६० कटेपछिको ‘क, ख’ मोह, यसरी पढाइन्छ जेष्ठ महिलालाई



 

जोरपाटीस्थित विद्यासागर विद्यालयका विद्यार्थी छुट्टी भएर बाहिर निस्कँदै थिए । दिनभरको पढाइको बोझ सकिएको उत्साह उनीहरूमा थियो ।

 

बढ्दो उमेरका बालबालिका विद्यालयको गेटबाट निस्किएपछि बुढ्यौली लागिसकेको पाका महिलाहरू हातमा किताब कापी बोकेर गेटबाट छिरे ।

 

भदौको पहिलो साता । दिउँसो ४ बजेको दृष्य हो यो । उनीहरूको पिठ्यूँमा कालो रंगको एकैनासका झोला थिए । सबैजसोको कपाल कपास झैं सेता । उमेरले ६० कटेका ।

 

विद्यालयको गेटबाट पस्दा उनीहरूको चाउरिएका तर चम्किला मुहारमा पढाईप्रतिको आकर्षण प्रष्ट देखिन्थ्यो ।

 

बृद्धबृद्धा भेट भएपछि सामान्यतया स्वास्थ्यका कुरा, छोराछोरीका कुरा, पुराना स्मृतिमा गफिन्छन् । तर, यी महिलाहरूको गफ भने यी कुरा भन्दा पढाइमा केन्द्रित थियो ।

यसरी गफिँदै थिए उनीहरू –

– हिजोे दिएको ‘होमवर्क’ सकियो ?

– मेरो त आधा पनि सकिएको छैन ?

– बुढ्यौली लागेछ, के होमवर्क थियो पनि भूलें ।

– खोई के दिएको थियो, म त बिर्से ।

 

३० जना जेष्ठ नागरिक महिला । ठिक ४ बजे विद्यालय पुगिसके । उनीहरू कक्षा कोठामा पसिसकेपछि शिक्षक पनि पुगे ।
शिक्षकभित्र पस्नेबित्तिकै सेतै फूलेका आमाहरू बेञ्चबाट जुरुक्क उठे अनि भने, ‘गुड इभिनिङ सर, म्याम’ ।

 

त्यसपछि सबैजनाले राष्ट्रिय गान सुरु गरे । कण्ठस्त भइसकेको राष्ट्रिय गान भनिसकेपछि शिक्षकको अनुमतिमा आ–आफ्नो सिटमा बसे ।

 

त्यसपछि शिक्षकले उनीहरूलाई बस्न आग्रह गरे । पढाइ सुरु गर्नुअघि उनीहरू फेरि उठे । एकैसाथ शारीरिक व्यायाम गर्न थाले । हात रगडे, आँखा तातो बनाए, शरीर तन्काए । करिब ५ मिनेट व्यायाम गरेपछि सिटमा बसे ।

 

अनि होमवर्क बुझाउने पालो आयो । होमवर्कमा भने सबैजना इमान्दार देखिएनन् । केहीले भने ‘सर, के दिनुभएको थियो भूलें म त ।’ शिक्षक उनीहरूलाई कारबाही गर्न तर्फ लागेनन्, होमवर्कमा कडाई थिएन पनि । अनि कक्षा अघि बढ्यो ।

 

महिलाहरूले किताब कापी निकाले । सबैको हातमा सिसाकलम थियो । कापी निकालेर सिसाकलमले बाङ्गो टिङ्गो धर्को तान्दै नाम लेख्न सिक्न थाले ।

 

७५ वर्षकी भवकुमारी बराललाई आफ्नो नाम राम्रोसँग लेख्न आउँदैन । हातमा सिसाकलम समात्दै नाम लेख्न बसेकी उनको हात काँपिरहेको थियो ।

 

‘क, ख, ग का अक्षर चिन्छु । अरु सिक्दै छु’ उनले भनिन् । बुढेसकालमा किताब कापी समातेर घरबाट निस्कँदा छिमेकी हेर्न आउँछन् । छोरा बुहारी पनि किन पढ्नुपर्‍यो अब ? पढेर के गर्ने हो ? भन्दै कराउँछन् । तर, भवकुमारीलाई भने पढ्ने रहरले छोडेकै छैन । कखरा सिक्ने ठूलो धोको छ ।

 

‘हाम्रा पालमा यस्ता दिन भए त कति रमाइलो हुन्थ्यो बरै’ कापीमा धर्का तान्ने कोशिस गर्दै उनले भनिन्, ‘के गर्नु उतिबेला यस्तो जमाना थिएन । यी अहिले यसरी नाम लेख्न सिक्दै छु ।’

 

जेष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम अन्र्तगत भवकुमारी जस्तै ३० जेष्ठ महिलाहरू अक्षर जान्ने कोशिस गरिरहेका छन् । उनीहरूले साउन २ गतेदेखि पढ्न थालेका हुन् ।

 

निरक्षर उनीहरू अहिले क, ख अक्षर चिनेर उच्चारण गर्न सक्ने भएका छन् । केहीले आफ्नो नाम पनि लेख्न सिकिसके ।

 

तिनै मध्येकी एक हुन् ८० वर्षीया चन्द्रकुमारी पन्त । भन्छिन्, ‘हाम्रो पालामा पढ्ने, लेख्ने दिन थिएनन् । अहिले बुढेसकालमा मर्नुभन्दा पहिले क, ख उच्चारण गर्न जानेकोमा भाग्यमानी ठानेको छु ।’

 

उनलाई आफ्नो उमेर ढल्किँदै गएको चिन्ता पनि छ । आफू डाँडामाथिको जून भइसकेको बताउँछिन् । यद्यपि पढ्ने रहर भने दिनदिनै बढ्दो छ । थप्छिन्, ‘मान्छे बुढो भए पनि विद्या कहिल्यै बुढो हुँदैन भन्छन् त्यसैले पनि नाम लेख्न सिक्दैछु ।’

 

भोजपुरकी राधिका वडारी अहिले जोरपाटीमा बस्छिन् । ७६ वर्षको उमेरसम्म आउँदा गरेका संघर्षको लेखाजोखा छैन । अहिले पनि मकै पोलेर जीवन गुजार्दै छिन् ।

 

अहिले भने उनमा पढ्ने जाँगर छ । आँट पनि । त्यसैले क, ख ज्ञ सम्मै लेख्ने र चिन्ने भइसकिन् । मकै बेच्दा कसैले ५ सय, हजारको नोट दिए फिर्ता कति दिनुपर्छ थाहा पाउँदिनन् । त्यसैले जोड घटाउ, हिसाब किताब जान्न उनलाई मन छ ।

 

जेष्ठ महिलालाई आधारभूत शिक्षा सिकाइन्छ भन्ने थाहा पाएपछि पढ्न जान थालेकी हुन् । २ महिनाको समयमा पैसाको हिसाब गर्न पनि अलि जान्ने भएको उनले महशुस गरेकी छिन् ।

 

यसरी पढाइन्छ जेष्ठ महिलालाई

एजिङ नेपाल संस्थाको आयोजनामा जेष्ठ नागरिक महिलालाई आधारभूत शिक्षा पढाउन थालियो । उनीहरूलाई पढाउने मात्रै हैन, मनोरञ्जन पनि दिने गरिन्छ ।

 

शिक्षक श्याम खतिवडाले भने, ‘नाच्ने, गाउने, कविता भन्ने रमाउने गर्नाले बुढो शरीरलाई बिर्सेर एकैछिन भए पनि उनीहरू खुसी हुन्छन् ।’
बुढ्यौली लाग्दै गएपछि मानिसको शारीरिक र मानसिक अवस्था कमजोर हुँदै जान्छ । बुढेसकालमा घरपरिवारबाटै जेष्ठ नागरिक अपहेलित हुन्छन् ।

 

लामो समयसम्म अपहेलनामा परे उनीहरूमा डिप्रेसन पनि आउन सक्छ । त्यसैले कक्षामा सहभागी हुँदा एक अर्कासँग कुराकानी गर्ने, नयाँ कुरा सिक्ने रमाउने गर्दा उनीहरू खुसी हुने अनुभव शिक्षक खतिवडाले सुनाए ।

 

उनीहरूलाई अक्षर सिकाउने तरिका बालबालिकालाई भन्दा फरक छ । अक्षर ठूला लेखिन्छ । अनि मनोरञ्जनात्मक तरिकाबाट सिकाइन्छ ।
जेष्ठ नागरिकको स्मरण शक्ति बालबालिकाको जस्तो हुँदैन । त्यसैले पनि कतिपयले भने अहिले जानेको कुरा भोलिपल्ट बिर्सिने शिक्षक खतिवडाले बताए ।

 

नाम लेख्न नजानेर ल्याप्चे लगाउन नपरोस् । कुनै बिरानो ठाउँमा जाँदा, यो कुन ठाउँ हो भन्ने चिन्न सकुन् भन्दै उनीहरूलाई पढ्न सिकाइरहेको उनले बताए ।

 

एजिङ नेपालले काठमाडौका विभिन्न ४ ठाउँमा जेष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकलाई शिक्षा सिकाउन थालेको छ ।

 

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, बौद्ध नगरपालिका ६ र गोकणेश्वर नगरपालिका ५, मा कक्षा सञ्चालन भइरहेको जेष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रमका संयोजक पवित्रा अधिकारीले बताइन् ।

 

राज्यले ६० कटेकालाई नागरिक नै ठानेन

नेपालमा झण्डै ३० लाखको हाराहारीमा जेष्ठ नागरिक छन् । ती मध्ये १५ लाख बढी जेष्ठ नागरिक महिला रहेको एजिङ नेपालसँग तथ्यांक छ ।

 

अधिकांश जेष्ठ नागरिक पुरुष साक्षर छन् । ९५ प्रतिशत जेष्ठ नागरिक महिला निरक्षर रहेकाले उनीहरूको शिक्षामा पहुँच पुर्याउन आधारभूत शिक्षा सिकाउन थालिएको एजिङ नेपालका अध्यक्ष कृष्णहरी मुरारीले बताए ।

 

नेपालले सन् २०३० सम्ममा नेपाललाई साक्षर देश घोषणा गर्ने लक्ष्य अनुसार यो अभियान सञ्चालन गरे पनि जेष्ठ नागरिकलाई भने समावेश नगरेकोमा उनले गुनासो गरे ।

 

एकल भत्ता, बृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिँदा ल्याप्चे लगाउनु पर्ने समस्याको अन्त्य गर्न पनि एजिङ नेपालले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

 महिला खबरबाट इन्द्रसरा खड्का

प्रतिक्रिया दिनुहोस
रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण