धनगढीका मेयर बडविरुद्ध २२ सांसदको उजुरी, यस्ता छन् अाराेप
धनगढी उपमहानगरका मेयर नृप बडमाथि कार्बाहीको माग गर्दै २२ सांसदले एकैपल्ट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
उनीहरुले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश राजधानीको विषयमा उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले मेयर बडमाथि कार्बाहीको माग गर्दै निवेदन दिएका हुन् । प्रदेश–७ को अस्थायी राजधानी धनगढी तोकिएको छ ।
तर, प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेपछि धनगढीका मेयर वड आफैं आन्दोलनमा उत्रिएका छन् । उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो ।
त्यसक्रमा बडले प्रदेशसभामा आगो लगाउने, प्रदेश सांसदको घर जलाउने तथा भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मेयरकै कारण अप्रिय घटना हुन सक्ने अवस्था आएको भन्दै सांसदहरुले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न माग गरेका हुन् ।
मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर वन तस्कर र भूमाफिया समेत संलन भएर गोदावरी नगरपालिका–४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै विरोध गरेका छन् ।