जर्नादनको प्रश्नः तीन दिनमा हुने काम दुई अध्यक्षले वर्ष दिनमा किन गरेनन् ?



 

नेकपाका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले पार्टी एकता प्रक्रिया लम्बिएकोमा असन्तुष्टि जनाएका छन् ।

 

बनेपामा आयोजित एक कार्यक्रममा शर्माले पार्टी एकता प्रक्रिया लम्बिएकै कारण सरकार पार्टीविहीन जस्तो भएको बताए । ‘मैले तीन दिनमा सक्ने काम दुई अध्यक्षले वर्ष वित्न लाग्दा किन सक्नु भएन ?’ उनले भने, ‘सरकार पार्टीविहीन भएको छ, सरकारको पक्षमा बोल्ने कि नबोल्ने अन्यौलमा छौं ।’

 

सरकारले रणनीतिक कुरा मात्रै गरेको र जनतालाई तत्काल सेवा सुविधा दिनेतर्फ नलागेको भन्दै असन्तुष्टि जनाए ।

 

सरकार फोहोरी राज्य सत्ता सफा पार्न लागेको भएपनि केही मन्त्री त्यही फोहोरमा नै डुब्ने खतरा रहेको दाबी गरे । ‘विभिन्न व्यवस्थाविरुद्ध हामी लडेर यहाँ सम्म आउँदा फोहोरी सत्ता समालेकाहरुको विरोध गरिरहेँ’ उनले भने, ‘अब हामीले बनाएका मन्त्रीज्यूहरु नै फोहोरमा हराउने त होइन ?’

 

यी हुन् नेकपाभित्र शीर्ष नेता विवादको खास कारण

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले संसदमा सरकारको आलोचना गरे । लगत्तै राजधानीमा स्थायी समिति सदस्यहरूको भेला राखे ।

 

त्यही दिन पार्टी महासचिव विष्णु पौडेललाई विधिविपरीत प्रदेश कमिटीको नेतृत्व छानिएको भन्दै असहमतिपत्र बुझाए । चार महिनाअघि केन्द्रमा भएको एमाले र माओवादीबीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै एकता प्रक्रियालाई लिएर वरिष्ठ नेताहरूबीचको विवाद छताछुल्ल भयो ।

 

बिहीबार स्वदेश फर्केका प्रधाममन्त्री ओलीले आफ्नो अनुपस्थितिमा नेपालका गतिविधिप्रति संकेत गर्दै ‘मुद्दाविहीन राजनीति’ नगर्न सल्लाह थिए । ओलीले ‘कवि मन’ले केही भनिहाले पनि त्यसको पछि नकुद्ने बताउँदै एकता प्रक्रिया केही दिनमै टुंगो लाग्ने दाबी गरे ।

 

नेकपाभित्र शीर्ष नेताबीचको विवादको खास कारण के हो त? नेताहरूका अनुसार पार्टीमा कसको वर्चस्व रहने भन्ने ‘छद्म लडाइँ’ हो यो । त्यसकै रिहर्सलका रूपमा प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकतासम्बन्धी विवाद सतहमा आएको हो ।

 

चार महिनाअघिको एकताले उत्साह सिर्जना गरे पनि त्यसपछि अन्य काम अल्झिएका छन् । यसले कार्यकर्ताको उत्साह बिस्तारै मर्दै गइरहेको पार्टीका नेता बताउँछन् ।

 

एकता प्रक्रियामा सक्रिय भएका नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार नेताहरूले पार्टी एकता र कार्यकर्ताको भावना नै नबुझी आफ्नो ढंगले चल्न थालेका छन् । कमिटी प्रणाली बिर्सेर गलत निर्णय हुन थालेको उनको बुझाइ छ ।

 

‘एकतालाई एउटा ढाँचा र पद्धतिबाट टुंग्याउनुपर्ने हो,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘तर पार्टी सत्ता र राज्यसत्तामा को हावी हुने भन्ने स्वार्थको लडाइँ धेरै भइरहेको छ ।’ सहमतिअनुसार आउँदो दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्ने भनिएको छ ।

 

त्यसका लागि आकांक्षीको सूची लामै छ । एकता गर्दा नै भावी अध्यक्ष आफ्नो भन्ने पुष्पकमल दाहालको दाबी छँदै छ । एमाले ठूलो पार्टी भएकाले त्यो धारकै नेतृत्व हुनुपर्छ भन्नेमा माधव नेपाल छन् ।

 

ईश्वर पोखरेल एमालेमा दुई पटक महासचिव भएको व्यक्ति अब नेतृत्व गर्ने भन्ने आकांक्षामा छन् । यी सबै नेताका आकांक्षाबीच ओली आफैंले पनि भावी नेतृत्व आफ्नो होइन भनेर कतै भनेका छैनन् ।

 

वामदेव गौतमले पनि ७० वर्षको उमेर हद लागू नहुने भन्दै छन् । पूर्वअध्यक्षसमेत रहेका झलनाथ खनाल ‘पहिले बिरामी थिएँ र विश्राम लिएँ, अब तन्दुरुस्त भएको छु, आफ्नो गुट बनाउँछु’ भन्दै हिँडेका छन् ।

 

त्यसैले भावी महाधिवेशनमा कसको नेतृत्व स्थापित हुने भन्ने कुरा अहिले प्रदेश र जिल्ला कमिटीको एकतासम्बन्धी निर्णयको धेरै प्रभाव रहन्छ । अहिले आफू अनुकूलको जिल्ला र प्रदेश नेतृत्वमा बढीभन्दा बढी व्यक्ति ल्याउनसके महाधिवेशनमा प्रभाव पर्न सक्छ जसलाई आधार बनाएर महाधिवेशनको नेतृत्व हत्याउन पाइन्छ भन्ने नेताहरूको सूक्ष्म गृहकार्य छ ।

 

अहिले केपी ओली र पुष्पकमल दाहालले गरिरहेको निर्णय र माधव नेपालका विरोधभित्र त्यस्तै स्वार्थ पनि हावी छन् । ‘आफ्नो मान्छेलाई मात्र अघि सार्ने, नेताको वरिपरि हुनेले पनि घेराबन्दी गरेर अवसर लिइहाल्ने जस्तो देखिएको छ,’ केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्, ‘भोलि पार्टीले कस्तो शक्ति आर्जन गर्ने भन्नेतर्फ कम ध्यान दिएको देखिन्छ ।’

 

केन्द्रको एकता हुँदा एमाले र माओवादी भन्ने मनोविज्ञान थियो । एमाले र माओवादी पक्ष भन्दै भागबन्डा भयो तर तल्लो तहमा एकीकरण प्रक्रिया जब सुरु भयो, त्यसमा नेताहरूको भावी नेतृत्वको आकांक्षा टकराउन थाल्यो ।

 

त्यसले विवाद एमाले र माओवादी भन्ने मात्र सीमित रहेन, विभिन्न नेताको पक्षधरतामा विस्तार भयो । एमालेभित्र ओली र नेपाल पक्षको गुट हावी भयो ।

 

धेरै स्थानमा ओली पक्षले नेपाललाई निमिट्यान्न पार्न खोजेको गुनासो आयो । त्यही गुनासोको विस्तारित रूप हो नेता नेपालले पार्टीभित्र राखेका लिखित असहमति । ‘नेताहरूका आफ्ना कुरा केही होलान् तर एकताको मर्मलाई नेताहरूले बोकेर हिँड्नुपर्छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘एकताले सबैलाई जोड्ने खालको वातावरण बनाउँदै लैजानुपर्छ ।’

 

तर शीर्ष नेताहरूको स्वार्थ टकराउँदा जिल्ला तहमा समेत विभाजनको रेखा कोरिइरहेको छ । यसले स्वाभाविक रूपमा नेतृत्वमा आउने व्यक्ति पाखा पार्ने अवस्था आएको छ । त्यस्तैमध्येका एक प्रतिनिधि हुन् अर्घाखाँचीका पूर्वएमाले सचिव रामबहादुर चौहान जो अहिले राजधानी आएर शीर्ष नेताहरूसमक्ष आफूलाई न्याय दिलाउन पुकार गरिरहेका छन् ।

 

पार्टीभित्र दोहोरो पद नदिने भन्ने मापदण्ड बन्यो । त्यसअनुसार जिल्लाका अध्यक्ष प्रदेश सांसद, उपाध्यक्ष प्रदेश संगठनमा बढुवा भएपछि तत्कालीन एमालेको सचिवका रूपमा चौहान वरिष्ठ थिए तर हाल पार्टीको कार्यदलले उनीभन्दा कनिष्ठ व्यक्तिलाई जिल्ला अध्यक्षको सिफारिस गर्‍यो ।

 

‘नेताहरूको गुट तल्लो तहसम्म विस्तार भएको छ र कसलाई ल्याउँदा आफूलाई फाइदा हुन्छ, त्यो हेरिएको छ,’ चौहानले भने, ‘स्वाभाविक रूपमा पार्टीको वरिष्ठतालाई उल्लंघन गरिँदै गइएको छ, कामका आधारमा होइन, नेतासँगको निकटताका आधारमा जिम्मेवारी पाउने अवस्था छ ।’

 

यो प्रवृत्ति अहिले तल्लो तहमा एकीकरण हुने अधिकांश जिल्लामा देखिएको उनको दाबी छ । तल्लो तहको नेतृत्वमा समेत माथिबाट नेताहरूको स्वार्थले काम गर्दा पार्टी कामले गति नै लिन सकेको छैन ।

 

विवाद र आक्रोशको पारो बढै जाँदा प्रधानमन्त्री केपी ओली १४ दिन लामो विदेश यात्राबाट फर्केलगत्तै शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

 

आफूहरूको अनुपस्थितिमा वरिष्ठ नेता माधव नेपालले व्यक्त गरेका असन्तुष्टिका विषयमा दुवै नेताले छलफल गरे । उनीहरूले पार्टी एकता प्रक्रियामा भइरहेका विवाद र असन्तुष्टिलगायत विषयमा छलफल गर्न आइतबारका लागि सचिवालयको बैठक बोलाएका छन् ।

 

नेकपामा यसरी एक्लिँदै माधव नेपाल, कस–कसले छाड्दैछन् गुट ?

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा नै लेखिन्– अब म कुनै गुटमा रहन्न । स्वतन्त्र बस्छु ।

 

तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष समेत चलाइसकेकी झाँक्री कहिले पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गुटनजिक भइनन् ।

 

ओलीइतरका विभिन्न नेताका समूहमा सक्रिय भइन् तर सुरक्षित नभएको महसुस गरिन् । तत्कालिन अध्यक्ष झलनाथ खनाल गुटमा सक्रिय रहेकी उनी पछिल्लो कालमा ओलीइतरको गुटको नेतृत्व गरेका नेता माधवकुमार नेपालको लाइनमा थिइन् । सायद उनको ठम्याई छ, नेपालले अवसरलाई पक्रने र अवसर नपाउनासाथ कार्यकर्तालाई वास्ता गर्दैनन् ।

 

नेपाल समुहका होनाहार नेता भएर पनि योगेश भट्टराईले अवसर पाएनन् । सांसद जित्दा जित्दै उनी मन्त्री बन्ने चर्चा थियो । तर नेता नेपालले मन्त्रीका लागि उनको नाम अघि सार्न सकेनन् । तत्कालिन एमाले सचिव भट्टराई पनि अब नेपाल समूहबाट दिक्क भइसकेका छन् ।

 

उनी पार्टीको जिम्मेबारीमा स्वतन्त्र भएरै अघि बढ्ने तयारीमा छन् । ‘न सरकारमा जिम्मेबारी न पार्टीमा कुनै हैसियत भएपछि नेताको पछि लागेर हिँड्नु वा त्यो समूहको भन्नुको के अर्थ रह्यो र ?’, भट्टराईनिकट एक नेताले भने,‘यसैले अब युवा र मनमिल्ने साथीहरूको नयाँ समूह बनाएर प्रभावकारिता देखाउने योजना बन्नेक्रममा छ ।’

 

पार्टीमा वैचारिक र सैद्धान्तिक दृष्टिकोण राखेर अघि बढे नेता घनश्याम भुसाल । उनका कतिपय विचारलाई अन्य पार्टीले आफ्ना अवधारणापत्र समेत बनाए । उनको वैचारिक र राजनीतिक हैसियतका आधारको दबाबले नेताहरू बोल्न सकेनन् नत्र नेपाल समूहका व्यक्ति भन्ने ट्याग लागिरह्यो ।

