गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि



 

गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

 

गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताउनुभयो । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

“हाम्रो देश आफैं बनाउन सक्षम छौं भनेर राज्यलाई आत्मविश्वास दिलाउने छौं, शर्माले पत्रकारसँग भन्नुभयो, “यो ऐतिहासिक र पहिलो सम्मेलन हो, लगानी भित्र्याउन सहयोगी बन्ने छ ।”

सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ ।

 

सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुनेछ ।

लाप्राक नमूना गाउँको निर्माण ७० प्रतिशत पूरा 

एनआरएनएका महिला उपाध्यक्ष सफिलाराज भण्डारीले भूकम्पले क्षति पु¥याएको गोरखाको लाप्राक गाउँमा नमूनाबस्ती निर्माणको काम तीव्र पारिएको जानकारी गराउनुभयो । करीब ७० प्रतिशत काम पूरा भएकाले आगामी वैशाख १२ गते उक्त गाउँ हस्तान्तरण गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

 

एनआरएनएले भूकम्पपछि एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । तर लाप्राकमा १८ हेक्टर क्षेत्रफलमा ५७६ घर निर्माण भइरहेको भण्डारीले बताउनुभयो । घर निर्माणमा स्थानीयवासीलाई सहभागी गराइएको छ । दुई वर्षअघि सो घर निर्माण गर्न सम्झौता भएर काम शुरु गरिएको थियो ।

 

गैरआवासीय नेपाली दिवसको अवसरमा घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको भए पनि विभिन्न कारणले ढिलाइ हुन पुगेको हो । निकै चुनौतीका बीच लाप्राकको बस्ती निर्माणमा आफूहरु लागेको अध्यक्ष भट्टले बताउनुभयो ।

 

शङ्खमूल पार्क बिहीबार हस्तान्तरण

सरकारको समन्वयमा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको शङ्खमूल पार्क बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिने छ । करीब रु तीन करोड लागतमा सो पार्क बनाइएको उपाध्यक्ष कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । सन् २०१४ मा सम्झौता भएको पार्क निर्माणको काम सन् २०१६ बाट शुरु भएको थियो ।

दश अर्बको कोष बनेपछि लगानी बढ्ने 

एनआरएनएका अध्यक्ष भट्टले रु १० अर्बको कोष सङ्कलन भएपछि नेपालमा लगानी बढ्ने बताउनुभएको छ । कोष निर्माणको प्रक्रियामा चलिरहेको भन्दै भट्टले यसलाई सामूहिक लगानी कोषको रुपमा खडा गर्ने उद्देश्य रहेको बताउनुभयो ।

 

कोषमा नेपाल सरकारको ५, एनआरएनएको ५, स्थानीयवासीको ५ तथा ८५ प्रतिशत एनआरएनएको अगुवाइमा सर्वसाधारणको लगानी रहने छ । यसैबीच गैरआवासीय नेपाली दिवसको अवसरमा विहिबार बिहान ७ बजे स्वयम्भूमा एकलाख बत्ती बालिने, ९ बजे पशुपतिमा पूजा, १ बजे पुस्तकालय स्थापनाका लागि नेपाल पत्रकार महासङ्घसँग सम्झौता गर्ने कार्यक्रम रहेको महासचिव बद्री केसीले जानकारी दिनुभयो ।

 

दिवसको अवसरमा दिउँसो २ बजे माइतीघर मण्डलामा झण्डोत्तोलन गर्ने कार्यक्रम छ । कार्यक्रममा अध्यक्ष भट्टले पछिल्लो समयमा ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना निर्माण गरिएको, जनकपुरधामको संरक्षणका लागि परियोजना अगाडि बढेको र काठमाडौँ मुग्लिनको सडक सुरक्षा योजना तयार पारिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको

त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित १ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन्

राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित

    राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने