बाख्रा चराएर घर फर्किदै गरेकी किशोरी दोस्रो पटक बलात्कृत
जङ्गलबाट बाख्रा चराएर घर फर्किदै गरेकी स्याङजाकी एक किशोरी बलात्कृत भएकी छन् ।
सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ४८ वर्षे जुद्धबहादुर भण्डारीलाई प्रहरीले पक्रेको छ । पुतलीबजार नगरपालिका–१४ निवासी बालिकालाई बाख्रा चराएर घर फर्कने क्रममा उनले करणी गरेको प्रहरीले जनाएको छ ।
ती बालिका गत शुक्रबार आफ्ना बाबुसँग जङ्गलमा वस्तु चराउन गएकी थिइन् । करिव २ बजेतिर बाबुले बाख्रा लिएर घर गएपछि बालिका एक्लै गोरु चराउँदै थिइन् । त्यही बेला छिमेकी भण्डारीले पैसाको लोभ देखाएर करणी गरेको प्रहरीले जनाएको छ ।
‘जङ्गलमा बालिकाको मुख थुनेर कसैलाई नभन्नु भनेर धम्की दिई करणी गरेको थाहा भएको छ’, प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भण्डारीले चाउचाउ खाउ भनेर ३ वटा २० रुपैयाँको नोट दिएर फकाउने प्रयास गरेको देखिएको छ ।’
घर फर्केपछि नुहाउने क्रममा पीडित बालिकाले यौनाङ्गमा पीडा भएको बताएपछि आमा बुबाले सोधखोज गरेका थिए । सोधखोज गर्ने क्रममा घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो ।
अभिभावकको किटानी जाहेरी बमोजिम आरोपितलाई करणी मुद्दामा ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । ती बालिका ६ वर्ष पहिले पनि करणीमा परेको बताइएको छ ।
साविक पुतलीबजार नगरपालिकाका–८ का ४७ वर्षे मेगबहादुर भुजेलले नाबालिका ११ वर्षको हुँदा करणी गरेका थिए । भुजेल हालसम्म फरार छन् । जिल्ला अदालतले पीडक मेगबहादुर भुजेललाई १५ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ ।