युद्धपीडितको घाउमा मल्हम लाउछौं, विशेष अदालत बन्छ : कानुनमन्त्री



 

 

तपाई अहिले मुलतः दुईथरी कानुन बनाउने दबावमा हुनुहुन्छ । एकातिर संविधानसँग बाझिएका कानुन संशोधन गर्ने फागुन २१ गतेको डेडलाइन छ, अर्कोतर्फ शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितलाई सम्बोधन गर्ने केही कानुन टुंगो लगाउनुपर्ने दबाव पनि छ । यस्तोमा तपाईको प्राथममिकता के हो ?

 

मौलिक हकसम्बन्धी कानुन बनेपछि कानुन मन्त्रालयको तर्फबाट मैले हाम्रो प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेको थिएँ । साझा सूचीसँग सम्बन्धित कानुनहरु बनाउने, एक वर्षभित्र संविधान सम्मत कानुनलाई पूर्णता दिने र शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिका आधारमा टुंग्याउने तीनवटा प्राथमिक क्षेत्र किटान गरिएको छ ।

 

जहाँसम्म द्वन्द्वपीडितको दबावको कुरा छ, त्यसबाट सरकारलाई सहयोगनै पुगेको छ । शान्ति सम्झौता भएको १२ वर्ष पुग्यो, तर भइसक्नुुपर्ने कतिपय काम भएका छैनन् । यस्ता समस्याको निकास दिन पीडितहरुले हामीलाई सहयोग गरिरहनुभएको छ ।

 

१२ वर्षमा पूर्ण समस्या समाधान हुन सकेन भनेपछि केही कमजोरी अवश्य छन् । ती कमजोरी हटाउन सकियो भनेमात्र समाधान निस्कन्छ । हामी त्यो दिशामा कार्यरत छौं ।

 

१२ वर्षसम्म हुन नसेकका र छुटेका कुरा के देख्नुभयो, यो मन्त्रालयको कुर्सीमा आइसकेपछि ?

यसलाई प्रचारको विषयमात्र बनाउने प्रवृति देखियो । ठोस समाधान खोज्नेभन्दा पनि यो विषय रहिरह्यो भने अभियान पनि ररिहन्छ भन्ने एकखालको मनोविज्ञान पनि छ । यहाँ आएपछि मैले गर्न खोजेको भनेको पहिलो प्राथमिकताका साथ यसमा राजनीतिक सहमति बनाउने हो ।

 

यो कुनै एउटा पार्टी, सत्तापक्ष वा विपक्षको नभई राष्ट्रको साझा समस्या हो । हिजो को विद्रोही वा को सत्तामा थियो भन्नेतिर लाग्यौं भने द्वन्द्व पीडितले न्याय पाउँदैनन् । यसलाई हल गर्न राष्ट्रिय दृष्टिकोण र राष्ट्रिय संकल्पको खाँचो छ । राष्ट्रिय सहमतिका लागि केही गृहकार्य पनि भएका छन् र केही समाधान पनि भएका छन् ।

 

यसबीचमा कांग्रेस विपक्षमा छ, द्वन्द्वको एउटा पक्ष माओवादी पार्टी आज नेकपा बनेर सरकारमा छ । तपाईले भनेको राष्ट्रिय सहमतिमा त्यसका प्रभावहरु त पर्लान् नि ?

माओवादी अहिलेमात्र सत्तामा पुगेको भए यो प्रश्न उठ्थ्यो तर, १२ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएपछि उसकै नेतृत्वमा तीन पटक सरकार बनिसक्यो । तीन पटक माओवादीबाट प्रधानमन्त्री भए । प्रधानमन्त्री नभएको बेला पनि तत्कालिन माओवादी सरकारमा थियो । कांग्रेससँग माओवादी मिल्दा शान्ति प्रक्रिया टुंगिने, एमालेसंग मिल्दा बल्झिने होइन । १२ वर्षसम्म समाधान नहुनु चाहीँ आफैंमा पीडाको कुरा हो ।

 

शान्ति सम्झौता भएको बेला १७ हजारभन्दा बढी मान्छे मारिएका थिए, लाखौं जोखिममा थिए । त्यो हिंसात्मक द्वन्द्व शान्ति सम्झौतामा पुगेर नअडिएको भए आज मुलुक झन् भयावह अवस्थामा हुने थिएन ?

 

सहमति गरेर मुलुकलाई थप क्षति हुनबाट बचाउनु आफैंमा महत्वपूर्ण थियो । सशस्त्र द्वन्द्व व्यवस्थापन गर्ने सन्दर्भमा नेपालले विश्व समुदायलाई एउटा नयाँ मोडालिटी पनि देखायो । राजनीतिक दाउपेचको बिषय बनाउने बिषय होइन यो ।

 

प्रक्रियाको एउटा ‘मेजर स्टेकहोल्डर’ कांग्रेसलाई सहमतिमा लिएर बाँकी काम टुंग्याउनेतर्फ के हुँदैछ ?

यसको दुईटा पाटा छन् । बिगतदेखि हामीले परम्परागत अभ्यास गर्‍यौं । दुईटा आयोग पनि बनायौं । संसदबाट ऐन बनायौं, ऐन जारी गर्नुअघि अध्यादेश आयो ।

 

अध्यादेशका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको एउटा फैसला पनि आयो । अन्तर्राष्ट्रिय सन्धी–महासन्धीहरुमा हामीले पक्षराष्ट्र भएर गरेको हस्ताक्षरहरु पनि छन् ।

 

पीडित पक्षले न्याय पाउनुपर्ने, न्यायको अनुभूति गर्नुपर्ने मुख्य विषय चाहीँ सकिएको छैन । यति प्रयत्न र व्यवस्थापनबाट हल भएर द्वन्द्वपीडित भन्ने नरहने अवस्था सिर्जना गर्न नसकेको सत्य हो । पीडितहरुलाई राज्यले सक्ने जति गर्‍यो भन्ने अनूभुति गराउन नसकेको पनि यथार्थ हो । यो पक्षलाई समेत सम्बोधन हुने गरी कानुन बनाएर वा परिमार्जन गरेर पूर्णता दिने कुरामा हामी लाग्छौं । यसमा सबै दलबीच सहमति पनि हुन्छ

 

यो विषयबाट कोही उम्कन वा निहुँ खोज्न सक्ने अवस्था छैन । यसमा सत्तापक्ष, प्रतिपक्ष, कांग्रेस, कम्युनिस्ट भन्ने नै छैन । हिजैको एउटा कार्यक्रममा कांग्रेसका नेता रमेश लेखकजी र म संगै थियौं । उहाँले सत्य निरुपण र मेलमिलाप आयोगबाट पीडितलाई न्याय दिलाउने कुरामा सरकारसँगै रहेको बताउनुभयो ।

 

हामी यसलाई राष्ट्रिय सहमतिका आधारमा निष्कर्षमा पुर्‍याउछौं । त्यसो गर्दा हाम्रो देशको संविधान, कानुन, सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय सन्धी–महासन्धीका मर्म, मानवअधिकारको बडापत्रमा उल्लेखित भएका जघन्य अपराधका घटनामा माफी नदिने प्रतिबद्धताहरु र पीडित पक्षले गरेका गुनासाको उचित सम्बोधन हुनेछ ।

 

१२ वर्षसम्म यस्तै भयो, अब १३ औं वर्ष कट्दैन भन्दा हुन्छ ?

समस्या छिप्पिदै जाँदा जटिल पनि बन्दै जाँदोरहेछ । अहिले जुन कानुन छ, जुन आयोगहरुको व्यवस्था छ, यो हामी सबैले बनाएको हो । तर, अहिलेका व्यवस्थाहरुले निकास नदिने भयो । यो खालको कार्यशैली भएको आयोगहरुले निष्कर्षमा पुर्‍याउन सकेन भन्ने आम अनुभूति भइराखेको बेला हामीले कानुनको पाटोबाट पूर्ण हुन नसकेका कामहरु पनि गर्नुपर्‍यो । उठेका प्रश्नहरुबारे यथेष्ट ध्यान दिएर अघि बढ्नुपर्‍यो ।

 

कतिपय सुझाव विशेष अदालत गठन गरेर जाने कि भन्ने कोणबाट पनि आएका छन् । यी सबै विषयमा मैले यो–यो गर्ने भनेर अहिल्यै भन्नु उपयुक्त हुँदैन । पहिले सरोकारवाला र दलहरुसँग बसेर अधिकतम सहमति कायम गर्छौं ।

 

पीडितको पीडा समान छ, तर पीडक फरक–फरक छन् । हिजोको राज्य पक्ष र विद्रोही पक्षका कुरा छन् । त्यसकारण एउटै खालको समाधान खोज्नेतर्फ हामी लाग्छौं । यसमा ढुक्क हुनुस्, धेरै बिलम्ब हुन्न ।

 

सत्य निरुपण र बेपत्ता आयोगबाट पीडितले आशा मारिसके, अब विशेष अदालत चाहिन्छ भन्ने कुरामा तपाई कत्तिको सकारात्मक हुनुहुन्छ ?

