नेविसंघमा दुई गुटको मारामार, शेरबहादुर भन्दा रामचन्द्र गुट बलियो



 

 

गएको भदौ दोस्रोे साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एक घरमा लगातार एक सातासम्म चलेको नेविसंघका नेताहरुबीचको छलफलले निष्कर्ष निकाल्यो– जिल्ला र क्याम्पसहरुमा पत्रमार्फत् तोकिएको जिम्मेवारी खारेज गर्ने, अध्यक्षले मनोनित गरेका केन्द्रीय सदस्यलाई यथावत् राख्ने अनि आगामी तीन महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न एकमतका साथ अगाडि बढ्ने ।

 

 

बैठकमा सहभागी थिए, संस्थापन पक्षबाट अध्यक्ष नैनसिंह महर, प्रवक्ता प्रेम जोशी र बद्री मुडभरी । पौडेल समूहबाट थिए, पूर्वअध्यक्ष रञ्जित कर्ण, उपाध्यक्षद्वय प्रकाश राना र नवीन राई तथा कोषाध्यक्ष शिव रिमाल अनि सिटौला समूहबाट थिए, महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, माधव ढकाल, बलदेव तिमल्सिना र डिल्लीराम सुवेदी ।

 

छलफलको समन्वय गरेका थिए– घरधनी सुवास पोखरेलले । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मध्येका एक पोखरेल खोटाङबाट कांग्रेसको महासमिति सदस्य छन् । उनी ११ औं महाधिवेशनको तयारी हुँदाको समयबाट नै नेविसंघका लागि सभापति देउवाका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

 

 

पोखरेल निवासमा चलेको छलफल र छलफलबाट जुटेको सहमतिअनुसार नै नेविसंघको तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले १२ औं महाधिवेशन कात्तिक १६, १७ र १८ गते सम्पन्न गर्ने निर्णय सर्वसम्मत ढंगले गर्यो । भदौ २३, २४ र २५ गते बसेको केन्द्रीय समिति बैठकमा भएको सहमतिअनुसार नै नेविसंघले संगठनको संरचनालाई संघीय संरचनाअनुसार विस्तार गर्नेगरी विधान संशोधन गरेर मातृ पार्टीलाई बुझाएको थियो ।

 

 

सहमतिमै १२ औं महाधिवेशन सम्पन्न गर्नेगरी संशोधित विधान पार्टीमा बुझाए पनि असोज दोस्रो साताबाट नेविसंघमा फेरि विवाद चुलिएको छ । असोज १० गते अध्यक्ष महरले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको भ्रातृ संगठन मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) का १५ जना विद्यार्थी नेताहरुलाई केन्द्रीय समितिमा समायोजन गरेपछि नेविसंघमा विवाद फेरि चुलिएको हो ।

 

 

यी हुन् नेविसंघमा समायोजन भएका मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) का नेताहरु

 

मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) का नेताहरुलाई आफूहरुसँग छलफल नै नगरेर समायोजन गरिएको भन्दै संस्थापन इतर समूह चिढिएको छ । ‘‘उहाँहरुलाई समायोजन गरिनुमा हाम्रो कुनै आपत्ति होइन । तर कम्तिमा पनि सरसल्लाह त गर्नुपर्छ । सहमति अनुसार अगाडि बढ्ने भनेर सहमति गरेर फेरि एकलौटी ढंगले जान खोज्नु के नियत हो ?’’ वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने नेविसंघका केन्द्रीय सदस्य मोती भण्डारीले भने ।

अध्यक्ष महरले आफ्नो पकड बलियो बनाउन समायोजनको निहुँ पारेर नेविसंघकै नेताहरुलाई मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) को नाम भजाएको पौडेल समूह निकट विद्यार्थी नेताको भनाइ छ । असोज १० गते समाजोजन गरिएको भनिएका अमितकुमार यादव, डा. अबुल हुसैन अन्सारी, प्रभासकुमार झा नेविसंघमा पहिलेदेखि नै सकृय नेताहरु भएको नेविसंघको केन्द्रीय कार्यसमितिमा तराईबाट नेतृत्व गर्ने एक पदाधिकारीले दाबी गरेका छन् ।

 

सहमहामन्त्री महतले बोलाएको बैठक बहिष्कार

नेविसंघमा पछिल्लो समय चुलिएको विवादकै कारण सहजीकरणका लागि गठन भएको सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा रहेको निर्देशन समितिको बैठक बस्न सकेको छैन । सहमहामन्त्री महतले नेविसंघको महाधिवेशनका लागि भन्दै आइतबार र सोमबार बोलाएको बैठक पौडेल समूह र सिटौला समूहमा आवद्ध नेताहरुले बहिष्कार गरेका छन् ।

‘‘संस्थापन पक्ष सहमतिविपरीत अगाडि बढ्न थालेकाले हामी बैठकमा सहभागी नभएका हौं,’’ सिटौला समूहमा आवद्ध एक नेतालाई उद्धृत गर्दै स्रोतले भन्यो ।

 

‘संस्थापन इतर मिलेर लड्नुको विकल्प छैन’ 

अध्यक्ष महरले छलफल नै नगरेर विजयकुमार गच्छदार निकटका विद्यार्थीहरुलाई समायोजन गरेपछि रुष्ट विद्यार्थीहरु वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष गुनासो पोख्न पुगेका छन् । नेविसंघको केन्द्रीय कार्यसमिति बाहिर रहेका मोती भण्डारी, सन्तोष कट्टेल, विपिन अधिकारीलगायतका झण्डै डेढ दर्जन विद्यार्थी नेताहरु वरिष्ठ नेता पौडेल समक्ष डेलिगेसन गएका हुन् ।

 

भेटका क्रममा उनीहरुले महाधिवेशनको तयारी हुँदै गर्दा संस्थापन पक्ष फेरि एकलौटी ढंगबाट अगाडि बढेको गुनासो गरेका छन् । गुनासो ध्यानपूर्वक सुनेका वरिष्ठ नेता पौडेलले आफू निकटका विद्यार्थी नेताहरुलाई सिटौला समूहका विद्यार्थी नेताहरुसँग मिलेर संस्थापन पक्षको मनोमानीको भण्डाफोर गर्न निर्देशन दिएका छन् ।

 

‘‘उहाँले खुलेरै इतर समूहसँग मिलेर लड्नुको विकल्प छैन । बिनासहमतिमा फोरमका मान्छेलाई समायोजन गरेको विषयलाई पर्दाफास गर । तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ने गरी तयारी गर भन्नुभयो,’’ डेलिगेसनमा सहभागी पूर्वकेन्द्रीय सदस्य मोतीलाल भण्डारीले  भने । उनका अनुसार वरिष्ठ नेता पौडेलले आफू निकटका विद्यार्थीहरुलाईमहामन्त्री काफ्लेसँग सल्लाह गरेर संस्थापन पक्षको विरुद्धमा ‘मुभमेन्ट’ अगाडि बढाउन निर्देशन दिएका छन् ।

 

पौडेल निकटका विद्यार्थी नेताहरुले एक साताअघि महामन्त्री डा. शशांक कोइरालालाई भेटेर तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुनुपर्ने, उमेरको हदबन्दी लागू गर्न नपाइने र पार्टीलाई बुझाइएको विधानको मस्यौदा तत्काल हुबहु पारित गरिनुपर्ने माग गरेका थिए । भेटमा महामन्त्री डा. कोइरालाले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने, उमेरको हद नलाग्ने र छिट्टै विधान पारित गरिने आश्वासन दिएको विद्यार्थी नेताहरुले बताएका छन् ।

 

उक्त टोलीले १–२ दिनभित्रै युवा नेता गगन थापा र प्रदीप पौडेलसँग पनि भेटेर आफ्नो माग राख्ने तयारी गरेको छ । ‘‘महाधिवेशन सुनश्चितताका लागि हामी युवा नेताहरुलाई पनि भेट्न गइरहेका छौं । यत्ति गर्दा पनि महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभए हामी तोकिएकै मितिमा महाधिवेशन जसरी पनि गराउँछौं,’’ भण्डारीले भने ।

 

उनका अनुसार वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले पूर्वनिर्धारित मितिमै सम्पन्न हुने गरी तयारी गर्न भनेका छन् । ‘‘उहाँहरुले यही मितिमै टेकेर अघि बढ, संस्थापन पक्ष आए ठिक छ, नआए पनि महाधिवेशन हुन्छसमेत भन्नुभएको छ,’’ आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी समेत रहेका भण्डारीले भने, ‘‘संस्थापन इतरकाहरु मिलेर अधिवेशन गर्ने वातावरणमा जान्छौं ।’’

 

कार्यसमिति भंग गर्ने रणनीतिमा संस्थापन पक्ष 

पछिल्लो समय अन्य भ्रातृ संगठनहरुमा पकड गुम्दै गएपछि कांग्रेसको संस्थापन पक्षले सबैभन्दा शक्तिशाली मानिने भ्रातृ संगठन नेविसंघलाई विघटन गरी तदर्थ समिति गठन गर्न खोजिरहेको छ । संस्थापन इतर पौडेल र सिटौला समूह निर्धारित समयभित्रै विधिवत महाधिवेशन सम्पन्न गरेर नेविसंघलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छ ।

 

२ वर्षे कार्यकाल रहेको नेविसंघ केन्द्रीय कार्यसमितको म्याद गत भदौ २ गते सकिएको थियो । पार्टीले महाधिवेशन सम्पन्न गर्नका लागि तीन महिना म्याद थपेको छ । महर नेतृत्वको कार्यसमितिको थपेको म्याद पनि मंसिर २ गते सकिँदैछ ।

 

थप गरिएको ३ महिनाभित्रै महाधिवेशन सम्पन्न हुन नसके अहिलेको कार्यसमिति भंग गर्ने तयारी संस्थापन पक्षले गरेको सिटौला समूहमा आवद्ध एक नेताले दाबी गरे । ‘‘अहिलेसम्म भएका भ्रातृ संगठनका चुनावहरुमा देउवा पक्षको पकड खस्किँदो अवस्थामा देखिएको छ । उसले नेविसघलाई गुमाउन चाहन्न । यसै कारण ३ महिनामा म्याद सकिएपछि समिति भंग गर्ने संस्थापन पक्षको तयारी हो भन्ने आशंका हामीमा छ,’’ ती केन्द्रीय सदस्यले भने ।

 

केही समयअगाडि बसेको नेविसंघ निर्देशन समितिको बैठकमा संस्थापन पक्षका नेताले राखेको प्रस्तावले पनि ती केन्द्रीय सदस्यको भनाइमा बल पुगेको देखिन्छ । उक्त बैठकमा नेविसंघका पूर्व अध्यक्षसमेत रहेका एनपी साउदले महाधिवेशनका लागि कि एक हजारको हाराहारीमा केन्द्रीय प्रतिनिधिमात्रै हुनुपर्ने कि उमेरको हदबन्दी लागू गरिनुपर्ने प्रस्ताव गरेका थिए ।

 

नेविसंघले पार्टीसमक्ष बुझाएको संशोधित विधानअनुसार महाधिवेशनमा झण्डै २२ सयको हाराहारीमा केन्द्रीय प्रतिनिधिहरु सहभागी हुनेछन् भने उमेरको हदबन्दी लगाइएको छैन । ११ औं महाधिवेशनमा नेविसंघका झण्डै ३५ सय प्रतिनिधि सहभागी भएका थिए ।

 

यसका साथै संस्थापन पक्षले महाधिवेशन सम्पन्न भए ‘एन्टीदेउवा मुभमेन्ट’ मा लागेका विद्यार्थी नेताहरुलाई रोक्न नसकिने देखेपछि अहिलेको समिति भंग गर्ने सोच बनाएको सिटौला समूहमा आवद्ध नेताहरुको भनाइ छ । सिटौला निकट मानिएका नेविसंघका महामन्त्री काफ्लेले काठमाडौंमा पौडेल र सिटौला, धादिङमा अर्जुननरसिंह केसी, मोरङमा डा. शेखर कोइराला र रौतहटमा उमाकान्त चौधरीलाई प्रमुख अतिथि बनाएर ‘एन्टीदेउवा मुभमेन्ट’ को शुरुवात गरेका थिए ।

 

महाधिवेशनका लागि आमरण अनशन 

संस्थापन पक्षले महाधिवेशनका लागि थप गरिएको तीन महिना बिना कुनै उपलब्धि गुजार्ने रणनीति बनाए पनि पौडेल–सिटौला समूह जसरी पनि तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको छ ।

 

पौडेल–सिटौला समूहले संस्थापन पक्षलाई महाधिवेशनका लागि तयार गर्न आमरण अनशनसम्मको कार्यक्रम गर्ने तयारी गरेको छ । पार्टीले एक हप्ताभित्रै नेविसंघको विधान पारित गरेर महाधिवेशनको वातावरण सिर्जना नगरे महामन्त्री काफ्लेले आमरण अनशनको तयारी गरेका छन् ।

 

‘‘एक हप्ताभित्रै विधान पारित नभए कुन्दनजी विधिवत महाधिवेशन सुनिश्चितताका लागि आमरण अनशन बस्ने तयारीमा हुनुहुन्छ,’’ काफ्ले निकट केन्द्रीय सदस्यले भने, ‘‘उहाँ अनशन बसेको भोलिपल्टै ५० जिल्लाहरुमा महाधिवेशनको माग गरेर अनशन शुरु हुन्छ ।’’

 

त्यस्तै वरिष्ठ नेता पौडेल निकट मानिने पूर्वकेन्द्रीय सदस्य भण्डारीले पनि अनशन बसेर भए पनि महाधिवेशनका लागि संस्थापन पक्षलाई दबाब दिने तयारी गरिएको पुष्टि गरेका छन् । ‘‘हामी महाधिवशेनका लागि आमरण अनशनमा बस्नेसम्मका कार्यक्रम गर्छौं,’’ उनले   भने, ‘‘फेरि नेताहरुले पनि महाधिवेशनको तयारी गर भन्नुभएको छ । महरको समूह सहभागी नभए पनि तोकिएकै मितिमा महाधिवेशन गर्छौं ।’’

 

संस्थापन इतर समूहले तोकिएको मितिभित्रै झण्डै ४० जिल्लामा अधिवेशन सम्पन्न गर्ने, अधिवेशन सम्पन्न भएका जिल्लालाई देखाएर अहिलेकै कार्यसमितिको म्याद एक–डेढ महिनाका लागि थप गर्न संस्थापन पक्षलाई मनाउने, म्याद थप भएपछि बाँकी रहेका जिल्लाहरुको अधिवेशन गरेर महाधिवेशन सम्पन्न गर्ने र महाधिवेशनलाई आप्mनो पक्षमा पर्ने रणनीति बनाएको छ ।

 

‘‘संस्थापन इतरले तोकिएको मितिभित्र ५० प्रतिशत जिल्ला र क्याम्पसमा अधिवेशन गराउने, त्यसको पृष्ठभूमिमा प्रेसर दिएर बाँकी ठाउँमा अधिवेशन गर्ने, म्याद थप गरेर आफ्नो मान्छेलाई नेतृत्वमा ल्याउन चाहेको छ,’’ सिटौला समूहमा रहेका एक नेताले भने ।

 

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र