७ नम्बरले रामवीर र वामदेवको करियर समाप्त हुने खतरा



हाम्रो इकोनोमि

 

यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अलोकप्रिय समयमा छ । गत फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएपछि बहुमत प्राप्त सरकारले निकै ठूलो फड्को मार्ने अपेक्षा गरियो ।

 

कम्युनिष्ट सरकारले अब बेरोजगारी घटाउँछ, भ्रष्टाचार हटाउँछ र अहिलेसम्मका कुनै सरकारले गर्न नसकेको सुशासन कायम गराउँछ भन्ने आशा थियो ।

 

तर सरकारले सबै उल्टो गर्यो । त्यसैले पहिलो कार्यकालका केही स्मरणीय कामलाई समेत बिर्साउँदै ओली सरकार सात महिनामै अलोकप्रिय भयो ।

 

जतिसुकै अलोकप्रिय भए पनि सरकारले उत्कृष्ट काम गरेको भन्न छाडेको छैन । अनि काम गर्न नपाएको भनेर विपक्षीलाई आरोप लगाउन पनि छाडेको छैन ।

 

सबै काम अलोकप्रिय पक्कै छैन । मन्त्रिपरिषदका सबै सदस्य पक्कै अलोकप्रिय छैनन् । तर पछिल्लो समय प्रधानमन्त्री ओलीसमेत सन्तुष्ट हुन सकेका छैनन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

 

आगोको भुँग्रोमा रामवीर र वामदेव
पछिल्लो समय मुलुक एकाएक रामवीरको विदाइ र वामदेवको स्वागतमा तातेको छ । रामवीर अर्थात् काठमाडौं क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धर । वामदेव अर्थात् बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेव गौतम ।

 

रामवीरले वामदेवलाई संसदमा पुर्याउनका लागि पद छाड्न तयार भए । उनको तर्क रह्यो देश विकासका लागि वामदेव अपरिहार्य ।

 

अर्थात् दुई तिहाइको समर्थन प्राप्त केपी शर्मा ओलीको सरकारले काम गर्न नसकेको एउटै कारण वामदेव संसदमा नभएर भन्ने तर्क रामवीरको ।

 

रामवीरले आफनो बर्णनमा भन्दै आएका छन् – हदै भए म जिन्दगीमा उपप्रधानमन्त्रीसम्म बन्न सकुँला, वामदेव प्रधानमन्त्री नै बन्नुहुनेछ ।

 

पार्टीभित्रको चर्को विवाद र मतदाताले काम गर्ने बेलामा छाडेको भनेर रामवीरप्रति देखाएको आक्रोशले गर्दा वामदेव उपनिर्वाचनमा लड्दा जित्ने आधार कतै पनि भेटिँदैन ।

 

पैसाको खोलो, आन्तरिक कोकोहोलो 
०७४ को निर्वाचनमा भएको खर्च विवरण अनुसार एक निर्वाचन क्षेत्रलाई ११ करोड रुपैयाँ खर्च भएको छ । यो हिसाबले उपनिर्वाचन भयो भने राज्य फेरि ११ करोड घाटामा हुनेछ ।

 

यो नेकपाका एक सांसदका ठाउँमा अर्का सांसदलाई पुर्याउन गरिएको मात्र चुनाव भएकाले यसको खर्च नेकपाले नै राज्यलाई दिनुपर्छ भन्ने तर्क पनि आइरहेको छ ।

 

उकातिर ओलीले मितव्ययी अपनाउन भन्दै जाने अनि अर्कातिर यस्तै किसिमका हर्कत गरेर राज्यको रकममाथि खोलो बगाउँदै जाँदा अलोकप्रिय बढ्दै गएको छ ।

 

यसले पैसाको खोलो बगाउन नेकपा जस्तो सुकै कदम चाल्न तयार छ भन्ने देखाउँछ । आन्तरिक कोकोहोलो छँदैछ । उच्च स्रोतका अनुसार वामदेव आफू सांसद बन्नका लागि एक अर्व खर्च गर्न तयार छन् ।

 

त्यसैगरी रामवीरले पाँच करोड रुपैयाँ नगद लिनुका साथै वामदेवलाई छाडेबापत राष्ट्रिय सभा सांसद र मन्त्री पद पाउने छन् । यदि यस्तो हो भने रामवीरको राजनीतिक करियर आजैका दिनदेखि सकियो ।

 

क्षेत्र ७ का एक पाका कम्युनिष्ट कार्यकर्ताले भने, ‘बाँचेरै त होला आजको दिन देख्नु परेको, रामवीर यस्तो होला भनेर त सोचेको थिइन, त्यल्लाई अहिलेसम्म सधै भोट दे’को खेर गयो ।’

 

रामवीरले छाड्ने भनेपछि अहिले क्षेत्र ७ मा काँग्रेस वा कम्युनिष्ट वा अन्य पार्टी भन्ने हुन छाडेको छ । रामवीरले धोका दिएको मात्र कुरा उठेको छ । रामवीरको ठाउँमा उठ्ने जो कसैलाई हराउने नीति बनाउन थालेका छन् ।

 

सबैभन्दा बढी आक्रोश नेकपाका नेता तथा कार्यकर्ता नै भएका छन् । वामदेवलाई टुरिष्टको उपमा थमाउँदै टुरिष्ट नेतालाई छिर्न नदिने समेत भनिँदैछ ।

 

प्रचण्डको यू–टर्न ? 
प्रचण्डको उक्साहटमै रामवीरले राजीनामा पार्टी कार्यालयमा बुझाए । सम्भवतः रकमको अफर प्रचण्डले नै गरेका हुन् । रामवीरले संसदीय समितिमा रहन आग्रह गरेका थिए । नपाएपछि ओलीसंग टाढिए । कुनै समय ओलीका बफादार रामवीर एकाएक प्रचण्डतिर तानिए ।

 

ओलीको सेखी झार्न प्रचण्डले रामवीरलाई मनाएर वामदेवलाई अगाडि सार्दै थिए । वामदेवलाई जसरी पनि संसदमा पुग्नुछ र ओलीसंग बदला लिनु छ ।

 

वामदेवलाई लाग्छ कि बर्दियाबाट चुनाव हार्नुमा ओलीले रचेको चक्रब्यूह नै हो ।

प्रचण्ड चलायमान हुन्छन् । यस्तो लाग्छ कि बुधबार उनले  ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरेर नयाँ मोड ल्याउन खोज्दैछन्  ।

 

यो वामदेवलाई मत्थर पार्नका लागि हो वा माहोललाई ? भनी अझै यकिन भइसकेको छैन । तर प्रचण्ड जुनसुकै बेला यू–टर्न हुन बेर नमान्ने नेता भएको वाम विष्लेषकहरु नै बताउँछन् ।

 

जो जसको इशारामा नाचे पनि ७ नम्बर काण्डले रामवीर र वामदेवको राजनीतिक करियरमा नराम्रो प्रभाव पारेर जाने देखिन्छ ।

 

ओलीलाई कमजोर आँक्दा
काठमाडौं ७ मा रामवीरले छाड्ने र वामदेव आउने परिस्थ्तिि ओलीलाई कमजोर आँक्दा गरिएको परिणाम नै हो । यसअघि डोल्पाका सांसदले वामदेवलाई छाड्न खोज्दा ओलीले नै रोकेका थिए । त्यसपछि कहिले दैलेख, बर्दिया, बाँके, नवलपरासीका सांसदको चर्चा पनि आयो ।

 

ओलीले कसैलाई पनि स्वीकृति दिएनन् । ओली अमेरिका र कोस्टारिका गएका बेलामा रातारात रामवीर मायाजालमा फसे । आफू इमानदारी बाटोबाट अगाडि बढ्न सक्दिन भन्ने लागेरै रामवीरले चोर बाटो आपनाए ।

 

तर यो योजना बनाउनेहरुले ओलीको भूमिका बिर्सिए । ओलीले पनि भूमिका खेल्न सक्छन् भन्ने कसैलाई लागेन । केही दिनदेखि ओली शान्त छन् ।

 

सचिवालय बैठक बस्न सकेको छैन । तर ओली कमजोर छैनन् । उनले केही न केही चक्रब्यूह रच्छन् भन्ने मुल्यांकन धेरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...