निर्मलाका बा-आमाले भने, ‘पहिल्यै प्रमाण नष्ट गरेर, आँखामा छारो हालियो’



 

 

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्यामा शुरुदेखि नै आंशकाको घेरामा रहेका एसपी विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आज प्रहरीले सार्वजनिक गरेको छ ।

 

पन्त हत्याको घटनामा विवादित बनेपछि निलम्वनमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र कञ्चनपुर नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए निर्मलाको ‘भेजिनल स्वाव’ को परीक्षण रिपोर्टसँग मेल नखाएपछि घटना थप पेचिलो बनेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको आवश्वासनपछि निर्मलाको हत्यारा पत्ता लाग्ने कुरामा निकै आशावादी निर्मलाका बाबु–आमा, कञ्चनपुरबासी र सिङ्गो देशबासी निरास बनेका छन् ।

 

आशा वितरितको नतिजा सार्वजनिक भएपछि फेरि कञ्चनपुरबासीको मौनता तोडिएको छ । उनीहरु फेरि आन्दोलित बनेका छन् । आशंकालाई आशामा परिणत गरेका निर्मलाका बाबु–आमाले निलम्बित विष्टसहित तीन जनाको डिएनए रिपोर्ट बाहिरिएपछि रिपोर्ट घटनालाई ‘छारो हाल्न’ का लागि मात्र भएको आरोप लगाएका छन् ।

 

निर्मलाका बुबा यज्ञराज पन्तले तीन जनाको डिएनए रिपोर्ट बाहिरिएपछि भने, ‘पहिल्यै योजनावद्ध रुपमा सबै प्रमाण नष्ट गरिएको छ, अहिलेको यो छानविन र अनुसन्धान त कञ्चनपुरको आवाज र देशबासीको आवाजलाई निष्तेज बनाउनका लागि मात्र रहेको पुष्टि भयो ।’

 

निर्मलाकी आमा दुर्गा पन्त भन्छिन्, ‘निर्मलाले लगाएको लुगा प्रहरीले किन पानीले पखाल्यो, प्रमाणकै लागि भए पनि यो लुगा धुनु हुँदैन भनेर प्रहरीले जानेको हुँदैन र ?’ प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखकै मुखबाट छोरीको हत्यारा पक्राउ गरिछाड्ने आश्वासन पाएर काठमाडौंबाट कञ्चनपुर फर्किएकी दुर्गा भन्छिन्, ‘प्रहरीले कसलाई जोगाउनका लागि निर्मलाले लगाएको कपडाहरु धोयो ?, हामी अभिभावकले सही गर्नुपर्ने मुचुल्कामा प्रहरीले कसलाई सही गरायो ? अब यसको उत्तर चाहिन्छ हामीलाई ? थप पेचिलो बनेर नयाँ मोडमा आइपुगेको निर्मला हत्या प्रकरण झन रहस्यमय मात्र बनेको छैन ? अनुसन्धानमा खटिएकाहरुका लागि थप सकसमा पारेको छ ।

 

निर्मलाका बाबु यज्ञराज भन्छन्, ‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन ।

 

आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यहि आयो । अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’
यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले जे जति गरेको देखाए पनि त्यो सबै आँखामा छारो हाल्न मात्र गरेको दावी गरे ।

 

‘हामीले घटनाको शुरुवात कहाँबाट भएको र को–को मानिस जोडिएका छन् भनेर पहिलेदेखि नै भनेका हौँ । तर हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन’, उनले बम दिदी–बहिनीप्रति संकेत गर्दै भने, ‘प्रमाणहरु नष्ट गरिएको छ ।

 

निर्मलाका लुगा अझै भेटिएका छैनन्, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ । यस्तो सरकारले कसरी तथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउँछौ ?’ उनी आक्रोशित बने । बम दिदी बहिनीको घरमा अझै खनतलासी नगरिएको भन्दै उनीहरुलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको यज्ञराजले गुनासो गरेका छन् ।

 

बम–दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफूले न्याय मार्न गरिएको षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबु यज्ञराज बताउँछन् । अहिलेसम्म सञ्चारमाध्यमले आफूलाई ठूलो सहयोग गरेको भन्दै पन्तले अझैपनि सहयोग गरिदिन र आफूलाई न्याय दिलाउन आग्रह गरेका छन् ।

 

‘सञ्चारमाध्यमकै साथ पाएर हामी यहासम्म आएका छौँ, अझै पनि तपाईहरुको सहयोग पाए केही हुन्छ की भन्ने छ । सरकारले त न्याय देला भन्ने अब टुटिसक्यो’ पन्तले भने । निर्मला पन्त त एक उदाहरण मात्रै हुन् ।

 

त्यस घटनापछि पनि धेरै निर्मलाहरुको बलात्कार भइरहेको भन्दै उनले त्यस्ता अपराधीहरुलाई सरकारले कानुनी कठघरामा नल्याएकोमा चिन्ता व्यक्त गरे । यज्ञराजले निर्मलाका वास्तविक हत्यारा र बलात्कारी पहिचान नभएसम्म राज्यसँग लडिरहने पनि अठोट सुनाए ।

उनले वास्तविक हत्यारा पहिचानका लागि महेन्द्रनगरमा आन्दोलन जारी रहेको बताएका छन् ।

 

निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितिको सुझावपछि गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए ।

आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिवि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परीक्षण गरेका थिए ।

‘एसपी विष्ट सहित तीनै जनाको डिएनए रिपोर्ट मेल खाएन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले भने, ‘काठमाडौंबाट पठाइएको शिलबन्दी रिपोर्ट हामीले खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो ।’

 

निर्मला पन्तको गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । ११ गते उनको शव उखुबारीमा भेटिएको थियो । तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आएसँगै कञ्चनपुर घटना थप रहस्यमय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्