‘देउवाको बहुमतले कांग्रेस बिग्रियो, ओलीको दुई तिहाईले देश’
०२७ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति भएका बलबहादुर केसी अञ्चलाधीशको कार्यालयमा बम हान्दा पहिलोपटक पक्राउ परे । त्यसयताको राजनीतिक जीवनमा उनी पटक–पटक गरी ७ वर्ष जेल परे । ०४० सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति भएका उनी ०४२ को सत्याग्रहका संयोजक थिए ।
बहुदल स्थापना पश्चात ०४९ मा कांग्रेसको केन्द्रीय सदस्य बनेका उनी चारपटक सांसद र पटक–पटक मन्त्री बने । केसी ०५२ मा युवा, खेलकुद तथा संस्कृति मन्त्री, ०५६ मा सामान्य प्रशासन, आवास तथा भौतिक योजना र श्रम तथा ०५८ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बने । पहिलो संविधानसभा चुनाव र ०७० सालको प्रतिनिधिसभामा भने केसी पराजित भए ।
पहिलोचोटि गोपाल किरातीले र दोस्रोचोटि शेरबहादुर देउवाले चुनाव हराएको केसीको विश्लेषण छ ।
मन्त्री भएका बेला ‘डेलिभरी’ दिन नसकेको अस्वीकार गर्दैनन्, ६५ वर्षीय केसी । पञ्चायत ढालेर बहुदल व्यवस्था पुनर्स्थापना भएपछिको निर्वाचित सरकार जनअपेक्षा अनुसार काम गर्न नसक्दा अलोकप्रिय बनेको उनको बुझाइ छ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा लगाएको कांग्रेसले पछिल्लो भारतीय नाकाबन्दीविरुद्व नबोल्दा जनताले निर्वाचनमा सजायँ दिएको केसी बताउँछन् ।
प्रजातान्त्रिक पार्टी भनिए पनि कांग्रेसमा आन्तरिक प्रजातन्त्र कमजोर रहेको केसी बताउँछन् । ‘नेपाली कांग्रेसलाई शेरबहादुरजीको बहुमतले बिगार्यो, देशचाहिँ केपी ओलीजीको दुई तिहाईले’, उनी भन्छन्, ‘यही हो आजको राजनीतिक यथार्थ ।’
नक्सालस्थित निवासमा उनले भने, ‘वैचारिक हिसाबले राष्ट्रियताको कुरा गर्ने, तर राष्ट्रमाथि विपत्ति आउँदा बोल्न नसक्ने भएपछि नेपाली कांग्रेसलाई जनताले किन साथ दिने ?’
पञ्चायतकालमा गरेको संघर्ष, कांग्रेसभित्रको वर्तमान राजनीति र मुलुकको वर्तमान परिस्थितिबारे केसीले आफ्ना अनुभव यसरी सुनाएः
शेरबहादुरजीले मलाई हराए, पार्टीमा उनको सिण्डिकेट छ
०४६ सालको आन्दोलनमा अग्रपंक्तिमै थिएँ । ०४९ मा पार्टीको केन्द्रीय सदस्य भएँ । सोलुबाट चार पटक सांसद भएँ । दुईपटक निर्वाचनमा पराजित भएँ ।
०६४ सालको निर्वाचनताका सोलुखुम्बुमा मात्रै होइन, देशभर नै आतंक थियो । देशभरका केही उम्मेदवार माओवादीको निशानामा थियो । सोलुमा माओवादीका गोपाल किराती मेरा प्रतिस्पर्धी थिए । उनीहरूले हामीलाई प्रचार–प्रसार नै गर्न दिएनन् । मलाई त गोली नै हाने । स्वतन्त्र तरिकाले मताधिकार प्रयोग गर्ने अवस्था पनि थिएन । निर्वाचन जित्ने भन्दा ज्यान जोगाउने कुरा महत्वपूर्ण थियो ।
०६४ को भन्दा तीतो अनुभव ०७४ को चुनावमा भयो । त्यसमा विपक्षी होइन, आफ्नै मान्छे मलाई हराउन लागि परे । नामै भन्नुपर्छ भने म शेरबहादुरजीको षडयन्त्रमा परेँ ।
म कांग्रेसका ५/७ जना सिनियर नेतामा म पर्छु । त्यसो भएर होला, शेरबहादुरजीले मलाई आफ्नो प्रतिस्पर्धी ठान्नुभयो । पछिल्लोपटक प्रधानमन्त्री भएका बेलामा मलाई मन्त्री बनाउनुभएन । मन्त्री नबनाउनु ठूलो कुरा होइन, तर उहाँले एउटा पत्रिकामा समाचारै लेखाउनुभयो, बलबहादुर केसीलाई मन्त्री बनाइँदैन भनेर । त्यो जरुरी थियो ?
पार्टीभित्र उहाँको सिण्डिकेट छ । मलाई केही जिम्मेवारी दिनुभएन । संविधान निर्माणमा पनि मलाई जिम्मेवारीविहीन बनाउनुभयो । सातवटा प्रदेशमा एक–एक ‘कमाण्डर इन चीफ’ राख्नुभएको छ । उनीहरूकै माध्यमबाट निर्णय गराउनुहुन्छ ।
संघीय संसदको चुनावमा ९० प्रतिशत कांग्रेस मतदाता रहेका सोलुको तिङ्लावासीले मतदान नै गरेनन्, नगरपालिका नबनाएको विरोधमा । चार गाविसको एउटा गाउँपालिका बन्यो ।
तिङ्लाले नगरपालिका बन्न चाहँदा नेचाले केन्द्रमा विरोध जनायो । बीचमा मेरो सल्यान गाउँपालिका छ । तिङ्लालाई मैले नै नगरपालिकामा बन्न नदिएको भनेर प्रचार गरियो । यो काममा शेरबहादुरजी र उहाँका मान्छे लागे । पछि शेरबहादुरजीले नै तिङ्लालाई नगरपालिकामा राखिदिनुभयो । तिङ्लाले भोट दिएको र अन्तर्घात नभएको भए मैले धेरै अन्तरले चुनाव जित्ने रहेछु ।
शेरबहादुरजीले प्रदेश सभा सदस्यको दुबै उम्मेदवार मसँग असहमति राख्नेलाई बनाउनुभयो, मलाई घेरावन्दी गर्न । स्थानीय चुनावमा सोलुका सात गाउँपालिका र एउटा नगरपालिका सबैमा उहाँका मान्छे विद्रोही उठे ।
तीन गाउँपालिकालाई मेरो विरोधमा खडा गरिदिनुभयो । हामीलाई प्रहरी लगाएर लखेटियो । प्रधानमन्त्री र गृहमन्त्री उहाँ नै हुनुहुन्थ्यो । सात ठाउँमा त बुथ क्याप्चर नै भयो । चुनाव हारे पनि सोलुका जनता मेरो पक्षमा छन् । जित्नेहरूले एउटा पनि कार्यक्रम गर्न सकेको छैन ।
गिरिजाबाबुको एउटा राम्रो निर्णय
परिस्थितिले धकेलेर कांग्रेसलाई गणतन्त्रसम्म पुर्योयो । यो अवस्था आउनुमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार छन् । कांग्रेसले मिलेर जानुपर्छ, संसदीय व्यवस्था उपयुक्त व्यवस्था हो भनेर विधानमा पनि राजसंस्थालाई स्थान दियो । तर, दरबार कांग्रेस र लोकतन्त्र सिध्याउन लागिरह्यो । धेरैपटक साथ दिँदा पनि कांग्रेसलाई सिध्याउन मात्र लाग्यो ।
अनि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको बाटो लिने निर्णय गर्नुभयो । गिरिजाबाबुले थुप्रै विकृति भित्र्याउनुभएको छ, तर गणतन्त्रको मामला भने उहाँले सही निर्णय लिनुभयो । कांग्रेसले निर्णय नगरेको भए माओवादीको मात्रै जोडबलले गणतन्त्र आउने थिएन ।
कांग्रेस यो हालतमा आउनुमा विभिन्न तत्वले काम गरेको छ । अन्तराष्ट्रिय शक्तिको चलखेल एउटा कारण हो । अर्को कारण कांग्रेसको आप्mनै कार्यशैली हो । राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको सिद्धान्त हो, तर यी तीनवटै कुरामा विचलित भयो । भारतले त्यत्रो ठूलो नाकाबन्दी गर्दा कांग्रेस बोल्न सकेन ।
कांग्रेस लोकतान्त्रिक पार्टी हो, तर आफ्नै संगठनभित्र लोकतन्त्र छैन । नेतृत्वले लोकतन्त्र दिन सकेन । पार्टी लोकतान्त्रिक, व्यवहार अलोकतान्त्रिक भएपछि आफै विवाजित भयो । त्यसको शुरुवात गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराएर गर्नुभयो ।
त्यसरी शुरु भएको अन्तरघातको सिलसिला अहिलेसम्म निरन्तर छ । ३६४ दिन कांग्रेस हुने, चुनावको दिन कांग्रेस नहुने भएपछि कसरी जित्छ ? कांग्रेसलाई अरुले होइन, आफ्नै ले हराएको हो ।
यसका बावजुद जनताले सत्तामा पुर्याउँदा पनि कांग्रेसले डेलिभरी दिन सकेन । भ्रष्टाचार मौलायो । प्रधानन्यायाधीश सुशील कार्कीमाथि महाअभियोग लगायो । प्रहरी महानिरीक्षक र राजदुत नियुक्तिमा पनि त्यस्तै विवाद भयो ।
एउटा व्यक्तिका लागि प्रधानमन्त्री र गृहमन्त्रीले त्यसरी मरिमेट्नुपर्ने के कारण थियो ? दुईवटा ठूला कम्युनिष्ट पार्टीको गठबन्धनसँग लड्नु परेको चुनावमा धन्न समानुपातिक प्रणालीले गर्दा यति सिट आयो । नत्र, वडो विचित्र हुने रहेछ ।
कांग्रेस नेतृत्वको वुद्वि
कहीँ न कहीँ गल्ती नभई यो परिणाम आएको छैन भनेर नेतृत्वमा सद्वुद्धि आउला भन्ने लागेको थियो । पार्टीभित्र सहमति होला भन्ने अपेक्षा थियो, तर भएन । अहिले दुई तिहाईको सरकार छ, केही गर्न सकिरहेको छैन । काग्रेस पार्टीलाई यो उपयुक्त मौका हो, तर मौका पाएर के गर्नु, सदुपयोग गर्न नसकेपछि ।
न संविधान कार्यान्वयनसँग सम्बन्धित कानूनहरु बनाउन सकेको छ । न शान्ति सुरक्षा छ । हिजो केन्द्रमा भ्रष्टाचार थियो, अहिले त्यो वडासम्म फैलिएको छ । यतिखेर प्रतिपक्षले प्रभावकारी भूमिका खेल्न सक्थ्यो । तर, कांग्रेस ०४८ मा सत्ता पक्ष हुँदाको जस्तै यतिबेला प्रतिपक्षको भूमिकामा पनि फितलो भयो ।
यति पनि नबुझ्ने नेतृत्व होइन, तर पार्टी क्याप्चर गर्ने नीतिमा मात्र लागेको छ । नेताहरु कुनै शक्ति केन्द्रको छायामा पर्नुभएको छ । लोकतन्त्र बचाउन कांग्रेस बच्नुपर्छ भन्ने धेरै शुभचिन्तक, समर्थक, मतदाता, कार्यकर्ता छन् । तर, नेतृत्वको वुद्वि अर्कै भयो । मुहानै धमिलो भएपछि तल त्यसै धमिलो हुने रै’छ । यसको जिम्मा विशेषगरी शेरबहादुरजीले लिनुपर्छ । बाँकी जिम्मेवारी हामी पनि लिन्छौं ।
अब कांग्रेस यसरी अगाडि बढ्छ भन्ने प्रस्ताव ल्याउने सभापति नै हो । तर, शेरबहादुरजी सिंगो कांग्रेसको नभई एउटा सानो समूहको नेता भएर हिंड्नुभएको छ । त्यो नै कांग्रेसका लागि ठूलो अभिशाप भएको छ । उहाँको बहुमतले नेपाली कांग्रेसलाई नराम्ररी बिगारेको छ ।
अब कहाँबाट सुधार शुरु गर्ने ? प्रस्ताव शेरबहादुरजीले नै ल्याउनुपर्छ । देश, जनता र पार्टीको फाइदा हेरेर लागि प्रस्ताव ल्याए हामीले नमान्ने कुरै छैन । एउटै पक्षको मात्र सभापति हुने हो भने चाही अब उहाँलाई कांग्रेसको नेतृत्व दिनुहुँदैन ।
नेपालका पार्टी र नेताहरुले स्वतन्त्र निर्णय गर्नसक्ने हैसियत गुमाईसकेका छन् । यस्तो अवस्थामा भौगोलिक, धार्मिक र जातीय मुद्दा चर्को रुपमा उठ्न सक्छन् । खेल्न चाहनेहरूले अवसर हेरिरहेका छन् । धर्मको नाममा राजतन्त्र ब्यूँताउने चलखेल देखिएकै छ ।
राजतन्त्रको विषय चर्काउन नसकिने देखेर चलाखीपूर्ण तरिकाले यसमा हिन्दु धर्मको मुद्दा घुसाउन खोजिएको छ । बेलैमा सम्हाल्न नसके यसले विखण्डनसम्ममा पुर्याउन सक्छ ।सरकार र पार्टीहरूले यी तीन कुरा सम्हाल्न सके भने नेपाल साँच्चै सुन्दर देश बन्नेमा कुनै शंका छैन ।
पहिला उन्मादले ‘डेलिभरी’ दिन सकेनौं
प्रजातन्त्र पुनस्थापनापछिको संसद निकै प्रभावकारी थियो । भर्खर बहुदल आएकाले सांसदहरू अनुशासित थिए । बहसहरु वैचारिक दृष्टिकोणबाट हुन्थे । अहिले त अरु नै तत्वले संसद प्रभावित भएको देखिन्छ ।
पहिले संसदमा सिद्धान्तको राजनीति गरेका, पंचायतविरुद्ध लडेका र वैचारिक प्रतिबद्धता भएका मान्छेहरू थिए । अहिले जग्गा कारोबारी, मेन पावर सञ्चालकहरू सांसद बनेका छन् । टिकट वितरणदेखि नै गलत अभ्यास भइहेको छ । दुई तिहाई बहुमतको सरकार हुँदा पनि सरकारको गाडी अगाडि बढ्न नसक्नुको एउटा कारण यो पनि हो ।
सीमित मान्छेले सरकार चलाए, संविधान निर्माणमा पनि उनीहरू भन्दा बाहिरकाले मौका पाएनन् । राजनीतिमा सिण्डिकेट हावी भयो । यसमा कांग्रेसको कुरा गर्नुहुन्छ भने विकृतिको शुरुवात गिरिजाप्रसाद कोइरालाले छत्तिसे र बहत्तरे विभाजनबाट गर्नुभयो । अहिलेको हालत त देखिराख्नुभएकै छ ।
हामीले अंगीकार गरेको संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छन् । प्रधानमन्त्री जस्ता छन्, सरकारको पफर्मेन्सन त्यस्तै हुन्छ । प्रधानमन्त्रीले नै तलमाथि गरेपछि मन्त्रीको केही नलाग्दो रहेछ । कर्मचारीलाई ठीक ठाउँमा राख्न नसकिने रहेछ । कर्मचारीका अगाडि मन्त्रीको केही नलाग्दो रहेछ ।
पञ्चायतलाई पराजित गरेर आएपछि बनेको संसदले पुरुषलाई महिला र महिलालाई पुरुषबाहेक सबथोक गर्न सक्छ भन्थ्यौं, तर सत्ता सञ्चालनको अनुभव थिएन । त्यो अनुभव न नेतृत्वमा थियो न हामी मन्त्रीहरूमा । बरु, हामीलाई कसले के गर्न सक्छ भन्ने भावना थियो । अनि जनताले चाहेको डेलिभरी दिन सकेनौं ।
म यसरी कांग्रेस बनें
म सोलुखुम्बुको सल्यानमा ०१० साल साउन २ गते जन्मेको हुँ । विद्यालय तहसम्म जिल्लामै पढेँ । त्यतिबेला सोलुमा एसएलसी परिक्षा केन्द्र नभएकोले दोलखाबाट एसएलसी दिएँ । डा. बाबुराम भट्टराई बोर्ड फस्ट भएकै साल ०२६ मा मैले एसएलसी उत्तीर्ण गरेँ ।
त्यसपछि कलेज पढ्न काठमाडौं आएँ । ०२७ सालमा नेविसंघबाट महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति बनेँ । विद्रोही स्वभावको थिएँ, अन्याय भएको देखेपछि विरोध गरिहाल्ने । त्यही क्रममा नेविसंघसँग संस्थागत रुपमा जोडिन आएँछु ।
२००७ को क्रान्ति, कांग्रेसको अभियान र ०१५ सालको निर्वाचनबारे मेरा बुबा र हजुरबा कुरा गरिराख्नु हुन्थ्यो । बुबा राणाहरूको आठपहरिया हुनुहुन्थ्यो । उहाँको विपि, गणेशमानको कुरा र राजनीतिक सन्दर्भहरु खुब चाखले सुन्थें । त्यसरी मभित्र राजनीतिक आकर्षण पैदा भएछ ।
०२९ सालको विद्यार्थी आन्दोलनका बेला अञ्चलाधीश कार्यालयमा बम हान्ने योजना बन्यो । आक्रामक र शुरो भएकाले होला बम फाल्ने जिम्मेवारी मलाई दिइयो । बम नेविसंघकै कसैले बनाएको थियो । दुईटा हाते बम बोकेर रानीपोखरी (अहिले महानगरीय प्रहरी प्रभाग भएको ठाउँ) मा रहेको अञ्चलाधीशको कार्यालयमा गएर हानें, एउटा मात्र पड्क्यो । त्यसपछि ‘वारेन्टेड’ भएर बनारस गएँ । त्यहाँ पहिलो पटक बीपी कोइरालासँग भेट भयो ।
०३२ सालमा राजाको राज्यभिषेक थियो । जैसीदेवलमा मन्त्रीलाई बम हानियो । त्यसबेला म काठमाडौं फर्किसकेको थिएँ । त्यो केसमा नरबहादुर कार्की र शिव कंगाल सरकारको नोटिसमा परे, पक्राउ चाहीँ उनीहरूसँग बस्ने म मात्र परेँ । ओखलढुंगाको टिम्बुरबोटे काण्डपछि फेरि अर्को चार वर्ष थुनिएँ । त्यो केसमा यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिए ।
०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर आउनुभयो । बीपी र राजा मिले आफूहरू असान्दर्भिक हुने डर पञ्चहरुमा थियो । उनीहरूले बीपीलाई मृत्युदण्ड दिनुपर्छ भनेर राजामा विन्ती चढाए ।
त्यसबिरुद्व विराटनगर, पोखरा लगायतका ठाउँमा कार्यक्रम गर्ने निधो भयो, तर त्यता जाँदा पञ्चहरू धावनमार्गमै सुतेर बीपी सवार विमानलाई ओर्लनै दिएनन् । कार्यक्रम गर्न पोखरा गएका हामी तनहुँमा पक्राउ पर्यौं ।
