प्रधानमन्त्री केपीको दाईने हात परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै, ८ महिनामा ६४ दिन विदेशमै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे ।

 

शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके । जापान उनको १३औं भ्रमण हो ।

 

विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे ।

 

नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताउँछौं ।

 

‘तपार्इंका मन्त्रीहरूले कतिबेला काम गर्छन्, खै ? हुन्न केही भन्दैनन्, गर्ने केही होइन । केही भन्न गयो, भ्रमणको कुरा गर्छन्’, काठमाडौंस्थित एक विदेशी नियोगका अधिकारीले भने । उपेन्द्र यादव पनि परराष्ट्रमन्त्री हुँदा खुब घुमे । उनलाई डा. प्रकाशशरण महतले पछ्याए । परराष्ट्र अधिकारी भन्छन्, ‘हामीलाई पनि घुम्न मन लागेको हुन्छ । मन्त्रीलाई नै पठाइदिएपछि बाटो खुल्छ ।’

 

मन्त्रीका अगाडि कर्मचारीले मक्ख हुने गरी कुरा राख्ने चलन नौलो होइन । तर त्यसमै अल्मलिनु अनौठो हो । ‘परराष्ट्रमन्त्रीको आठ महिना अवधिमा उहाँ दुई महिना विदेश र प्लेनमा रहनुभयो’, कर्मचारीले टिप्पणी गरे ।

 

दुई महिना चार दिन विदेशमा रहे पनि नगई नहुने भन्ने जस्तो भ्रमण खासै छैन । परराष्ट्रमन्त्री विदेश जानुका निश्चित उद्देश्य हुनुपर्छ । तर अहिले भइरहेको भ्रमणबाट त्यस्तो केही देखिएको छैन ।

 

भारत र चीनबीचको सन्तुलन, पश्चिमा शक्तिको चासोको मत्थरलगायत दुईपक्षीय÷बहुपक्षीय सहकार्यका काम अघि बढाउनुपर्नेमा बाहिर मात्र दौडिने काम सुहाउँदो नभएको प्रधानमन्त्री कार्यालयका सल्लाहकारले सुनाए ।

 

चैत २ मा परराष्ट्रमन्त्री भएपछि उनले विदेश यात्रा अजरबैजानबाट थालेका हुन् । उनी असंलग्न राष्ट्रहरूको संगठन (नाम)को मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन अजरबैजान पुगे । त्यसलगत्तै उनी प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन उतैबाट दिल्ली आए । दिल्लीबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भन्दै बेइजिङ हान्निए ।

 

चीनपछि ज्ञवाली अल्पविकसित र भूपरिवेष्ठित मुलुकको थिंक ट्यांक सम्मेलनमा सहभागी हुन मंगोलिया गए । त्यहाँबाट फर्केको एक साता नहुँदै उनी प्रधानमन्त्रीसँग चीन भ्रमणमा निस्किए । बिम्स्टेक तयारीलाई बेवास्ता गर्दै ९ दिनका लागि युरोप (पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम) गए ।

 

बिम्स्टेक सम्मेलन सकेको केही समयमा उनी पुनः युरोप गए । पहिला गएको स्थानमा पुनः दोहोर्‍याएरसमेत पुगे । भियना र बेल्जियमबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीसँग १३ दिन अमेरिकामा रहे । राष्ट्रपति विद्यादेवी भण्डारीसँग कतार गए । ज्ञवाली मन्त्री बनेपछि परराष्ट्र कर्मचारीको विदेश भ्रमण पनि बढेको छ । लामो राजनीतिक अनुभव भएका ज्ञवालीको भ्रमण मोह देखेर अन्य समकक्षी नै आश्चर्यमा छन् । चाडपर्व परेको महिना र मोदीको नेपाल भ्रमण भएको मे महिनाबाहेक सबै महिना विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस
विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

    राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ...