सुनिता भन्छिन-‘बरु लोग्ने त्याग्छु, हिन्दु धर्म त्याग्दिँन !’



हाम्रो इकोनोमि

 

रामेछापको हिमगंगा गाविस घर भएकी सुनीता श्रेष्ठ हाल माइतमा बस्दै आएकी छन् । उनी जन्मदिने बाबु आमाको मायाले माइत छाड्न नसकेकी होइनन् न त घरमा खान लाउन नपुगेर नै हो । सुनिता रामपुर गाविस-४ चारघरेस्थित माइतमा बस्दै आउनुको कारण हो, श्रीमानले धर्म परिवर्तन गर्न दिएको दबाव ।

 

‘तेरा बा-आमाको कुरा सुनेर हामीले भनेको धर्म मानिनस् । अब तँसँग मेरो कुनै सम्बन्ध छैन । कि हिन्दु धर्म छाड् कि मलाई छाड् भनेर धम्की दिए, ‘सुनिताले भनिन्, ‘श्रीमानले पटक-पटक धम्की दिएपछि घरमा बस्न सकिँन ।

 

’रामेछापको रामपुर गाविस- ४ का भुवनलाल श्रेष्ठका १ छोरा र २ छोरी मध्येकी जेठी छोरी हुन् सुनिता । सुनिताले ०६८ सालको चैत महिनामा रामेछापकै हिमगंगा गाविसका नरबहादुर सुनुवारसँग भागी विवाह गरिन् ।

 

त्यतिबेला उनी ९ कक्षामा पढ्दै थिइन् भने सुनुवारले एसएलसी दिएका थिए । सुनुवारको एसएलसी परीक्षा सकिएकै दिन उनीहरुले भागी विवाह गरे । ०६९ सालमा प्रेमको निशानीको रुपमा उनीहरुकी छोरी जन्मिइन् । सम्बन्ध पनि राम्रै थियो ।

 

सुनिताले विवाह गर्नु अघि नरबहादुरका माहिला दाजु नरेश सुनुवार क्रिश्चियन धर्म मान्दथे । परिवारका अन्य सदस्यहरुले हिन्दु धर्म नै मान्दथे । उनको विवाहपछि श्रीमान नरबहादुरसहित र परिवारका अरु सदस्यहरुले पनि हिन्दु धर्म परिवर्तन गरी क्रिश्चियन धर्म मान्न थाले ।परिवारमा सुनिता मात्र हिन्दुधर्म मान्ने भइन् । त्यसपछि उनीमाथि धर्म परिवर्तनका लागि दबाव सुरु भयो ।

 

सुनिताले भनिन्, ‘छोरी बारम्बार बिरामी पर्न लागी, त्यसको सबै दोष मैले धर्म परिवर्तन नगरेको भनेर लगाइयो । छोरीलाई उपचारका लागि काठमाडौं लगें । त्यहाँ पनि श्रीमानले धर्म परिवर्तन गर्न दबाव दिए । धर्म परिवर्तन नगरेको भन्दै छोरी र मलाई वास्तै गरेनन् ।’

 

काठमाडौंमा आफन्तकोमा बसेर छोरीको उपचार गराएपछि सुनिता घर फर्किन सकिनन् र माइतमै बसिन् । हिन्दु धर्म त्यागेर क्रिश्चियन धर्म मान्न दिन-रात दबाव दिने परिवारबाट उनले आफू र छोरी असुरक्षित भएको महसुस गरिन् ।माइत बस्दै आए पनि उनलाई न त श्रीमानले, न त घर परिवारका अरु सदस्यहरुले नै सोधखोज गरे ।

 

हाल श्रीमानले अरु नै केटीहरु लिएर हिँडेको भन्ने सुनेकी भए पनि उनी कत्ति पनि बिचलित छैनन् । धर्मका नाममा आफूलाई पीडा दिने परिवारलाई कारवाही गरी आफ्नो अधिकार स्थापित गर्ने अठोट छ सुनिताको । त्यसका लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताउँछिन् उनी ।

 

‘घरका सबै क्रिश्चियन धर्म मान्छन्, म एकजना मात्र हिन्दु धर्म मान्ने हो । त्यसैले मलाई धर्म परिवर्तनका लागि दबाव दिएर उनीहरुले घरमा बस्न दिएनन्,’ सुनिताले भनिन्, ‘म बरु लोग्ने छाडिदिन्छु, तर धर्म परिवर्तन गर्दिनँ ।’छोरीलाई परेको समस्याले उनका बाबु भुवनलाल श्रेष्ठ दिक्क छन् ।

 

भुवनलालले छोरीलाई धर्म परिवर्तन गरी परिवारसँग आनन्दले बस्न सुझाव समेत दिए । तर, अहँ सुनिताले मानिन् ।‘क्रिश्चियन धर्म मान्दा परिवार मिल्छ भने त्यही धर्म मान् भनेर मैले त छोरीलाई सम्झाएको छु,’ भुवनलालले भने, ‘तर ऊ मान्दिँन, बरु लोग्ने छाडिदिन्छु, हिन्दु धर्म छाड्दिन भन्छे ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...