बालुवाटारबाट फर्केका राजपा नेता भन्छन्– प्रधानमन्त्री त गल्नुभएछ !



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने सुन्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका शीर्षनेतालाई सोमबार साँझ बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीसँग डेढ/दुई घण्टा बिताएर फर्केका एक नेताले  भने– प्रधानमन्त्रीज्यू त पूरै गल्नुभएछ, यो पाराले ओली सरकार दुई वर्ष टिक्दैन जस्तो लाग्यो ।

 

सरकारले आफ्ना मागहरु पूरा नगरेको गुनासो बोकेर प्रधानमन्त्रीलाई भेट्न राजपाका शीर्षनेताहरु महन्थ ठाकुरको नेतृत्वमा बालुवाटार पुगेका थिए । तर, ‘आफैं त महादेव कसले देला बर’ भनेजस्तो उल्टै प्रधानमन्त्रीले पो घण्टौंसम्म राजपा नेताहरुसँग गुनासोको पोको फुकाए ।

 

दुईतिहाई बहुमतसहितको शक्तिशाली भनिएको सरकारका प्रधानमन्त्री ओलीले आफूलाई काम गर्ने वातावरण नभएको गुनासो मधेसी नेताहरुसित पोखेको राजपा नेताको भनाइ छ ।

 

गुण्डा वा कुनै अपराधीलाई समात्यो भने न्यायालयले छाडिदिने गरेको प्रधानमन्त्री ओलीले राजपा नेताहरुसँग गुनासो पोखेका थिए ।

 

बलात्कार र हिंसाका घटना नरोकिएकोतर्फ राजपा नेताहरुले ध्यानाकर्षण गराउँदा गृह प्रशासनबाट आफूलाई सहयोग नभएको र प्रभावकारी काम हुन नसकेको गुनासो प्रधानमन्त्रीले पोखेका थिए ।

 

प्रधानमन्त्रीलार्इ भेटेर फर्केका राजपाका एक नेताले भने– ‘केपी ओलीमा पहिलेजस्तो कुनै दम्भ देखिएन । उहाँ पूरै गल्नुभएको र निराश अवस्थामा पुगेको हामीले पायौं । तपाईले ६ महिनामा केही काम गर्न सक्नुभएन भनेर आलोचना गर्दा पनि उहाँले प्रतिवाद नगरी सुन्नुमात्रै भयो । उहाँमा जोश उत्साह केही थिएन ।’

 

प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै राजपा नेताले भने– मैले काम गर्न खोजेको हुँ, तर कसैले साथ दिएन । देशको विकास गर्न चाहेको हुँ, गर्न सकिरहेको छैन ।’

 

गीता पढेर समृद्धि आउँदैन

काम गर्न चाहेर पनि नसकेको गुनासो पोखेका प्रधानमन्त्री ओलीलाई राजा नेताले प्रश्न गरेका थिए– दुईतिहाईको शक्तिशाली प्रधानमन्त्रीले नै यस्तो निराश कुरा गर्ने हो भने जनताले यो सरकारबाट के आशा गर्ने ?

 

छलफलमा राजपाका एक नेताले भने ‘तपाई आफैं कार्यकारी, तपाई नै निराश कुरा गर्दै हुनुहुन्छ । अहिलेसम्म सिन्को भाँचेको छैन । गीता पढेर समृद्धि आउँछ ?’

 

प्रधानमन्त्री ओलीलाई मधेसी नेताले भने– ‘चिया पसलमा तपाईका मान्छेलाई पठाउनोस्, त्यहाँ जनताले तपाईको सरकारलाई के भन्दैछन्, थाहा हुन्छ । यो अपजसको भागी राजपा बन्न सक्दैन । हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’

 

राजपा नेताले ओलीलाई थपे– ‘तपाईका मन्त्री, चिनीमा घोटाला भयो भनेर समाचार लेख्दा पत्रकारलाई अपराधी भन्छन् । यो सरकार भ्रष्टाचार र माफियाले चलाएको छ । यो भन्दा त विगतको सरकारले केही काम गरेको थियो ।’

 

राजपा नेताहरुले यसरी आलोचना गरिरहँदा प्रधानमन्त्रीले चुपचाप सुनेको स्रोतले बतायो । राजपा नेताहरुले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, सांसद रेशम चौधरीलाई तत्काल रिहा गरेर सपथ खुवाउन अनि संविधान संशोधन गरेर मधेसको माग पूरा गर्न छठसम्मको अल्टिमेटम दिएको स्रोतले बतायो ।

 

प्रधानमन्त्री ओलीले चाहिँ अहिले नै आत्तिएर समर्थन फिर्ता नलिनोस्, दुई/तीनपछि होमवर्क गरेर तपाईहरुलाई फेरि बोलाउँछु भनेर आश्वासन दिएको छलफलमा सहभागी नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...