सरकार ढाल्ने खेलमा नलाग्न ईश्वर पोखरेलले माधव नेपाललाई दिए यस्तो चेतावनी



 

 

नेकपामा विभेद छ भन्ने कुरा त केपी ओली विदेश जाँदा तपाईले कार्यवाहक प्रधानमन्त्री पाउने, तर दुवै अध्यक्ष विदेश जाँदा माधव नेपालले कार्यवाहक अध्यक्ष नपाउने कुराले नै पुष्टि गरेन र ?

 

माधव नेपाल कमरेडले के विषयमा केन्दि्रत भएर असन्तुष्टि राख्नुभएको हो भन्ने मैले बुझेको छैन । तर, हामी आ-आफ्नो जिम्मेवारीमा छौं । राम्रो कुरा पनि सही ठाउँमा उठाइएन भने, हाम्रो लेभलका मान्छेलाई प्रत्युत्पादक हुन्छ । हामीजस्तो जिम्मेवार मान्छेले कुन ठाउँमा असन्तुष्टि पोख्ने भन्ने कुरा बुझेनौं भने आफैंलाई ब्याक फायर हुन्छ ।

 

होइन, उहाँलाई कार्यवाहक अध्यक्ष किन दिइएन त ?

त्यो मैले बुझ्न पाएको छैन । नबुझिकन त्यस्तो बारेमा मैले टिप्पणी गर्न मिल्दैन । कार्यवाहक दिने प्रचलन पार्टीमा थियो हिजो । स्थापित चलन अनुसार विगतमा कार्यवाहक दिने चलन थियो, तर अहिले किन त्यस्तो भयो मैले बुझेको छैन । कार्यवाहक दिन सक्ने अधिकार रहेका अध्यक्षले भन्नुहोला । तर, यो पनि कुनै ठूलो इस्यु होइन ।

 

पार्टीमा छलफल बहस हुन छाडेको भन्दै माधव नेपालले स्थायी कमिटी सदस्यहरुको भेला बोलाउनुभयो, तर तपाई त्यहाँ जानुभएन नि, किन ?

 

अब यसमा मेरो आफ्नै कुरा छ । हामी पार्टीभित्र थिति बसाल्न चाहन्छौं । हामीले चाहेर पनि कहिले कहीँ थिति बस्दैन । तर, यसमा निरन्तर कोशिस गर्नुपर्छ । एउटा नेताले साथीभाइसँग अनौपचारिक भेटघाट गर्ने कुरा स्वाभाविक हो । तर, जुन प्रयोजनका लागि र जस्ता कुराहरु छलफल भए भनेर सुनियो मिडियामा, त्योचाहिँ उचित होइन । त्यसैले पनि मैले त्यहाँ जान उचित ठानिनँ ।

 

मैले बुझिराखेको छैन,माधव नेपालजीले अहिलेसम्म पार्टी एकता प्रक्रियासँग गाँसिएका कुराहरुमा कति बहस छलफल गर्नुभयो ? संगति मिले नमिलेका धेरै कुराहरु यसबीचमा भएका छन् । उहाँले कहाँ, कस्तो अडान लिनुभयो ? आफूलाई फाइदा हुञ्जेल चुपचाप लाग्ने त देखियो ।

 

अनि कुनै खण्डमा मात्रै चित्त नबुझेर प्रतिक्रियात्मक हुनुपर्ने जरुरी म देख्दिनँ । एकता प्रक्रियामा संगति नमिलेका विषयमा हामी छलफल गर्न तयार हुने कि नहुने ? अनि यतिबेला छलफल नगरी नहुने अवस्था छ कि छैन ? यस्ता धेरै प्रश्नको जवाफ कार्यकर्ताले खोजेका हुन्छन् ।

 

तर, प्रदेश कमिटी गठनजस्तो महत्वपूर्ण निर्णय एकपक्षीयरुपमा गरेको विषय अहिले नै छलफल नगरे कहिले गर्ने त ?

एकपक्षीय होइन । यत्रो ठूलो पार्टीमा विभिन्न नेताहरु विभिन्न कार्यक्रममा हिँडिरहनु हुन्छ । अब सबै जुटेका बेलामा मात्र निर्णय गर्ने कुरा कति सान्दर्भिक हुन्छ ? सचिवालयको बैठकमा औपचारिक ढंगले महासचिवले दुईटा अध्यक्षसँगको परामर्शमा प्रस्ताव ल्याउनुभयो । त्यसमा छलफल भयो । पछि दुईजना अध्यक्ष अलग्गै बसेर जे प्रस्ताव ल्याउनुभयो, त्यो पास भएको हो ।

 

कमसेकम एउटा लेजिटिमेट ढंगले काम सुरू हुन्छ भनेर त्यो निर्णय भएको हो । हामीले यसबीचमा कार्यदल बनायौं । तर, सबैले काम गर्न सकेनन् ।

 

अब यसरी तलसम्म पार्टी कमिटी विघटनको अवस्थामा राख्नुहुँदैन भन्ने भयो । त्यसपछि त्यहीँ काम गरिरहेका बोनाफाइड नेताहरुलाई प्रदेशको पदाधिकारीमा जिम्मा दिइएको हो । उनीहरु हिजो पनि त्यहाँ काम गरिरहेकै थिए ।

 

त्यही क्षेत्रमा कार्यरत नेताहरुभित्रैबाट जो हिजो पनि जिम्मा लिनुभएको थियो, उहाँहरुलाई तत्काल तपाईहरु काम गर्नुस् भनेर जिम्मा दिँदा कसका मान्छे कति परे भनेर हिसाब गर्ने कुरा ठीक होइन ।

 

तर, दोहोरो जिम्मेवारी दिइयो भन्ने कुरा पनि आयो नि ?

अब यो दोहोरो जिम्मेवारीमा पनि कहाँदेखि दोहोरो जिम्मेवारी नपाइने भन्ने ? माथिदेखि नै भन्नुपर्‍यो कि त । हामीले कुन तहदेखि दोहोरो जिम्मेवारी नहुने भनेको छैन । आवश्यकता र औचित्यका आधारमा दोहोरो जिम्मेवारी पनि हुन सक्छ । महासचिव सांसद हुने कि नहुने ? अध्यक्ष प्रधानमन्त्री हुने कि नहुने ? स्थायी कमिटी र सचिवालयका नेता मन्त्री हुने कि नहुने ? यस्ता कुरा पनि आउलान् ।

 

आवश्यकता र औचित्यका आधारमा जिम्मा दिने हो । अहिले सात प्रदेशको विषय चाहिँ दुईजना अध्यक्ष र महासचिवले जे प्रस्ताव ल्याउनुभयो, हामीले त्यो पारित गरेको हो । कम्तिमा अहिलेको रिक्तता नहोस भनेर गरिएको हो ।

 

नेकपाभित्र लोकतान्त्रिक अध्यासको ठाउँ कम भयो भन्ने गुनासो नेतृत्व तहबाटै आइरहेका बेला माधव नेपालको यो गुनासोले ती आरोपलाई पुष्टि गर्‍यो नि होइन र ?

कुनै पनि नेताले आफूलाई कुनबेला पर्छ, त्यो बेलामात्र सार्वजनिक गर्नुचाहिँ उचित हुँदैन । यो कुरा ममा पनि लागु हुन्छ अरु नेतामा पनि लागु हुन्छ । समग्र हाम्रो प्रक्रियामा हाम्रा भूमिका कुन बेला के रहे ? मान्नुस पार्टी एकताका प्रक्रियामा पनि समिक्षा हुन सक्छ नि ।

 

आफूलाई ठीक लाग्दासम्म ठीक हुने र आफूलाई परेपछि सबै बिगि्रयो भन्ने कुरालाई अरुले कति पत्याउँछ ? प्रक्रियाका विषयमा कुरा गर्दा त बिभिन्न समय अवधिमा प्रकट भएको होला नि । त्योबेला चाहिँ केही नभन्ने ।

 

झलनाथ खनालको बरियता खोस्न उहाँहरु मिल्ने, तपाईको महासचिव पद खोस्न उहाँहरु मिल्ने…..भन्न खोजेको हो ?

त्यो कुरा त म के भनौं र, तपाईले उहाँलाई नै सोध्नुस् । तर, आफूलाई पायक पर्दा सबै ठीक, अनि आफूलाई अपायक पर्दा लौ खत्तम भयो, बर्बाद भन्ने शैली चाहिँ ठीक हुन्न ।

 

पछिल्लो सचिवालयको निर्णय नै कार्यान्वयन गर्नुहुँदैन र स्थायी कमिटी बैठकबाट गर्नुपर्छ भन्ने कुरा त अरु नेताबाट पनि आयो नि ?

यसमा कति ठीक कति बेठीक भन्न सकिन्छ । हाम्रो विधानमा सचिवालयका बारेमा व्यवस्था गरिएको छ । हाम्रो अहिले बनेको सचिवालय भनेको, कति संगतिपूर्ण छ कि छैन, त्यो छलफलको विषय हुन सक्छ । तर, हामी प्रस्ताव तयार गर्नेमात्र निकाय होइन । ‘कोर अफ लिडरशीप’ को मान्यताका आधारमा सचिवालय बनाइएको छ ।

 

यद्यपि स्थायी कमिटी भनेको निर्णय गर्नुपर्ने थलो हो । त्यहाँ पनि छलफल त हुन्छ र हुनुपर्छ । तर, स्थायी कमिटीको अनुपस्थितिमा तत्काल गर्नुपर्ने निर्णय त सचिवालयले गर्छ । त्यही सचिवालयले गरेका निर्णय पनि आफूलाई मन पर्दा ठीक, नपर्दा बेठीक भन्ने कुरा ठीक होइन ।

सोझो कुरा भनेको विधि र प्रक्रियामा चल्नुपर्छ । संस्थागत निर्णयको मान्यताबाट निर्देशित भएर जानुपर्छ ।

 

त्यसोभए अहिले माधव नेपालले पार्टी सञ्चालनका सन्दर्भमा व्यक्त गरेको चिन्तालाई चाहिँ कसरी सम्वोधन गर्ने त ?

त्यो चिन्ता भनेकै के हो भन्ने मैले बुझ्न पाएको छैन । मैले त उहाँलाई भेट्छु भनेको थिएँ, फेरि विदेश गइसक्नुभएछ । उहाँले चियापनको बेला बोलाउँदा भनेको थिएँ, तपाईले चियापान राख्नुभएको रहेछ, म त्यहाँ आउँदिनँ । तर, तपाईसँग भेटेरै कुरा गर्छु भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो । मैले खोजेको त फेरि विदेश हिँड्नुभएछ ।

 

माधव नेपालको मात्र कुरा होइन, केपी ओली र प्रचण्ड मिलेपछि जे पनि निर्णय गरिदिने र बहस छलफल नै गर्न नपाइने अवस्था आयो भन्ने चिन्ता चाहिँ युवा नेताहरुबाट पनि आएको छ, बहस र छलफल नै निषेध भएको हो त ?

साथीहरुले जुन चिन्ता व्यक्त गर्नुभएको छ, वास्तवमा हाम्रो पार्टी जीवनसँग गाँसिएका कतिपय महत्वपूर्ण मुद्दाहरुमा बहस छलफल गर्न नपाएको भन्ने गुनासो छ । म यसप्रति ध्यान दिनुपर्छ भन्ने ठान्छु ।

 

हाम्रा दुबै अध्यक्षहरुले कतिपय ज्वलन्त विषयहरुमा छलफल बहस गराउनुपर्छ । सहभागिता भएन भने स्वामित्व हुँदैन । कुनै निर्णयमा नेता कार्यकर्ताको सहभागिता भएन भने त्यसको प्रतिरक्षा हुँदैन ।

 

पार्टीको पक्षमा प्रतिरक्षा गरुन् भनेर हामी आग्रह गर्छौं भने त्यो पार्टीले गरिरहेको वा सरकारले गरिरहेका कामप्रति सहभागिता देखाउनुपर्छ । सहभागिता भएन भने स्वामित्व हुँदैन । स्वामित्व भएन भने प्रतिरक्षा हुँदैन । अनि प्रतिरक्षा गर भनेर आग्रह गर्दैमा हुँदैन ।

 

जस्तो कि अस्ति अरिँगाल बन भन्दा कोही नबनेपछि मौरी बन भन्नुपर्‍यो होइन ?

त्यसमा पनि अलि अपव्याख्या भयो । एउटा पार्टीको नेताले कतिपय विषयहरुमा प्रतीकको रुपमा बोलेको हुन्छ ।

 

तर, पार्टीका नेताहरुले नै स्वामित्व लिने अवस्थामा नभएको त हो नि ?

यसमा मैले अघिनै भने, तपाई कुनै पनि निर्णय वा ईस्युमा जति सहभागी हुनुहुन्छ त्यसमा तपाईको स्वामित्व त्यति नै हुन्छ । निर्णय प्रक्रियामा सहभागी हुन नपाएपछि उसले स्वामित्व लिँदैन । स्वामित्व नलिएपछि प्रतिरक्षा हुन्न ।

 

पार्टीभित्र अलिकति आलोचना गर्ने र आफूलाई मन नपर्ने वित्तिकै लखेट्ने गरेको आरोप लागेको छ, जस्तो कि घनश्याम भुसाल र योगेश भट्टराई जस्ता नेतालाई मन्त्री त होइन, संसदीय समितिको सभापति बन्न चाहँदा पनि दिइएन भन्ने आरोपले के संकेत गर्छ ?

 

यसमा मेरो भनाइ के छ भने संसदीय दलको नेता, उपनेता, प्रधानमन्त्री स्वयंले जान्ने कुरा हो । कुन-कुन साथीहरुलाई कहाँ जिम्मा दिने भन्ने कुरा सोच्नुपर्छ । अहिलेको परिवर्तित सन्दर्भमा कुन व्यक्तिलाई कुन जिम्मेवारी दिँदा संस्थाको हित हुन्छ भनेर सोच्नुपर्छ । लहड र लहलहैमा निर्णय गर्नुहुन्न ।

 

तपाईको भूमिका चाहिँ विरोध गर्न पनि नसक्ने, अलग्गै अस्थित्व पनि देखाउन नसक्ने अवस्था हो नेकपामा ?

म कित्ता कित्तामा उभिएर बस्ने मान्छे होइन । म गुट पनि बनाउदिनँ । म इस्युमा आधारित भएर कुरा गर्छु । मसँगै गाँसिएका विषयमा पनि कुरा राख्ने ठाउँ र सन्दर्भ खोज्छु । ममाथि अन्याय भयो, मेरो कुरा यो भनेर ठाउँ कुठाउँ, बेला न कुबेला भन्दै हिँड्दिनँ ।

 

नेकपाको अध्यक्षको तहबाट ओली र प्रचण्डले गुट बनाएका छन् कि छैनन् ?

केपी ओलीले यतिबेला के प्रयोजनका लागि गुट बनाउने ? म त्यो कोणबाट हेर्छु । ढंग नपुग्ला त्यो अलग कुरा हो । केही केही विषयमा एकपाखे होला, कतिपय आफ्ना नजिकका मान्छेले भनेको पि्रय लाग्ला, त्योबाट प्रभावित हुनुहोला त्यो अलग कुरा हो ।

 

तर, सग्लोमा भन्दाखेरि केपी ओलीले के प्रयोजनका लागि गुट बनाउनुहुन्छ ? शैलीगतरुपमा हुने कमजोरीबाहेक केपी ओलीले गुट बनाउनुहुन्छ जस्तो मलाई लाग्दैन । उहाँ आफैंले म अब दोहोरिन्न भसिक्नुभएको छ ।

 

जहाँसम्म प्रचण्डजीको कुरा हो, मैले उहाँलाई पनि भनेको छु । हिजो माओवादी र एमाले थियो । अब एक भइसकियो । कतिपय नेताहलाई ‘सेन्स अफ सेक्युरिटी’ हुन सक्छ । यसमा चाहिँ आउने दिनमा के हुने हो कसो हुने हो भन्ने कुरा नहोस् । पुष्पकमल दाहालमा त्यो छ भने त्यो नराखे हन्छ । अब मेरो के हुन्छ भन्ने चेतले काम गरेको हुनसक्छ । तर, त्यति पनि सोच्नुपर्दैन ।

 

अब केपी ओलीचाहिँ अध्यक्षमा नदोहोरिने हो ?

उहाँले पटक-पटक भन्नुभएको छ । हुन त व्यक्तिको कुरा हो, मैले भन्न मिल्दैन । उहाँले पटक-पटक म प्रधानमन्त्री दुई पटक भएँ, पार्टीको अध्यक्ष पनि भइसकेँ । यत्रो पार्टी एकता गराएँ । पटक-पटक म केका लागि हुने ? उहाँले भन्ने गर्नुभएको छ । हामीले त उहाँले भनेकै कुरा सुनेका आधारमा विश्लेषण गर्ने हो ।

 

तपाईको कुरा सुन्दा त माधव नेपालले ओलीसँग मिलेर विश्वास जितेर काम अघि बढ्दा पो उहाँलाई फाइदा हुने देखियो त ?

नेताहरुको बीचमा एक अर्काप्रति विश्वास हुनुपर्छ । माधव नेपालले ओलीसँग नमिल्नुपर्ने कुरा के छ र ? मिलेर आउनुभएको हो । बेलाबेलामा व्यक्तिगत के कुरा नमिल्दा उहाँको अन्तिुष्टि बाहिर आउने गरेको छ,अरुको आउँदैन फरक त्यति न हो ।

 

तर, उहाँमाथि अहिले त पेलान नै भएको हो कि ?

त्यो तपाईहरुको विश्लेषण होला । तर, म के भन्छु भने, आफूलाई केन्द्रित गरेर धेर चिडचिडाहट देखाउनु राम्रो होइन ।

 

दुई वर्षपछिको महाधिवेशनलाई केन्दि्रत गरेर खेल सुरु भएको हो कि ?

खोई त्यो के हो, उहाँहरु जान्नुहोस् । माधव कमरेडलाई कतिपय कुरामा चित्त नबुझेको होला । चित्त नबुझेको कुराप्रति उहाँले प्रतिक्रिया व्यक्त गर्नुभएको छ । त्यो प्रतिक्रिया त्यसरी व्यक्त गर्नु उचित हुन्थ्यो कि हुँदैनथ्यो, त्यो आफ्नो ठाउँमा छ । मलाई भन्नुहुन्छ भने माधव कमरेडको प्रतिक्रिया गलत समयमा गलत ढंगले व्यक्त भएको छ । यसले उहाँलाई नै क्षति पुग्छ ।

 

त्यो प्रतिक्रिया त संसदमै व्यक्त भयो नि, सरकारले राम्रो काम गर्न सकेन भनेर उहाँले बोल्नुपर्ने अवस्था किन आयो ?

त्यो त हामीलाई पनि अचम्म लाग्यो । उहाँजस्तो नेताले संसदमा किन त्यस्तो बोल्नुभयो भनेर । प्रमुख प्रतिपक्षी दलको उपनेता बिजयकुमार गच्छदारले उहाँपछि बोल्दा सात/आठ पटक, अब हाम्रा कुरा केही पनि छैनन्, सत्तापक्षका माधव नेपालले हाम्रै कुरा बोल्नुभयो । हामीले जे भन्न चाहेको हो, त्यही भन्नुभयो भनेर पटक-पटक गच्छदारजीले बोल्नुभयो ।

 

प्रमुख प्रतिपक्षले जे भन्नुपर्ने हो त्यो कुरा माधव नेपालले बोल्नुभयो भनेपछि उहाँको आशय के हो ? त्यो उचित हो कि होइन भन्ने बहस हुनुपर्छ । हामीले त्यो ठीक थियो कि थिएन भन्नु भन्दा पनि माधव नेपालजत्तिको नेताले आफैंले समीक्षा गर्ने कुरा हो ।

 

तर, उहाँले असैहृय भएर बोल्नुपरेको हो भन्नुभएको छ, कार्यवाहक प्रधानमन्त्रीको हैसियतले सरकारको बचाउन गर्नु तपाईको धर्म हो । तर, माधव नेपालले त्यतिकै बोल्नुभएको होला र ?

होइन असैहृय भनेको यो एक दुई दिनभित्रको कुरा हो र ? प्रधानमन्त्री केही दिन बाहिर जानुभएको हो । अर्को कुरा, तपाईलाई एउटा जानकारी होस, प्रधानमन्त्रीसित सबैभन्दा धेरै भेटघाट र कुराकानी गर्ने मान्छेमध्ये माधव नेपाल र पुष्पकमल दाहाल नै हो ।

 

म प्रधानमन्त्रीपछिको मन्त्री हुँ, पार्टीको सचिवालय सदस्य हुँ । तर, आक्कल झुक्कलमात्र कुराकानी हुन्छ । तर, कतिपय विषयमा कुराकानी गर्ने निर्णय गर्ने सन्दर्भमा उहाँहरु सबैभन्दा बढी भेट्नुहुन्छ । नेताहरु बसेर छलफल गर्नु राम्रो हो यसमा मेरो टिप्पणी छैन ।

 

तर, यहीबीचमा चाहिँ उत्पातै के भयो उहाँलाई ? अस्तिसम्म त्यस्तो थिएन अहिले के भयो भन्ने कुरा हो । मैले यसमा चाहिँ उहाँको त्यो प्रस्तुतिमा संगति मिलेको देखेको छैन ।

 

तर, प्रचण्डको घर जाने बाटो चाहिँ पीच गर्ने, माधव नेपालको घर जाने बाटो चाहिँ नबनाउने ? सरकारको आलोचना त यो कोणबाट पनि भयो नि ?

मैले पनि उहाँको अन्तर्वार्ता पढेपछि अचम्म लाग्यो । प्रचण्डको घर जाने बाटो चाहिँ चिल्लो पार्ने अनि माधव नेपालको घर जाने बाटो खाल्डो बनाउने कुरा त सरकारले अवश्य सोचेन । अब धेरै ठाउँमा बेथितिहरु छन् । त्यो बेथितिलाई अन्त्य गर्नुपर्छ । तर, जुन विषय उहाँलाई भित्रैदेखि घोचेको रहेछ, त्यो कुरा उहाँले राख्नुभएको छ । बाटो बनाउनेहरुले बनाउनुपर्छ ।

 

तपाई कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ अहिले, सरकारमाथि पार्टीभित्र र बाहिर सबैतिरबाट आलोचना हुनुको कारण सरकारको असफलता होइन र ?

म असफलता भन्दिनँ । सरकारको आलोचना हुन्छ, यसलाई हामीले स्वाभाविक रुपमा लिन्छौं । तर, सरकारको नियतमाथि प्रश्न उठाउनु ठीक होइन । जस्तो- कञ्चनपुरको बलात्कारपछि हत्याको सन्दर्भमा सरकारको नियतमाथि जसरी प्रश्न उठाएर प्रहार भइरहेको छ, त्यसले हामीलाई कहिँ पुर्‍याउँदैन ।

 

अपराधी पत्ता लगाउन ढीलो भएको छ । यस्ता कतिपय घटनामा अपराधी पत्ता लगाउन समय लाग्छ । तर, सरकारले छाड्दैन । अहिले छानविन प्रतिवेदन पनि आएको छ । गृहमन्त्रीजीले प्रधानमन्त्री आएपछि सार्वजनिक गर्ने भन्नुभएको छ । त्यो ठिकै पनि हो ।

 

निर्मला प्रकरणमा राज्य संयन्त्रमै रहेका मान्छेलाई पनि छानविनको दायरामा ल्याइएको छ । म के भन्छु भने अहिले प्रत्यक्ष घटनामा संलग्न रहेका अपराधी भेटिएका छैनन् तर मतियार भनेर यदि प्रतिवेदनले किटान गरेको छ भने ती मतियारलाई पनि सरकारले छाड्दैन । त्यसपछि अपराधीसम्म पुग्न पनि सकिन्छ ।

 

अरु प्रसंगमा पनि त्यस्तै छ, सरकार घेराबन्दीमा परेको हो कि, लय समाउन नसकेको हो ?

चुरो कुरा के हो भने, लय समाउन ध्यान दिनुपर्छ । हामी आपसमा छलफल बहसमा छौं । जस्तो भनौं न, संविधान जारी भयो ०७२ असोजमा । संविधान जारी हुनासाथ बन्नुपर्ने कानुन अस्तिसम्म बनेनन् । हामीले अरुलाई दोष दिएर त भएन । हिजो अर्काले गरेन, आज हामीले गर्‍यौं ।यसमा दुईवटा कुरा छन् ।

 

कहिलेकाहीँ गीत गाउँदा संगीत ठीक भए पनि लय मिलेको होइन । यसमा पनि तर्क-प्रतितर्क आउन सक्छन् । वरिपरि बसेकाले हल्ला बढी गरेकाले लय आउन सकेन भन्ने तर्क पनि हुन्छ । अर्को प्रतितर्क के हुनसक्छ भने, राम्रो लय मिलाएर गायो भने त हल्ला गर्नेहरु पनि कति राम्रो गाएको भन्दै सुन्न लागिहाल्छन् नि ।

 

केपी ओली नेतृत्वको सरकार बनेपछि पहिलो प्राथमिकता कानुन निर्माण भयो । अर्को कुरा के भयो भने, संघीयताको अभ्यासमा गाँसिएका जेलिएका कुरा मिलाउनुपर्ने भयो । बाटो बिग्रेको भत्केको, खानेपानी नआएको, बाटोमा हिलो धूलो भएको त हिजोदेखिकै हो ।

 

मध्य बर्खा भएकाले सबै काम गर्न सकिएन । अब बिस्तारै हामीले कामनै गर्ने हो । तर, यसरी चित्रण गरिन्छ कि, यो सरकार आउनुभन्दा अघि सडक चिल्ला थिए, घर-घरमा खानेपानी चौबिसै घण्टा थियो, धुँवाधूलो र हिलो कतै थिएन ।

 

तर, हामीले हिजो यस्तै थियो भन्दैमा अहिले यस्तै छाड्ने भनेको छैन । अब बर्खा सकियो र महत्वपूर्ण कानुन बनाउने काम पनि सकियो । सरकारले आफ्नो लय लिन्छ, अरु उपाय छैन । पेरिफेरिमा बसेर हल्ला गर्नेहरुलाई पनि हामी हाम्रो लयमा ध्यान खिच्न अघि बढ्छौं ।

अनलनईनखबरबाट

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले