हाकिमको मिलेमतोमा गुठीको जग्गामा करोडौं ठगी



हाम्रो इकोनोमि

 

गुठी संस्थानको नाममा कायम जग्गा दिलाइदिने भन्दै विभिन्न ब्यक्तिहरूलाई २ करोड रुपैयाँ ठगी गर्ने जम्बाला लामा र समुन्द्रकेशर केसीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । परिसरले महानगरीय प्र्रहरी बृत्त स्वयम्भु लगायतका प्रहरी कार्यालयलाई ठगीमा संलग्न लामा र केसीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।

 

काभ्रेको रोशी गाउँपालिका–५ (साविक सिसाखानी गाविस–१)का जम्बाला लामा र काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ का समुन्द्रकेशर केसीलाई केसीले नवलपरासीको कावासोती नगरपालिका र देवचुली नगरपालिकाको गुठी संस्थानको नाममा रहेको जग्गा दिलाइदिने भनी धेरै जनालाई ठगी गरेको समाचार छ ।

 

स्रोतका अनुसार, लामा र केसीले बौद्ध जागरण केन्द्रका पूर्वअध्यक्ष सूर्य लोप्चनदेखि पूर्वसांसद प्रकाश पाख्रिनका आफन्तलाई समेत गुठीको जग्गा दिलाइदिने भनी ठगी गरेको पाइएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का नेकपाका सांसद जीवनराम श्रेष्ठका दाजु राजाराम श्रेष्ठलाई उक्त जग्गाबाट ६ बिगाहा दिलाइदिने भनेर लामा र केसीले २८ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।

 

जुन रकम उनले ३ बर्षअघि लामा र श्रेष्ठलाई गुठीको जग्गा दिलाइदिने भनेर दिएका थिए । अहिलेसम्म उनले न जग्गा पाए, न त पैसा नै । लोप्चन र श्रेष्ठ उदाहरण मात्र हुन्, गुठीको जग्गा देखाएर लामा र केसीले नेपाली सेना, प्रहरीमा कार्यरतहरूलाई समेत ठगी गरेका छन् । एक पीडितका अनुसार नवलपरासीको उक्त गुठीको जग्गा देखाएर उनीहरूले अहिलेसम्म २ करोड भन्दा बढी ठगी गरिसकेका छन् ।

 

गुठी संस्थानका हाकिमको पनि मिलेमतो

नवलपरासीको देवचुली र कावासोती नगरपालिकामा राम लक्ष्मण सीता हनुमान गुठीको नाममा १ हजार १ सय बिगाहा जमिन छ । त्यो जमिन गुठी तैनाथी हो । त्यो जमिनको संरक्षण हुनसकेको छैन । १ हजार १ सय बिगाहामध्ये १ सय बिगाहा भन्दा बढी जग्गा अतिक्रमणमा परिसकेको छ । वस्ती बसिसकेको छ । त्यो जग्गामा नापनक्सा समेत हुन सकेको छैन । गुठी संस्थानले उक्त जग्गा नापी गरी संरक्षण गर्नसकेको छैन ।

 

उक्त जग्गामध्ये सरकारले लामो समयदेखि भोगचलन गर्दैआएकाहरूलाई दिएर बाँकी जग्गा गुठी संस्थानको नाममा नापनक्सा बनाएर संरक्षण गर्नुपर्ने हो । तर गुठी संस्थान र भूमिसुधार मन्त्रालयले संरक्षण गर्न चासो नदिएका कारण जम्बला लामा र समुन्द्रकेशर केसीहरूले विभिन्न ब्यक्तिलाई उक्त जग्गा दिलाइदिने भनेर ठगी गर्दैआएका छन् ।

 

लामा र केसीले उक्त जग्गा दिलाइदिने भनेर पचासौं जनाबाट रकम लिइसकेका छन् । उनीहरूको धन्दा नै बनेको छ । गुठी संस्थानका एक उच्च अधिकारीका अनुसार १ हजार १ सय विगाहा जग्गामध्ये कृषकहरूले लामो समयदेखि भोगचलन गर्दैआएको जग्गा उनीहरूलाई दिएर अरु जग्गा संरक्षण गर्नुपर्ने कुरा बारम्बार उठिरहेको छ । तर जग्गा संरक्षणमा कुनै पनि सरकारले चासो नदिएका कारण जटिल बन्दै गएको छ ।

 

उक्त गुठी तैनाथी जग्गाको फाइल नै बनाएर जम्बाला लामा र समुन्द्रकेशर केसीले विभिन्न ब्यक्तिबाट २ करोडभन्दा बढी ठगी गरेका छन् । राम लक्ष्मण सीता हनुमान गुठीको उक्त जग्गा गुठीको नाममा लगत कायम छ ।  जुन जग्गा गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीले हस्ताक्षरमा लेखेको पत्रसमेत देखाएर उनीहरूले ठगी गर्दैआएका छन् । संस्थानका उपप्रशासकले लेखेको पत्र देखेपछि पैसा दिएका पीडितहरू बताउँछन् ।

 

संस्थानका उपप्रशासक रेग्मी, पूर्वप्रशासक पंचलाल महर्जन र वर्तमान प्रशासक नारायण चौधरीलाई आफूहरूले ७० लाख रुपैयाँ घुस दिइसकेकाले जग्गा छिट्टै दर्ता हुन्छ भन्दै लामा र केसीले ठगी गर्दैआएका छन् । बर्षौसम्म पनि आफ्नो नाममा जग्गा नआएपछि ठगीमा परेको चाल पाएकाहरू लामा र केसीसँग रकम फिर्ता माग्दैआएका छन् । लामा र केसीले उक्त जग्गा देखाएर पचासौं जनालाई ठगी गरेका छन् ।

 

जग्गा आफ्नो नाममा नआएपछि गुनासो गर्न गए चिप्ला कुरा गर्दै गुठी संस्थानमा सेटिङ गरिसकेकाले छिट्टै दर्ता हुने आश्वासन दिएर पठाउने गरेका छन् । लामा र केसीसँग यज्ञबहादुर शाह नामका अर्का ब्यक्ति पनि ठगीमा संलग्न रहेको स्र्रोतले बताएको छ । शाहले गुठी संस्थानका हाकिमसँग लामा र केसीको कनेक्सन गराएका थिए ।

 

गुठीको जग्गा दिलाइदिने भनेर पैसा लिएर फिर्ता नदिएकोबारेमा जम्बाला लामाले भने–‘म सानातिना फाच्चाफुच्चेहरूसँग अलमलिने मान्छे होइन, भ्रष्टाचारीहरूबिरुद्ध लेख्छु, जुनसुकै काम गर्दा पनि केही लगानी गर्नुपर्छ । मैले लगानी गरेको छु । कसैको पैसा खाएको छैन । म अहिले लुम्बिनीमा विश्वशान्तिको कार्यक्रममा छु । तपाईहरू जस्तो बुद्धिजीवीहरू यस्ता कुराका पछाडि नलाग्नुस् । भोलि भेटौं ।’

 

ठगी आरोपमा प्रहरीले वारेन्ट नै जारी गरेकोबारेमा उनले भने–‘मैले तपाईको प्रतिष्ठामा हानी पु¥याउन जे पनि गर्नसक्छु नि, त्यो वारेन्ट पनि त्यस्तै हो । मेरो प्रतिष्ठामा हानी पु¥याउन जारी गरिएको हो । तर मानवताको ब्यवहारमा जानुपर्छ । म पत्रकार सम्मेलन नै गरेर भन्नसक्छु, म कसैलाई हानी पु¥याएर एक रुपैयाँ मारेर खाएको छैन । खान्न ।’

 

गुठीको जग्गा दिने भनेर पैसा लिएर किन नमिलाएको भन्ने जिज्ञासामा उनले भने–‘त्यो प्रक्रिया अनुसार मिलाउन गुठी संस्थानले पत्र दिएको छ । गर्ने÷नगर्ने त्यहाँको नगरपालिका र गाउँपालिका र त्यहाँको जनताको कुरा हो । मेरो त्यसमा कुनै लेनादेना छैन । मेरो साथीले गरेको ठाउँमा लगानी गरिदिएको हुँ । मैले भ्रष्टाचारमा संलग्न न्यायाधीश चोलेन्द्रशमशेर राणाका  विरुद्ध अस्तिमात्र उजुरी हालेको छु । लोकमानसिंह कार्की, गोपाल पराजुली, चुडामणि शर्मा र गोपालबहादुर खड्काका बिरुद्ध म निरन्तर लाग्दैआएको छु । म जस्तो ब्यक्तिले कसरी अर्काको रकम लिन्छु ?’

 

अर्का आरोपी समुन्द्रकेशर केसीले गुठीको जग्गा मिलाउने भनेर पैसा लिएको स्वीकार गर्दै भने, धेरै समय लाग्ने भो, पैसा चाहियो भनेकाले फिर्ता दिंदैछौं । सूर्य लोप्चनजीको पनि हामी भोलि (आइतबार) नै फिर्ता गर्दैछौं । अरु केही ब्यक्तिको फिर्ता दिइसकेका छौं । पत्रिकामा समाचार निकाल्नुपर्ने जरुरी छैन । पैसा फिर्ता दिने सहमति भइसकेको छ । हामी दिंदैछौं ।’

 

गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीले जम्बाला लामा र समुन्द्रकेसरी केसीलाई आफूले चिन्दै नचिन्ने दाबी गरेका छन् । लामा र केसीले तपाईलाई घुस दिएर कुरा मिलाइसकेकाले भन्दै पत्र देखाएर पैसा लिएकोबारेमा उनले भने–‘मैले उनीहरूलाई चिनेको छैन । बीेसौं बर्षदेखि बोर्डले गरेको निर्णयमा सही गरेर पठाएको हुँ । मैले पठाएको होइन, मैले पठाएर पठाउने होइन । लक्ष्मण ज्ञवाली संस्थानको अध्यक्ष हुँुदा गरेको निर्णयलाई सही गरेर पठाएको हो ।’ साँघु  साप्ताहिक

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...