१० जनाको समूहबाट किशोरीमाथि बलात्कार, ८ जना पक्राउ
बलात्कारका घटनाले बेइज्जती बढाइरहेका बेला फेरि अर्को सामुहिक बलात्कारको घटना दोहोरिएको छ ।
कालिकोट खाँडाचक्र–९ धिमुकी एक १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारमा परेकी छन् । कालिकोटको सदरमुकाम मान्मबाट ३० किमि टाढा पर्ने खाँडाचक्र नगरपालिका–९ स्थित पाखाको धिमुमा धिमाल देवताको पैठ (जात्रा) हेरेर एक्लै घर फर्किदै गरकी उनलाई बाटो ढुकेर बसेका १० जनाको समूहले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
स्थानीय जनज्योति माविमा कक्षा १० मा अध्ययनरत किशोरीलाई बलात्कारमा संलग्न भएको आरोपमा बुधबार राति ८ जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न २ जना फरार छन् । पक्राउ पर्नेमा खाँडाचक्र–१० चौकी गाउँका १८ वर्षीय सर्जन बिक, २० वर्षीय पर्व बिक, १८ वर्षीय गोर्ख बिक छन् ।
त्यस्तै, ९ नम्बर वडा पाखाका २२ वर्षीय जीवन बिक, २० वर्षीय नवीन बिक, १८ वर्षीय डिले परियार, २१ वर्षीय सुवास बिक, २० वर्षीय हर्ष बिकलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिएका छन् ।
उनकाअनुसार बुधबार बेलुकी साढे ६ बजे मदिरा सेवन गरेर बाटोमा बसिरहेका युवामध्ये एक जनासँग ती किशोरीले उधारो सामान लिएको रकम माग्दा सबै मिलेर हातपात गर्दै खोल्सामा पु¥याएर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
बहिनीमाथि बलात्कार भएको खबर सुनेर घटनास्थल गएका किशोरीका दाइलाई पनि ती युवाहरुले हातपात गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।
आपराधिक घटनाको जानकारी पाए लगत्तै सदरमुकाम मान्मबाट प्रहरी निरीक्षक चौलागाईंको नेतृत्वमा गएको प्रहरी टोलीले राति नै घटनास्थल वरपरबाट ८ जनालाई पक्राउ गरेर ल्याएको छ ।
बलात्कारपछि मरी भनेर युवाहरु भागेको जनाइएको छ । पक्राउ परेकाविरुद्ध जाहेरी दर्ता गर्दै प्रहरीले विहीवार जिल्ला अदालत मान्मबाट ६ दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको जिलला प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताएका छन् ।
उनले जघन्य अपराध भएको जानकारी र पीडित पक्ष प्रहरीमा आउने वित्तिकै घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको र किशोरीलाई स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल पठाइएको बताएका छन् ।
‘घटनामा संलग्नमध्ये २ जना फरारको प्रहरीले खोजी गरिरहेको छ,’ डिएसपी शर्माले भने, ‘बाहिर जाने नाकामा पनि कडाई गरिएको छ ।’
न्यायका लागि जिल्ला प्रहरी पुगेकी किशोरीले असोज १० गते बेलुकी पाखाको धिमुस्थित धिमाल देवताको पैठ (जात्रा) हेरेर घर फर्किदै गर्दा बाटोमा मदिरा सेवन गरेका युवाहरु मनपरी बोल्दै बसिरहेका थिए ।
तीमध्ये गाउँकै पर्व बिक पनि थिए । उनले ३ वर्ष अघि मेरो पसलमा ५ सयको उधारो खाएका थिए । ‘मैले पर्वलाई रक्सी खाएर हल्ला गर्नेले मेरो उधारो खाएको पैसा तिर्नु पर्दैन भने ।’
पीडित किशोरीले भनिन्, ‘तेरो हिसाब यही हुन्छ भन्दै त्यहाँ भएकाले हातपात गर्दै तल खोल्सामा लगेर जबरजस्ती गरे ।’ उनले आफू बेहोसपछि केही थाहा नपाएको सुनाइन् । उनले दाइ र दिदी आएर बचाएको बताइन् । कालिकोटमा एक महिनाभित्र ३ वटा बलात्कारका घटना भएका छन् ।
जिल्ला प्रहरीमा परेको लिखित उजुरीअनुसार तीजका दिन सुकाटियाकी एक २० वर्षीया युवतीमाथि २ जनाले जबरजस्ती करणीको उद्योग गरेको, भदौ पहिलो साता सान्नी त्रिवेणीकी एक किशोरीलाई विवाह गर्ने भन्दै ३ दिनसम्म बन्धक बनाएर मेहेलमुडीका जन बमले बलात्कार गरेको आरोप छ ।


