७० करोड किर्ते गरेर फरार दुई उपसचिव पक्राउ



हाम्रो इकोनोमि

 

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खोजी गरिरहेका दुई उपसचिवलाई अख्यितारको टोलीले पक्राउ गरेको छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत उप–रजिष्टारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बबरमहलको वन परिसरको भवन अगाडिको सडक किनारबाट पक्राउ गरेको हो।

 

यसअधि प्रहरीले किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँ बराबरको धन सम्पत्ति बेचबिखनमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो भने उपसचिवद्वय पौडेल र रोकाय फरार रहेका थिए।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको शेयर बेचबिखनमा किर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशीलाई पक्राउ गरेको थियो। यस्तै किर्ते कागजपत्रकै आधारमा कम्प्युटरमा रजिस्ट्रेसन गर्ने प्राविधिक शाखाका कर्मचारी आशीष महर्जन र पुष्पकला राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

 

त्यस्तै पक्राउ पर्ने अन्यमा मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका निरजकुमार मानन्धर, रामेछापका जीतबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौँका चिरीबावु महर्जन, बाराका अमृत थापा मगर रहेका छन्।

 

ब्यूरो स्रोतका अनुसार भारतीय नागरिक रामनिरञ्जन जटियाको नाममा रहेको सम्पत्ति नियमविपरीत बेचबिखन र नामसारीमा सघाउने उपसचिवद्वय पौडेल र रोकाया फरार रहँदै आएका थिए। उनीहरुले नियम अनुसार काम कारबाही गर्ने भन्दा ठगीमा संलग्नहरुलाई सरकारी कागजपत्र किर्ते गरेर हिस्सेदार बनेको अनुसन्धानमा खुलेको हो।

 

पौडेल कार्यालयका गुनासो सुन्ने अधिकारी र रोकायालाई सूचना अधिकारी तोकिएको थियो। जटियासँग १६ वर्षदेखि काम गर्दै आएका जीतबहादुर मगरले कम्पनीको कागजपत्र चोरी गरी ठगीको योजना बनाएका थिए। जीतबहादुरको समूहले शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको असली मालिक जटिया भए पनि किर्ते कागजपत्रका आधारमा शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुरलाई बनाएर ७० करोड रुपैयाँ बराबरको सम्पत्ति किनेबचका लागि बैंकमार्फत ३ करोड बैना समेत लिएका थिए।

 

ब्युरोको अनुसार कम्पनीको नाममा रहेको बालुवाटारस्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गासहितको घर, सतुंगल– ९ को कित्ता नम्बर १२६ को १५ रोपनी जग्गा र म्याग्दी र नुवाकोटमा रहेको जग्गा वेचबिखन गर्न बैना गर्दै हिँडेका थिए।

 

जीतबहादुरले हेटौंडाका राजनप्रसाद लम्साल र निरजकुमार मानन्धरको सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी शेयरधनी सञ्चालक अध्यक्ष राम निरञ्जन जटियाको नामको सम्पूर्ण शेयरहरू खरीद गरेको भनी कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए।

 

निवेदनपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट जीतबहादुर मगरको नाममा नामसारी समेत गराई कम्पनीको नाममा रहेको करिब ७० करोड रूपैयाँ मुल्यको सम्पत्ति बेचबिखनको काम भएको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...