नेकपाका महासचिव भन्छन्-अब वामदेव कामरेडले उपचुनाव लड्नु हुँदैन



 

जसरी पनि प्रतिनिधिसभामा आउने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको चाहना कसैबाट छिपेको छैन । पार्टीका शिर्ष नेताहरुले उनलाई अनुकुल र उपयुक्त समय पर्खिन भन्दै थिए ।

 

यसैबीच काठमडौं ७ का एमाले सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली गर्न भन्दै आफूले राजीनामा दिने घोषणा गरे । उनको राजीनामा सम्वन्धी लिखित प्रस्ताव सचिवालयमा आउँदासम्म नेकपाका महासचिव विष्णु पौडेलसमेत यसबारे बेखबर थिए ।प्रचण्डमार्फत असोज २२ गतेको सचिवालय बैठकमा रामवीरको पत्र आएपछि अरु नेताजस्तै उनी पनि चकित बने ।

 

यस प्रकरणले यतिबेला सामाजिक सञ्जाल तताएको छ । जनस्तरमा गौतम र रामवीरको तीव्र आलोचना भइरहेको छ । यसबाट महासचिव पौडेल वेबखर छैननन् । यो प्रकरणले वामदेव र रामवीरको मात्र होइन, पार्टीकै प्रतिष्ठामा धक्का लागेको महशुस गरेका रहेछन् उनले ।

 

यसबारेमा प्रतिक्रिया नदिने भन्दा भन्दै पनि अनलाइनखबरकर्मी मात्रिका पौडेलका केही औपचारिक प्रश्नको जवाफ पौडेलले दिए । विवाद आउने विषयमा सकेसम्म जोगिने र अभिव्यक्तिमा सचेत हुने स्वभावका महासचिव पौडेलसँग हामीले पार्टीभित्रको अन्तरद्वन्द्व र दुई अध्यक्षसँग काम गर्दाका अप्ठ्याराका बारेमा पनि सोध्यौं । तर, उनी सबै प्रश्नबाट तर्किए ।

 

वामदेव र रामवीर प्रकरणले पार्टीलाई ‘ब्याक फायर’ भएको हो ?

‘ब्याक फायर’ भन्दा पनि परिस्थिति राम्रो देखिएन । खासमा वामदेव कमरेडले प्रतिनिधिसभामा आउन खोज्नुभएको कुरा अब लुकाइरहनु परेन । उहाँले अघिल्लो वर्षको चुनावमा बर्दियाबाट जसरी पराजय भोग्नुपर्‍यो, त्यो परिणामलाई शुरुदेखि नै सहज रुपमा लिनु भएको थिएन ।

 

उहाँको पराजयको कारण खोज्न पार्टीले पनि आन्तरिक रुपमा छानविन समिति नै बनायो । त्यसका धेरै पाटाहरु छन्, अब हामी त्यतातिर फर्केर केही हुनेवाला छैन ।

 

तर पछिल्लो घटनाक्रमबारे म चाहिँ जानकार थिइनँ । खासगरि रामवीर मानन्धरको राजीनामाको प्रसंग मैले पनि पछि थाहा पाएको हुँ ।

 

यो कुरा कसरी विकास भयो र राजीनामाको चरणसम्म पुग्यो भन्ने मलाई थाहा भएन । यो पार्टीमा परामर्श गरेर आएको होइन, उहाँले व्यक्तिगत रुपमा दिएको हुन सक्छ ।

 

तर, रामवीरले त अब मैले वामदेवका लागि छाडेँ भनिसक्नुभयो, राजीनामा स्वीकृत हुन्छ कि हुन्न ?

रामवीर मानन्धरले दुईजना अध्यक्षलाई सम्बोधन गरेर ‘वामदेव कमरेडलाई प्रतिनिधिसभा सदस्यमा चुनाव लडाउन म ठाउँ खाली गर्न चाहान्छु, अनुमति पाऊँ’ भनेर पत्र लेख्नुभएको छ । उहाँको पत्र सचिवालयको बैठकमा प्रस्तुत भएको हो । सचिवालयमा पत्र पढेर सुनाइएको हो, यसमा कुनै निर्णय भएको छैन ।

 

पार्टीका कतिपय नेताहरुले अपारदर्शी ढंगले आयो भनेर विरोध पनि गरेको सुनियो नि ?

पार्टीमा छलफल होस भन्ने कुरा स्वभाविक हो ।

 

भनेपछि अब वामदेवलाई चुनाव लडाउँदै हुनुहुन्छ काठमाडौंमा ?

मैले चाहिँ शुरुदेखि नै अनुकुल परिस्थिति निर्माण भएको खण्डमा मात्र चुनावमा जानु उचित हुन्छ भनेर उहाँलाई सुझाव दिँदै आएको हुँ । अहिले मैले जे देखिरहेको छु, त्यसले राम्रो संकेत गरिराखेको छैन ।

 

खासगरि काठमाडौं-७ को प्रसंगसँग जोडिएर आएका प्रतिक्रियाहरु हेर्दा परिस्थिति अनुकल देखिँदैन । मैले वामदेव कमरेडलाई भेटेर पनि यस विषयमा कुरा गरेको छु, मैले उहाँलाई चुनावमा नजानुस् भनेर सल्लाह दिएको छु ।

 

काठमाडौं ७ मा मात्र कि अन्यत्र पनि ?

अब चाहीँ उहाँ काठमाडौं ७ मा मात्रै होइन, यो प्रतिनिधिसभाको उपनिर्वाचनमा नै नलड्नु उचित हुन्छ भन्ने लागेको छ मलाई । यो घटनाक्रमले उहाँको प्रतिष्ठामा क्षति पुर्‍याएको छ । पार्टीको प्रतिष्ठालाई पनि क्षति पुर्‍याएको छ ।

 

वामदेवलाई काठमाडौंमा चुनाव लडाउने कुरा चाहिँ कसरी आयो त ?

चुनावमा पराजयपछि उहाँले शुरुदेखि नै प्रतिनिधिसभामा आउने इच्छा व्यक्त गर्नुभयो । उहाँले इच्छा व्यक्त गरेको अवस्थामा अनुकुल समय र उपयुक्त ठाउँमा सोच्न सकिन्छ भन्ने बुझाई पार्टीभित्र थियो । एकपटक सचिवालयको बैठकमा छलफल पनि भएको हो ।

 

यस प्रकरणले यतिबेला सामाजिक सञ्जाल तताएको छ । जनस्तरमा गौतम र रामवीरको तीव्र आलोचना भइरहेको छ । यसबाट महासचिव पौडेल वेबखर छैननन् । यो प्रकरणले वामदेव र रामवीरको मात्र होइन, पार्टीकै प्रतिष्ठामा धक्का लागेको महशुस गरेका रहेछन् उनले ।

मैले चाहिँ उहाँलाई काठमाडौं ७ मा नजानुस् भनिसकेको छु ।

 

भनेपछि वामदेवलाई चुनाव लडाउने प्रयासमा असफलता हात लागेको हो ?

असफलता हात लागेको भन्दा पनि वामदेव कमरेड हार्नुभएकोमा हामी सबै दुःखित भयौं । पार्टीले उहाँको पराजयलाई अस्वभाविक रुपमा लिएको छ । पार्टीको समस्त नेतृत्व पंक्ति र कार्यकर्ता पंक्ति चिन्तित भएको हो ।

 

अनुकुल परिस्थिति निर्माण होस् र उहाँ संसदमा आउनुहोस् भन्ने हाम्रो शुभेच्छा पनि हो । शुभेच्छा अनुरुपका केही प्रयासहरु पनि भएका हुन्, तर घटनाक्रमले उहाँलाई अहिले चुनावमा जानका लागि अनुकुल परिस्थिति बनेन ।

 

वामदेव गौतम प्रतिनिसिभामा आउन मरिहत्ते गर्नुभएको चाहिँ किन ? प्रधानमन्त्री नै बन्ने इच्छा हो ?

किन भन्नेतिर नजाऊँ । उहाँले संसदमा आउने इच्छा व्यक्त गर्नुभयो, अनुकुल परिस्थिति बन्यो भने उहाँलाई चुनाव लडाउने भन्ने मनस्थिति पार्टी नेतृत्वले बनाएको पनि हो । त्यस्ता केही सम्भावनाहरु छन् कि भनेर खोजी पनि भएको हो । तर, परिस्थिति अनुकुल नदेखिएकाले उहाँ र पार्टीको प्रतिष्ठाका लागि उहाँले सोच्नुहुनेछ ।

 

वामदेवलाई काठमाडौं ७ मा चुनाव लडाउन प्रचण्डको घरमा रामवीरको राजीनामा तयार भएको कुरा पनि आयो, यसले के संकेत गर्छ ?
राजीनामा पत्र कहाँ तयार भयो भन्ने मलाई थाहा भएन । तर, दुवै अध्यक्षलाई सम्बोधन गरेको पत्र बैठकमा आएको सत्य हो ।

 

जहाँसम्म कमरेड प्रचण्डको कुरा छ, उहाँले अतिरिक्ति चासो दिएको होइन । परिस्थितिले साथ दियो भने उहाँलाई चुनाव लडाउन कसैको विमति थिएन । दुवै अध्यक्ष र नेतृत्वमा पनि विमति छैन । तर, परिस्थिति उहाँको लागि अनुकुल देखिएन । यो भन्दा बढी केही पनि छैन ।

 

तर, रामवीरले त वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी आफूले प्रचण्डलाई नेता मानेर राजीनामा दिएको भन्दै हिँडेको सुन्नु भएन र ?

 

राजीनामा दिएँ भन्नुभएको छ । पत्र पार्टीमा आएको छ । अरु के बोल्नुभयो भन्ने व्यक्तिगत कुरा हो । उहाँले पार्टी अध्यक्षलाई सम्बोधन गरेर दिएको निवेदनलाई हामीले हेर्ने हो । त्यसमा कमरेड वामदेवका लागि आफू राजीनामा दिन तयार रहेको भन्नुभएको छ । त्यो बाहेक अरु व्यक्तिगत कुरा हुन् ।

 

उहाँलाई राष्ट्रियसभा सदस्य, मन्त्री र केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको कुरा कुरा चाहिँ के हो ?

उहाँले व्यक्तिगत रुपमा बोलेको कुरा हो यो पनि । मन्त्री बन्ने कुरा उहाँले किन गर्नुभएको हो म जान्दिनँ । त्यसको उचित छानविन पनि होला । तर, पार्टीले संस्थागत निर्णय गरेर त्यसका आधारमा उहाँले बोलेको कुरा होइन ।

 

तर, नेकपाका शीर्ष नेताहरु नै पार्टीमा महत्वपूर्ण विषयमा छलफल हुन छाड्यो, स्थायी कमिटी बैठक बोलाइएन भन्दैछन् नि ?

त्यस्तो कुरा होइन । पार्टी एकतापछि अहिलेसम्म हामीले स्थायी कमिटीको दुईवटा बैठक बसेका छौं । हामी असार २१ गते बैठक बसेका थियौं । साउन, भदौ र असोज सकिँदा अर्को वैठक बस्ने बेला भएको छ ।

 

विधानले निर्धारण गरेको समयभित्र बैठक बस्छ । स्थायी कमिटीको बैठकको मिति पनि तय भएको छ, कात्तिक १२ र १३ गते । त्यसअघि केन्द्रीय सचिवालयको बैठक बस्छ ।

 

स्थायी कमिटीले पारित गरेको विधान छापिएर आउँदा अर्कै आयो भन्ने कुरा चाहिँ के हो ?

त्यस्तो होइन ।

 

तपाई दुईजना अध्यक्षको नयाँ अभ्यास भएको पार्टीको महासचिव बन्नुभएको छ, व्यक्तिगत रुपमा कति अप्ठ्यारो हुनेरहेछ ? त्यसमा पनि केपी ओली र प्रचण्ड जस्ता बिल्कुल फरक स्वभावका नेतासँग काम गर्दाको अनुभव कस्तो छ ?

 

मैले के देख्छु भने दुवै अध्यक्ष इतिहास र अनुभवको एउटा लामो श्रृंखलाबाट अगाडि बढ्नुभएका नेताहरु हुनुहुन्छ । एउटा गौरवपूर्ण इतिहासबाट अनुभव आर्जन गर्नुभएका नेता हुनुहुन्छ । उहाँहरुसँग महासचिवको रुपमा सँगै बसेर काम गर्दा मलाई अत्यन्त गर्वको अनुभूति भएको छ ।

 

कुनै असहज छैन । दुईजना अध्यक्षबीच सम्बन्ध पनि अत्यन्त प्रगाढ छ र घनिष्ठ छ । उहाँहरुसँग बसेर काम गर्दा मलाई अत्यन्तै सहज छ । कहिँनेर पनि मैले अप्ठेरो महशुस गरेको छैन आजका मितिसम्म । मैले अहिलेसम्मको अनुभवले के लाग्छ भने आउने दिनमा पनि कुनै अप्ठ्यारो आउनेछैन ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
समितिका सभापति सूर्य थापासहित मितेरी सहकारीको स्थलगत निरीक्षण

    सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले श्रीमतीसँग

दुर्गा पर्साइले ल्याए ट्याक्सी चालकलाइ सडक प्रर्दशनमा

  नेपालको  ठुला व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार

६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

     सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