कतिपयका मुद्दा अदालतमा छन् । सत्य निरुपण तथा मेलमिलापसँग सम्बन्धित विषयहरु त्यही लगेर समधान गरौं भन्ने एउटा मनसाय देखिन्छ । अदालतमा दर्ता भएका मुद्दाहरु कसरी आयोगमा जान्छन् ? सम्मानित अदालतको फैसला र कतिपय अप्ठ्यारा छन् ।

 

यस्तो अवस्थामा विशेष अदालतनै भयो भने एउटा अदालतमा भएका मुद्दाहरु अदालतकै प्रक्रियाबाट सर्ने भए । नियन्त्रित र राजनीतिक कुरा भन्दा पनि न्यायिक प्रक्रियाबाटै द्वन्द्वकालिन मुद्दाहरुको छिनोफानो हुने भयो ।

 

यसकारण समाधानको एउटा उपयुक्त विकल्प छलफलमा आएको छ । सरकारले यसलाई सकारात्मक रुपमा लिएको छ । सबै पक्षको सहमति भयो भने त्यसमा जान सक्छौं । सरकारको तर्फबाट अघि बढाउन पनि सहमति नै चाहिन्छ ।

 

अब यो बिषय ‘बाँदरको घाउ’ जस्तै भएर बस्दैन ढुक्क हुनुहुन्छ ?

यो काम जटिल भएकैले १२ वर्षसम्म पनि द्वन्द्वका घाउहरु पुरिन पाएका छैनन् । यो अभिभारा पूरा गर्न सक्ला भनेरै यो मन्त्रालयको जिम्मेवारी पाएको हुनाले म त्यसमा खरो उत्रने प्रयासमा छु । पार्टी र जनताले गरेको भरोसा पूरा गर्न सक्छु भन्नेमा विश्वास छु ।

 

जटिल भन्नुभयो । खासमा के समस्या रहेछन्, त्यस्तो जटिल ?

सबैलाई स्वीकार हुने गरि बिषय टुंग्याउने कुरा आफैंमा जटिल छ । सबैलाई भन्नाले घरभित्र र घरवाहिर पनि । यो पक्षलाई, त्यो पक्षलाई । त्यति ठूलो हिंसात्मक द्वन्द्वका ज्यादतिमा परेका मान्छेहरुको पीडामा मल्हम लगाउने कुरा आफैंमा जटिल छ । मैले राज्यबाट यति न्याय पाएँ, यो भन्दा बढि राज्यले पनि गर्न सक्दैनथ्यो भनेर पीडितलाई अनुभूत गराउने कुरा सजिलो हुँदैन ।

 

१२ वर्षमा के देखियो भने हतियार बिसाउन भन्दा द्वन्द्वका घाउमा खाटा बसाउन समय लाग्ने रहेछ, होइन ?

हतियार बिसाउने, सेना समायोजन वा शान्ति प्रक्रियामा आउने कुरा नै चुनौतिपूर्ण थियो । त्यसको व्यवस्थापन गर्दै हामी यहाँ आएका छौं । त्यसबाट उत्पन्न प्रभाव र पीडाहरुको अन्तिम किस्ताको रुपमा हामीले जुन निकास दिनुपर्नेछ त्यो पनि जोखिमपूर्ण छ ।

 

यसको पनि समाधान गरेर सबै पीडित र प्रभावितलाई राष्ट्रको विकास र सम्बृद्धिको मूल प्रवाहमा लगाउने हाम्रो दायित्व छ ।

 

अन्तर्राष्ट्रिय समुदायको कत्तिको चासो छ ?

उहाँहरुको चासो पनि छ । मैले उहाँहरुलाई के भनेको छु– द्वन्द्व व्यवस्थापन गर्ने सन्दर्भमा नेपालले आफ्नो विशिष्ट मोडल स्थापित गरेको छ । अब द्वन्द्व पीडितका समस्या समाधानमा पनि एउटा मोडालिटी विश्वका सामू दिन्छ । यो कानुन बनाउने सन्दर्भमा गरिएका बिभिन्न खालका आशंकालाई पनि बुद्धिमतापूर्वक निष्कर्षमा पुर्‍याउछौं ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले