म ननभर्जिन केटी
एउटा जागिरे केटी । त्यसमा पनि रातीको समयमा ड्युटी गर्ने केटी । समाजले कहिल्यैै उसलाई भर्जिन हो भन्ने ठान्दैन । कन्भिन्स हुन्न यो कुरामा । भनिरहन्छ कि, उ भर्जिन होइन ।
मलाई सम्झना छ । जब म घर छोडेर वैचारिक लडाइँँको मैदानमा होमिन पुगें । त्यो दिनदेखि सबैको नजरमा म ननभर्जिन केटी । तर, मलाई बाल मतलब । म घर, परिवार समाज सबै त्यागेर आफ्नो दुनियाँमा रमाउन चाहेँ, रमाइरहेकी छु । मलाई कसले के भन्छ मतलब लाग्दैन ।
म हुर्किँदै गर्दा फलानो मान्छेले मलाई सुस्केरा हाल्यो, छेड्यो, अश्लील बोल्यो, कुइनाले मेरा स्तनमा छोयो, त्यो मेरो दोष होईन । तर फेरि पनि आरोप जति सबै मेरै थाप्लोमा थोपरिए ।
अहिले त म त्यस्ता कुरामा प्रतिक्रिया जनाउँछु, बोल्छु । गाली गर्छु । थप्पड हान्छु । तर त्यो बेला जतिबेला मसँग जानेरै ठोक्किेनसँग समेत मेरो कुनै प्रतिक्रिया हुन्नथ्यो । किनकी म आफैलाई निरीह ठान्थें ।
म भर्जिन हुँ या होईन, कसैसँग फिटिक्कै जवाफ दिन मन लाग्दैन । र जरुरी पनि छैन । म छोरी भएर वैचारिक लडाइँमा होमिनुको रिजल्ट चाहिँ परिवारको अगाडि बिग्रेकी केटी भने पक्कै थिएँ, छु । मेरो आफ्नै परिवारले त मलाई ‘सय घाट पानी खाएकी केटी कसरी भर्जिन हुन सक्छ’ भनि मेरो चरित्र हत्या गर्न समेत भ्याए ।
मसँगै हाम्रा तीन बाउका ७ छोरा । दुई/चार वर्ष जेठा कान्छा लहरै । म उहाँहरूसँग गुच्चादेखि स्कूलसम्म सहकार्य गरेर हुर्किएँ । उहाँहरूको हरेक आनिबानी मलाई राम्रोसँग थाहा थियो । त्यति मात्रै होईन, उहाँहरूसँग अरु आठ/दश जना केटाहरू पनि एउटै उमेर समूहका थिए ।
उहाँहरू पनि सबैको नालीबेली मलाई थाहा थियो । तर उनीहरूलाई परिवार, समाज कसैले पनि तिमी भर्जिन हो या होईन भनेर न प्रश्न गर्यो, न गर्नेवाला छ ।
मलाई मेलापात, जंगल, खोला नाला जानु परे आफ्नै उमेर समूह वा त्यो भन्दा सानो भाईलाई लिएर जानु पथ्र्याे । कहिलेकसो त लाग्थ्यो म बाँचुन्जेल कति घण्टा आफ्नो लागि बाँच्न पाउँछु होला । किनकी हरपल म कसै न कसैको निगरानीमा हुनैपर्छ । मानौं मैले छोरी भएर जन्म लिनु नै अपराध हो । मलाई एक्लै बाँच्ने छुट छैन ।
मलाई राम्रो सम्झना छ । जब म नौ दश कक्षा पढ्न धनगढी आएँ, म स्कुलबाट घर पुग्न ५ मिनेट ढिलो भयो भने स्पष्टिकरण दिनुपर्ने हुन्थ्यो । बाहिरी रुप रंग हेर्दा म आकर्षित छैन । काली छु । तर मेरो परिवारबाट मलाई यतिसम्मको निगरानी चाहिँ किन ?
उतिबेला मसँग कुनै जवाफ हुन्थेन । मेरा साथीहरू रुप रंगमा मभन्दा आकर्षित थिए । उहाँहरूको परिवारले त झन् कति निगरानी गरेका होलान् भनेर मन बुझाउँथे । साथीहरूलाई तिमीहरूका परिवारमा प्रश्न र छेकबार हुन्छ कि हुँदैन भनेर चाहिँ कहिल्यै प्रश्न गरिन ।
छोरा मान्छेलाई अभिभावकले निगरानीमा नराख्नुको कारण त यस्तो पो रहेछ । उनीहरू आजीवन भर्जिन हुन्छन् अरे । उनीहरूको लिंग सदाबहार ‘सिल प्याक’ जस्तो अरे । अनि छोरी मान्छेको योनि चाहिँ ?
त्यो त केटासंग यौन सम्पर्क गरेको पहिलो दिनमै सिल तोडिन्छ रे । अथवा त्यो दिनदेखि भर्जिन उ हुन्न । भर्जिनिटी टुटिसकेपछि त हरेक छोरी मान्छेले आफ्नो जवानीसँग आजीवन युद्ध लड्नुपर्ने बाध्यता त छँदैछ ।
पहिलो पटक कसैसँग सेक्स गर्दाको अनुभव केवल हामीलाई मात्रै थाहा हुन्छ । त्यो बेला आफू कति पीडा सहेर पार्टनरलाई सन्तुष्ट पार्न खोज्छौं हामी । हामीलाई त थाहा पनि हुँदैन कि यौन सन्तुष्टी भनेको के हो ?
हामीलाई केवल पुरुषको धारिलो हतियारले यौनाङ्ग च्यात्दाको पीडाबोध मात्रै हुन्छ । त्यही पीडा सहेरै जबरजस्ती रमाएको नाटक भने गरिरहन्छौं ।
मलाई अजिवको लाग्छ । पार्टनर त हत्तपत्त ओछ्याइएको तन्नातिर पो फिजाउँछ बाक्लो नजर । र खोज्छ रगतका आलै दागहरू । जब देख्दैन रगत अनि सोध्छ, कि तिमी भर्जिन हो या होईनौं । रगत त देखिएन नि ? बस् किन प्रतिक्रिया जनाउनु यस्ता भावनाहिन मान्छेसँग, जोसँग बोल्नुको कुनै अर्थ छ न तुक ।
यौन चाहाना त पुरुष जस्तै महिलालाई पनि त हुन्छ । अझ एक अध्ययनले त यौन चाहाना पुरुष भन्दा धेरै महिलामा हुन्छ पनि भनेको छ । खैर जे सुकै होस्, महिलामा यौन इच्छा नहुने होइन । धेरै र थोरैको कुरा बेग्लै हो ।
मेरो एकजना नजिकको साथीले वर्षौदेखि भोग्दै आएको यौन समस्याका बारेमा एकदिन मुख खोलिन् । उनी ५/६ वर्ष भो एउटा केटासँग लिभिङ टुगेदरमा बसेको । तर उनले कहिल्यै चरम आनन्द लिन नपाएको कुरा सेयर गरिन् ।
मेरो साथीलाई सेक्स गर्न मन लागेको खण्डमा उनको पार्टनर जहिले बेवास्ता गर्छ रे । तर पार्टनरलाई चाहिएको बेला मेरो साथी जहिले तयार भएर बस्नुपर्ने बाध्यता । ५/६ वर्ष सँगै बस्दासमेत एक पटक पनि सन्तुष्ट पार्न नसक्ने पुरुषसँग कसरी जुनी काट्ने भनेर सल्लाह मागिन् उनले ।
उनी कहिलेकाहिँ अरु केटासँग विहे गर्ने कि भनेर सोच्छिन् । तर छोरी मान्छे विवाह गर्नु अघि भर्जिन हुनुपर्ने सामाजिक नियम तोड्ने आँट गर्न सक्दिनन् । किनकी उनको त यौन सम्पर्क भइसक्यो अरु नैसँग । बिहे गर्दा भर्जिन नपाएपछि केटाको यातना सहनु पर्ने डरले उनको मनमा डेरा जमाएको छ ।
छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला ? कि पुरुष भर्जिन हुनुपर्दैन ? वा पुरुषको चरित्र हुन्न ? छाडा, चरित्रहिन जे भए पनि हुन्छ ? पुरुषले यौन तृष्णा जहाँ जोसँग मेटाउदा पनि हुने हो र ? घिन, लाज, डर केही हुन्न उसलाई ?
त्यसो भए बिहे गर्ने केटी चाहिँ सिल टुटेको, ननभर्जिन पर्दा चाहिँ किन दुखी हुन्छ त उ ? मासुको पातलो जालीमै त्यती लोभ, गर्व र घमण्ड गर्न किन आत्तिन्छ उ ?
भर्जिन हुनु र नहुनुसँग किन मतलब खोज्छ ? यति कमजोर र स्वार्थी किन हुन सकेको उ ? आफ्नो श्रीमती कुमारी खोज्ने उसले आफू चाहिँ कुमार हुनुपर्छ भनेर किन खोज्दैन र बुझ्दैन ?
त्यसैले छोरीहरू हो, अब तिमीहरू पनि कुमार केटा खोज । बिहेको पहिलो सेक्स हो या सम्बन्धको, तिमी कुमार किन भएनौं ? सोध । के जवाफ आउँदोरहेछ कमजोर पुरुषहरूको, प्रतिक्षा गर ।
उन्नती चौधरी महिलाखबरबाट