संघीय संसद्को बजेट अधिवेशन सकियो, कता गयो एनजीओले भित्र्याएको २० अर्ब ?



 

सङ्घीय संसद्को दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि समापन भएको छ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई बिहीबारसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ ।

 

यसबीच ६९ दिनमा ७९ पटक बैठक बसी १९३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भयो । गत जेठ ७ गतेदेखि असार ८ गतेसम्म संसद्को संयुक्त बैठक चार पटक बस्यो । संयुक्त अधिवेशनमा छ घण्टा ५० मिनेट संसदीय कारवाही भयो ।

 

पहिलो अधिवेशनमा गठित नियमावली मस्यौदा समितिले गत वैशाख २३ गते प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि दफावार छलफल भई संशोधनसहित जेठ २५ गतेको बैठकबाट बहुमतले पारित भएको थियो ।

 

चासोका रुपमा हेरिएको “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्रा डा गोविन्द केसीसँग ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । प्रा डा केसीले सङ्घीय संसद् बैठकमा सो विधेयक पेश नभए आफू पुनः अनशन बस्ने बताउँदै आएका छन् ।

 

कता गयो एनजीओले भित्र्याएको २० अर्ब ?
गैरसरकारी संस्था (एनजीओ) ले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए ।  त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ । नेपालका ७ सय २३ एनजीओलाई २०७४÷७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो। तर, ऊ चुपचाप बसेको छ।

 

‘अर्बौं रकम विदेशवाट आइरहेको छ । त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले भने, ‘अब राज्यस्तरबाटै सशक्त संयन्त्र बनाएर एनजीओमार्फत आउने अर्बौं रकमको सदुपयोग सम्बन्धमा नियमित अनुगमन गर्न जरुरी छ।’ परिषद् उक्त मन्त्रालयअन्तर्गत पर्छ। यसको अध्यक्ष मन्त्री हुन्छन् ।

 

एनजीओहरूले गएको आर्थिक वर्ष १ हजार १ सय ८१ योजना सञ्चालन गरेको कागज देखाएका छन् । त्यसका लागि विदेशबाट ल्याएको २० अर्ब २९ लाख ७४ हजार रुपैयाँ खर्चिएको दाबी गरेका छन् । अधिकांश गोष्ठी, सेमिनार र तिनको नक्कली तथ्यांक बनाएर बजेट सक्ने गरेको सरकारी अधिकारीहरू नै बताउँछन्।

 

परिषद्का पदाधिकारी स्वयं यसमा बुझ पचाउँछन्। ‘पदाधिकारी र कर्मचारीमा सुशासनको भावना विकास हुन नसक्दा समस्या भएको हो’, परिषद्का कोषाध्यक्ष बीरबहादुर ठगुन्नाले भने, ‘समाज कल्याण परिषद्को संरचना र कानुनमा आमूल सुधार र परिवर्तन नहुँदासम्म समस्या यथावत् रहनेछ।’ अनुगमनका नाममा उल्टै अनियमितताको चाङ रहेको मानिने परिषद् यतिबेला आफैं थला परेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

 

अनियमितता बारे लेखा समितिले अध्ययन गर्ने
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकृयामा अनियमितता भएको भन्ने विषयमा छानविन गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले अनियमितताबारे सम्बन्धित निकायँग शुक्रबार छलफल गर्ने निर्णय गरेको हो । समितिले कतिपय संघ संस्थाहरुको लेखापरीक्षण नै नभएकाले यसवारे महालेखापरीक्षकको कार्यालयसंग पनि छलफल गर्नेे निर्णय गरेको छ ।

 

कर्जा अपचलनको मुद्दामा सिताराम प्रसाईंसहित ५ जना भ्रष्टाचारी ठहर 
तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सिताराम प्रसाईं कर्जा अपचलनको मुद्दामा दोषी ठहर भएका छन् । प्रतिआना दुई लाख रुपैयाँ पनि नपर्ने जग्गालाई ७० लाख रुपैयाँसम्मको अधिक मूल्याङ्कन गरी कर्जा प्रवाह गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

अख्तियारले गरेको छानबिनबाट प्रसाईंले नक्कली धितो खडा गरी कर्जा दुरुपयोग गरेको पाइएको थियो । विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैधको इजलासले प्रसाईंसहित ५ जना प्रतिवादीले कर्जा अपचलन गरेको भन्दै दोषी ठहर गरेको हो । कर्जा अपचलको अभियोग लागेका प्रसाईंलाई १ वर्ष कैद र ३५ लाख रुपैयाँ जरिवानको सजाय सुनाइएको छ ।

 

प्रहरी नायब निरीक्षक पक्राउ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो ।

 

आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा थप पक्राउ गरिएको हो । आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

 

पूर्व डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा
तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दाका प्रतिवादी नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले बिहीवार निरौलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

 

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय शारङ्गा सुवेदी र जनक पाण्डेको इजलाशले निरौलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । आरोपित कसुरमा संलग्नता नदेखिएको भन्दै उच्च अदालतले निरौलालाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।

 

मोरङ जिल्ला अदालतले तस्करीको साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीमा निरौलाको संलग्नता रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उच्च अदालत जिल्लाको आदेश बदर गर्दै निरौलालाई तारेखमा राखेर मुद्दाको कारबाही किनारा लगाउन भनेको छ ।

 

निरौलाको मुद्दामा उच्च अदालतमा १९ पटक पेशी स्थगित भएकोमा शुक्रवार न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलाशले तारेखमा रिहा गर्ने आदेश दिएको हो । सुन तस्करी प्रकरणमा जिल्ला अदालतले थुनामा पठाएका तत्कालीन उच्च प्रहरी अधिकारी उच्च अदालतबाट रिहा गर्ने क्रम जारी छ । उच्च अदालतले यसअघि निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसीलाई तारेखमा छोडिसकेको छ ।

 

सरकारप्रति नेकपाका शीर्ष नेता नै असन्तुष्ट
पछिल्लो समय सरकारको कामप्रति प्रतिपक्षी दलमात्र नभएर स्वएम सत्तारुढ दलकै शीर्ष नेताहरुले असन्तुष्टी जनाउन थालेका छन् । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले नै सार्वजनीक रुपमा सरकारको आलोचना गर्न लागेका हुन् ।

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अखण्डतामाथि चुनौती दिइरहदाँ गृहप्रशासन गम्भीर नभएको आरोप लगाउँदै आलोचना गरे । सरकारका कामको पछिल्लो समय आलोचना मात्रै हुने गरेको उनको भनाइ छ।

 

बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई मुडभेडमा धकेल्न खोजेको आरोप लगाए ।

 

गच्छदारले सत्तापक्षका सांसदलाई उचालेर प्रधानमन्त्री ओलीले देशलाई मुठभेडमा लैजान खोजेको आरोप लगाएका हुन् । प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको उनको भनाइ छ ।

 

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित 
सङ्खुवासभामा जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा  निलम्बनमा परेका हुन् ।

 

उनीहरूमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ । प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए ।

 

नेपालले श्रीलङ्कालाई हरायो
भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।     भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने ।

 

उनले खेलको ३५औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक सावित भयो ।     नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३–१ र अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो भने थाइल्याण्डसँग २–० र इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्