आफ्नै सरकारको विरोध किन ? विधान बमोजिम सचिवालयको निर्णय



 

प्रधानमन्त्री केपी ओलीले अप्ठ्यारो अवस्थामा सरकारको नेतृत्व सम्हाल्नुभयो । त्यस्तो वेला जिम्मेवारी सम्हालेको सरकारले के ग-यो, के गरिरहेको छ भन्ने समुचित मूल्यांकन गर्नु उपयुक्त हुन्छ ।

 

म केही उदाहरण राख्न चाहन्छु– हाम्रो देशको सन्दर्भमा दुई छिमेकी भारत र चीनसँगको सम्बन्धले साह्रै ठूलो अर्थ राख्छ । हिजो छिमेकी भारतसँग कस्तो सम्बन्ध थियो भन्ने हामी सबैलाई थाहा छ । एकपटक देश नाकाबन्दीमै प-यो ।

 

भूकम्पले क्षतविक्षत् भएको देशले नाकाबन्दी व्यहोर्नुपर्दा के भयो होला ? भर्खरकै कुरा हो, हामी सहजै स्मरण गर्न सक्छौँ ।

 

आफ्नो संविधान हामी आफैँ बनाउँछौँ, संविधान समयमै बनाउँछौँ भनेर संविधान जारी गर्दा हामीले तीता परिणाम भोग्नुप-यो । तर, हामीले त्यसलाई पार लगायौँ । केपी ओलीको सरकारकै नेतृत्वमा भारतसँगको सम्बन्ध सहज भयो । अहिले त्यो सुमधुर सम्बन्धमा विकसित भएको छ ।

 

छिमेकी चीनसँगको सम्बन्ध पनि सुमधुर बन्दै आएको छ । हामीले जुन समझदारी, सम्झौता गरेका छौँ, त्यसबाट चीनका समुद्रसम्मका बन्दरगाह र सुक्खा बन्दरगाहसम्म हामी पुगेका छौँ । र, यो देशमा अब कहिल्यै नाकाबन्दी नलाग्ने अवस्था बनेको छ ।

 

दुई देशबीचको सम्बन्ध अहिले नेपाललाई कसले बढी सहयोग गर्ने, कसले राम्रो सहयोग गर्ने, कसले बढी राम्रो सम्बन्ध राख्ने भन्ने प्रतिस्पर्धामा पुगेको छ । यो स्थिति एउटा ऐतिहासिक हो ।

 

अर्को कुरा, जुन वेला यो सरकार गठन भयो, त्यतिवेला मौलिक अधिकारसम्बन्धी कानुन निर्माणको क्षेत्रमा शून्यको अवस्था थियो । एउटा पनि विधेयक तयार भएको थिएन । संविधान जारी भएको तीन वर्षभित्रै अर्थात् ३ असोज ०७५ भित्र ती कानुन बनाइसक्नुपर्ने थियो ।

 

त्यस्तो अवस्थामा यो सरकारले विधेयक तयार ग-यो र ती विधेयक संसद्मा पेस गरेर कानुन निर्माणका सम्पूर्ण काम समाप्त भएको छ । मौलिक अधिकारसम्बन्धी सम्पूर्ण कानुन बनेर जनता अधिकार सम्पन्न भएका छन् । यो अर्को ऐतिहासिक काम हो ।

 

हिजो संविधान निर्माणका सन्दर्भमा केही साथीले प्रक्रिया बहिष्कारसम्म गर्नुभयो । तर, अहिले आएर तीमध्ये केही साथी सरकारमा हुनुहुन्छ, केही साथीले बाहिर बसेर सरकारलाई समर्थन गर्नुभएको छ । प्रदेश नं. २ मा त पूरै सरकारको नेतृत्व गरिराख्नुभएको छ । यो स्थिति वास्तवमा धेरै सन्तोषजनक छ ।

 

यस्ता कतिपय कुरा छन्, यिनलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ । र, जहाँ कमी–कमजोरी भएका छन्, तिनलाई सच्याएर अगाडि बढ्नुपर्छ । सरकारको काम–कारबाहीलाई योे दृष्टिकोणले हेर्दा म उत्साहित नै छु ।

 

छानबिनमा अग्रसरता
देशमा भएका केही घटना दुःखद छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको जति भत्र्सना गरे पनि पुग्दैन । यो एकदमै दुःखद छ । सरकार यसलाई सम्बोधन गर्न लागिपरेको छ ।

 

पटक–पटक सरकारले संसद्मा उपस्थित भएर जवाफ दिएको छ र जनतालाई आश्वस्त पार्ने कोसिस गरेको छ । यस्तो घटनामा सरकार गम्भीरतापूर्वक र सहजतापूर्वक नयाँ ढंगले छानबिन गर्छु भनेर अग्रसर भएको छ ।

 

प्रहरी अधिकृतहरूको यति ठूलो संख्या सायद पहिलोपटक यस्ता घटनामा निलम्बित गरिएको छ । कुनै पनि घटनालाई हामी कसरी हेर्छौं, त्यसमा भर पर्छ । ठ्याक्कै परिणाम आएको छैन, अपराधी पत्ता लागेको छैन, दोषीलाई कारबाही भएको छैन । तर, सरकारले प्रयास गरिरहेको छ ।

 

र, अहिले छानबिनबाट जसले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने हो, उसैको तर्फबाट कैफियत भयो भन्ने प्रश्न उठेको छ । यसलाई सरकारले होइन भनेको छैन । इमानदारीपूर्वक सरकारले त्यसलाई स्वीकार गरेको छ । त्यस पक्षबाट समेत थप छानबिन गरेको छ । र, त्यस्ता व्यक्तिलाई निलम्बित गरेको छ ।

 

विवाद के र किन ?
मैले पनि अलि बुझ्न सकेको छैन । म बिदा लिएर दुई दिनका लागि इलाम गएको थिएँ । त्यही वेलामा पार्टीका वरिष्ठ नेताले सदनमा बोल्नुभएको थाहा भयो । मैले पनि चर्चा सुनिसकेपछि उहाँले बोलाएको चियापान कार्यक्रममा सोधेँ । उहाँले भन्नुभयो– होइन मैले त्यसरी बोलेको छैन ।

 

मैले फेरि भनेँ–होइन, गच्छदारजीले खुसी व्यक्त गर्नुभयो रे ! तपाईंले त माझी तोक्नुभयो रे, गीत गाउनुभयो रे ? उहाँले भन्नुभयो– ‘त्योचाहिँ सरकार माझीजस्तो भएर देखाउनुप-यो भनेर मैले सुझाब पो थपेको त, मैले सरकारको डिफेन्स नै गरेको छु ।’

 

जसले बोल्नुभएको हो, उहाँले नै अर्थात् मेरा वरिष्ठ नेताले नै त्यसो भनेपछि मैले त्यसबारे अरू टिप्पणी गरिनँ । मैले ‘जे छ, मेरा कुरा स्थायी समितिमा राख्छु’ भनेँ । यसबारे यहाँ थप टिप्पणी गर्नु छैन ।

 

विधानबमोजिम सचिवालयको निर्णय
अहिलेको सचिवालय निर्माण गर्नेदेखि सचिवालयका अहिलेसम्म भएका सम्पूर्ण निर्णय विधानबमोजिम नै भएका छन् । सचिवालयका काम–कारबाहीबारे जसले प्रश्न उठाउनुभएको छ, उहाँहरू पनि सचिवालयको निर्णयमा सहभागी हुनुहुन्छ ।

 

उहाँहरूका भनाइबारे म टिप्पणी गर्न चाहन्नँ । किन टिप्पणी गर्दिनँ भन्दा यो तरिका होइन भन्ने मलाई थाहा छ । मलाई केही उठाउनु छ भने म स्थायी समितिमा उठाउँछु, किनकि म त्यहीँ छु । मैले भन्न खोजेको के भने अहिले पार्टीका तर्फबाट सबै काम सचिवालयले गरिराखेको छ । जसले यो विषय उठाउनुभयो भनेर सोधिँदै छ, उहाँ पार्टीका वरिष्ठ नेता हुनुहुन्छ, सचिवालयका वरिष्ठ सदस्य हुनुहुन्छ ।

 

सबै काम उहाँहरूले गरिरहनुभएको छ, त्यसबारे मैले टिप्पणी गर्न सक्ने कुरै भएन । यसमा केही कुरा छन् भने म स्थायी समितिमा उठाउँछु । त्यसो हुँदाहुँदै पनि उहाँहरूका केही कुरा रहेछन् भने उहाँले त्यो कुरा सचिवालयमा उठाउनुपथ्र्यो होला ।

 

मैले बुझेको पार्टी र पार्टीले काम गर्ने प्रक्रिया यही नै हो । त्यसकारण यसबारे म सिंगो पार्टी पंक्तिलाई के आग्रह गर्छु भने यस्ता कुरामा सार्वजनिक रूपमा चर्चा गर्नु , सार्वजनिक रूपमा क्रिया–प्रतिक्रिया दिनु उचित होइन ।

 

जो पार्टीको पद्धति, प्रक्रियाभित्र छैन, पार्टी कमिटीमा छैन भने उहाँहरूले यसरी व्यक्त गर्नु सायद उपयुक्त नै होला ।

 

तर, जो पार्टी कमिटीमा छन्, पार्टीमा आबद्ध छन्, उनीहरूले त आफ्नै ठाउँमा कुरा राख्ने होला नि त ? म विशेष आग्रह गर्न चाहन्छु– अहिले नेकपा र नेकपाको यो सरकारले केही गर्न सकेनन् भने वा सिंगो देशलाई गोलबन्द गरेर एउटा सकारात्मक निष्कर्षमा पु¥याउन सकेनन् भने हामी सबै असफल हुन्छौँ । हामीले यो कुरा बुझ्नुपर्छ । त्यसैले हामी गम्भीरता र संयमतापूर्वक सोचविचार गरेर अगाडि बढ्नुपर्छ ।

 

तल्ला तहको एकता प्रक्रिया
तल्ला तहसम्मको एकतामा केही ढिलाइ भएकै हो । तर, काम अगाडि बढिरहेको छ । जस्तो केही दिनअघि प्रदेश कमिटीसम्बन्धी सचिवालयमा जुन निर्णय भयो, त्यसपछि प्रदेशले जिल्लाहरूमा सर्कुलर पठाइसकेको छ । एकता प्रक्रिया अगाडि बढाउन नै उहाँहरूले सर्कुलर जारी गर्नुभएको हो ।

 

उदाहरणका लागि मेरो गृहजिल्ला इलाममा जिल्ला र त्योभन्दा तलका पार्टी कमिटी कसरी गठन गर्ने, को–को त्यहाँ रहनेलगायत विषयमा छलफल सुरु भइसक्यो । एकताका काम अगाडि बढिरहेको छ । निश्चित समयमा यो निष्कर्षमा पुग्छ र निष्कर्षमा पु-याउनुपर्छ । यसको अर्को विकल्प छैन ।

(नेम्वाङ नेकपाका स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता हुन्)

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्