देश विकास गर्ने एकमात्र पार्टी नेकपाः प्रचण्ड



 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सो कुरा बताएका हुन् ।

 

बिहीबार बिहान नै भरतपुर महानगरपालिका वडा नम्बर २४ को भवन उदघाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने आश्वासन दिए ।

 

उनले भने, ‘अहिले सरकारमा निकै गम्भीर रुपले यो समस्याको गम्भीररुपमा नीतिगत समिक्षा भइराखेको छ र केही समयभित्रै एउटा निष्कर्षमा पुगेर पूर्जा वितरणको काम या अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने छ ।’

 

उनले पाँच वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु पिच गर्ने दाबी गरे । ‘चुनावताका २४ नम्बर वडा पिच नै नभएको वडाको रुपमा चिनिन्थ्यो तर आज यो कार्यक्रममा म आउँदा बाटो पिच भएको देखेर गर्वको महसुस भयो,’ प्रचण्डले भने, ‘यो शुभसंकेत हो, सबै बाटाहरु पाँच वर्षभित्र पिच गरिसक्ने । एक वर्ष झण्डै बित्यो, अब चार वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु धुलामुक्त हुनेछन्, पिच हुनेछन् ।’

 

उनले त्यो कामको थालनी भरतपुर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकार तीनवटै तहबाट भइसकेको र निकै उत्साहपूर्ण तरिकाले अगाडि बढेको जानकारी गराए ।

 

उनले भरतपुर महानगरपालिका २४ नम्बर वडाको अव्यवस्थित बसोबास नै प्रमुख समस्या रहेको बताए । चितवनबाट निर्वाचित सांसदसमेत रहेका प्रचण्डले भने, ‘अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखेर हामीले केही समयभित्रै यो समस्याको समाधान गर्ने छौं ।

 

जसलाई तुरुन्तै लालपूर्जा दिन सम्भव छ, उनीहरुलाई लालपूर्जा वितरणको व्यवस्था गरिने छ, स्थानान्तरण गर्नुपर्ने अवस्था भएकालाई स्थानान्तरण गरिने छ, कुनै खास रसिद दिनुपर्ने अवस्था हो भने रसिद दिइने छ ।’

 

‘नारायणी र राप्ती नदी किनारमा तटबन्धसहितको रिंगरोड’

अध्यक्ष प्रचण्डले नारायणी र राप्ती नदीको किनारमा तटबन्धसहितको रिंगरोड डीपीआर तयार पारेर बहुबर्षीय योजना अन्तर्गत निर्माण गरिने बताए । प्रचण्डले भने, ‘तटबन्धसहितको रिंगरोड बनाउनका लागि डीपीआर तयार गरी छिटोभन्दा छिटो सम्पन्न गर्ने कुराले त्यति वैधानिकता र आधिकारिकता प्राप्त गरिसकेको थिएन, अस्तीको दिनमात्रै प्रधानमन्त्री निवासमा हामीले गम्भीर छलफल गरेर डीपीआर तयार पारेर बहुबर्षीय योजना अन्तर्गत तटबन्धसहितको रिंगरोड नारायणीको तीरैतीर र राप्तीको तीरको लागि सरकारले आधिकारिक बनायो । यो हामी सबैका लागि चितवनबासीका लागि निकै ठूलो र खुसीको कुरा हो ।’

 

गृहजिल्ला चितवनका बिभिन्न कार्यक्रममा व्यस्त रहेका प्रचण्डले विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका थिए ।

 

अध्यक्ष प्रचण्डले साझापुर माविमा अध्ययनरत अरुण माझी र पत्रुश मुसहरको गत वर्ष अभिभावकत्व ग्रहण गरेका थिए । बुधबार विद्यालयमा पुगेर उनले अरुण र पत्रुशको खाजा, कापी, किताव र अन्य आवश्यकीय शैक्षिक सामाग्रीबारे जिज्ञासा राखेका थिए ।

 

साझापुर माविको स्वर्ण महोत्सव उदघाटन कार्यक्रममा सहभागी प्रचण्डले सांसद विकास कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने घोषणा पनि गरे ।

 

उनले आफ्नो पहलबाट यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको जानकारी पनि गराए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्