 

उनी पनि स्वतन्त्र हिसाबले नै कम्युनिस्ट विचार र समाजवादको सैद्धान्तिक पक्षका विषयमा विमर्श र मन्थनमा व्यस्त हुने मुडमा छन् ।

 

विद्यार्थीको नेतृत्व गरेर पार्टीमा पनि लामो समयसम्म वैकल्पिक केन्द्रीय सदस्य बनेका ठाकुर गैरे पनि स्वतन्त्र वैचारिक समूहको पक्षमै उभिने तयारीमा छन् । झन् तत्कालिन माओवादी केन्द्रसँगको एकीकरणपछि उनलाई दबाबमा मात्र राखियो, मौका दिने छाँटकाँट नै देखिएन ।

 

नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष ओलीको सशक्त समूह छ । उनले आफ्नो टोलीलाई सुरक्षित गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीलाई पार्टी र सरकारमा सकेसम्म समेट्ने प्रयास गरेका छन् । तर, तेस्रो वरियतामा रहेका नेता नेपालले भने आफ्नै समूहका ‘प्रभावशाली’हरूलाई बेवास्ता गरेका छन् ।

 

एक नेता भन्छन्,‘वरियतामा तेस्रोमा पर्दा उहाँ खुशी हुनुभयो त्यसपछि टिमको वास्ता पनि गर्नु भएन । अहिले उहाँलाई नसोधी गरिएका निर्णयमा विवाद गरिरहनु भएको छ । त्यस विषयमा पनि टिमसँग छलफल गर्नु भएन ।’

 

ओली अगाडी खनालको समूहमा रहेका यी युवा नेता नवौं महाधिवेशनमा नेपालको सहयोगसहित समूहमा स्थानान्तरण भएका थिए । खनालले गर्न नसकेको काम नेपालले गर्छन् भन्ने विश्वास थियो ।

 

तर त्यसैबेलादेखि नै मौका नपाएका युवा नेतालाई पार्टी एकीकरणपछि झन् भित्तामै पुराएपछि गुटगत राजनीति त्याग्ने मनसायमा पुगेका छन् ।

 

‘पार्टीमा एउटा लाइन हुन्छ तर त्यो लाइनले पनि सुरक्षा गर्न नसक्ने र प्रभावकारिता देखाउन नसकेपछि साथ दिनुको अर्थ हुँदैन ।

 

हामीले पनि पार्टीमा योगदान गरेका कारणले नै यहाँसम्म आएका हौं तर यहाँभन्दा माथि त नेताले पनि सोच्नुपर्छ’, नेकपाका एक युवा नेताले भने,‘यसैले हामी यस्तो मनस्थितिमा पुगेका छौं ।’

 

यसै पनि केही दिन यतादेखि नेकपामा नेपाल र अध्यक्षद्वयको कटाक्ष चलिरहेको छ । प्रचण्ड मध्यमार्गी भएर बसेका छन् भने ओलीसँग नेपालको कटाक्ष चलिरहेको छ ।

 

सरकारको काम कारबाहीप्रति नेपालले असन्तुष्टी जनाउँदै संसदमा आलोचना गरेका थिए भने स्थायी कमिटीको छुट्टै बैठक डाकेर असन्तुष्टी पोखेका थिए ।

 

विहीबार दिउँसो मुलुक आइपुगेका अध्यक्ष ओलीले नेपाललाई पुराना गीत र कविता भनेर असन्तुष्टी पोख्नु स्वभाविक भएको भनी व्यंग्य समेत गरेका थिए ।

 

यस्तो अवस्थामा नेपाल समूहलाई नै अघि बढाएका युवा नेताको मनस्थिति परिवर्तन भएपछि नेकपामा पनि युवाको चौथो धारको उदय हुनसक्ने अनुमान गरिएको छ ।

नेता सुरेनद्र पाण्डेले पनि आउने महाधिवेशनलाई ध्यानमा राखेर गुट चेन्ज गर्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्