काँग्रेसको विवाद मिडियाले चर्कायो : काँग्रेस नेता डा. रामशरण महतको अन्तरवार्ता



 

सभापति शेरबहादुर देउवाका कतिपय निर्णय र कार्यशैलिविरुद्ध काँग्रेसका संस्थापनइतरका नेताहरू मोर्चाबन्दी कस्न थाले भन्ने समचार आइरहेका छन्, वास्तविकता त्यही हो ?

 

प्रत्यक पार्टीभित्र आन्तरिक विषय हुन्छन् । काँग्रेसमा पनि त्यस्ता केही विषय छन् । त्यस्ता विषयमा आन्तरिक बहस र छलफल हुन्छन् । तर यस्ता विषयहरू बाहिर हल्ला र भाषण गर्ने कुरा होइनन् । काँग्रेसभित्र पार्टी सभापतिले गरेका केही निर्णयहरूमा कतिपय साथीहरूलाई चित्त नबुझेकाले आन्तरिक भेटघाट र छलफल भएको हो । त्यो स्वभाविक कुरा पनि हो । यसलाई अस्वभाविक रूपमा लिन मिल्दैन ।

 

तपाईं त्यसो भन्नुहुन्छ तर तपाईंकै पार्टीका नेताहरू सभापति देउवाले विधि, विधान र पद्धति विपरीत एकलौटी निर्णय गर्न थालेकाले पार्टी नै दुर्घटनामा पर्न थाल्यो भनेर आक्रोश व्यक्त गरिरहेका छन् नि ?
यो आज मात्रै भएको होइन । केन्द्रीय समितिमा नै विरोध भएको हो । यो नयाँ कुरा कसरी भयो ? योभन्दा अगाडि पनि विधि र प्रकृया मिचेर निर्णय गरियो भनेर केन्द्रीय समितिमा नै कुरा उठेको हो । तर त्यसबेला म यहाँ थिइनँ । केन्द्रीय समिति बैठकमा कतिपय साथीहरूले असहमति जनाएर नोट अफ डिसेन्ट नै लेख्नुभयो । जहाँसम्म हिजो हामी केही नेताहरू बसेर छलफल गरेको कुरा छ, त्यस्तो छलफल र कुराकानी हिजो मात्रै होइन, सधैँ भइरहन्छन् ।

 

त्यसोभए सभापति देउवा विधि र प्रकृया मिचिरहने तपाईंहरू रोइलो मच्चाइरहने ? 
यो कस्तो कुरा गरेको तपाईंले ? तपाईंहरू पनि यस्तै गर्नुहुन्छ । आन्तरिक विषयलाई यस्तो र उस्तो भनेर चर्काउने कुरा गर्नुहुन्छ । सञ्चार माध्यमहरू पनि यस्ता कुरामा अलि बढी गम्भीर हुनुपर्छ ।

 

अर्काको पार्टीका कुराहरू बढाइचढाइ गरेर विवादमा ल्याउने काम पत्रपत्रिकाले गरे । असहमति भयो, असहमतिका कुरा पार्टीभित्र उठ्छन्, विरोध हुन्छ । ती कुराहरू भोलि महासमितिमा पनि जान्छन् । विधि मिचेर काम नगरियोस् भन्ने कुराहरू भए । त्यो स्वभाविक हो ।

 

सभापति देउवाले तपाईंहरूले विधि र प्रकृया नमिच्नुस् भनेर दिएको दबाब सुन्नुहोला ?
विधि र प्रकृया कसैले पनि मिच्नुहुन्न, सभापतिले मात्रै होइन । गएको निर्णयमा सभापतिले केही विधि प्रकृया मिच्नुभयो भन्ने धेरै असन्तुष्टि डेफिनेट्ली भएको हो । यसमा अब उहाँले करेक्सन गर्नुपर्छ ।

 

मण्डिखाटारमा सोमबार भएको तपाईंहरूको लन्च मिटिङले सभापति देउवा ट्र्याकमा आउनुहोला ?

आउनुपर्छ । ट्र्याकमा आउन विधान संशोधन गर्नुपर्छ । अनि विस्तारै विस्तारै नयाँ नेतृत्व पनि चयन गर्नुपर्छ । त्यसका लागि जनदबाब पनि चाहिन्छ । अब बस्ने महासमतिमा पनि आवाजहरू उठ्छन् । त्यसपछि बाध्य भएर जनमतको प्रभावमा परेर प्रत्यक नेताले प्रत्येक कार्यकारी अधिकार प्राप्त व्यक्ति सच्चिन बाध्य हुन्छ ।

 

सरकारकै कतिपय निर्णयका बारेमा पनि विरोधहरू हुन्छन्, भइरहेका छन् । जनदबाबले नै उसलाई सुधार गर्न मद्दत गरेको छ, गर्छ । जनमतका आधारमा, कार्यकर्ताको भावना र आवाश्यकताको आधारमा सबैले सच्चिनुपर्छ । हाम्रो पार्टी नेतृत्वले पनि सुधार गर्नुपर्छ ।

 

तर तपाईंहरूले जति नै विरोध गरे पनि सभापति देउवाले आफ्ना निर्णय सच्याउने छाँटकाँट देखाउनुभएको छैन । तपाईंहरू विरोध गर्दै जाने उहाँ आफ्नै ढङ्गले अघि बढ्ने गर्दा काँग्रेस कहाँ पुग्ला ?
मैले अघि नै भने पार्टीका आन्तरिक कुरा र विषयलाई छारपष्ट पार्ने पक्षमा म छैन । यसमा म विश्वास पनि गर्दिनँ । यो हाम्रो आन्तरिक विषय आन्तरिक रूपमै समाधान गर्नुपर्छ । त्यसका लागि आन्तरिक छलफल गरेर हामी अघि बढ्छौँ । बाध्य भएर नेतृत्व सुधार हुनैपर्छ यसमा दुई मत छैन ।

 

तर सभापति देउवामा सुधारको सङ्केत नै देखिएन भन्न खोजेको हो ?
सङ्केत तपाईंको विश्लेषणमा देखिएन होला । तर बाध्य भएर सुधार हुनैपर्छ ।

 

तपाईंको नजरमा चाहिँ नेपाली काँग्रेस कस्तो अवस्थामा चल्दैछ त ? 
काँग्रेसमा व्यवस्थापकीय कमजोरी देखिन्छ । अहिले पनि राष्ट्रको भरपर्दो पार्टी काँग्रेस नै हो । अहिलेको चुनावमा हामी पछाडि पर्यौँ, यो बेग्लै कुरा हो । काँग्रेसले दर्शन आफ्नै बोकेको छ । विचार र धारणा इतिहासका योगदानका कुरा गर्ने हो भने नेपाली काँग्रेसभन्दा अगाडि कुनै पनि पार्टी छैनन् ।

 

अहिलेको काँग्रेसको समस्या भनेको व्यवस्थापनको मात्रै हो । व्यवस्थापकीय कमजोरीहरूलाई राम्रो व्यवस्थापन गर्नेवित्तिकै यो पार्टी नेपाली जनताको पार्टी बन्छ । व्यवस्थापकीय सुधार गर्दै सङ्गठनका काम अघि बढाउन जरुरी छ । नेतृत्वको यसमा कमजोरी छ । यसलाई सुधार गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

 

१३औँ महाधिवेशन सकिएको तीन वर्ष हुन लाग्यो, अब अर्को महाधिवेशनका लागि नेताहरू आआफ्नै ढङ्गले लागिसकेका छन् । तर यही नेतृत्वबाट व्यवस्थापकीय सुधार हुन्छ भनेर कार्यकर्ताले कसरी विश्वास गर्ने ? 
तपाईंलाई किन चासो पर्यो ? किन चिन्ता गर्नुहुन्छ काँग्रेसको ? काँग्रेसको आन्तरिक विषयमा तपाईंले चिन्ता गरिहनुपर्छ भन्ने मलाई लाग्दैन ।

 

यो मेरो चिन्ता होइन, तपाईंकै पार्टीका नेता कार्यकर्ताको चिन्ता हो । तपाईंजस्ता काँग्रेसका जिम्मेवार नेताले पार्टीभित्र भइरहेका घटनाक्रम, कार्यकर्ताको चिन्ता र चासो सम्बोधन गर्न र वास्तविकता उजागर गर्न किन डराउनुहुन्छ ?
डराएको भए तपाईंसँग कुरा नै गर्दिन थिएँ । मैले हाम्रो आन्तरिक मामला भएकाले हामी आफै समाधान गर्छौं भनेको हो ।

 

कहिलेसम्म समाधान गर्नुहुन्छ त ? 
समय आउँछ । तपाईंले देख्नुहुन्छ । हामी हाम्रो समस्या समाधान गर्न दृढ छौँ । यसमा तपाईंहरू चिन्तै नगर्नुस् । हामी अप्ठ्याराहरू समाधान गर्दै जान्छौँ । हामीमा त्यो क्षमता छ । विगतमा पनि धेरै अप्ठ्याराहरू काँग्रेसले पार गर्दै आएको हो । अब पनि गर्छ ।

 

काँग्रेस अहिलेसम्म सङ्घीय स्वरूपमा बदलिएको छैन । त्यसका लागि विधान मस्यौदा भइरहेको छ । अबको विधानले नेपाली काँग्रेसलाई कस्तो राजमार्गमा हिँडाउँला ? 
नेपाली काँग्रेसको चिन्ता राष्ट्रलाई ठीक बाटोमा हिँडाउने हो । आफ्नो पार्टीलाई पनि ठीक बाटोमा हिँडाउने हो । यो लोकतान्त्रिक पार्टी हो ।

 

विकासमुखी र राष्ट्र निर्माण गर्ने पार्टी काँग्रेस नै भएकाले आफूलाई अझ सङ्गठित र सबल बनाउने यसको राजमार्ग छँदैछ । नीति, सिद्धान्त र विचार छँदैछन् । केही कुरालाई समय सान्दर्भिक बनाउन विधान मस्यौदा भइरहेको छ । विधान मस्यौदा तयार भएपछि केन्द्रीय समितिमा प्रस्तुत हुन्छ । त्यहाँ छलफल हुन्छ । त्यसपछि महासमितिले पारित गर्छ ।

 

विधान मस्यौदाका क्रममा नै काँग्रेसमा एकमत देखिएन । सभापतिको अधिकार, केन्द्रीय समितिको सङ्ख्या, पदाधिकारीलगायतमा किन सहमति जुट्न सकेन त ? 
फेरि पार्टीकै कुरा ल्याउनुभयो । यो पार्टीको चिन्ता हामीलाई भन्दा तपाईंलाई बढी देखियो । अब पार्टीको कुरा नै नर्गनुस् ।

 

तपाईंहरू झगडा गर्ने, आफू मिल्न नसक्ने अनि हामीलाई कुरा नगर्नुस् भन्ने ? एउटा जिम्मेवार नेताले यस्तो भन्न सुहाउँछ ?
होइन, मैले भने त । काँग्रेसमा व्यवस्थापकीय कमजोरी छ भनेर । सँच्चिनुपर्छ पनि भनेकै छु । योभन्दा बढी के भनौँ ?

 

त्यसोभए आगामी दिनमा नेपाली काँग्रेस सामूहिक नेतृत्व प्रणालीमा हिँड्छ भन्ने के ग्यारेन्टी छ ?
नेपाली काँग्रेस सामूहिक नेतृत्वमा जानुपर्छ, जान्छ । अब व्यक्तिको नेतृत्व होइन । अब काँग्रेस व्यक्तिवादी र गुटवादी प्रवृत्तिभन्दा माथि उठ्नुपर्छ । त्यसो भए मात्रै नेपाली काँग्रेसको भविष्य बन्छ । अब काँग्रेस एक व्यक्तिको नेतृत्वमा नभई सामूहिक नेतृत्व र गुटबन्दीभन्दा माथि उठेर निर्णय प्रकृयाको अवलम्बन गर्छ ।

 

ए, त्यसोभए अब काँग्रेसका कोही पनि नेता गुटबन्दीमा लाग्दैनौँ भनेर सार्वजनिक प्रतिबद्धता जनाउन तयार हो ? 
हे…., फेरि तपाईं यस्तै कुरा गर्नुहुन्छ । तपाईंको उद्देश्य नै हाम्रो पार्टीको कमजोरी खोतल्ने उद्देश्य देखेँ मैले । अघि भने त, गुटबन्दीमा लाग्नुहुन्न भनेर ।

 

तर नेताहरूको भनाइ एकातिर, व्यवहार अर्कोतिर देखिएकाले विश्वाश गर्न सकिएन क्या ?
सबैले आआफ्नो अडान नछोड्ने हो भने कसरी समाधान निस्कन्छ त ? सबैले आआफ्ना कमजोरी छन् भने सुधार गर्नुपर्छ, नत्र टिक्न सक्दैन ।  खाली गुटबन्दीको आधारमा मात्रै राजनीति गर्ने मान्छे धेरै समयसम्म जान सक्दैन । तर तपाईंले काँग्रेसलाई मात्रै टार्गेट गरेर प्रश्न सोध्नुभयो अब भयो । राष्ट्रमा यति गम्भीर समस्या छन् । खाली काँग्रेस काँग्रेस मात्रै भन्नुहुन्छ । राष्ट्रका समस्यामा तपाईं पस्न नै खोज्नुहुन्न, भयो ।

 

राष्ट्रका गम्भीर समस्या छन् भनेर धेरै ठूलो चिन्ता गर्नुभयो, केके रहेछन् त त्यस्ता गम्भीर समस्यहरू बताइदिनुस न ? 
राष्ट्रमा सुशासनको अभाव छ । अत्यधिक राजनीतिकरण । खाली भाषणबाजी । कामकाज छैन ।

 

सुधार गर्ने बाटोमा सरकार छैन । यो सरकारसँग जनताले धेरै आशा गरेका थिए । दुई तिहाइको सरकार बनेपछि राजनीतिक स्थिरता आउला, नेताहरूले सानो, निहित र अल्पकालीन स्वार्थभन्दा देशको दीर्घकालीन हित हेर्लान् भन्ने ठूलो आशा थियो तर दुर्भाग्यबस त्यो हुन सकेको छैन ।

 

सरकारले जनतामा निराशा मात्रै दिएको छ । यो कुरा विपक्षले मात्रै भनेको होइन, मिडिया, गैरसरकारी क्षेत्र, इन्डिपेन्डेन्ट, स्वतन्त्र नागरिक र बुद्धिजीवीहरूबाट पनि सरकारले केही गर्न सकेन भनिरहेका छन् ।

 

दुई तिहाइ बहुमतको इतिहासकै शक्तिशाली सरकार बनेको छ । भलै, सरकार गठन भएको धेरै समय भइसकेको छैन । तर सरकारले जनअपेक्षा पूरा गर्ने र दीर्घकालीन महत्व राख्ने कामतर्फ अग्रसर हुन नसक्नुमा के कुराले काम गरेको होला ?
नेतृत्वको कमजोरी र कार्यदिशा अस्पष्ट भएकाले जनअपेक्षा र दीर्घकालीन महत्वका काम अघि बढ्न नसकेका हुन् । कार्यदिशा अस्पष्ट हुनुमा नेतृत्वको कमजोरी भन्ने प्रस्टै बुझिन्छ । आजकै समाचार पढ्नुभयो भने थाहा हुन्छ– राष्ट्रपति भवनलाई विस्तार गर्नुपर्ने भयो रे ।

 

सरकार त राष्ट्रपति भवन निर्माण गर्न नै ठूलो रकम खर्चिन आतुर छ । पहिला शीतलनिवासमै काम चल्छ भन्ने थियो । पछि डबल तेब्बर भवन पनि बनिसकेका छन् । तर पनि अझै पुगेन । अब हुँदाहुँदा प्रहरीको तालिम केन्द्र पनि राष्ट्रपतिकोमा ल्याउने तयारी हुँदैछ भनिएको छ ।

 

यस्ता खालका गतिविधि जनतालाई आवाश्यक छ ? २५ अर्ब भन्दा माथिका आयोजनाहरू प्रधानमन्त्रीकोमा लगेर सुशासन आउँछ ? यी सुशासनका सङ्केत हुनै सक्दैनन् । यो त लेटेस्ट उदाहरण मात्रै हो ।

 

यस्ता धेरै निर्णय भएका छन् । प्रधानमन्त्रीमा यति धेरै अधिकार थोपर्ने प्रयास भएको छ । यसले राम्रो सङ्केत गर्दैन । प्रधानमन्त्रीको काम त सरकारका कामको अनुगमन गर्ने, मन्त्रीहरूका काम अनुगमन गर्ने हो ।

 

नेतृत्व, निर्देशन र समन्वय गर्नुपर्ने प्रधानमन्त्रीलाई यति धेरै अधिकार आवाश्यक पर्यो ? मन्त्रीका अधिकारमा पनि आफै हात हाल्ने र आफैले लिने प्रवृत्ति ठीक होइन । उहाँले त कुनै पनि आयोजनालाई चाँडो सम्पन्न गर्न जहिले पनि निर्देशन र अनुगमन गर्नुपर्ने हो, यसरी प्रत्यक्ष हेर्ने होइन । त्यसका लागि नयाँ कानुन पनि बनाइँदैछ भन्ने सुनेको छु । यसले त अरू मन्त्रालयप्रति विश्वास नै नभएको र नगरेको जस्तो देखिन्छ । कि अरू मन्त्रीहरू अयोग्य छन् भन्नुपर्यो ।

 

 

सरकारले प्रभावकारी काम गर्न नसक्नुमा केके कारण हुन सक्लान् त ? 
सोच राम्रै होला तर परिपक्वताको अभाव हो । प्रधानमन्त्री ओलीमा परिपक्वता रहेनछ भन्ने देखियो । सोच भए पनि आवश्यकता अनुसार दृष्टिकोण पनि हुनुपथ्र्यो, त्यो देख्न पाइएन । खाली भाषण गरेर, ठुलाठुला कुरा गरेर मात्रै विकास हुन्छ भन्नेमा म सहमत छैन ।

 

 

दीर्घकालीन महत्वका योजनाहरू रेल, पानीजहाज र ठुलठुला हाइड्रोपावरका काम अघि बढेको भनेर प्रधानमन्त्रीले नै भनिरहनुभएको छ । यी कुरालाई काँग्रेसले पत्याएको छैन ?
आकाशमा उड्न मन कसलाई लाग्दैन ? मन लाग्यो र उड्छु भन्दैमा उड्न सकिन्छ ? हावामै उड्छु, एभरेस्टसम्म अक्सिजन लान्छु भन्ने कुरा देख्दा राम्रा लाग्छन् होला तर यी कुरालाई व्यवहारमा कसरी उतार्ने भन्ने महत्वपूर्ण हुन् । स्टेप बाई स्टेप लानसक्नुपर्छ । त्योभन्दा प्राथमिकता र आवाश्यकताका कुरा के हुन् ?

 

छुट्याउन सक्नुपर्छ । तर हावा, काल्पनिक, स्वप्नील र उडन्ते कुरा गरेर हुँदैन । ६ महिनामा नै सबै मूल्याङ्कन गर्ने त होइन तर सङ्केत राम्रो छैन । उहाँहरू भावना र भाषणबाजीमा व्यस्त हुन छाडेर कामको परिणाम दिनतिर लाग्नुपर्छ ।

 

दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले भनेकै कुरामा विश्वास नगरेर कसको कुरा विश्वास गर्ने ? 
म भनेको कुरामा विश्वास गर्दिनँ । गरेका कुरामा मात्रै विश्वास गर्छु । कसले के भन्छभन्दा पनि काममा विश्वास गर्ने हो । कसैले केही भन्छ भने त्यो कति व्यावहारिक हो भनेर छुट्याउने विवेक ममा छ ।

 

२०४६ पछि काँग्रेसले लामो समय मुलुकको शासन सत्ता सम्हाल्यो । त्यही बेला मुलुकका धेरै उद्योगधन्दा निजीकरण भए, त्यसको प्रत्यक्ष आर्थिक, राजनीतिक र प्रशासनिक असर अहिलेसम्म परिरहेको छ भन्ने

 

 

कतिपयको भनाइ पनि छ । यसमा तपाईंको धारणा चाहिँ केहो ? 
यो वाहियात आरोप हो । काँग्रेसले सत्ता सम्हालेपछि जनताले शिक्षा पाएका छन् । हिजो स्वास्थ्य सेवा नपाएकाले आज पाएका छन् । हिजो १५ दिन हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जान बाध्य हुनुपर्नेहरू आज एकै दिनमा मोटर चढेर पुग्न थालेका छन् । हिजो टुकी बत्ति बालेर बस्नेहरू आज घरघरमा बिजुली बाल्न पाएका छन् ।

 

आज ८० प्रतिशतले बिजुली बाल्न पाएको कसको कारणले हो ? हिजो एउटा फोनको लाइन लिन वर्षौं कुनुपर्ने अवस्था थियो, आज पकेट पकेटमा टेलिफोन लाइन छन् । कति इन्जिनियरिङ, मेडिकल कलेज र विश्वविद्यालय खुलेका छन् । विकास भनेको यही होइन ?

 

 

तर काँग्रेसकै पालामा ठूला उद्योग बेचिएको पनि त सत्य नै हो नि ? 
बेचिएका छैनन् । निजीकरण गरेको सत्य हो । तर बेचिए भनेर भन्नु अज्ञानता जानकारीको अभाव हो । बुझ्नेले कुरा बुझेका छन् । अर्धज्ञानी र अर्धशिक्षितहरूले निजीकरणका नाममा जे–जे आरोप लगाएका छन्, त्यो गलत र अज्ञानताकै कारण हो ।

 

निजीकरण जेजति भएका छन् पार्लियामेन्टबाट पास गरेरै गरिएको हो । कानुन अनुसार प्रतिपक्ष दलहरू पनि त्यसमा सहभागी भएर गरिएको हो । ती संस्थाहरू निजीकरण भएपछि पनि नयाँ धेरै निजी क्षेत्रका उद्योगहरू पनि खुलेका छन् । १९९० को दशकमा उद्योगको योगदान राष्ट्रिय आयमा ६ प्रतिशतबाट बढेर १० प्रतिशतसम्म पुग्यो ।

 

नेपालको निर्यातले ५० प्रतिशतसम्म आयात धान्ने अवस्थासम्म पुग्यो । त्यही कामका आधारमा अहिलेसम्म राष्ट्र र अर्थव्यवस्था टिकेको हो । त्यो बेला उदार अर्थनीति ल्याइयो, निजी क्षेत्रलाई खुला गरियो । सहकारीलाई खुला गरियो । घाटामा गएका उद्योग चलाउन सरकारी ढुकुटी खर्चिनुको साटो गाउँमा सडक, सिंचाइ, बिजुली, खानेपानी शिक्षा स्वास्थ्य पुर्याउन खर्चियो ।

 

नयाँ खालका करदाता बढ्दै गए । कुल ग्राहस्त उत्पादनको कर नौ दश प्रतिशतबाट २५ प्रतिशतसम्म कर उठ्न थाल्यो, राष्ट्रको ढुकुटी बलियो बन्यो । नेपालीको सरदर आयु बढेर ६९ वर्ष पुगेको छ । यो सबै काँग्रेसले सुरु गरेको, काँग्रेसले ल्याएको नीतिका परिणामस्वरूप नै भएका हुन् ।रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल