सरकार चिनीको चक्रव्यूहमा फस्योः हृदयेश त्रिपाठी



 

संसदीय समितिहरुले पूर्णता पाएर आफ्ना काम थालेसँगै सरकार र समितिबीच शक्ति संघर्षका छनक देखिन थालेका छन् । यसैसाता दुईजना मन्त्रीले समितिको छलफल र निर्देशनप्रति आपत्ति जनाएर दिएका प्रतिक्रियाले तरंग सिर्जना गरेको छ ।

 

चिनीको चलखेल भएको भन्ने लेखा समितिको आरोपमा उद्योगमन्त्री मात्रिका यादवले प्रतिवाद गर्दै चलखेल पुष्टि गर्न चुनौतिमात्र दिएनन्, सभामुखलाई पत्र नै लेखे ।

 

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विकास समितिमा दिएको अभिव्यक्ति पनि विवादमा पर्‍यो । मन्त्री बास्कोटाले हस्तक्षेप गरेपछि विकास समितिकी सभापति कल्याणी खड्काले निर्देशन नै परिवर्तन गरिन् ।

 

यी प्रतिनिधि घटना मात्र हुन् । अचेल संसदीय समितिको सक्रियता बढेसँगै एउटै मन्त्रालयका काममा विभिन्न समितिले फरक-फरक निर्देशन दिँदा कुन निर्देशन मान्ने भन्ने अन्योल बढेको गुनासो मन्त्रालयहरुले गरेका छन् ।

 

समितिले काम देखाउन मन्त्री र सचिवहरुलाई बोलाउँदा डुप्लिकेशन भएको र मन्त्रालयका काम छाडेर समितिमा दौडिनुपरेको गुनासो पनि सरकारी अधिकारीहरुले गरेका छन् ।

 

उता, प्रतिनिधिसभा र संसदीय समितिमा ०४८ देखि नै खरो प्रस्तुतिका कारण चर्चामा रहेका सांसद हृदयेश त्रिपाठीको भने यो प्रकरणमा अलि फरक धारणा छ । ०५१ सालमा लेखा समितिको सभापति भएका त्रिपाठी संसदमा सफल सभापतिको पहिचान बनाएका सांसद हुन् । उनी त्रिपाठी ०७० का दोस्रो संविधानसभा बाहेक सबै संसदमा निरन्तर छन् ।

 

राजनीतिको शुरुवात कम्युनिस्ट बिचारबाटै गरेका त्रिपाठीको पहिचान भने मधेसवादी नेताका रुपमा स्थापित छ । ०४८ देखि ०७४ सालसम्म मधेसवादी दलमा रहेका त्रिपाठी अहिले भने बैधानिक रुपमा सत्तारुढ नेकपा र राजनीतिकरुपमा स्वतन्त्र सांसद हुन् । तत्कालीन एमालेको चुनाव चिन्ह सूर्यबाट जितेका त्रिपाठीको भूमिका अहिले पनि संसदमा आलोचनात्मक र परिपक्व हुने गरेको छ ।

 

संसदीय समितिहरुले पूर्णता पाउनासाथ जुन सक्रियता देखाएका छन्, सोही अनुपातमा विवाद पनि हुन थालेका छन्, यसमा कसको कमजोरी देख्नुहुन्छ ?

 

कुनै पनि संस्थाको नेतृत्व गर्ने व्यक्तिको भूमिकाले नै त्यो संस्थाको प्रभावकारितालाई असर गर्छ । संसदीय समितिको सन्दर्भमा पनि सभापतिको भूमिका महत्वपूर्ण हुन्छ । समिति पनि त्यस्तै हुन्छ । समितिको सभापति तटस्थ ढंगले, प्रभावकारी ढंगले नियम कानुनअनुसार कहिँपनि मोलाहिजा नगरी काम गरेको खण्डमा त्यो समिति प्रभावकारी हुन्छ ।

 

मेरो अनुभवले के भन्छ भने जस्तोसुकैले पनि त्यस्तो सभापतिको कामलाई सघाउँछन् । समितिमा जोसुकै सदस्यले पनि त्यस्तो सभापतिलाई साथ दिन्छन् । तर, सभापतिले आफ्नो क्षमता देखाउन सक्नैपर्छ ।

 

जस्तोसुकै भन्नाले.. ?

मेरो मतलव, प्रभावकारी र समन्वयात्मक ढंगले काम गर्ने सभापति छ भने कसैले पनि असहयोग गर्दैन । सार्वजनिक लेखा समितिमा म सभापति हुँदाखेरि कतिपय विषयमा चाहिँ राजनीतिक दलहरुभित्र समस्या हुन्थ्यो । म सानो पार्टीको मान्छे सभापति थिएँ, ठूला पार्टीका धेरै सांसदहरु हुन्थे । तर, समितिमा मैले दलीय अप्ठेरो पर्न दिइनँ ।

 

जस्तो चेज एयर प्रकरणको कुरा गरौं । चेज एयरमा भएको अनियमितता छानविन गर्न भनेर तत्कालीन नेकपा एमालेले आफ्नै पार्टीभित्र पनि छानविन समिति बनाएको थियो । त्योबेला एमालेका महासचिव माधवकुमार नेपाल हुनुहुन्थ्यो ।

 

तर, अन्ततोगत्वा सार्वजनिक लेखा समितिमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका जो साथीहरु हुनुहुन्थ्यो, उहाँहरुले आफ्नो नोट अफ डिसेन्ट लेख्ने वा फरक मत राख्न सक्नुभएन । जे तथ्य आयो,त्यो तथ्य स्वीकार गरेर अघि बढ्नुभयो । मेरो भनाइ के भने, यस्ता कठिन बेलामा पनि जे जस्ता बहस भएर पनि एउटा तथ्य आएपछि त्यसमा सर्वसम्मत निर्णय भएका छन् ।

 

समितिले हचुवाका भरमा निर्णय र निर्देशन दिने गरेका पनि उदाहरण छन् कि ?

यसरी निर्णयमा सबैलाई मिलाउने र तथ्यमा गएर निश्कर्ष निकाल्ने कुरामा पहिलो कुरा सभापति र दोस्रो कुरा सचिवालय सक्षम हुनुहुपर्छ । सचिवालयमा पनि अलिकति विषयगत ज्ञान भएको समितिको सचिव छ भने अलि छिटो काम अघि बढ्छ ।

 

विषयगत ज्ञान भएन भने उहीँ अल्मलिन्छ । त्यसमा पनि समितिको सभापति सक्रिय भयो भने सचिवालय र समिति सक्रिय हुन्छन् । निर्णयहरु विवादित हुँदैनन् ।

 

सभापति सबैको साझा हुनुपर्छ । सभापतिचाहिँ उही राज्यमन्त्रीसरह सुविधा खाने भइहालियो भन्नेमा लाग्यो भने, राज्यमन्त्री सरहको सुविधा खाएर बस्छ । समितिले गति लिँदैन र लिए पनि निर्णयहरु तथा निर्देशनहरु विवादमा पर्छन् ।

 

कतिपय सभापति पहिलोपटक संसदीय अभ्यासमा आएका हुन्छन्, उनीहरु खारिएका पनि हुँदैनन्,त्यसले पनि समितिलाई सफल वा असफल बनाउन भूमिका खेल्छ कि ?

त्यो हुन जरुरी छैन । सभापति संसदीय अभ्यासमा कति खारिएको छ भन्ने कुराको महत्व होला, तर नयाँ व्यक्तिले समिति चलाउन सक्दैन भन्ने होइन । समिति भनेको निश्चित नियम नियमावली अनुसार नै चल्ने हो । नियमावलीले नै प्रत्येक समितिको कार्यक्षेत्र प्रष्ट तोकेको छ ।

 

समितिमा सचिवालय पनि छ । कर्मचारी छन् । सांसदहरु पनि विषय विज्ञकै हिसाबले समितिमा गएका हुन्छन् । कुन समिति अन्तर्गत कुन कुन मन्त्रालयका काम कारवाही पर्छन् भनेर संविधान र नियमावलीले तोकेकै छ । ब्रिफिङकै बेला सबै विज्ञ भइहाल्छन् ।

 

सांसद भएर आएका मान्छेहरु पक्कै पनि एउटा चरण पारेर राजनीतिमा आएका हुन्छन् । जनताको बीचमा उनीहरु भिजेका मात्र होइनन्, जनताको विश्वास पनि लिएर आएका व्यक्ति हुन्छन् । उनीहरुलाई सबैभन्दा ठूलो आत्मवल के हुन्छ भने, हामी जनताका प्रतिनिधि हौं । सबै सांसदहरुलाई त्यो ब्याकिङ माइण्डले साथ दिएको हुन्छ ।

 

अवश्य पनि उनीहरु समितिमा आफूलाई अब्बलरुपमा स्थापित गर्न चाहान्छन् । विषयवस्तुको अध्ययन गर्छन् । यो सबै कुरा भने सभापतिलाई सहयोग नै हो । त्यसकारण अनुभव हुने नहुने, खारिने वा नखारिनेमा खासै धेरै फरक पर्दैन । त्यो व्यक्ति कस्तो छ ? त्यसमा भर पर्छ ।

 

संसदका समिति र सरकारका मन्त्रालयबीच शक्ति संघर्ष नै त नभनौं, तर मन्त्रीले काम गर्ने कि समितिहरुमा दिनहुँ वयान दिँदै हिँड्ने भन्ने प्रश्न त उब्जिएको छ नि ?

 

अब यसमा हामीले के बुझ्नुपर्छ भने कुनै पनि सरकार वा मन्त्रालयले संसदीय समिति सक्रिय हुन् भन्ने चाहदैनन् । यो भनेको नेचरनै हो । कुनै पनि मन्त्रालयले आफ्नो विषयगत समिति सक्रिय भइदेआस भन्ने चाहदैनन् । सरकारले पनि समितिहरुले खाली बिधेयकमात्रै पास गरिदिउन् हाम्रा काममा धेरै दख्खल अन्दाज नगरुन् भन्ने चाहदैन ।

 

समितिले गर्दा काम गर्न पाइएन भन्छन्नै । मानौं विकासको गति अघि बढिरहेको थियो तर समितिले गर्दा रोक लाग्यो भन्ने ढंगको कुरा चाहिँ आउछ । यस्तो प्रलाप आउछनै । तर हामीले के बुझ्नुपर्छ भने संमिति सक्रिय हुनु भनेकै संसद सक्रिय हुनु हो । फुल हाउसमा के हुन्छ भने कर्मकाण्डी काममात्र हुन्छ ।

 

त्यसैले संसदका समिति सक्रिय हुँदा सरकारले हामीलाई काम गर्न नदिने भए भन्ने सोच्नु हुँदैन । सरकारका कामलाई सघाउने र गलत भएका छन् भने तथ्यका आधारमा यो गलत भयो है भनेर सच्याउने काम समितिले गर्ने हो भन्ने बुझ्नुपर्छ ।

 

समितिमा पार्टीको हृवीप प्रत्यक्ष रुपमा त लाग्दैन, तर तपाईको अनुभव कस्तो छ यसमा ?

मितिमा नो हृवीप । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । मैले समितिमा सभापति बन्दा वा अघिपछि पनि त्यसको धेरै अनुभव गरिनँ । समितिमा सांसदले आफ्नो विवेक बोल्छ । त्यसैले त यो फुलहाउस जस्तो कर्मकाण्डी होइन भनेको मैले ।

 

नेताहरुले कहिले कहिँ कुनै इस्युमा बोलाएर सम्झाउने,फकाउने गर्लान् । यो विषयमा तपाईहरु पछि हट्दिनुस, यो विषय धेरै नचर्काउनुस वा यो विषयमा तपाईहरु यसरी प्रस्तुत हुनुस भनेर आफ्ना सांसदलाई भन्न सक्छन् ।

 

तर हृवीप चाहिँ लाग्दैन । तर समितिको समग्रताको उपस्थितिमा कुनै पनि सांसदले गलत कुरा छ भने त्यसको पक्षमा उभिन वा बोल्नै सक्दैन ।

 

आफ्नै पार्टीको कोही मान्छेको विरुद्धमा छ भने पनि बरु ऊ नबोली बस्न सक्छ । तर एन्टी करेन्ट जान आँट गर्दैन । भोलि गलतको पक्षमा बोल्यो भने त त्यो सांसद जनताको नजरबाट गिर्छ नि । मैले यहि सोचेर समितिको बैठकमा पत्रकारको प्रवेश शुरु गराएको हुँ ।

 

संसदीय समितिका बैठकमा पत्रकारको प्रवेशको शुरुवात गर्ने श्रेय तपाईलाई जान्छ, यो निर्णय के सोचेर गर्नुभएको थियो ?

पत्रकारको प्रवेश गराएको किनभने, यसका दुईटा फाइदा छन् । एउटा त सांसदहरु पनि पढेर आउने भए । विषयवस्तुको अध्ययन गरेर आउने भए । किनकि पत्रकार मार्फत त जनताले पनि थाहा पाउने भए । अर्को कुराचाहिँ हरेक निर्णयको पारदर्शिता पनि हुने भयो । पत्रकार जगतले आफैं पनि विषयवस्तुको उजागर गरिरहेको हुन्छ ।

 

कुनै इस्युमा गलत भएको छ भने समितिले त्यो अनुसार निर्णय गरेन भने त गडबड भइहाल्छ । मिडियाले समितिको नियतमाथि नै प्रश्न उठाउँछ । समितिको प्रभावकारिता बढाउनलाई मिडियाको प्रवेश अनिवार्य गरेको हो त्यसबेला ।

 

अहिले त ठिकै छ, सबै समितिमा मिडियाको प्रवेश भएको छ । जनताले समितिका गतिविधि प्रत्यक्ष थाहा पाएका छन् । यसले गर्दा को सही र को गलत भन्ने जनताले बुझ्न पाउने भएका छन् ।

 

तर अहिले केही समितिमा पत्रकारलाई रोकियो नि,यो सयोगमात्र हो ?

होइन यो संयोगमात्र होला । अब संसदीय समितिमा पत्रकारको प्रवेश अनिवार्य जस्तै भइसकेको छ । समिति आफैंले पत्रकारलाई पत्र पठाएर बैठकमा बोलाउने गरेको छ । समितिको प्रभावकारिता पत्रकारको प्रवेशले गर्दा बढेको छ ।

 

तर कतिपय विषयमा भने पत्रकार पनि संवेदनशील बन्दिनुपर्छ । कतिपय विषयमा विगतमा के देखियो भने पत्रकार प्रवेश गराउँदा विषय छिरलियो । सुरक्षा संवेदनशीलताको विषय त सबैले बुझिदिनुपर्छ । उदाहरणका लागि एनसेलको केसमा पनि भयो ।

 

सार्वजनिक लेखा समितिले चार पाँचचोटि एनसेलबाट राजश्व उठाउन निर्देशन दियो । त्यसपछि विकास समितिले पनि त्यसलाई बोलायो । विकास समितिले अर्कै निर्णय गरेर पठायो । त्यसपछि सम्बन्धित पार्टी अदालत गयो । अदालतले एक ढंगको निर्देशन दियो,जसलाई अन्तिम निर्णय मानेर बस्यो त्यो ।

 

तपाईको मतलब संसदीय समिति पनि प्रयोग हुनसक्छन् बाहृय शक्तिबाट ?

मैले भन्न खोजेको कुरा के भने, कतिपय भ्रष्टाचार अनियमितता र गडबडीलाई उजागर गर्न कुनै समिति बढी आक्रामकरुपमा गइरहेको छ भने त्यसलाई रोक्नका लागि पनि अर्को समिति मार्फत प्रवेश गराउन खोजिन्छ ।

 

स्वार्थ समूहरुहरु, बिचौलियाहरु र कहिले सरकारी प्रतिनिधिले पनि एउटा समितिले आफू प्रतिकुल निर्देशन दिन खोज्यो भने अर्को समिति लगाउन सक्छन् ।

 

अनि त्यसैलाई डुप्लिकेशन भयो भनेर प्रचार गरिन्छ । हामी कति समितिमा जाने ? समितिले बोलाएको बोलायै गर्छन् । कामै गर्न पाइएन भनेर मानौ उनीहरुले देश बनाउँदै थिए, समितिले बोलाएर डुबायो भन्ने ढंगले कुरा गर्छन् । तर, तिनका अफिसमा जाने हो भने खाजा खाइरहेका हुन्छन् । भागेर हिँड्छन् ।

 

समितिको डुप्लिकेसनको सन्दर्भमा चाहिँ नियमावलीले भनेको पनि छ । मन्त्रालयगत रुपमा गर्दा त्यति डुप्लिकेशन हुँदैन । तर, विषयगत रुपमा डुप्लिकेशन हुनसक्छ । एनसेलकै कुरा गरौं, टेलिकम्युनिकेशन सन्चार मन्त्रालय अन्तर्गत पर्‍यो । त्यसलाई विकास समितिले हेर्ने भयो । तर राजश्व लगायतको कुरा लेखा समितिले हेर्ने भयो ।

 

विकास समितिले सन्चार मन्त्रालय हाम्रो अन्तर्गत पर्छ त्यसकारण बोलाएको हो भन्न त मिल्यो । तर राजश्वको पक्ष त लेखाले हेर्छ । राजश्व बक्यौता भनेको बेरुजु हो । बेरुजु हेर्ने त लेखा समितिले हो । यसमा लेखाले हेरेर अलि कस्न थालेपछि अर्को समितिमा डाइभर्ट गरिन्छ ।

 

अहिले गृहमन्त्रीको कामै समिति धाउने हुन थाल्यो भन्ने टिप्पणी पनि भए नि ?

राज्य व्यवस्था अन्तर्गत गृह मन्त्रालय पर्‍यो । गृहमन्त्रालयको तालुकको समिति भएकाले गृहमन्त्रीले राज्य व्यवस्थामा जानुपर्‍यो । अब महिला बालवालिकाको आफ्नै क्षेत्र छ । अहिले यस प्रकारका हिंसा, दुर्व्यबहार, हत्या बलात्कारका घटना भएकाले यसबारेमा महिला वालवालिकाको अवस्थाका बारेमा छलफल गर्न बालाउने भयो ।

 

त्यसमा पनि गृहमन्त्री जानु स्वभाविक हो । त्यसको प्रकृति के भयो भने गृहमन्त्रालयको इस्यु भन्दा पनि महिला र बालवालिका जोडिएकाले गृहमन्त्रीलाई बोलाइएको हो ।

 

यसको मतलब संसदीय समितिहरुमा जाने कुरामा मन्त्रीहरुले सहजरुपमा लिनुपर्‍यो होइन त ?

यदि उहाँहरु लोकतान्त्रिक व्यक्ति हो, यदि उहाँहरु संसदीय व्यवस्थाको संविधान उहाँहरुलेनै बनाउनुभएको हो भने संसदीय समितिलाई अवरोध होइन सहयोगका रुपमा लिनुपर्छ । यसको पालना गर्ने प्रमुख पात्रहरुनै उहाँहरु हो ।

 

यदि कुनै पनि मन्त्री या सरकार वा कर्मचारीले संसदीय समितिप्रति जवाफदेहिता छैन भन्यो भने त्यसलाई जे पनि कानुन अनुसार कारवाही गरे हुन्छ । मन्त्री वा सरकारी कर्मचारीले संसदीय समितिप्रति जवाफदेही हुनैपर्छ ।

 

हालैमात्र मन्त्री मात्रिका यादवले चिनीमा कमिसन खाएको आरोप लगाएको पुष्टि गर्न भन्दै चुनौतिमात्र दिएनन, सभामुखलाई पत्र पनि लेखेका छन् । सांसदले मन्त्रीलाई बोलाएर त्यस्तो आरोप लगाउन पाइन्छ ?

 

म त्यही समितिको बैठकमा थिएँ । उहाँलाई कसले के बि्रफिङ गर्‍यो कुन्नि । त्यहाँ माननीयहरुले यस विषयमा चलखले भएको भन्ने बाहिर धेरै सुनिँदैछ, यो चलखेल छ कि छैन भनेर हामीले छानविन त गर्नैपर्‍यो भन्ने ढंगले भएको कुरा हो ।

 

त्यहाँ न त मात्रिका यादवको नाम लिएको न त प्रधानमन्त्री वा अर्थमन्त्रीको नाम लिएको होइन । यो विषयमा चलखेल भएको छ है भन्ने कुरा आएकाले छानविन गरौं भनिएको हो ।

 

अचानक १५ प्रतिशत भन्सारलाई सरकारले ३० प्रतिशतमा पुर्‍यायो । अचानक केही दिनपछि एउटा बैठक गरेर चीनिको आयातमै प्रतिबन्ध लगायो । यसको पनि त आधारहरु होला नि केही ।

 

हामीसँग पुग्दो चिनी भएर प्रतिबन्ध लगाएको हो कि, के हो आखिरमा भनेर प्रश्न उठेको मात्र हो । मन्त्री मात्रिकाल कमिसन खाएको आरोप कसैले लगाएको होइन, उहाँलाई कसले गलत बुझायो, थाहा छैन ।

 

समितिमा सांसदहरुले मन्त्रीलाई हुर्मत लिने ढंगले लान्छित गर्न पाइन्छ ? त्यो मन्त्री पनि त अरु सांसद जस्तै जनताबाट निर्वाचित भएको व्यक्ति होइन र ?

 

समितिमा त्यस्तो कसैले गर्दैन र गर्न सक्दैन पनि । अब भनौं न, यसमा चलखेल भएको छ भन्दा मन्त्रीको हुर्मत लिएको हुन्छ र ? चलखेल भएको छ भन्नु गैरसंसदीय कुरा होइन । यो कुरा मैले त संसद बैठकमै उठाएको छु । चिनीको चक्रव्यूहमा सरकार फस्यो ।

 

मूल्यवृद्धि हुँदैछ । चिनी उत्पादनकर्ताकै हातमा एकाधिकार भयो, यसमा दश किसिमको चलखेल हुन्छ र उपभोक्ता चाहिँ ८० रुपैयाँ प्रतिकेजी किन्न बाध्य हुनेछन् भनेर मैले उठाएकै हो । यो कुरा कुनै मन्त्रीलाई हुर्मत लिन भनिएको होइन । कुनै आधारबिना मन्त्रीलाई हुर्मत लिने भन्ने पनि हुँदैन ।

 

हालैमात्र अर्को चर्चाको विषय छ विकास समितिमा सञ्चारमन्त्रीले हस्तक्षेप गरेर निर्णय रोकेको भन्ने, यसमा कसको कमजोरी देख्नुहुन्छ ?

 

होइन, यो प्रकरणमा कमजोरी त सभापतिकै ठान्छु म । सभापतिले चाहिँ विषयलाई कमाण्ड गर्न नसकेको र डोमिनेटेड भएको देखियो । फुल हाउसमा सभामुखलाई जति अधिकार छ, समितिमा बैठक सञ्चालन गर्ने उत्तिनै अधिकार सभापतिलाई छ ।

 

मन्त्रीलाई राखेर निर्णय गर्ने भन्दा पनि जानकारी लिने हो । जानकारी लिएपछि समिति आफ्नो निश्कर्षमा पुग्न स्वतन्त्र छ । समितिले पनि ऐन नियम र कानुनहरु हेरेरमात्र निर्णय तथा निर्देशन गर्नुपर्छ । तर, सभापतिले समिति चलाउने हो । यसमा उनको कमजोरी देखिएकै हो ।

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले