निर्मला हत्या प्रकरणमा एसपी बिष्ट नै मुख्य दोषी, मैनाली समिति पन्छियो, बस्न्यात समिति अल्झियो
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी डिल्लीराज बिष्ट नै दोषी देखिएका छन् ।
घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा एसपी विष्टले नै गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको हो ।
समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी देखाइएको छ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको प्रतिवदेनमा एसपी बिष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ।
मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको कारण खुलाइएको छ। गृहमन्त्री थापाले प्रतिवेदनमा सुझाइएका विषयवस्तु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिवेदनमा एसपी बिष्टकै कारण आन्दोलनको स्वरुप बढेको तथा पीडित परिवारले न्याय पाउन ढिलाइ भएको उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो । प्रतिवेदनमा प्रहरीबाट भएका लापरबाही उल्लेख गरिएको छ। पीडित परिवारले शंका गरेका व्यक्तिहरुलाई जिल्लाका तत्कालीन प्रहरी अधिकृतहरुले किन संरक्षण गरे भन्ने विषय पनि खुलाइएको छ।
छानबिन भने तत्काल सार्वजनिक नहुने भएको छ । प्रतिवेदन प्रहरी अनुसन्धान सकिएपछि मात्रै सार्वजनिक हुने भएको हो। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषय प्रमाणका रुपमा भएकाले तत्काल सार्वजनिक गर्दा प्रहरी अनुसन्धानमा प्रभाव पर्छ।
साउन १० गते निर्मला हराउने बित्तिकै परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले वास्ता गरेन । ११ गते उनको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
सिआइबीको अनुसन्धान विवादमा तानिएपछि गृह मन्त्रालयले भदौ ७ गते हरि मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो।
यसअघि सिआइबीकै सहयोगमा स्थानीय दिलीप बिष्टलाई पक्राउ गरी प्रहरीले दोषी भन्दै भदौ ४ गते सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्केको थियो। जसका कारण एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर छन् । दर्जनौं घाइते भएका छन् ।
हाल प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी धिरु बस्न्यात संयोजकत्वको ९ सदस्यीय टोलीले हत्या घटना र त्यसको छानबिनमा संलग्न प्रहरीमाथि अनुसन्धान गरिरहेको छ।
बस्न्यात टोली पनि अपराधीको वरिपरि पुग्न नसकेको बताइन्छ । गृहमन्त्री बादल भने यो ठूलो समूह रहेको दावी गर्दै आएका छन् । यदि ठूलो समूह छ भने पक्राउ गर्न कसले रोक्यो ? भनी प्रश्न गर्ने अधिकारकर्मीहरु धेरै छन् ।
उनीहरुले यो अपराधलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला माछा’ भन्ने गरेझैं हुने हो कि भन्ने आशंका गरेका छ ।