गोकर्णको नजरमा प्रदिप र प्रदिपकाे नजरमा गोकर्ण



 

प्रदीप ज्ञवालीको नजरमा गोकर्ण विष्ट

व्यक्तिगत स्वभाव
गोकर्णजी विनम्र, मिलनसार र सहृदयी व्यक्ति हुनुहुन्छ । उहाँ नेपाली रानीतिकै तुलनात्मक रूपमा एउटा युवा प्रतिनिधि हो । उहाँ विकास–निर्माणमा लाग्ने मानिस हो । त्यस्तै, निरन्तर जनसम्पर्कमा बस्ने गर्नुहुन्छ उहाँ ।

 

जनता तथा कार्यकर्तासँगको सम्बन्ध
हामी एउटै जिल्लाका भएकाले मैले निकट रहेर पनि काम गरेको छु । विकास–निर्माणसँग जोडिएका इस्युमा उहाँ जनतासँग सहज रूपमा सहकार्य गर्नुहुन्छ । कार्यकर्ताले उहाँ अलि औपचारिक खालको हुनुभयो भन्ने गरेका छन् । तैपनि, उहाँ जनता र कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने नेता हो ।

 

नेता तथा सहकर्मीसँगको सम्बन्ध
नवौँ महाधिवेशनअघिको समयमा पार्टीमा अलि समूहगत तिक्तता थियो । उहाँ एउटा प्यानलबाट उठ्नुभयो । तर, महाधिवेशन सकिएपछि ‘साथीहरू सबै मिलेर एउटै ढंगले काम गरौँ’, भन्नुभयो ।

 

महाधिवेशनअघि एउटा पक्षमा उभिए पनि पछि पार्टी एकतामा जोड दिनुभयो । फरक मतका बीच पनि उहाँ फराकिलो मनको नेता हो । सबै नेतालाई सम्मान गर्नुहुन्छ । कसैको पार्टीमा केही चित्त बुझेन भने सार्वजनिक रूपमै टीकाटिप्पणी गर्ने बानी छ । तर, उहाँको त्यस्तो बानी छैन ।

 

पारिवारिक जिम्मेवारी
गोकर्णजी र म दुवैजना सामान्य परिवारबाट आएका हौँ । उहाँका दाजु लक्ष्मण गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । दाजु गाउँमै रहेकाले उहाँलाई पारिवारिक बोझ परेन होला । यसका बीच पनि उहाँ पारिवारिक जिम्मेवारी लिने मानिस हो । आमा बिरामी भएका वेला

 

काठमाडौंस्थित घरमै लामो समयसम्म राखेर उपचार गर्नुभयो, स्याहार–सुसार गर्नुभयो । केही समयअघि उहाँको परिवारमा एउटा भयानक दुर्घटना भयो । परिवारका महत्वपूर्ण सदस्यहरू दुर्घटनामा बित्नुभयो । यस्तो परिस्थितिमा पनि गोकर्णजीले हरेस खानुभएन । अहिले पनि उहाँ व्यस्तताका बीच पनि घर–परिवारलाई समय दिनुहुन्छ भन्ने मेरो जानकारीमा छ ।

 

राम्रा पक्ष
गोकर्णजी राजनीतिमा स्वच्छता र इमानदारिता बोकेको नेता हो । विकासप्रेमी छवि भएकाले उहाँ लोकप्रिय हुनुहुन्छ । उहाँको सफलताले उहाँको लोकप्रियता देखाउँछ । उहाँ एउटा आशालाग्दो युवा नेता हो ।

 

संसद्मा उहाँको काम गराइ प्रशंसायोग्य छ । पछिल्लो समयमा मन्त्री भएपछि उहाँ श्रम समस्या समाधानका निम्ति निरन्तर चिन्तित रहेको पाएको छु । परिणाम पनि आएको छ । मेनपावरका नाममा भएका विकृति हटाउन उहाँ निरन्तर लागिरहनुभएको छ ।

 

सुधार्नुपर्ने पक्ष
पार्टीकै कतिपय साथीले गोकर्णजी अलि बढी औपचारिक हुनुभयो भन्ने गरेको सुनेको छु । बढी औपचारिक भएका कारण कार्यकर्ताले सहज ढंगले भेट्ने वातावरण नबनेको सुनिन्छ । यो सुधार गर्न अनुरोध गर्छु ।

 

गोकर्ण विष्टको नजरमा  प्रदीप ज्ञवाली

व्यक्तिगत स्वभाव

प्रदीपजी अत्यन्तै सरल हुनुहुन्छ । उहाँको सरलता मलाई मनपर्छ । उहाँ मिहिनेती र मृदुभाषी हुनुहुन्छ । उहाँ तुलनात्मक रूपमा कम रिसाउने  मान्छे हो ।

 

जनता तथा कार्यकर्तासँगको सम्बन्ध
उहाँको कार्यकर्तासँग मात्र नभएर जनतासँग पनि राम्रो सम्बन्ध छ । कार्यकर्तासँग राम्रो सम्बन्ध भएर नै त उहाँ महाधिवेशनमा अत्यधिक मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै, जनतासँग पनि राम्रो सम्बन्ध भएकैले चुनाव जित्नुभएको मेरो बुझाइ छ । कार्यकर्ताको पहुँचका लागि उहाँ सहज मान्छे हुनुहुन्छ ।

 

नेता तथा सहकर्मीसँगको सम्बन्ध
उहाँको सम्बन्ध पार्टीका सबै नेताहरूसँग ठीकै छ । सबैसँग सहकार्य गरेर हिँड्ने खालको उहाँको स्वभाव छ । त्यसैले, पार्टीका प्रायः सबै नेतासँग उहाँको राम्रो सम्बन्ध छ होला भन्ने लाग्छ । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच राम्रो सम्बन्ध चाहिन्छ । किनकि, यी दुई एक–अर्काका सम्बन्धित मन्त्रालय हुन् । त्यहीअनुरूप हामीबीच सरसल्लाह हुने गर्छ ।

 

पारिवारिक जिम्मेवारी
पहिले भूमिगत राजनीतिक कालमा के भयो म विश्लेषण गर्न सक्दिनँ । तर, खुला राजनीतिमा आएयता भने उहाँले परिवारलाई समय राम्ररी दिएको पाएको छु । उहाँ मिहिनेती भएकाले परिवारका सबैसँग सौहाद्रपूर्ण सम्बन्ध रहेको पाएको छु । उहाँ सरल स्वभावको रहेकाले आर्थिक कुरामा पनि परिवारसँग राम्रो सम्बन्ध रहेको महसुस गर्छु ।

 

राम्रा पक्ष
प्रदीपजी मिहिनेती हुनुहुन्छ । अध्ययनशील हुनुहुन्छ । मृदुभाषी हुनुहुन्छ । ज्यादै कम रिसाउनुहुन्छ ।

 

सुधार्नुपर्ने पक्ष
कमजोरी सबै व्यक्तिमा हुन्छन् । सायद, प्रदीपजीमा पनि केही त होलान् । पार्टीमा प्यानल प्रतिस्पर्धाको सन्दर्भमा काम गर्दा अझ फराकिलो दायरामा रहेर काम गर्दा धेरै राम्रो हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्