कलाकारलाई युट्युबाट राम्रो कमाई



 

 

एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । तर अहिले जमाना फेरिएको छ ।

श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै संगीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ ।
प्रविधिको फड्कोले संगीत बजारको स्वरुप बदलेको हो ।

श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले संगीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ ।

विसं २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक÷गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आएका छन् ।

‘प्रविधिलाई आत्मसात् गर्नै पर्दोरहेछ’, खत्रीले भने, ‘अहिले युट्युबको जमाना छ, म त्यसकै प्रवद्र्धनमा छु ।’ राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने उहाँको अनुभव छ ।

लोकगायक तथा मोडल प्रकाश सपूतको लोकगीत ‘बोल माया’ युट्युबमा ८७ लाख भन्दा बढीले हेरेका छन् । उक्त लोकगीत केही महिनाअघि सार्वजनिक हुँदा युट्युबमा सर्वाधिक हेरिने मध्येको नम्बर १ मा परेको थियो ।

‘प्रकाश सपूत भन्ने मरो आफ्नै युट्युब च्यानल छ’ सपूतले भने, ‘हालसम्म मेरा सिर्जनाले चार करोड बढी दर्शक पाएका छन् ।’ राम्रो सामग्री दिन सकियो भने युट्युबबाट कमाइ लिन सकिने उनको भनाइ छ ।

जागिर गर्दा आउने जत्ति पैसा अहिले युट्युबबाट नियमित पाइरहेको तर बाहिर भन्ने गरिए जस्तो धेरै पैसा आउने अवस्था भने नभएको सपूतले सुनाए । सर्वाधिक हेरिएका कपितय गीतबाट भने राम्रो आम्दानी पनि भित्रने गरेको छ ।

सिर्जनाको बलमा जति धेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा जम्मा हुने अर्का गायक एवं मोडल दुर्गेश थापा बताउँछन् । ‘मासिक करीब ५० हजार युट्युबाट कमाउछु’ थापाले भने, ‘कहिले बढी पनि आउछ, कहिले कमी ।’

थापाको ‘क्षत्रीको छोरो’ भन्ने गीत युट्युबमा ३३ लाखले हेरेका थिए । दशैँंलाई लक्षित गरी ‘बाँचे टुप्लुक्क’ बोलको गीत युट्युबबाटै सार्वजनिक गर्ने तयारीमा उनी छन् । थापाले हालै मात्र युट्युबबाट एक लाख युट्युब च्यानलको समूह सदस्य (सब्सक्राइबर) पुगेबापत् पुरस्कार समेत पाएका छन् ।

गीत हेर्ने, लाइक, टिप्पणी, आदान प्रदान र ‘सब्रसक्राइब’ गर्ने संख्याका आधारमा कलाकारको युट्युबमा राम्रो अभिलेख रहने गरेको छ । पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको कलाकार बताउँछन् । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउने गरेको छ ।

व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको संख्यामा हेरिनुपर्ने र युट्युब च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ ।
लोकगायक खत्रीले युट्युबमा विकृति पनि रहेको बताउँछन् ।

अर्कैको सिर्जनालाई अनुमति नलिइ आफ्नो यट्युबमा राख्ने चलनले बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन भएको उनको भनाइ छ । ‘एउटाको ठूलो लगानी र मेहनत परिरहेको हुन्छ’, उनी भन्छन्, ‘फाइदा अर्कैले लिइरहेको हुन्छ ।’ नियमन निकायले विकृति रोक्नुपर्ने उनको सुझाव छ ।

युट्युबले विदेशबाट हेरेबापत मात्रै कलाकारलाई रोयल्टी दिने गरेको बताइन्छ । नेपाल युट्यबको प्राथमिकतामा पर्न सकेको छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकगायक वसन्त थापाले युट्युब कलाकारको व्यक्तित्व चिनाउने माध्यम बनेको बताउँछन् ।

‘राम्रो दर्शक पाउदा पैसा पनि छ’, थापाले भने, ‘यसबाट कलाकारको व्यक्तित्व पनि उठ्छ ।’ त्यसमा चर्चा बटुलेका कलकार देश विदेशका कार्यक्रममा पनि बढी पुग्छन् । कलाकारलाई मञ्चीय कार्यक्रम पनि कमाइको अर्को भरपर्दो माध्यम हो ।

कम्पनीमार्फत युट्युबमा जाँदा रोयल्टी पाउने निश्चित नभएपछि कलाकारहरुले आफ्नै एकाउन्ट खोल्न थालेका हुन् । लगानी जुटाएर गीतको श्रव्य दृष्य तयार गर्ने र त्यसलाई आफ्नै युट्युबबाट प्रवद्र्धन गर्ने क्रम अहिले बढ्दो छ ।

मेकानिकल रोयल्टी भनेर कम्पनीले पैसा पाउँछन् भने आफ्नै एकाउन्ट भएका कलाकारको खातामा युट्युबले पैसा जम्मा गरिदिन्छ । रोयल्टी सङ्कलन समाज नेपाल र गुगलबीच भएको सम्झौतापछि नेपालमा युट्युबसम्बन्धी च्यानल व्यावसायिक बन्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका