केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न सुझाव



 

जगन्नाथ खतिवडाको राजनीतिक जीवनमा एकपटक फेरि करीव तीन दशकअघिको जस्तै बागी बन्नुपर्ने नियति दोहोरिएको छ । ०४३ सालमा आरआर क्याम्पस र त्यसपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको सभापति जित्ने बेलासम्म खतिवडा प्रखर भाषणवाज विद्यार्थी नेताका रुपमा स्थापित थिए ।

 

नेपाली साहित्यका विद्यार्थी खतिवडा तत्कालीन नेकपा मालेको भातृ सगंठन अनेरास्ववियुमा हुँदैखेरि पार्टीको दुई लाइन संघर्षमा सीपी मैनालीतिर लागे । सीपी– झलनाथ समूहमा लागेकै कारण उनलाई ०४९ सालपछि बहुदलीय जनवाद पक्षधरले सबैतिर निषेध गरेपछि पार्टीमा टेक्ने ठाउँ पाएनन् ।

 

त्यसपछि जीवन चलाउन खतिवडाले आरआर क्याम्पस र निजी विद्यालयमा पढाउन थाले । ०५३ सालमा अनेरास्ववियुमा तत्कालीन अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालको गुटबीच तीब्र विवाद भएर पार्टी नै फुट्ने अवस्था आएपछि खतिवडाको पुनरागमन भयो । उनी त्यतिबेलासम्म माधव नेपाल र केपी ओली नेतृत्वको गुटका विश्वासिला भइसकेका थिए ।

 

पार्टीले अरुण नेपाललाई अध्यक्ष र जगन्नाथ खतिवडालाई महासचिव बनाएर अनेरास्ववियु पुनर्गठन गरेपछि खतिवडा पुनः राजनीतिमा उदाए । ०५६ सालमा एमालेबाट उदयपुरबाट सांसद निर्वाचित भएपछि संसदीय राजनीतिमा पनि उनी स्थापित भए ।

 

दुईपटक एमालेको केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्य भइसकेका खतिवडा पछिल्लो समय पुनः ०५३ अघिको अवस्थामा पुगेको महशुस गर्दैछन् भन्ने उनीसँगको अन्तर्वार्ताका क्रममा महशुस भयो ।

 

पहिलो संविधानसभा चुनावमा खतिवडाले उदयपुरबाट चुनाव लड्न पाएनन् । पार्टीले बार एशोसियसनका तत्कालीन अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शम्भु थापालाई उम्मेदवार बनायो । एक दशकदेखि पार्टीको काममा मात्र खटिएका खतिवडाले उदयपुर १ मा यसपटक टिकट पाउने पक्का थियो ।

 

तर, खतिवडालाई सांसद बन्न नदिने नियतबाटै सो निर्वाचन क्षेत्रनै माओवादीलाई दिएर गठबन्धनमा सिट बाँडफाँड गरिएको आरोप तत्कालीन एमालेभित्रबाटै लाग्यो । पार्टीभित्र माधव नेपाल गुटका चिनिएका नेता भएकाले गुटको कोभभाजनमा परेका खतिवडाले उम्मेदवारी दिएर पनि फिर्ता लिए ।

सांसद बन्न नपाएका खतिवडा नेकपाको प्रदेश १ को अध्यक्षका दाबेदार थिए । तर, उनलाई अध्यक्ष बन्न पनि दिइएन ।

 

तपाईं प्रदेश १ को अध्यक्षको दाबेदार हुनुहुन्थ्यो । तर, केन्द्रीय सचिवालयले नपत्याएपछि आक्रोशित हुनुहुन्छ होइन ?

सबैभन्दा पहिले नेकपाको बिधान बनाउदाखेरि नै अलिकति नकारात्मक सोचले काम गरेको छ । स्थायी कमिटीलाई अधिकार प्रदान नगर्ने र सम्पूर्ण अधिकार सचिवालयमा केन्द्रित गर्ने सोचबाट नेतृत्वका केही नेताहरु अघि बढ्नुभयो । धेरै हिसाब–किताब गरेर उहाँहरुले एउटा सचिवालय भन्ने गठन गर्नुभयो ..

 

(बीचमै रोकेर) हिसाब–किताब भन्नाले ?

त्यो भन्नाले भोलि को कसको पक्षमा लाग्ला, को विपक्षमा लाग्ला ? यहाँभित्रको समीकरण के होला भन्ने जोडघटाउ गरेर सचिवालय बनाइएको हो । नत्र ९ जनाको साटो ११ जनाको सचिवालय पनि त उहाँहरुको बन्न सक्थ्यो । सचिवालयमा नपरेकोमा चित्त दुःखाउने अरु धेरै सिनियर नेताहरु पनि हुनुहुन्छ ।

 

तत्कालीन एमालेका उपाध्यक्षहरु सचिवालयमा पर्न सक्थे । अष्टलक्ष्मी शाक्य, भीम रावलजस्ता नेताहरु सचिवालयमा पर्न अयोग्य थिएनन् । ९ जनाको मापदण्ड जुन उहाँहरुले बनाउनुभयो, त्यो नै प्रश्नवाचक चिह्नले घेरिएको छ ।

 

तत्कालीन माओवादीमा पनि त्यस्तै छ । त्यो सचिवालय ९ जनाको नभएर १५ जनाको बनाउँदा बिग्रने के थियो उहाँहरुको ? प्रश्न धेरै छन् ।

 

दुईजना अध्यक्षले यो बनाउँदा नै के विचार गर्नुभयो होला भने स्थायी कमिटीलाई अधिकार दिनु भनेको हामी ९ जनाले काम गर्ने कुरामा बाधा पुग्छ, त्यसैले अधिकार आफैं राखौं ।

 

विधानमै उहाँहरुले स्थायी कमिटीले गर्ने राजनीतिक तथा संगठनात्मक निर्णय सचिवालयले गर्ने भनेर राख्नुभयो । समस्या यहीँनेरबाट शुरु भएको हो ।

 

दोस्रो समस्या भनेको ठूलो पार्टीलाई अनुशासित ढंगले चलाउन केही महत्वपूर्ण विधि विधानको आवश्यकता पर्छ । विधान बनाएपछि नियमावली, निर्देशिका, आचारसंहिताहरु जरुरी हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा संगठनात्मक क्रियाकलापहरुको पारदर्शिता हो । विधिविधान भनेको अध्यक्षलाई नलाग्ने र साधारण सदस्यलाई लाग्ने कुरा होइन ।

 

अध्यक्षदेखि साधारण सदस्यसम्म लाग्ने एउटा दस्तावेज विधान र नियमावली हो । उहाँहरुकै कारण यी कुरामा समस्या पैदा भएको छ ।

 

तपाईंको आशय अध्यक्षहरुले विधिविधान मानेनन्, हामीले किन मान्ने भन्ने हो ?

तपाईंलाई म एउटा सानो उदाहरण दिन्छु–

 

हिजोमात्रै उहाँहरुले दुई अध्यक्षका नामबाट परिपत्र तीन पठाउनुभएको छ । परिपत्र तीनमा जिल्ला कमिटीहरुको एकीकरणका सन्दर्भमा पुनः अर्को मापदण्ड तयार गरी पठाइनेछ भनेको छ । यसको अर्थ, पहिलोको मापदण्ड पूर्ण थिएन । पहिलेको मापदण्डले सार्थक परिणाम दिन सक्दैन भन्ने प्रष्ट त्यसबाट प्रष्ट हुन्छ ।

 

विधि विधानमा हिँड्न नचाहने प्रवृत्ति आफैंमा गैरलेनिनवादी चरित्र हो । यो चरित्र तलबाट होइन, माथिबाट प्रकट भइरहेको छ ।

 

तर, यसको दोष दुई अध्यक्षले मात्र किन बोक्ने ? त्यहाँ त ९ जना वरिष्ठ नेताहरु नै छन् नि होइन र ?

मलाई के लाग्छ भने सबैभन्दा पहिले विधि बनाउँदा कमजोरी भयो । पार्टीमा विधि निर्माण गर्दाका कुरामा समस्या भयो । पार्टीले पहिले एकीकरण गर्न कार्यदल बनायो । पूर्वएमाले र पूर्वमाओवादीबाट दुई–दुईजना रहेको कार्यदलको संयुक्त बैठक नाम सिफारिस गर्ने बेलामात्र बस्यो ।

 

एउटा पक्षले अर्काे पक्षका बारेमा चिन्ता नगर्ने अवस्था रह्यो । एमाले सम्वद्ध कार्यदल सदस्यहरु आफैंभित्रका गुट मिलाउन लागे । माओवादीतिर पनि त्यस्तै भयो । पूरा कमिटीहरुसँग छलफल गरेर संयुक्त बैठक राखेर गर्नुपर्ने थियो, तर त्यसो भएन । समय लामो लियो, तर दुईजनाले नाम सिफारिस गर्दा विवाद भयो ।

 

नेतृत्वले अर्को सुझबुझ नपुर्‍याएको कुरा के भने, जिल्ला जिल्लामा भागबण्डा गर्नु थियो भने माथि नै ६०/४० भाग लगाएर पठाइदिएको भए हुन्थ्यो । आज जे विधि अवलम्वन गरियो, त्यसमा जनवाद पनि भएन, केन्द्रीयता पनि भएन । न कार्यकर्तामा छलफल भयो, न त केन्द्रबाट यसो गर भनेर निर्णय दिइयो । त्यसैले यो समस्या आयो ।

 

यो निर्णयमा गुट हाबी भयो कि सीमित नेता ?

यसमा यति धेरै पक्षपातपूर्ण निर्णय भएको छ । मापदण्ड भन्ने चिजै छैन । आफ्नो मनले गरेको निर्णय गर्न नेताहरु स्वतन्त्र हुनुहोला । तर, त्यो वैधानिक हुँदैन । भोलि प्रत्येक व्यक्तिले आफ्नो मनमा लागेका निर्णय गर्दै गएमा उहाँहरुले त्यसलाई वैध मान्नुहुन्छ ?

 

उदाहरणका लागि सकेसम्म दोहोरो जिम्मेवारी नदिने भनेर मापदण्ड बनाइयो । तर, मुख्यमन्त्री पनि छ, पार्टीको इञ्चार्ज पनि बनाउनुभएको छ । आज पार्टी अध्यक्ष स्वयं प्रधानमन्त्री र अध्यक्ष दुवै जिम्मेवारीमा रहेका कारणले दुबै काम राम्ररी गर्न सकिरहनुभएको छैन । कि पार्टीको बैठक राख्न सकिरहनुभएको छैन, कि सरकार राम्रोसँग चलाउन सकिरहनुभएको छैन । समस्या देखिएकै छन् ।

 

पार्टी चलाउन त अर्का अध्यक्ष पनि छन् नि ?

अर्का अध्यक्षलाई एक्लै निर्णय गर्ने अधिकार छैन । दुईटा अध्यक्ष बसेर छलफल गर्नुपर्छ । प्रधानमन्त्री भएको अध्यक्षको समय लिनुपर्‍याे । दुईटाको समय मिल्नुपर्छ, अनिमात्र अघि बढ्ने अवस्था हुन्छ ।

 

एउटै प्रधानमन्त्री पदको जिम्मेवारी सम्हाल्न अनगिन्ति समस्या पैदा भइरहेको समयमा अब प्रधानमन्त्री र अध्यक्ष दुवै पद आफैं भएपछि कुशलतापूर्वक सञ्चालन गर्न समस्या हुन्छ भन्ने हामी हरेकले बुझेकै कुरा हो ।

 

म के देखिरहेको छु भने उहाँहरुले अहिले जसरी निर्णय गर्नुभयो यो निर्णय गर्दा क–कसको कति सहमति भयो भएन मलाई थाहा छैन । तर, स्थायी कमिटीको अधिकार स्थायी कमिटीले प्रयोग गर्न पाएन । उहाँहरुले यति प्रस्ताव बनाएर स्थायी कमिटीमा लगेर निर्णय गरेको भए हुन्थ्यो ।

 

तर, उहाँहरुले स्थायी कमिटीमा लैजाने कोशिशै गर्नुभएन । सबैभन्दा ठूलो अनुशासनको उल्लंघन त त्यही सचिवालयभित्रैबाट भयो नि ।

 

तपाईंको मतलब, केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्छ भन्ने हो ?

निश्चय नै । एक व्यक्ति एक पदको रुपमा उहाँहरु किन नजाने ? अरुलाई एक व्यक्ति एक पदको मापदण्ड बनाउने, आफूले चाहिँ पालना नगर्ने हुँदैन । मन परेकोलाई जतिवटा पद पनि दिने, अरुलाई चाहिँ बेरोजगार भएर यत्तिकै सडकमा डुली हिँडोस् जस्तो वातावरण निर्माण गरिदिने काम भइरहेको छ ।

 

एक ठाउँमा मापदण्ड अनुरुप नै छ भन्ने हिसाबले पुराना भइरहेका प्रदेश संयोजकलाई अहिलेको प्रदेशको इञ्चार्ज पनि बनाइदिने । अर्को ठाउँमा पुरानो भइरहेको व्यक्तिलाई त्यहाँ जिम्मेवारीबाट हटाइदिने काम भएको छ । एक ठाउँमा जुनियरलाई पनि सिनियर पोष्टमा पुर्‍याइदिने, अर्को ठाउँमा सिनियरलाई पनि बेवास्ता गर्ने ।

 

कार्यकारी जिम्मेवारी सांसदहरुलाई नदिने भनेर पहिल्यै मापदण्ड बनाइयो भनियो । अहिले सांसदलाई प्रदेश सचिव र सहइन्चार्ज इञ्चार्ज दिइएको छ । पूर्णरुपमा अस्तव्यस्त र मनोगत हिसाबले कसलाई काखी च्याप्ने र कसलाई फाल्ने दुषित मनसायबाट शुरुआत गरिएको काम हो, प्रदेश पदाधिकारी चयन ।

 

तपाईंले भेनेको यो दुषित मनसायचाहिँ ओलीमा मात्रै देखियो कि दुईटै अध्यक्षमा देखियो ?

 

आज निर्णय गर्दा कमिटीले निर्णय गर्‍याैं भनेपछि त समग्र कमिटीको दोष देखियो । उहाँहरुभित्र अन्तरद्वन्द्व, विचार विमर्षको स्थिति कस्तो थियो मलाई थाहा छैन । तर यो समग्रमा ९ जनाको कमिटीमा ७ जना हुनुहुन्थ्यो । माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई अहिले केही भन्न सकिएन । ७ जनाभित्र कसरी छलफल गर्नुभयो, थाहा छैन ।

तर, मूलतः दुईवटा अध्यक्षलाई जिम्मेवारी सुम्पिएको हुनाले यो दुुषित कार्यको जिम्मेवारी उहाँहरुले लिनुपर्छ ।

 

हिजो पार्टी एकीकरण गर्दा झलनाथ खनाल विदेश गएको मौका पारियो, अहिले माधव नेपाल विदेश गएको बेला पर्‍याे, यो संयोगमात्र हो जस्तो लाग्छ कि नियोजित ?

