दिउँसै सहकारीको रकम लुटने सात पक्राउ
हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६ हतमुण्डाका १९ वर्षीय रमेशकुमार महतो,
कमला नगरपालिका–८ हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१ पुर्वारी टोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गत भदौ २८ गते सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम सङ्कलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका–२२ सागरपुर नजिकै मैनावती नदी नजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई कर्मचारीलाई हतियार देखाएर यी अभियुक्तहरुले उनीहरूसँग भएको रु तीन लाख ९३ हजारसहित मोटरसाइकल लुटेर लगेका थिए ।
उनीहरूको साथबाट ‘मेड इन युसए एन ७१०’ लेखिएको पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल एक थान, म्यागजिन एक थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाइल एक थान, नेपाली रु छ हजार १५० , विभिन्न कम्पनीको सिमकार्ड पाँच थान, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमतिपत्र, लुटिएको नेपाली नम्बरप्लेटसहिको बीआर३२ए ९३७३ नं को मोटरसाइकल बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
करेन्ट लागेर बालकको मृत्यु
कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ ।
स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिनुभयो ।
चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो तारमा अड्किएको प्रहरीको भनाइ छ ।
गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नाङ्गो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो । मृतक बालकको शव पोष्टमार्टमको लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।


