बाग्मतीमा नयाँ मोटरसाइकलको दर्ता रोकियो, अब के गर्छन ग्रहक



हाम्रो इकोनोमि

 

सरकारको लापरवाहीका कारण दशैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ ।

 

साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको छ ।

 

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायकाअनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानुनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो ।

 

यातायात व्यवस्था नियमावलीमा २ डिजिटको लट नम्बर राखेर मात्रै सवारी दर्ता गर्नुपर्ने प्रावधान छ ।

 

काठमाडौंमा ‘बा ९९ प’ मा ‘९९९९’सम्म बाइक वितरण भइसकेको छ । बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

 

कानुनले नयाँ दर्ता गर्न नदिने अवस्था आएपछि बुधबारबाट दर्ता बन्द भएको सतुंगलस्थित मोटरसाइकल कार्यालयका प्रमुख गणेश अर्यालले बताए । उनले केही दिनमा नै समस्या समाधान हुने बताए ।

 

कार्यालयले लट नम्बरको व्यवस्थाका कारण आउन सक्ने समस्याबारे यातायात व्यवस्था विभाग र मन्त्रालयलाई गत साउनमै जानकारी थियो ।

 

तर, दुबै निकायले समयमै ध्यान नदिँदा धेरै सवारी साधन खरिद हुने सिजनमै मोटरसाइकलको दर्ता बन्द भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता उपाध्यायले नियमावली संशोधनका लागि प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको बताए । उनले अब तीन डिजिटमा पनि लट नम्बर राखेर सवारी दर्ता गर्न सकिने गरी नियमावली संशोधन हुने बताए ।

 

बेलैमा कानुन संशोधन नगरिँदा सेवाग्राही मर्कामा परेका छन् । धेरैले दशैंको मुखमा नयाँ मोटरसाइकल किन्ने गरेका छन् । दर्ता हुन रोकिएपछि आपूर्ति गर्ने कम्पनीलाई ठूलो समस्या परेको छ ।

 

स्रोतका अनुसार १४ असारमा मन्त्रिपरिषदको विधेयक समितिबाट नियमावली संशोधनको प्रस्ताव पास भइसकेको छ । मन्त्रिपरिषदबाट पास भएर राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।

 

अब मन्त्रिपरिषदको नियमित बैठक असोज २१ गते मात्रै बस्दैछ । त्यो बैठकमा पनि यो संशोधन प्रस्ताव मुख्यसचिवले एजेन्डामा राख्ने/नराख्ने निश्चित छैन । यसैले दशैंअघि काठमाडौंमा नयाँ मोटरसाइकल दर्ता खुल्नेमा व्यवसायीहरु आश्वस्त छैनन् ।

 

एक मोटरसाइकल आपूर्तिकर्ता कम्पनीका सञ्चालकले भने, ‘हाम्रो मुख्य सिजनमै सरकारको लापरवाहीले बिजनेशमा असर पर्ने भयो । सरकार कति अदूरदर्शी छ भन्ने यसबाटै प्रष्ट भयो ।’

बढी भाडा लिनेको अनुगमन शुरु

 

दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ ।

 

अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई जानकारी दिनुभयो । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उहाँले सुनाउनुभयो ।

 

विभागको नेतृत्वमा आज नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् ।

 

दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए ।

बुकिङ शुरु गरेको भोलिपल्टदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आउनुभएका रामबहादुर थापाले बताउनुभयो ।

केही कम्पनीका टिकट काउन्टरले सीमित मात्रामा टिकट बुकिङ गरेपनि समितिका काउन्टरले भाडा बढाउने अस्त्रका रुपमा मात्र अग्रिम बुकिङलाई प्रयोग गरेको उहाँको भनाइ छ ।

 

नयाँ बसपार्कलगायत टिकट काट्ने काउन्टरमा समायोजन गरेको भाडा सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ ।

 

मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन् । सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

 

दशैँ अघि नै असोज ७ गते समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ ।

 

विभागले तोकेको भन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...