कठघरामा झलनाथ : ‘अर्को गुटमा गएकाहरू अचेल एकान्तमा रुन्छन् होला’



 

अभियाेग १ : पार्टी र राज्यको सत्तामा पुग्दा हरेक नेता शक्तिशाली बन्छ । तर, तपाईंं अपवाद बन्नुभयो । तत्कालीन एमालेको अध्यक्ष र प्रधानमन्त्री भएपछि तपाईं थप कमजोर बन्नुभयो । तपाईंको साथमा भएका केही नेताहरू पनि छाडेर गए ।

 

म एउटा मूल्य र मान्यताका आधारमा अघि बढ्ने मान्छे हुँ । पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरूमा टेकेर अगाडि बढ्ने मान्छे हुँ । म जतिवेला प्रधानमन्त्री भएँ, त्यो वेला मेरासामु संविधान निर्माण र शान्तिस्थापना गर्ने दुईवटा मिसन थिए ।

 

यी दुई मिसन पूरा गर्न आफूले सक्नेजति सम्पूर्ण काम मैले गरेँ । त्यतिवला हाम्रो पार्टी एमालेको आफ्नै बहुमत थिएन । स्वाभाविक रूपमा अरूको सरसहयोगमा सरकार बन्यो । जब सहयोगीहरूले असहयोग गर्न सुरु गरे, त्यसपछि मैले सत्तामा बस्नु आवश्यक नै ठानिनँ र राजीनामा दिएँ ।

 

आठौँ महाधिवेशनबाट म अध्यक्ष निर्वाचित भएँ । निर्वाचित हुने क्रममा मैले धेरै साथीहरूलाई गोलबन्द गरेँ । तर, महाधिवेशनपछि पार्टीमा गुटबन्दी चर्केर गयो । त्यसक्रममा मेराविरुद्ध जसले गुट बनाए त्यो गुट बनाउनेहरूतर्फ बिस्तारै–बिस्तारै कतिपय व्यक्तिहरू ढल्किँदै गए ।

 

म अहिले नाम लिन चाहन्नँ, तर वरिष्ठ–वरिष्ठ भन्ने मान्छेहरूले पनि गुटमा लागेर मात्रै तरक्की हुने रहेछ, भाग्य–भविष्य बन्ने रहेछ भन्ने ठाने र मलाई छाडेर अर्को गुटतिर लागे । त्यता लागेर उनीहरूले के–के प्राप्त गरे, सम्बन्धित मान्छेहरूलाई नै भेटेर सोध्नुहोला । अहिले तिनीहरूको मन रोइरहेको छ । मलाई लाग्छ, जसले मलाई छाडेर गए, तिनीहरू अहिले एकान्तमा बसेर रुन्छन् होला ।

 

अभियाेग २ : आठौँ महाधिवेशनमा अध्यक्ष हुँदै प्रधानमन्त्रीसमेत भएको नेता आन्तरिक रूपमा यति कमजोर हुनुभयो कि नवौँ महाधिवेशनमा अध्यक्षमा दाबी गर्ने आँटसमेत गर्नुभएन ।

 

आठौँदेखि नवौँ महाधिवेशनमा आउन्जेलसम्म म शारीरिक रूपमा बिरामी अवस्थामा थिएँ । बिमारीको कारणले मैले छाडेको हो । यद्यपि, नवौँ महाधिवेशनमा प्रस्तुत सबै प्रस्तावहरू मेरै नेतृत्वमा तयार भएका हुन् । १०औँ महाधिवेशनसम्म पार्टी कसरी जान्छ भन्नेबारे सम्पूर्ण कार्यदिशा, नीति र सिद्धान्त तय गरेर मैले छाडेको हुँ । त्यतिवेला प्रतिस्पर्धाबाट नेतृत्व चयन भयो । मेरो शारीरिक अवस्था राम्रो नभएका कारण उठ्न सक्ने अवस्थामै थिइनँ ।

 

तपाईंलाई जानकारी नै होला, मैले त्यसपछि अमेरिकामा गएर अप्रेसन गराएँ । त्यो धेरै गम्भीर अप्रेसन थियो । त्यो अप्रेसन नगर्दा कुनै पनि वेला मेरो मृत्यु हुन सक्थ्यो । त्यस्तो अवस्थाबाट गुज्रिरहेको हुनाले मैले आफैँले छाडेको हो, कमजोर भएर होइन । नवौँ महाधिवेशनमा उठेको भए म अत्यधिक बहुमतले जित्थेँ । किनभने महाधिवेशनमा मैले प्रस्तुत गरेको प्रतिवेदनलाई देशभरिका प्रतिनिधिहरूले कैयौँ मिनेटसम्म ताली बजाएर समर्थन गरेका थिए ।

 

अभियाेग ३ : पद र शक्तिका लागि अपारदर्शी सम्झौता पनि गर्नुहुन्छ । तत्कालीन एमालेको अध्यक्ष रहेका वेला सरकारमा सहभागी हुन माओवादीसँग आलोपालो सरकारको नेतृत्व गर्ने गरी सातबुँदे सम्झौता गर्नुभयो । तर, त्यसको जानकारी आफ्नो खेमाका सीमित नेताबाहेक पार्टी कमिटीलाई समेत दिनुभएन ।

 

मैले त्यतिवेला सरकार निर्माण गर्ने सिलसिलामा कमरेड प्रचण्डसँग एउटा सहमति गएको थिएँ । बकाइदा दुईवटै पार्टीका प्रतिनिधिमण्डलबीच छलफल भएर सातबुँदे सहमति भएको थियो । त्यो सहमति मैले पार्टीको बैठकमा भने राखिसकेको थिइनँ । तर, अरू नेताहरूको बीचमा भने छलफल भएको थियो ।

 

त्यतिवेला त्यो सहमतिको घनघोर आलोचना गरे साथीहरूले । तर, तिनै साथीहरूले अहिले त्योभन्दा धेरै पर गएर एकता गरेका छन् । वास्तवमा त्यतिवेला मैले सातबुँदे सहमति गरेर दुईवटा पार्टीबीच एकताको आधार तयार गरेको थिएँ । त्यही सहमतिले अहिले दुई पार्टीलाई एक ठाउँ ल्याएको हो, एकताबद्ध बनाएको छ । जुन नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण उपलब्धि हो ।

 

अभियाेग ४ : मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई पनि संशोधनवादी भएको भन्दै दक्षप्रजापतिको टाउकाको संज्ञा दिनुभयो । तर, त्यही कार्यक्रम मार्गनिर्देशक सिद्धान्त हुँदा एमालेको महासचिव र अध्यक्ष खानुभयो ।

 

हाम्रो पार्टीले लामो समयदेखि नयाँ जनवादलाई न्यूनतम लक्ष्यका रूपमा, क्रान्तिको कार्यक्रमका रूपमा आत्मसात् गर्दै आयो । चौथो महाधिवेशनका वेला नयाँ जनवाद भने पनि यो एकदलीय व्यवस्था नै हुने हो, हामी कम्युनिस्टहरूले एकदलीय व्यवस्था स्थापना गर्ने हो कि होइन भन्ने प्रश्न उठ्यो ।

 

मैले नै ‘हामी कम्युनिस्ट भए पनि एकदलीयतावादी होइनौँ, न्यु डेमोक्रेसीमा विभिन्न दलहरू हुन सक्छन् । उनीहरूबीचमा प्रतिस्पर्धा हुन सक्छ । त्यसो हुनाले हामीले भनिरहेको नयाँ जनवाद एकदलीय जनवाद होइन । नयाँ जनवाद पनि बहुदलीय जनवाद हो’ भनेर पारित गराएको हो । चौथो महाधिवेशनको प्रतिवेदन र विधान प्रस्तुत गर्ने मै हुँ । त्यो अवधारणा त्यतिवेला पारित भयो ।

 

पाँचौँ महाधिवेशनमा कमरेड मदन भण्डारीले त्यसलाई कार्यक्रमिक रूप दिएर ‘बहुदलीय जनवादको कार्यक्रम’ भनेर अगाडि सार्नुभयो । त्यसलाई छलफलमा लैजाँदा ‘जनताको बहुदलीय जनवाद’ भनियो । त्यसमा मेरा केही मतभेद थिए । खास गरेर तीनवटा मतभेदका विषय थिए । पहिलो, हामीले ०४२/४३ देखि निरन्तर अंगीकार गर्दै आएको नयाँ जनवादको कार्यक्रमलाई नछाडौँ, यो स्थापित कार्यक्रम हो ।

 

०४६ सालको परिवर्तन, अन्तरिम सरकारमा सहभागी भएर गरेका काम, पहिलो आमनिर्वाचनपछि कम्युनिस्ट पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा उभ्याउनेलगायतका काम हामीले नयाँ जनवादको झन्डा उठाएरै गरेका हौँ । त्यसैले नयाँ जनवादको नाम नछाडौँ । बरु, यसभित्र बहुदलीय प्रतिस्पर्धालगायत विषयहरू समावेश गरेर जाऔँ भन्ने मेरो जिकिर थियो ।

 

दोस्रो, बहुदलीय जनवादको जुन कार्यक्रम प्रस्तुत भएको थियो त्यसमा कृषि क्रान्तिको कार्यक्रम अगाडि सार्दा सबैलाई नयाँ ऐन–कानुन बनाएर मुआब्जा दिएर सबै जमिन खोस्ने प्रस्ताव गरिएको थियो । मैले ‘यसरी कृषिको क्रान्तिकारी कार्यक्रम हुँदैन, जो खुंखार, क्रान्तिविरोधी, देशभक्तिपूर्ण भावनासमेत नभएका जमिनदारहरूको मात्रै जमिन विनामुआब्जा खोस्नुपर्छ’ भनेँ । तेस्रो, जनताको बहुदलीय जनवादका १४ विशेषता भनेर अगाडि सारियो । त्यसको एउटा विशेषतामा ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष’ भन्ने थियो ।

 

मैले ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा संसदीय प्रणालीको मात्रै हो । बहुदलीय व्यवस्थामा बुर्जुवा व्यवस्था पनि धेरै खालका छन् । राष्ट्रपतीय प्रणाली पनि छ, संसदीय प्रंणाली पनि छ । राष्ट्रपतीय प्रणालीमा बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष हुँदैन । जस्तोः अमेरिकालाई हेर्नुस् । तर, संसदीय व्यवस्था भएको मुलुकमा मात्रै बहुमतको सरकार अल्पमतको प्रतिपक्ष भन्ने हुन्छ । त्यसकारण यो विशेषतालाई कार्यक्रममा राख्नु सैद्धान्तिक रूपले पनि गलत हुन्छ, हटाऔँ’ भनेँ ।

 

महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतले पारित भयो । त्यो पनि नयाँ जनवादी कार्यक्रम नै हो । त्यसैको एउटा रूप हो । त्यसकारण नयाँ जनवादको नाम लिनुपर्छ भन्ने कुरालाई मैले मतभेदका रूपमा लिइनँ र जनताको बहुदलीय जनवाद कार्यक्रमलाई समर्थन गरेँ । कृषि क्रान्तिको विषयमा मैले राखेका कुरालाई कमरेड मदन भण्डारीले स्वीकार गर्नुभयो र लिखित रूपमै सच्याउनुभयो ।

 

महाधिवेशनमा प्रस्तुत भएका र पास भएका दस्तावेजहरू अहिले पनि तपाईंले हेर्नुभयो भने त्यो छर्लंग हुन्छ । तेस्रो, मतभेद त अहिले पनि कायमै छ । त्यसकारण मतभिन्नता रहे पनि जनताको बहुदलीय जनवाद आधारभूत रूपमा डेमोक्रेटिक कार्यक्रम हो । पहिला सामन्तवाद उन्मूलन गर्ने, निरंकुश राजतन्त्रलाई समाप्त गर्ने र लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउने भएकाले मैले त्यसका आधारभूत पक्षलाई हेरेर समर्थन गरेँ ।

 

अभियाेग ५  : सहकर्मीहरूले लगाएको गुन पनि बिर्सनुहुन्छ, जसले गर्दा वेलावेलामा राजनीतिक हानि पनि व्यहोर्नुहुन्छ । ०६४ को निर्वाचनमा पराजित भएपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएपछि उनकै सहयोगमा तपाईंं महासचिव बन्नुभयो, बुटवलको आठौँ महाधिवेशनमा पनि नेपालनिकट नेताहरूले तपाईंंलाई सघाए । तर, नवौँ महाधिवेशनमा तपाईंले नेपाललाई गुन तिर्नुको सट्टा उल्टै असहयोग गरेको आरोप लाग्यो । जसका कारण नेता नेपालले असहयोग गर्दा राष्ट्रपति बन्न तपाईंले गरेको प्रयास सफल हुन सकेन ।

 

संविधानसभाको पहिलो निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेर आउनुपर्ने थियो । हामीले ०६२/६३ को आन्दोलनमा जुन खालको भूमिका खेलेका थियौँ, हाम्रो पार्टीले अगाडि सारेका कार्यदिशा, नीति र सिद्धान्त जसरी स्थापित हुँदै गएका थिए, त्यसका आधारमा पहिलो पार्टी बन्ने सम्भावना पनि थियो ।

 

तर, हामीले त्यतिवेला युवाहरूको विशाल पंक्तिलाई संगठित गर्न सकेनौँ, पार्टीमा गोलबन्द गर्ने काम भएन । अर्कोतर्फ नेकपा माओवादीको बढिरहेको प्रभावलाई काउन्टर गर्ने काम पनि भएन । त्यसकारण एमालेले प्राप्त गर्नुपर्नेजस्तो नतिजा प्राप्त गर्न सकेन । स्वाभाविक रूपमा पार्टीको नेताको हैसियतमा माधव नेपालले राजीनामा गर्नुभयो ।

 

त्यो राजीनामा हामी कसैसँग सल्लाह गरेर गर्नुभएको होइन, फगत एक्लै निजी ढंगले गर्नुभयो । कोही कमरेडसँग सल्लाह गरेको मैले देखिनँ, मसँग पनि गर्नुभएको होइन । सम्भवतः राजीनामा दिएर कसैलाई कार्यवाहक दिने र पछि आफैँ महासचिव बन्ने उहाँको सोच हुनसक्थ्यो । खैर जेसुकै होस्, राजीनामा दिइसकेपछि पार्टीमा एउटा ग्याप भयो ।

 

हामी बैठक बस्यौँ । माधव नेपालले नैतिकताका आधारमा राजीनामा दिएको कुरा आयो । त्यसपछि नयाँ ढंगले सोच्नुपर्छ भन्ने कुरा भयो । सबैजसो कमरेडहरूले मलाई प्रस्ताव गरेर महासचिव बनाउनुभयो । त्यो प्रस्ताव अरू कमरेडहरूले गर्नुभएको हो, माधव नेपालले होइन ।

 

बुटवलमा महाधिवेशन आयोजना ग-यौँ । त्यहाँ कमरेड माधव नेपाल र केपी ओलीको बीचमा गहिरै साँठगाँठ थियो । माधव आफैँ अध्यक्ष बन्ने प्रयत्नमा पनि हुनुहुन्थ्यो, उहाँले क्याम्पियन पनि गर्नुभयो । उहाँका समर्थकहरूले हस्ताक्षर अभियान पनि चलाए । तर, त्यतिवेलाको मास आफ्नो पक्षमा नदेखिएपछि उहाँ उठ्नुभएन । उहाँका सबैजसो मान्छेहरूले त्यतिवेला मलाई सहयोग गरेका होइनन्, केपी कमरेडलाई सहयोग गरे ।

 

जेसुकै भए पनि मैले कसैलाई आरोप लगाइनँ । मत दिने हरेकको आफ्नो अधिकारको कुरा हो । माधव नेपालले नै कसलाई मत हाल्नुभयो, मलाई त्यसमा सरोकार छैन् । तर, त्यतिवेला उहाँ र उहाँको समूहले मलाई सहयोग गरेको मैले देखिनँ । तर पनि हामीसँग प्रचुर मत थियो । देशभरिबाट र प्रवासबाट आएका साथीहरू मेरो पक्षमा हुनुहुन्थ्यो ।

 

बुटवलको महाधिवेशनमा धेरै गन्जागोल भयो । चार–पाँच दिनमा सक्नुपर्ने महाधिवेशन १० दिनसम्म गयो । त्यो कारणले पनि मेरा मत घटे । त्यसका बाबजुद पनि जितेँ । नवौँ महाधिवेशनसम्म पुग्दा वैचारिक, राजनीतिक, सैद्धान्तिक संघर्षहरूलाई गहिरो बनाएँ, पार्टीलाई सुदृढ बनाएँ । र, नवौँ महाधिवेशनमा आउँदाखेरि एमाले यो देशको झन्डैझन्डै पहिलो पार्टी बन्यो । कांग्रेसको हाराहारीमा उभियो । त्यसका निम्ति त उहाँहरूले मलाई धन्यवाद दिनुपर्ने हुन्छ ।

 

नवौँ महाधिवेशनमा त मैले माधव नेपाललाई भनेरै छाडेको हुँ । मेरो पक्षमा रहेका सम्पूर्ण साथीहरूले माधव नेपाललाई भोट हाले । मलाई पनि ‘तैँले भाषण गर्नुपर्छ’ भन्ने थियो । म ‘अध्यक्ष छु, छाड्दै पनि छु, प्रतिस्पर्धा राम्रोसँगले चलोस्’ भनेर बोलिनँ, तटस्थ बसेँ । तर, मेरो पक्षमा भएको सम्पूर्ण शक्तिलाई माधव नेपाललाई मत हाल्नुस् भनेर भनेँ । अब, कसैलाई माधव नेपाल मनै परेन भने केपी ओलीलाई पनि हालेका हुन सक्छन् ।

 

माधवले पनि सबैलाई समेट्न सक्नुभएन । अब राष्ट्रपतिमा उहाँहरूले किन सहयोग गर्नुभएन, त्यो उहाँहरूले जान्ने कुरा हो । उहाँहरूमा विभिन्न खालका स्वार्थका पछाडि, आकांक्षाका पछाडि लाग्ने प्रवृत्ति छ । त्यो प्रवृत्तिका कारणले पनि मलाई सहयोग नगर्नुभएको होला । त्यसमा पनि मेरो कुनै गुनासो छैन । म सक्रिय राजनीतिज्ञ हुँ । सक्रिय रहन्छु ।

 

अभियाेग ६ : तपाईंले आफ्ना भाषणमा पटक–पटक ‘चट्टानी अडान’ उच्चारण गर्ने गरे पनि व्यवहारमा ‘पानीको लौरो’ भएको टिप्पणी कार्यकर्ताले गर्छन् । आठौँ महाधिवेशनबाट अध्यक्ष बने पनि तपाईंंको त्यही स्वभावका कारण स्थायी समितिदेखि केन्द्रीय कमिटीसम्म कहिले बहुमत जुटाउन सक्नुभएन । बरु, तपाईंंकै प्रतिस्पर्धी नेता केपी ओली पार्टी सञ्चालनमा हाबी भए ।

 

मलाई त्यस्तो आरोप लगाउनेहरू विभिन्न खालका गुटबाजहरू हुन् । जो गुटबन्दीपूर्ण ढंगले अगाडि बढ्न चाहन्छन्, गुटको निर्णयको आधारबाट अगाडि बढ्न चाहन्थे वा त्यस्तो क्रियाकलापमा संलग्न थिए–छन्, उनीहरूले मलाई पटक–पटक त्यस्तो लगाउने गरेका छन् । तर, म नेकपा मालेमा रहँदा, एमालेमा रहँदा वा अहिले नेकपामा हुँदा पनि पार्टी निर्णयमा दृढतापूर्वक लागेको छु ।

 

त्यसमा कहिल्यै कुनै तल–माथि गरेको छैन । अडान छाड्ने कुरा पनि छैन । म सधैँ यो देशको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, लोकतन्त्र, सामाजिक–आर्थिक रूपान्तरणको पक्षमा निरन्तर उभिँदै आएको मान्छे हुँ । सधैँ उभिइरहन्छु । त्यसकारण मेरो अडानका विषयमा कसैले प्रश्न उठाउनुपर्ने आवश्यकता म देख्दिनँ ।

 

अभियाेग ७ : एमालेको नवौँ महाधिवेशनपछि दोस्रो वरीयताको वरिष्ठ नेता र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाउनुभयो । तर, पार्टीभित्र थिंक ट्यांक मानिएको प्रतिष्ठानको नेतृत्व तीन वर्ष गर्दा पनि त्यसलाई पूर्णता दिन सक्नुभएन ।

 

नवौँ महाधिवेशनले नै मलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । महाधिवेशनले पारित गरेको विधानमा नीति प्रतिष्ठानको व्यवस्था छ । मैले आठौँ महाधिवेशनपूर्व नै यो पार्टीमा एउटा ‘रिसर्च विङ’ चाहिन्छ भन्ने अवधारणा अघि सारेको थिएँ । आठौँ र नवौँ महाधिवेशनको बीचमा पनि त्यसमा काम गर्ने कोसिस गरियो । तर, सम्भव भएन । नवौँ महाधिवेनपछि म आफैँ त्यसमा लाग्छु भन्ने थियो । नीतिमा पास पनि गरियो । स्थायी समितिको बैठकमा मैले नीति अनुसन्धान प्रतिष्ठान बनाउने भनेर सूचीसहितको प्रस्ताव नै बनाएर प्रस्तुत गरेँ ।

 

तर, केपी कमरेडले त्यसलाई कहिल्यै निर्णय प्रक्रियामा ल्याउनु नै भएन । मैले पटक–पटक त्यो कुरा उठाएँ, तर पनि निर्णय गरिएन । त्यसपछि मैले के गर्नु ? एक्लै काम गर्ने कुरा भएन । व्यक्तिगत रूपमा त म एक्लै पनि काम गर्न सक्छु नि । मेरो त पार्टीगत रूपले, संस्थागत रूपले काम होस् भन्ने चाहना हो । तर, पार्टीले त्यो चाहेन ।

 

बरु, नेताहरूबाट ‘समानान्तर संगठन बनाउने पार्टीमा ?, सामानान्तर काम गर्ने’ भन्नेजस्ता गैरजिम्मेवार टीकाटिप्पणी गरेको सुनेँ । त्यसपछि मैले वास्ता गर्न छाडिदिएँ । त्यसैले एमालेमा लामो समयसम्म त्यसबारे काम हुन सकेन ।

 

अहिले पनि पार्टीमा एउटा यस्तो रिसर्च विङको आवश्यकता छ, जसले नीतिका सन्दर्भमा, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा, इतिहासबारे, अरू विभिन्न प्रक्रियाका सन्दर्भमा, सामाजिक–आर्थिक विकासक्रमबारे, विभिन्न प्रवृत्तिबारे अध्ययन–अनुसन्धान गरोस् । त्यस्तो खालको संस्थाको अत्यन्त जरुरी छ ।

 

 

अभियाेग ८  : केपी ओली, माधव नेपाल कसैसँग पनि सुमधुर सम्बन्ध छैन । विगतमा सहकार्य गर्दा धोका दिएका कारण प्रचण्डले पनि तपाईंंलाई विश्वास गर्दैनन् । जसका कारण पार्टी एकतापछि तपाईंंलाई माधव नेपालपछिको मर्यादाक्रममा राखियो । त्यसबारे तपाईंंले बैठकमा असहमति राख्नुभयो, तर अरू कसैले साथ दिएनन् ।

 

कम्युनिस्ट पार्टीभित्र कोही पनि व्यक्तिको वरीयता निर्धारण गर्ने निश्चित नीति र मापदण्ड हुनुपर्छ । वरीयता भनेको कसैले तोक्ने कुरा होइन । यो राजा–महाराजाहरूले लगाइदिने विभूषणजस्तो पनि होइन । व्यक्तिको संघर्ष, योगदान, उपलब्धिका हिसाबले वरीयता निर्धारण हुने हो ।

 

म पार्टीको नवौँ महाधिवेशनले निर्णय गरेर निर्माण गरिएको वरिष्ठ नेता हुँ । स्वाभाविक रूपमा पार्टी एकीकरण गर्दा पनि त्यही वरिष्ठताकै आधारमा हुनुपथ्र्यो । तर, पद्धतिहीन र विधिहीन ढंगले नियतपूर्वक त्यसलाई बदल्ने काम गरियो । र, अहिले माधव नेपाललाई मभन्दा मास्तिर राखिएको छ ।

 

माधव नेपाल किन मभन्दा माथि बस्नुभयो ? उहाँसँग पनि प्रश्न छ । मेरो काँधमा उभिएर ‘म अग्लोे छु’ भन्दै हुनुहुन्छ, किन ? अरूले काँधमा चढाइदिँदा चढ्ने नेता कस्तो नेता ? राजा–महाराजाहरूको शैलीद्वारा जुन अन्यायपूर्ण काम भएको छ, त्यसमा मेरा आपत्ति छ । पार्टीले जहिलेसम्म यो सच्याउँदैन, तबसम्म मेरो आपत्ति रहिरहन्छ ।

 

पहिला–पहिला नेपालमा ‘न्याय पाइएन भने गोरखा जानु’ भन्ने भनाइ थियो । अहिलेको अवस्थामा न्याय पाइएन भने कम्युनिस्ट पार्टीमा जाने हो नि । तर, कम्युनिस्ट पार्टीको नेताले नै अन्याय गर्छ भने त्यो नेताले कसरी यो देशलाई न्याय दिन सक्छ ? नेकपाका आमकार्यकर्तालाई कसरी न्याय दिन सक्छ ? आमजनतालाई कसरी न्याय दिन सक्छ ? प्रश्न यो हो । यसकारण नेताले पनि नीति र विधिका आधारमा चल्नुपर्छ, आफ्नो व्यक्तिगत इच्छाका आधारमा होइन । अहिले नीति र विधि तोड्ने काम भएको छ ।

 

अभियाेग ९  :  ०५३ सालमा माधव नेपालविरुद्ध अविश्वास प्रस्ताव ल्याएर तपाईंलाई महासचिव बनाउने तयारी वामदेव गौतमहरूले गरेका थिए । त्यसका लागि लगभग बहुमत पनि जुटाइसकेका थिए । तर, वामदेवलाई एक्सपोज गरेर तपाईं आफैँ पछि हट्नुभयो ।

होइन, त्यतिवेला पूर्ण रूपले बहुमत पुगिसकेको थिएन । एकदम झिनोझिनो खालको बहुमतको उहाँले कल्पना गर्नुभएको थियो । त्यो बहुमतले साथ दिएन । त्यसकारण त्यतिखेर त्यो रोकिएको हो । म त आफ्नो ठाउँमा उभिएकै थिएँ । कहाँ पछि हटेको हुँ र ?

 

अभियाेग १०  :  कटवाल प्रकरणमा तपाईंले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई धोका दिएको आरोप छ । सत्ता साझेदार दलको अध्यक्षका रूपमा तपाईंले सुरुमा ‘अनुशासनहीन प्रधानसेनापतिलाई कारबाही गर्नुपर्छ’ भनेर सहमति दिनुभएको थियो । चीन भ्रमणमा रहेका वेला पनि ‘कारबाहीमा किन ढिलाइ’ भनेर सोधिरहनुभएको थियो । तर, स्वदेश फर्केपछि प्रधानसेनापतिको पक्षमा १८ दलको नेतृत्व गर्दै राष्ट्रपतिकहाँ जानुभयो ।

 

दोस्रो जनआन्दोलनविरुद्ध भूमिका खेल्नेहरूको बारेमा छानबिन गर्न गठित आयोगले सिफारिस गरेअनुसार कारबाही गर्नुपर्छ भन्ने मेरो धारणा थियो । आयोगको सिफारिसमा रुकमाङ्गत कटवालको पनि नाम थियो । उनलाई पनि कारबाही गर्नुपर्छ भन्ने पक्षमा म थिएँ । त्यही सिलसिलामा उनलाई हटाउनुपर्छ भन्ने कुरा आयो ।

 

त्यसमा मैले पनि सहमति जनाएकै हो । सहमति जनाएपछि म चीनतिर लागेँ । त्यसबीचमा जस्तोखालका कारणहरूका आधारमा हटाउने भनेर भनियो, अघि सारिएका कारणहरू विवादास्पद देखिए । त्यसकारण मैले ती कारणहरूलाई स्वीकार गर्न सकिनँ । पार्टीले पनि स्वीकार गरेन । पार्टी एकातिर र म अर्कोतिर हुनेखालको अवस्था आएपछि पार्टीले जे भन्यो त्यही कुरालाई अगाडि बढाएँ । र, कटवाललाई हटाउने निर्णयविरुद्ध उभिएँ ।

 

अभियाेग ११  : तत्कालीन एमालेभित्र तपाईंलाई समर्थन गर्ने कोही पनि उँभो लाग्दैनन् भनेर ठट्टा हुने गर्छ । हुन पनि भीम आचार्यजस्ता सहयोगी नेतालाई समेत अपमानपूर्वक मन्त्रीबाट निकाल्दा तपाईंको साथ रह्यो । त्यसपछि दीपक अमात्यलाई मन्त्री बनाउनुभयो । तर, आफ्नो स्वार्थपूर्ति नभएपछि उनलाई पनि हटाएर कृपासुर शेर्पालाई ल्याउने विषयमा सहमति दिनुभयो ।

 

मैले ती कुनै पनि मन्त्रीहरूलाई हटाउने र राख्ने कुुराहरूमा सहमति दिने/नदिने भन्ने प्रश्नै थिएन । पार्टीका कमिटीहरूले निर्णय गर्ने कुरा हो । कुनै पनि व्यक्तिविशेषलाई संरक्षण दिन पनि व्यक्तिले संरक्षण गर्ने कुरा कम्युनिस्ट पार्टीमा हुँदैन । व्यक्तिले संरक्षण दिने कुराहरू जब आउन थाल्छन्, त्यो भनेको गुटबन्दीपूर्ण वातावरणमा मात्रै हो ।

 

अनेकन प्रकारका गुटहरू भएपछि गुटको एउटा नायकले ‘म तपाईंलाई संरक्षण गर्छु, म तपाईंको पक्षमा लड्छु’ भनेर जिम्मा लिएर हिँड्ने प्रवृत्ति जन्मिन्छ । त्यतिवेला मान्छेहरू फलानोको पक्षमा लाग्यो भने संरक्षित भइन्छ भनेर हिँड्नेखालको मनस्थितिमा पुग्छन् । तर, खासमा पार्टीका नेता र कार्यकर्तालाई संरक्षण त पार्टीले दिनुपर्छ नि ।

 

पार्टी संगठनमा लागेपछि कुनै पनि प्रकारका गुटबन्दीबाट मुक्त भएको पार्टी हुनुपर्छ । हरेक नेता र कार्यकर्तालाई पार्टीले संरक्षण दिनुपर्छ । पार्टीले संरक्षण दिने स्थिति समाप्त हुँदै गयो भने पार्टीमा गुटबन्दी बन्छ र गुटका आधारमा पार्टी चल्छ । र, गुटका नायकले ‘तिमीलाई म संरक्षण गर्छु’ भन्छन् र कतिपय मानिसहरू पनि गुटका नायकसँग मलाई संरक्षण गरिदिनुप¥यो भनेर हिँड्न थाल्छन् ।

 

त्यसखालको अवस्था भनेको पार्टीमा एकदम अस्वस्थ अवस्था हो । त्यसकारण मचाहिँ के धारणा राख्छु भने कम्युनिस्ट पार्टीका सबै नेता÷कार्यकर्ताहरूलाई कम्युनिस्ट पार्टीले संरक्षण दिनुपर्छ । उनीहरूका चाहे व्यक्तिगत चाहना, आकांक्षाहरू हुन्, चाहे अरू योग्यता क्षमताहरू हुन्, ती सबै चिजलाई उचित ढंगले परिचालन गर्ने, उपयोग गर्ने काम भनेको पार्टीले गर्नुपर्छ ।

 

अभियाेग १२  : लामो राजनीतिक त्याग र लगानी छोराको ठेक्कापट्टामा समर्पित गरेको आरोप पनि तपाईंमाथि लाग्ने गर्छ । पार्टी एकीकरणजस्तो गम्भीर प्रक्रियामा समेत सहभागी नभएर छोराकै कामका लागि चीन गएको आरोप तपाईंमाथि लाग्यो ।

हाम्रो पार्टीभित्र केही मान्छेहरू, खासगरी पूर्वएमालेभित्र जो गुटबन्दीमा ग्रस्त भएर लागे, त्यस्ता मान्छेले मप्रति कुनै न कुनै प्रकारको एउटा पूर्वाग्रह निर्माण गरे, ती मान्छेले मलाई बिजनेसमा लागेको, विभिन्नखालका आर्थिक क्रियाकलापमा लागेको आरोप लगाउने काम गर्दा रहेछन् ।

 

म जतिवेला चीन गएको थिएँ, त्यतिवेला एक/दुई मिडियामा पनि बिजनेस गर्न गएको भन्ने आरोप लगाइएको भन्ने मैले सुनेँ । तर, मैले के बिजनेस गरेको छु ? यो त खुला दुनियाँ हो नि, पारदर्शी दुनियाँ हो नि । के बिजनेस गरिरहेको छु, तिनीहरूले पत्ता लगाएर भनून् न । ती नितान्त पूर्वाग्रह राख्ने दुष्ट तत्वहरू हुन्, कम्युनिस्ट पार्टीभित्र लागेका धमिरा हुन् । ती धमिराले कम्युनिस्ट पार्टीलाई भित्रभित्रै धोद्रा, खोक्रो बनाउने काम गर्छन् । त्यस्ता तत्वहरूका पछाडि कतिपय नेता लागेका छन् ।

 

त्यस्ता तत्वको घेरामा कतिपय नेता छन् । र, ती कुरा सुनेर उनीहरू हिँडिरहेका छन् । पार्टी एकताबारे २ दिनअगाडि अथवा १ जेठमा अध्यक्ष ओलीसहित हामी एउटै कार्यक्रममा थियौँ । यदि पर्सि पार्टी एकता हुनु थियो र त्यसको केही सम्भावना थियो भने त मलाई सूचना दिनुपथ्र्यो नि । उहाँले मलाई आभाससम्म पनि दिनुभएन ।

 

कुनै सूचना पनि दिनुभएन । र, मैले उहाँलाई त्यहीँ भनेँ, ‘म पर्सि यसरी चीन जाँदै छु, मेरो यस्तो कार्यक्रम छ । उपचारको कुरा पनि छ ।’ त्यसमा उहाँले केही टीकाटिप्पणी गर्नुभएन । तर, त्यत्रो योजनाचाहिँ दिमागमा रहेछ । मलाई सूचना दिनुभएन । त्यो सूचना उहाँले किन दिनुभएन ? त्यो उहाँले नै जान्नुहोला । म अहिले आरोप लगाउन चाहन्नँ, त्यो संयोग हो भने पनि मेरो भन्नु केही छैन ।

 

संयोग होइन भने पनि मेरो भन्नु केही छैन । तर, जुन एउटा ठूलो एकताको प्रक्रिया थियो, त्यो प्रक्रियामा म संलग्न हुन पाइनँ । त्यसमा मलाई दुःख छ । तर, त्यो एकता निर्माण गर्ने कुरामा मेरो पनि भूमिका छ । म त सातबुँदे सहमतिसमेत गर्ने मान्छे हुँ । त्यो सातबुँदे सहमतिलाई त्यतिवेला आलोचना गर्ने मान्छेहरूले अहिले जुनखालको सहमति गरेका छन्, पछि फर्केर हेरून् ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

      मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष

रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला