चिनीमा १ अर्ब ६९ करोड चलखेलको आशंका, गाईभैंसीलाई पनि २५ सय भत्ता



हाम्रो इकोनोमि

 

चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयमाथि आशंका व्यक्त गर्दै सांसदहरूले छानबिनको माग गरेका छन् । संसदको सार्वजनिक लेखा समितिको सोमबार सिंहदरवारमा बसेको बैठकमा बोल्ने अधिकांश सांसदले पर्याप्त तयारी र वस्तुस्थिति नबुझी चिनीमा कोटा तोकिएको आरोप लगाए ।

 

सांसदहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोपसमेत लगाए । वार्षिक एक लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक बन्देज लगाएको छ ।
पूर्वआपूर्तिमन्त्री समेत रहेका लेखराज भट्टले भने, ‘चिनीमा ठूलो आर्थिक चलखेलकै कारण आयात रोकिएको छ।’

 

आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको सुन्नमा आएको उनले बताए । ‘चिनी उद्योगहरू बोर्डरमा छन्। पारिबाट ल्याएर नेपाली उत्पादनको छाप लगाएर बिक्री हुन्छ । मन्त्रालयको ध्यान किन पुग्दैन?’ उनले भने, ‘ठूलो चलखेल छ । लेखा समितिले छानबिन गर्नुपर्छ ।’

 

बैठकमा स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले चिनीको मूल्यवृद्धिमा सरकार सहायक भएको आरोप लगाए । पहिला अत्यधिक चिनी आयात गर्न दिएर पछि कोटा तोक्ने सरकारी निर्णयले आशंका जन्माएको उनको भनाइ छ ।

 

नेकपाका सांसद प्रेमबहादुर राईले सिमानाकामा रातारात ट्रकका ट्रक चिनी ओसारेर नेपाली ब्रान्डका नाममा प्याकिङ गरेर बजारमा पठाउने काम भइरहेको भन्दै अनुगमनको माग गरे । त्यस्तै, नेकपा नेता विरोध खतिवडाले चिनीको कोटा तोक्ने निर्णय गरिए पनि किसानले उखुको मूल्य पाउने सुनिश्चित नभएको बताए ।

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढाउन निर्देशन
राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

 

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको निजगढ विमानस्थलको सन्दर्भमा जनस्तरबाट आएको चासो र सरोकारका विषयमा सम्बन्धित परियोजना र मन्त्रालयबाट सही तथ्य र सत्यलाई प्रस्ट पार्दै निर्माणमा ढिलो नगर्न निर्देशन दिएको हो ।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्ष भित्रै सम्पन्न गर्नेगरी सञ्चालनमा ल्याउन समितिले सुझावसहित निर्देशन दिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण अविलम्ब सम्पन्न गरी निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न बैठकले आग्रह गरेको छ ।

 

समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति विवरण भेटी लगायतका विषय पारदर्शी ढङ्गले सार्वजनिक गर्न, जग्गा संरक्षण, विद्युतीय शवदाह गृहको प्रभावकारी सञ्चालनमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गरेको छ ।

 

लुम्बिनी क्षेत्र विकास कोषअन्तर्गत लुम्बिनी गुरुयोजनाको बाँकी काम चाँडो सम्पन्न गर्न तथा पशुपति क्षेत्र विकासको व्यवस्थित गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउन पनि बैठकले निर्देशन दिएको छ ।

निगमको घाटा अर्ब माथि 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

 

भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।

 

निलम्बित प्रहरी उपरीक्षक विष्टको डिएनए परीक्षण 
कञ्चनपुरका निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टको डिएनए परीक्षण दुईवटा प्रयोगशालामा भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार विज्ञप्ति जारी गरी निलम्बित प्रहरी उपरीक्षक विष्ट, उनका छोरा किरण विष्ट र स्थानीय आयुष विष्टको डिएनए परीक्षण दुईवटा प्रयोगशालाबाट गरिएको जनाएको हो ।

 

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले विष्ट बाबुछोरा र स्थानीय आयुषको डिएनए परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको जानकारी दिए ।

 

कञ्चनपुर भीमदत्त नगरपालिका–२ बस्ने निर्मला पन्तको जबर्जस्ती करणीपछि साउन १० गते हत्या भएपछि विष्टका बाबुछोरा र स्थानीयवासी आयुषको डिएनए परीक्षण गरिएको हो ।

 

जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण चाहियो
प्रदेश नं. २ सरकारले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले सोमबार अस्पतालको छड्के अनुगमन गर्दै यस्तो निर्देशन दिएको हो ।

 

विभिन्न गुनासो आउन थालेपछि सरकारी टोलीले अस्पतालको निरीक्षण गरेको हो । अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीहरुको विवरणसहितको विवरण उपलब्ध गराउन निमित प्रमुख डा. कुलदिप पण्डितलाई निर्देशन दिइएको हो ।

 

गाईभैंसीलाई पनि २५ सय भत्ता
पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरूमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैंसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

 

आर्थिक वर्ष २०७५/७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पशुचिकित्सक विमल शर्मा पौडेलले जानकारी दिनुभयो । कृत्रिम गर्भाधारण गराउदा उत्पादन वृद्धी हुनुका साथै नष्लमा समेत सुधार आउने उहाँले दावी गर्नुभयो ।

 

कृषकहरुलाई कृत्रिम गर्भाधारण गराउदाका फाइदाको बारेमा कृषक र जनप्रतिनिधीहरु मार्फत गाउँगाउँमा चेतना फैलाउन थालिएको पौडेलले बताउनुभयो । त्यसैगरी दुग्ध सहकारी संस्था मार्फत दूध बिक्री वितरण गर्ने कृषकलाई प्रति लिटर दुई रुपैयाँका दरले अनुदान दिने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।, नेपाल समाचारपत्रमा खबर छ ।

 

एक रूपैयाँ बढी भाडा लिए खबर गर्नुस्
सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो ।

 

भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ । तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने विभागले जनाएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित
नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

 

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरे ।  पिछडा वर्ग महासङ्घलाई पनि उक्त पार्टीमा समाहित गराइएको छ । उक्त महासङ्घलाई जनवर्गीय सङ्गठनका रूपमा विकास गर्न आग्रह गरिएको छ ।

 

नेपाल समूह चरणबाटै बाहिरियो 
नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

 

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो ।

 

अङ्क तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् । भारत र अफगानिस्तान दुई–दुई खेल जित्दै समान चार÷चार अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि असोज १३ गते भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो । नेपालले मङ्गलबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...