मैले सुनेसम्म कमरेड नारायणकाजी श्रेष्ठले आफू विदेश जानुभन्दा अघि यदि बैठक बस्छ र निर्णय हुन्छ भने म विदेश जान्न, यहीँ बस्छु, होइन भने मात्रै जान्छु भन्दा होइन जानुस् त्यस्तो छलफल अहिले केही पनि हुँदैन भनेर नेतृत्वले भनेको कुरा मैले सुनेको छु । आधारिक कुरा उहाँले नै भन्नुहोला ।

 

मैले बुझे अनुसार माधवकुमार नेपालसँग छलफल गर्दा हामी सबै फर्केर आएपछि, प्रधानमन्त्री न्युयोर्कबाट फर्केपछिमात्रै यस्ता कमिटीगत निर्णय हुन्छन् भनेर उहाँले भन्नुभएको हुनाले माधव नेपाललाई पनि यो कुराको जानकारी थिएन ।

 

जानीजानी केही नेता गएको मौकामा सात जना, सात जनामा पनि कतिपयले त अध्यक्ष बोलेपछि हामीले बोल्नुहुन्न भन्ने मनस्थितिमा पुग्नुभएको होला । कतिलाई यसैमा एकदम आनन्द आइरहेको पनि होला । मूलतः यसप्रकारको काखापाखा गर्ने निर्णयमा दुई अध्यक्ष नै जिम्मेवार भएको म देख्छु ।

 

एक व्यक्ति एक पद भन्ने कुरा तपाईंहरुले उठाइरहनुभएको छ, यो त ओलीविरुद्धको अभियान जस्तो भएन र ?

यसका दुईटा पक्षलाई हेर्नुपर्छ । दुईटा अध्यक्ष राखिनु भनेको यो संगठनात्मक एकीकरण थियो । दुईटा संगठनको एकीकरण हुँदा एमालेका केन्द्रीय कमिटी सदस्यहरु सबै त्यसमा बसे । माओवादीका निर्वाचित केन्द्रीय सदस्यहरु बसे । दुवैतिरबाट केही मनोनित भए र दुवै कमिटीका अध्यक्ष भए ।

 

उहाँहरुले यो सिद्धान्त अवलम्वन गर्नुभयो माथि । तर, तलचाहिँ दुईवटा कमिटीलाई एकीकरण गर्नेतिर भन्दा मनखुसी आफ्ना मान्छे नियुक्त गर्ने र अरुलाई पँजनी गर्नेतिर लाग्नुभयो । उहाँहरुले बनाएको सिद्धान्त आफैं खण्डन गर्नुभयो ।

 

यसकारण मलाई के लाग्छ भने, म त हिजो पनि दुईटा अध्यक्ष बनाउने कुरा चित्त नबुझाएको मान्छे हुँ । अध्यक्ष एउटै हुनुपथ्र्यो । एउटा अभ्यास गर्नुभयो उहाँहरुले भनेर चित्त बुझायौं ।

 

तर, अहिले दुईटा अध्यक्ष एकले अर्कोलाई अविश्वास गर्ने ठाउँमा पुग्नुभयो भने, अलिकति कामको चित्त बुझेन भने त काममा गतिरोध आउने भयो । यसको संकेत हामीले देखिसकेका छौं । दुईटै अध्यक्ष एउटै गलत कामको दोषको भागीदार बन्दा दुबैजना तल झर्ने कुरा भयो ।

 

जस्तै– आज सरकार राम्रोसँग चलेन भनेर ब्यापक रुपमा आलोचना भइरहेको छ । यसको भागिदार केपी ओली एक्लै हो कि कमरेड प्रचण्ड पनि हो ? कि त दुवैजना भागिदार भएको देखिनुपर्‍याे ।

 

यदि केपी ओलीमात्रै यसको भागिदार हुनुहुन्छ भने ओली कमरेडले भन्नुपर्‍याे कि मैले प्रधानमन्त्री र अध्यक्ष दुबै पद भ्याउन सकिनँ । मैले भ्याइनँ, दुवै पद कब्जा गर्दिनँ त्यसैले कि प्रधानमन्त्री, कि अध्यक्ष मात्रै हुन्छु भनेर उहाँले भन्न सक्नुपर्छ । यसको नीतिमा गइयो भने सबैलाई भाग पनि पुग्ला । सबैले जिम्मेवारी पनि पाउलान् । यो दिशाबाट उहाँहरुले किन नसोच्ने भन्ने प्रश्न उठेका छन् ।

 

यो प्रश्न उठाउँदा तपाईंहरु कोपभाजनमा पर्ने खतरा छैन ?

यदि कम्युनिस्ट पार्टीको कुनै कार्यकर्ताले जायज रुपमा देखेको कुरा राजनीतिक र संगठनात्मक ढंगले विश्लेषण गरेर बोल्न पनि पाउँदैन भने त त्यसले कम्युनिस्ट पार्टीको चरित्र नै ग्रहण गर्दैन ।

 

मैले हिजोमात्रै नारायणकाजी श्रेष्ठको अभिव्यक्ति सुनेको थिएँ, नेतृत्वले यस्तै गर्ने हो भने हामी सबै काशीबास गए हुन्छ भन्नुभएको मिडियामा पढेँ । के हामी सबै काशीबास जानुपर्ने हो त अब ?

 

अध्यक्षहरुलाई, महासचिवलाई वा पदाधिकारीलाई हाम्रो कुरा मन नपर्दा प्रत्येक कार्यकर्ताले काशीबास नै जानुपर्ने हो ? उहाँहरुको औचित्यमाथि प्रश्नै उठाउन नपाइने कम्युनिस्ट पार्टी बनाउन लागेको हो हामीले ?

 

वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मले एक व्यक्ति एक पदको मापदण्ड मान्नुपर्छ । भोलि प्रचण्ड प्रधानमन्त्री हुनुभयो भने पनि उहाँले अध्यक्ष छाड्नुपर्छ भन्ने कोणबाट मैले भनेको हो

 

अध्यक्षले मप्रति न्याय गर्नुभएन भन्न नपाउने ? काशिवास नै जानुपर्ने ? मजस्ता अन्यायमा परेका व्यक्तिले सडकमा बस्नुपर्ने कि गिटी कुट्नुपर्ने ? कि के हो ? यस्ता धेरै प्रश्न लाखौं कार्यकर्ताले गर्नेछन् ।

 

काशीबास जाने कि संगठित हुने भन्ने दुई विकल्प देखिएकै हो त ?

मजस्ता अन्यायमा परेका मान्छेहरु असंगठित बस्न सक्दैनन् । विस्तारै संगठित हुँदै जान्छन् । यो पार्टी एक जना व्यक्तिले निर्माण गरेको होइन । उहाँहरुदेखि मसम्म, मदेखि सामान्य समर्थकसम्मले निर्माण गरेको पार्टी हो । एक÷एक भोट थपेर हामीले ५५ लाख भोट पाएका हौं । पूर्वाग्रहवस हामीलाई पाखा पार्न खोज्दैमा हामी चुप लागेर बस्दैनौं ।

 

अन्तरघुलन हुन नपाउँदै जटिलतम गुटबन्दीको शुरुवात उहाँहरुले गर्नुभएको देखिरहेको छु । आज एउटा मापदण्डका आधारमा हिजोको कमिटीका सिनियर व्यक्तिहरुलाई कमिटीगतरुपमा काम गरिरहेको बरियताका आधारमा नेतृत्व दिने निर्णय उहाँहरुले गर्नुभएन भने त्यही दिनदेखि प्रत्येक जिल्लामा प्रत्यक्ष रुपमा चिरा पर्नेछ र गुटबन्दीको नयाँ शुरुवात हुनेछ ।

 

म आजै देखिरहेको छु, एउटा व्यक्तिलाई अन्याय गर्नका निमित्त नेतृत्व स्वयं लाग्छ भने त्यो व्यक्तिले आफूमाथि अन्याय गर्ने नेतृत्वप्रति सहानुभूति राखेर सहयोग गर्छ कहिल्यै ?

म त केन्द्रीय कमिटीमा आफैं पटक–पटक बसेर छलफल गरेको मान्छे हुँ । झलनाथ खनाल अध्यक्ष हुँदा केपी कमरेड कुन ढंगले प्रस्तुत हुनुहुन्थ्यो, त्यो मैले देखेको छु, भोगेको छु ।

 

त्यसपछि कमरेड ओली अध्यक्ष भएको बखतको कार्यकाल पनि मैले भोगेको छु । आफूचाहिँ धेरै चोखो, अरु सबै दुषित र कमजोर भन्ने उहाँहरुले देख्नुहुन्छ भने त्यहीँनेर महाभूल हुन्छ ।

 

ओली र प्रचण्ड मिलेपछि कसको के लाग्ने ?

त्यस्तो हुँदैन । यदि उहाँहरुले त्यसो गर्न लाग्नुभयो भने कार्यकर्ताले उहाँहरुलाई जवाफ दिन्छन् । यो पार्टी उहाँहरु दुईजनाले मात्र बनाएको होइन । हरेक स्वाभिमानी कार्यकर्ताले उहाँहरुलाई प्रश्न गर्नेछन् ।

 

उहाँहरु विरुद्ध देशव्यापीरुपमा हामीजस्तै मान्छेहरु संगठित भएर अन्यायको विरुद्ध आवाज उठाउँदै हिँड्छ । त्यसकारण अन्याय गर्दै जानुभयो भने प्रतिवाद पनि संगठित हुन्छ । त्यो सचिवालयभित्र पनि हुन्छ । स्थायी कमिटीबाट पनि हुन्छ । केन्द्रीय कमिटीबाट पनि हुन्छ ।

 

तलदेखि माथिसम्म हुन्छ । केन्द्रीय कमिटीका सदस्यहरुले पार्टी अध्यक्षलाई भेट्ने समय समेत पाउँदैनन् भने हामी कस्तो पार्टी निर्माण गर्दैछौं भनेर सोच्ने बेला आइसकेको छ ।

 

एकीकरण सम्पन्न नहुँदै यस्तो अवस्था आयो, यो किन भयो ?

एकीकरण भएको भनेर जिल्ला तहमा घोषणा गरेको दिन प्रत्येक जिल्लामा एक/एकवटा गुट नयाँ ढंगबाट निर्माण हुन्छ भन्ने कुराको चेतना नेताहरुलाई होस् । यदि उहाँहरुले विधि विधान र मापदण्डभित्र हिँडेर काम गर्नुभएन भने सम्हाल्न नसकिने अवस्था आउन सक्छ । समानान्तर कमिटी बन्ने ठाउँमा पुग्न सक्छ । स्पष्ट रुपमा पार्टीलाई क्षयीकरण हुनेछ ।

 

हामीजतिको नेता कार्यकर्ताहरु अपमानवोधको भूँवरीमा फसेका छौं भने स्वाभिमानका लागि हामी देशभर दौडिन सक्छौं भन्ने उहाँहरुलाई ज्ञात होस् । हामीले पद नपाइएला, तर देशभर कार्यकर्ताको माया पाउन सक्छौं । आजको एकीकरण गर्दा अबको दशौं महाधिवेशनलाई हेरेर गरिन्छ भने पार्टी बिग्रिन्छ ।

 

पार्टीभित्रको यही असन्तोषका कारण सरकार र नेतृत्वमाथि बाहिरबाट प्रहार हुँदा पनि प्रतिवाद नभएको भनेर प्रधानमत्रीले आक्रोश व्यक्त गर्नुपरेको हो ?

यसमा प्रधानमन्त्रीले दोष आफूभित्र र आफ्नो मन्त्रिपरिषदभित्र खोज्नुपर्‍याे । यदि यो सरकारको बिरोधी कोही छ भने त्यो मन्त्रिपरिषदभित्रै छ । त्यो बिरोधी भनेको उहाँहरुको कार्यक्षमता, प्रशासनिक दूरदृष्टिभित्र खोजिनुपर्छ ।

 

पार्टीले मुलुक चलाउने जिम्मा उहाँहरुको हातमा सुम्पेको छ । अर्थतन्त्र उहाँहरुले परिचालन गर्ने हो । मूल्यवृद्धि कालोबजारी उहाँहरुले नियन्त्रण गर्ने हो । सुशासन उहाँहरुले दिने हो । लिएका नीतिमा उहाँहरुलाई सहयोग गर्ने पार्टीले हो । आम जनताले त परिणाममा हेर्ने हो । सरकारको प्रतिरक्षा गर्ने काम पार्टीका नेता कार्यकर्ताको हो ।

 

आज म र मजस्ता धेरै कार्यकर्ताहरु आफूमाथि अन्याय भएको महशुस गर्छन्, पक्षपात भएको महशुस गर्छन्, जिम्मेवारी बनाएकोमा खिन्नता महशुस गर्छन् र आमरुपमा पार्टीको नेतृत्व ठीक ढंगले चलिरहेको छैन, ,असमानता छ विभेद छ, पूर्वाग्रह छ भन्ने महशुस गर्छन् भने पूर्वाग्रहको शिकार भएका र चित्त दुःखेका कार्यकर्ताले उत्साहप्रद रुपमा नेतृत्वको प्रतिरक्षा गर्छन् ? चुप लागेर सुनेर बस्छन् । यो कुरा त उहाँहरुले बिचार गर्नुपर्ने हो ।

 

त्यसोभए सचिवालय बैठकले गरेको निर्णय नमान्ने भनेर जानुहुन्छ त ?

म त भन्छु– सबैभन्दा पहिले यो निर्णयलाई अहिले कार्यान्वयन नगर्नुस । परिपत्र ३ स्थगन गर्नुस् । उहाँहरुलाई अहिले सपथग्रहण पनि नगराउनुस् । यो विषयलाई व्यापक छलफल परामर्श गरेर स्थायी कमिटीमा लैजानुस् ।

 

स्थायी कमिटीले मात्रै यसको निर्णय गर्छ । यसको अन्तिम निर्णय केन्द्रीय कमिटीबाट हुने भएकाले त्यहाँ अनुमोदन गरेर कार्यन्वयनमा लैजानुहोस् । यो निर्णय कार्यन्वयन गर्न जानुभयो भने आजैदेखि समस्यामा फस्ने निश्चित छ ।

 

दोस्रो कुरा, तलदेखि माथिसम्म सकेसम्म एक व्यक्ति एक पदको अवधारणा लागु गर्नुहोस । जसले गर्दा धेरै नेता कार्यकर्ताले जिम्मेवारी पाउँछन् । वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मले एक व्यक्ति एक पदको मापदण्ड मान्नुपर्छ । भोलि प्रचण्ड प्रधानमन्त्री हुनुभयो भने पनि उहाँले अध्यक्ष छाड्नुपर्छ भन्ने कोणबाट मैले भनेको हो ।

 

निवर्तमान कमिटीको वरियतालाई आधार बनाएर एकीकरण गरियोस् । योभन्दा पनि गम्भीर त केन्द्रीय सदस्यहरुको कार्यविभाजनको अर्को प्रश्न आउँदैछ । आज जसरी सचिवायले प्रदेश पदाधिकारी चयन भए, केन्द्रीय सदस्यको कार्यविभाजनमा ठूलो पक्षपात हुने देखिन्छ ।

 

यसलाई हेर्दा त पार्टी गम्भीर असहमतिका बीचमा, तनावका बीचमा सञ्चालन हुने अवस्था देखिन्छ । धेरै नेता कार्यकर्ता पूर्वाग्रहको शिकार हुने खतरा देखिएको छ । आगामी ५ वर्षमा हामीलाई अत्यन्तै रक्षात्मक बनाउने म देखिरहेको छु ।

 

मेरो प्रश्न स्थायी कमिटीलाई छ– स्थायी कमिटीले आफ्नो स्वाभिमान र अधिकारलाई सही ढंगले प्रयोग गर्छ कि गर्दैन ? पार्टी अध्यक्ष र महासचिव चलाउन सक्ने नेताहरु त्यहाँ हुनुहुन्छ । उहाँहरुले के गर्नुहुन्छ भनेर कार्यकर्ताले पर्खिरहेका छन् ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

      मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष

रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला