दश वर्षदेखि बेपत्ता पतिको खबर त आयो तर मृत्युको !



 

रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, ‘कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि?’ करिब दश वर्षदेखि बाटो कुरिरहेकी श्रीमती रत्नासँग अब न आशा बाँकी रह्यो न त श्रीमान् नै!’

रोजगारीका लागि दिल्ली पुग्नुअघि २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जितबहादुरले गरेको टेलिफोन कुराकानी नै रत्नाका लागि श्रीमानको अन्तिम आवाज बन्न पुग्यो।

चाँडै फर्कने वाचा गर्दै निस्किएका बस्नेत अब कहिल्यै घर फर्कने छैनन्।

बुवाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर भएको छ।

रोगले थलिएका जितबहादुरका ९१ वर्षीय बुवा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ।

दश वर्षदेखि बेपत्ता बस्नेतको मृत्युको खबरले यतिबेला बस्नेत परिवार मात्रै होइन बाग्लुङको गलकोट नगरपालिका-१०,मल्म गाउँ नै शोकमा डुबेको छ।

दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारजन थकित र निराश भइसकेका थिए।

एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आउँदा छांगाबाट खसेजस्तो भएको मृतकका दाइ गिनबहादुरले बताए।

दूतावासले गत कात्तिक १६ गते (२ नोभेम्बर) मा ५० वर्षीय जितबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नका लागि परिवारलाई खबर गरिदिन बागलुङ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि घटना थाहा भएको हो।

दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी (पुलिस स्टेसन लोधी क्लोनी) को पत्रमा (सन् २००९ जुलाई ९ तारिख)मा दुर्घटनामा परी बस्नेत घाइते भएको लेखिएको छ।

गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहका लागि ‘शान्ति निकेतन’ भन्ने पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ।

स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ।

गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पताल ल्याइएका बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले बस्नेतको शव ‘एम्स’ अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरीदिन अनुरोध गर्दै यही मंसिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो।

सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो।

दिल्लीमै रहेका अमर आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुगेका थिए।

दूतावासले शव बुझ्न आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उनको भनाइ छ।

भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिएका थिए।

‘मुद्दा हेरिरहेका प्रहरी अधिकृत विदामा भएकाले आजलाई बोलाएको छ,’ उनले भने। मृत्युको घटना हेर्ने प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उनले बताए।

पुनःस्थापना केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो।

‘अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो,’ अमरले भने, ‘घटनाको यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौं।’

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशंका व्यक्त गरेका छन्। दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न उनीहरूले गरेका छन्।

परिवारले बस्नेत हराउनेबित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए।

हप्तौंसम्म बसेर दिल्लीमा खोजी गर्दा पनि बस्नेतको अवस्था थाहा हुन सकेको थिएन। दिल्लीबाट आफन्त भेट्न गुढगाउँ पुगेका बस्नेत फर्कँदा बाटोबाटै सम्पर्कविहीन भएका दिल्लीमै रहेका खड्क साहानीले बताए। ‘दश वर्षपछि एकैचोटि मृत्युको खबर आयो,’ उनी प्रश्न गर्छन्, ‘यत्रो घटना कसरी लुक्यो?’

प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजंग विमानस्थलनजिक दुर्घटनामा परेका थिए। दुर्घटनामा पर्नुअघि उनी १५ वर्षसम्म दिल्लीमै काम गरिरहेका थिए। ‘यतिका वर्षपछि भाइ नरहेको खबर आयो,’ दाइ गिनबहादुरले भने, ‘हामी जति दुःखी भएका छौं त्यति नै आश्चर्यमा परेका छौं, यस्तो कसरी भयो?’

बस्नेत सकुशल घर फर्कनेछन् वा राम्रो खबर आउनेछ भन्ने आशामा रहेकी रत्नालाई यतिबेला ठूलो बज्रपात परेको छ। संयुक्त परिवारबाट छुट्टिएर बसेकी रत्नालाई श्रीमानको मृत्युले बेसहारा बनाएको छ।

छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन्। पैसा कमाउन विदेशिएका श्रीमानको उतै निधन भएपछि रत्ना यतिबेला एक्लीजस्तै भएकी छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।