कांग्रेस जन्माउने नर्सरी थियो नेविसंघ
०३६ सालमा पाकिस्तानको सैनिक सरकारले लोकप्रिय नेता जुल्फीकर अली भुट्टोलाई फाँसी दियो । त्यो घटनाले नेपालमा आन्दोलनको माहौल बन्न सघायो । भुट्टो हत्याको विरोधमा लैनचौरस्थित पाकिस्तानी दुतावासमा ज्ञापनपत्र बुझाउन जाँदा गेटमा प्रहरीले लाठीचार्ज गर्यो । त्यहाँबाट म पक्राउ परें ।
त्यसपछि ३५ सुत्रीय माग राखेर विद्यार्थी आन्दोलन अगाडि बढ्यो । म आन्दोलनको संयोजक थिएँ । नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियु (पाँचौ) आन्दोलनको विरोधमा थियो, तर अरु कम्युनिष्ट विद्यार्थी संगठनका कैलाश कार्की, शरणविक्रम मल्लजीहरू भने हामीसँग हुनुहुन्थ्यो ।
जे होस्, भुट्टोको मृत्यदण्डलाई लिएर विद्यार्थी आन्दोलन चर्किंदै गयो । त्यसको उपलब्धि के रह्यो भने ०३६ सालमा राजा जनमत संग्रहका लागि बाध्य भए । त्यो आन्दोलनको ‘फ्रन्ट’मा विद्यार्थी र ‘ब्याक’मा प्रतिबन्धित कांग्रेस पार्टी थियो । त्यही आन्दोलनले ०४६ सालको परिवर्तनको विजारोपण गरेको थियो ।
जनमत संग्रहका बेला म आफ्नो जिल्लाबाटै सक्रिय थिएँ । त्यतिबेला शेरबहादुर देउवाजी नेविसंघको अध्यक्ष र म कार्यवाहक अध्यक्ष थिएँ । शिव भुर्तेल महामन्त्री हुनुहुन्थ्यो । जनकपुर महाअधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष र दिलबहादुर घर्ती महामन्त्री भए, तर पूरा कार्यकाल चलाउन सकेनन् । ०४० सालमा म नेविसंघको अध्यक्ष भएँ ।
त्यतिखेर विद्यार्थीहरू मूल्यमान्यताको राजनीतिमा समर्पित थिए । नेतृत्वले भनेपछि जस्तोसुकै खतरा मोल्न विद्यार्थीहरू तयार थिए । नेताले भन्दा वित्तिकै राम, लक्ष्मणहरूले टिम्बुरबोटेमा ज्यान दिए । त्यतिबेला शैक्षिक भन्दा राजनीतिक मागमा विद्यार्थी आन्दोलन केन्द्रित थियो । वैचारिक स्वतन्त्रता, प्रजातन्त्रको माग नै केन्द्रमा थियो ।
त्योबेला नेविसंघ त कांग्रेस नेता जन्माउने नर्सरी नै थियो, त्यहीबाट पार्टीले उर्जा लिन्थ्यो । तर, अहिले त्यो नेविसंघ रहेन । यसलाई चुस्तदुरुस्त बनाउन पार्टीले पनि सोच्ने बेला आएको छ ।
अहिलेको विद्यार्थी राजनीति निष्ठामा नभई स्वार्थमा रुमलिएको छ । संगठन मजुबत बनाउने भन्दा आफ्नो हित हेर्ने प्रवृत्ति छ । न शैक्षिक सुधारको माग उठाउँछन्, न राजनीतिको । शिक्षा, स्वास्थ्य क्षेत्रको अस्तव्यस्ततामा विद्यार्थी संगठनहरुले कुनै मतलब राखेको देखिँदैन ।
अनलाईनखबरबाट