्छ।’

 

श्रृङ्खलाको विरोधमा उत्रिएकाहरुप्रति व्यंग्य गर्दै उनले भनिन्, ‘अहिले सुन्दरी प्रतियोगिताको विरोध गर्ने तछाडमछाड गर्नेहरु पनि उनले मिस वर्ल्डको ताज पहिरिएपछि बधाइ दिन आउने छन्।’

 

महिला शरीरको वस्तुकरण ?

सुन्दरी प्रतियोगिताहरुले महिलालाई मानवको रुपमा नहेरी उनीहरुको शरीरलाई नै वस्तुकरण गर्ने बताउँछिन् लेखक सरिता तिवारी। उनी भन्छिन्, ‘सुन्दरी प्रतियोगिताले महिला शरीरको वस्तुकरण गरेको छ। वौद्धिकताको कुरा गरिए पनि यो देखाउनको लागि मात्र हो। यसले महिलाको शरीर, अंगप्रत्यंगलाई नै प्राथमिकतामा राख्छ।’

 

नेपालबाट गएकी प्रतिस्पर्धीले मिस वर्ल्डको ताज पहिरिए पनि नेपाललाई यसले खासै फाइदा नपुर्‍याउने उनको भनाई छ।

 

‘अहिलेसम्म भारतका धेरै महिलाहरु मिस वर्ल्ड भएका छन्। त्यसले भारतमा भएको महिला दमन, भोकमरी, अशिक्षा जस्ता कुराहरुमा कुनै प्रकारको फाइदा पुर्‍याएको छैन’, उनले बताइन्, ‘नेपालमा पनि यसले कुनै उपलब्धी ल्याउँदैन। त्यस्तो आश नै नगरे हुन्छ।’

 

निर्मला पन्त तथा उनी जस्ता लाखौँ चेली बलात्कारका सिकार भएका छन्। न्याय माग्न बसेका निर्मला पन्तका बाबु मानसिक अवस्थामा विक्षिप्त छन्। यो बेलामा देशमा एक जना चेली मिस वर्ल्ड हुँदैछिन् भन्ने कुराको खुसी मनाउन नसकिने उनले बताइन्।

 

केही प्रश्नका उत्तरहरु घोकेर बनेका सुन्दरी प्रतियोगिताबाट जन्मेका सुन्दरीहरुले देशमा केही ठूलो योगदान गर्न नसक्ने बताउँछिन् लेखक सावित्री गौतम।

 

‘सुन्दरी प्रतियोगिताहरुमा बौद्धिक विकासलाई खासै वास्ता दिइँदैन। केही प्रश्नका घोकेका उत्तरहरु दिएर विजयी भएको सुन्दरीहरुले देशलाई खासै ठूलो योगदान दिन सक्दैनन्’, उनले भनिन्, ‘देशको शीर कुनै सुन्दरी प्रतियोगिताको ताजले उच्च बनाउँदैन।

 

यसको लागि महिलाहरु देशको उत्पादन प्रणालीसँग जोडिनुपर्छ। देशमा भइरहेको महिला हिंसा कम गर्नेतिर कदम चाल्नुपर्छ। महिलालाई बौद्धिक क्षेत्रमा लाग्न प्रोत्साहन दिनुपर्छ। देशलाई सबल र सक्षम बनाउने गतिविधितिर लाग्नुपर्छ।’

 

गणतन्त्रात्मक राज्यमा मानिसले आफूले चाहेको गर्न स्वतन्त्र हुने भएकोले व्यक्तिगत रुपमा श्रृङ्खलाको विरोधमा आफू नरहेको बताउँदै उनले भनिन्, ‘म व्यक्तिगत रुपमा कसैको समर्थन वा विरोधमा छैन।

 

तर यो सुन्दरी प्रतियोगिताहरुको वैचारिक रुपमा घोर विरोध नै गर्छु। यस्ता कार्यक्रम विविधताको सम्मान नगर्ने कार्यक्रम हुन्। यसले एकथरीको शारीरिक बनावटलाई मात्र सुन्दरताको कसीमा राख्छ र अरुलाई अप्रत्यक्ष रुपमा असुन्दर घोषित गरिदिन्छ। आर्य महिलालाई मात्र यसले सुन्दर मान्छ।’

 

महिला स्वतन्त्रतालाई यससँग जोडे पनि यस्ता प्रतियोगिताहरुले महिलालाई स्वतन्त्र बनाएका छैनन्। महिलालाई बिकिनी लगाएर भेडाजसरी मञ्चमा लाइन लगाएर हिँडाउँदै उसका शरीरका अंग प्रत्यंगको जाँच गर्नु स्वतन्त्रता हुन नसक्ने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका