प्रहरीको ‘हिट लिस्ट’मा रहेका विप्लव सुटुक्क काठमाडौंमा, सीमित व्यक्तिसँग गोप्य भेटघाट
प्रहरीको खोजी सूचीमा रहेका नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुटुक्क काठमाडौं आएको खुलासा भएको छ । यही मंसिर ८ गते तत्कालीन नेकपा माओवादीको लडाकु पूर्व जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको शक्ति प्रदर्शनका क्रममा विप्लव काठमाडौं छिरेका हुन् ।
शनिबार विप्लव नेतृत्वको नेकपाले काठमाडौंको भृकृटीमण्डपमा बृहत् जनसभा आयोजना गरेको थियो । पछिल्लो डेढ वर्षयता विप्लवको पार्टीले काठमाडौंमा गरेको जनसभामा झण्डै १० हजार बढीको उपस्थिति रहेको सुरक्षा निकायको अनुमान छ ।
स्रोतका अनुसार विप्लव जनसभामा भने सहभागी भएनन् । त्यसअघि विप्लव गोप्य रुपमा सहभागीको रुपमा जनतासँगै सभामा दर्शकका रुपमा सहभागी हुने चर्चा चलेको थियो । तर, विप्लवले काठमाडौंमै एकजना कार्यकर्ताको घरमा बसेर जनसभा हेरेको एक नेताले बताए । ‘‘उहाँ (विप्लव)
मंसिर ७ गते काठमाडौं आउनुभएको हो । ९ गते साँझ काठमाडौंबाट बाहिरिनुभयो,’’ ती नेताले भने । काठमाडौंमा रहँदा विप्लवले सीमित नेता–कार्यकर्तालाई मात्र भेटेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले विप्लव काठमाडौंको छेउछाउमा आएको सूचना आएको बताए । ‘‘कार्यक्रममै त होइन, छेउछाउमा आए भन्ने सूचना थियो,’’ एसएसपी लामाले भने ।
आन्तरिक सुरक्षामा चुनौती बन्दै गइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिर ८ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । देशभरबाट कार्यकर्ता काठमाडौं उतारेको नेकपाको कार्यक्रमलाई पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताहरुले सम्बोधन गरेका थिए । विप्लव प्रहरीको ‘हिट लिस्ट’मा छन् । उनीमाथि निर्वाचनको समयमा विष्फोट गराएको आरोप छ । झण्डै २ वर्षदेखि विप्लव अर्धभूमिगत अवस्थामा छन् ।
उनी औपचारिक रुपमा कुनै पनि कार्यक्रममा देखिएका छैनन् । विप्लवलाई १२ जना पूर्व जनमुक्ति सेनाले सुरक्षा दिँदै आएको स्रोतको दाबी छ । विप्लवलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतले गत पुस ९ गते ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसुरमा पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । भोजपुर अदालतले उनको नाममा वारेन्ट जारी गरेको छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदी प्रहरीले कानुनविपरीत गतिविधिमा संलग्न जोकोहीलाई पनि पक्राउ गर्ने बताउँछन् । नेकपाका नेता–कार्यकर्ताविरुद्ध विभिन्न जिल्लामा मुद्दा छन् । पछिल्लो समय सरकारले नेकपासँग वार्ताको प्रयास गरेपनि ठोस सहमति भने हुन सकेको छैन ।
गत साउन २२ मा ७ करोड चन्दा संकलनको आरोपमा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेका थिए । प्रहरी प्रवक्ता सुवेदीले भने, ‘‘ऐनकानुन विपरित गतिविधि गर्ने जोकोही भए पनि प्रहरीले कानुनको दायरामा ल्याउँछ, त्यसैअनुरुप नेकपाका नेता–कार्यकर्ता प्रहरी निगरानीमा छन् ।’’
संविधान खारेजीको मागसहित सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका नेता विप्लव पछिल्लो समय भारतमा बस्ने गरेको निष्कर्ष सुरक्षा संयन्त्रको छ । उच्च सुरक्षा स्रोत भन्छ, ‘‘विप्लवको अधिकांश बसाइ भारतमा हुने गरेको भए पनि पार्टीका कतिपय गोप्य कार्यक्रम, बैठक, प्रशिक्षणका लागि उनी नेपाल आएको देखिन्छ ।’’
तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको युद्धको समयमा पनि शीर्ष नेताहरु भारतमै गोप्य रुपमा बस्दै आएका थिए । नेपालमा रहँदा सूचना प्रविधिका कारण सुरक्षा निकायले विप्लवका सबै गतिविधिमा निगरानी राख्न सक्ने भएकाले उनी भारत गएका हुन् ।
तर नेपालमा आएको बेला उनले आफ्ना सुरक्षा सहयोगीको नम्बर प्रयोग गर्ने गरेको सुरक्षा स्रोतको दाबी छ । विप्लव अर्धभूमिगत रहँदा नेताहरु धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ओमप्रकाश पुन, सन्तोष बूढामगरलगायत नेताहरु भने नेपालमा संगठन विस्तारमा सक्रिय छन् ।
चन्दा उठाएको हिसाब नमिलेपछि विप्लव र प्रकाण्डको बोलचाल बन्द, पार्टी फुट्ने संकेत
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ मा काठमाडौँमा गरेको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको छ । उक्त कार्यक्रममा पार्टीको नेतृत्व गरेका विप्लव उपस्थित थिएनन् । त्यो कार्यक्रमको नेतृत्व पार्टीका दोस्रो वरियताका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गरेका थिए ।
काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गरेको विप्लव नेतृत्वको नेकपाभित्र गुट हावी भएको छ । एउटा गुटको नेतृत्व विप्लवले गरेका छन् भने अर्को गुटको नेतृत्व प्रकाण्डले गरेका छन्, जसको प्रभाव पार्टीका सबैजसो जनवर्गीय सङ्गठनमा विप्लव र प्रकाण्ड समूहका छुट्टा–छुट्टै कमिटी बनेका छन् ।
पत्रकारहरूको सङ्गठनबाट उत्पन्न भएको विवाद आएसँगै अरू सङ्गठनमा भएका विवाद पनि बाहिर आएका छन् । पछिल्लो समय सबैजसो जनवर्गीय सङ्गठनमा समानान्तर कमिटी बनेका छन् ।
पार्टीको नेतृत्व गरेका विप्लव भूमिगत शैलीमा सक्रिय छन् । उनी भूमिगत भएपछि पार्टीमा दोस्रो वरियताका नेता प्रकाण्ड सक्रिय देखिएका छन् ।
तर फेरि पछिल्लो समय जनवर्गीय सङ्गठनको नेतृत्वको विषयलाई लिएर नै नेकपाभित्र चर्को विवाद सिर्जना उत्पन्न भएको छ । पार्टी निकट स्वास्थ्यकर्मीहरूको सङ्गठनमा पनि समानान्तर कमिटी बनेको छ । त्यस्तै युवा, विद्यार्थी, पत्रकार लगायतका जनवर्गीय सङ्गठनमा पनि समानान्तर कमिटी बनेका छन् ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले सोमबार एक भेलाको आयोजना गरी प्रमोद योगी चिरञ्जीवीलाई अध्यक्षमा निर्वाचित गरेको घोषणा गरेको थियो । तर त्यसको लगत्तै प्रकाण्ड समूहले टीका कँडेलको अध्यक्षतामा अर्को समानान्तर कमिटी बनेको घोषणा गर्यो । यही कारण पार्टीभित्र फेरि विवाद बढ्दै गएको नेकपाका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।
विप्लव निकटका केही नेताहरूले योगीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरेको थियो । उनीहरूले योगी नेतृत्वकै सङ्गठन आधिकारिक भएको बताएका छन् । तर प्रकाण्ड समूहले कँडेल नेतृत्वको २८ सदस्यीय समिति आधिकारी भएको बताएको छ ।
बुद्धिजीवी सङ्गठनको जिम्मेवारी लिइरहेका कँडेललाई अध्यक्ष बनाउने प्रकाण्ड समूहको निर्णयलाई अस्वीकार गर्दै योगीलाई अध्यक्ष मान्नुपर्ने पक्षमा विप्लव समूहका नेताहरू छन् । प्रकाण्ड समूह भने कँडेललाई अध्यक्ष मान्नुपर्ने अडानमा छन् । योगी सोही सङ्गठनका निवर्तमान उपाध्यक्ष हुन् ।
यसअघि नेतृत्व गरेका डम्बर रावललाई बिदाइ गरी सोही कमिटीबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मतमा पार्टीका सबै नेताहरू थिए । तर पछि प्रकाण्ड पक्षधरले उक्त निर्णयलाई अस्वीकार गर्दै समानान्तर कमिटी बनाएको एक नेताले रातोपाटीलाई बताए ।
विप्लव समूहका योगी जनयुद्धकालमा सक्रिय थिए । उनका दाजु विश्वनाथ योगी जनयुद्धका सहिद हुन् । योगी माओवादी जनयुद्धमा स्वास्थ्यकर्मीको रूपमा युद्धका घाइतेको उपचारमा सक्रिय थिए । उनको परिवार जनयुद्धमा पूर्णकालीन भएर काम गरेको थियो । माओवादी विभाजनसँगै २०७१ फागुन ११ मा रावल अध्यक्ष भएका थिए ।
‘पछिल्लो समय प्रकाण्ड कमरेडले आफ्नो इन्ट्रेस्टमा काम गरिहनुभएको छ । यो प्रवृत्तिले विप्लव कमरेडलाई पनि सोच्न बाध्य बनाएको छ ।’
एक नेताले भने– ‘यसरी पार्टीभित्र विवाद उत्पन्न गराएर हामीले सोचेको क्रान्ति पूरा होला भन्नेमा शङ्का उत्पन्न भएको छ । हाम्रो पार्टी पनि गुटबन्दीमा रुमलिने सङ्केत देखियो ।’
त्यस्तै विप्लव समूहको युवा सङ्गठनमा सुदीप मल्लले छोडेपछि बाबुराम राईलाई संयोजक बनाएको थियो । तर त्यसलाई प्रकाण्ड समूहले स्वीकार गर्न सकेन । अहिले त्यो विवादमा छ ।
त्यस्तै मजदुरहरूको सङ्गठनमा पनि विवाद कायम छ । प्रकाण्ड नै मजदुरको फ्याक्सन इन्चार्ज भएर आएपछि त्यो सङ्गठनलाई विप्लव समूहले स्वीकार गरेको छैन । त्यो अहिले विघटित अवस्थामा रहेको ती नेताले बताए ।
त्यस्तै विद्यार्थी सङ्गठनमा प्रकाण्डले आफ्नो छोरालाई कोषध्यक्ष बनाएपछि त्यहाँको विवाद पनि कायमै छ । त्यहाँ धेरै विद्यार्थी नेताहरूले चर्को विरोध गर्दै आएका छन् । उनले चिरञ्जी ढकाललाई अध्यक्ष बनाए ।
त्यस्तै पत्रकारहरूको सङ्गठनमा पनि दुई समूह देखापर्यो । जसले गर्दा नेकपाको विवाद बाहिर आएको थियो । त्यस्तै प्रकाण्डले नै विप्लवका छोरा प्रकाश चन्दलाई स्वास्थ्यकर्मीहरूको सङ्गठनको महासचिव बनाए । तर त्यसमा विप्लवले आफूलाई बदनाम गर्न यसो गरिएको आफूनिकटका नेताहरूलाई बताउँदै आएको ती नेताले रातोपाटीलाई बताए ।
यसअघि प्रकाण्डको पक्राउलाई लिएर पनि पार्टीभित्रैबाट प्रश्न उठेको थियो । पार्टी मूल नेतृत्वको निर्देशन विपरीत प्रकाण्ड काठमाडौँ आएर प्रक्राउ परेको स्रोतले बताएको छ ।
‘पार्टी महासचिवले तपाईं अहिले राजधानी नजानुस् भन्नुभएको रहेछ । त्यो पनि एक पटक होइन, तीन–तीन पटक । नेतृत्वको सुझावलाई बेवास्ता गरेर प्रकाण्ड कमरेड काठमाडौँ आउनुभएको रहेछ । त्यहीबेला उहाँ प्रक्राउ पर्नुभयो । पाटीभित्र उहाँको पक्राउलगायतका विषयलाई लिएर पनि केही आशङ्का छन्,’ विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।
प्रकाण्डलाई प्रहरीले चन्दा उठाएको आरोपमा साउन २२ मा पक्राउ गरेको थियो । अदालतको आदेशपछि असोज ९ गते प्रकाण्ड रिहा भएका थिए ।