निर्मला हत्या प्रकरण: दोषी किटान नगरी प्रतिवेदन बुझाइयो



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले दोषी किटान नगरी प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा घटनालगत्तै सुरु भएको आन्दोलनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

 

घटनापछि सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाउनुपर्ने परिस्थिति नै नरहेको प्रतिवेदनमा उल्लेख गरेको छ । गोली चलाउनुपूर्व माथिल्लो निकायबाट लिनुपर्ने अनुमति नलिइएको र भीडलाई नियन्त्रण गर्न सकिने वैकल्पिक उपायसमेत अवलम्बन नगरी गोली चलाइएको तथ्य त्यसमा उजागर गरिएको छ । समितिका एक सदस्यले भने, ‘गोली चलाउनु न्यायोचित थिएन ।’ समितिले घटना कसले र कसरी गर्‍यो भन्ने पत्तो लगाउन सकेन ।

 

निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषीको पहिचान नगरिएको र अनुसन्धानलाई प्रभावकारी नबनाइएको भन्दै कञ्चनपुरवासीहरू आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा ८ भदौमा प्रहरीले चलाएको गोली लागी एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आधा दर्जन गम्भीर घाइते भएका थिए ।

 

भदौ ७ मा गृह मन्त्रालयले गठन गरेको गृह सहसचिव इश्वरराज पौडेल नेतृत्वको उच्चस्तरीय छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको हो । गृहमन्त्री रामबहादुर थापालाई समितिका संयोजक एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीले प्रतिवेदन बुझाएका हुुन् ।

 

स्रोतका अनुसार निर्मलाको बलात्कार र हत्यामा को संलग्न थियो भन्ने किटान नगरिएको प्रतिवेदनमा घटनालगत्तै प्रहरीको भूमिका र घटनापछि विकसित परिस्थितिबारे विश्लेषण गरिएको छ ।

 

मन्त्रालयले प्रतिवेदनमा के/के समेटिएको छ भन्नेबारे केही औपचारिक रूपमा खुलाएको छैन । समितिका एक सदस्यका अनुसार प्रमाणहरू किन नष्ट गरियो भन्दा पनि कसरी नष्ट गरियो भन्ने तथ्य प्रतिवेदनमा छ ।

 

घटनापछि आन्दोलनमा को/को कसरी खटिए र तिनीहरू कतैबाट परिचालित थिए कि भनेर पनि समितिले हेर्ने प्रयास गरेको छ । समितिले प्रहरीले कसरी अनुसन्धान अगाडि बढायो, क–कसलाई भेट्यो र स्थिति किन प्रहरी प्रशासनको नियन्त्रणमा रहेन भन्ने तथ्य पनि खुलाएको छ ।

 

मोडिएको बाटो 
घटनाबारे सत्यतथ्य पत्ता लगाउने भनिएको समितिले नै घटना कसले र कसरी गर्‍यो भन्ने तथ्यबारे केही किटान नगरेपछि निर्मलाको बलात्कार र हत्याको घटनाको गुथ्थी फुक्ने सम्भावना कमजोर बनेको छ ।

 

त्यसो त केन्द्रीय अनुसन्धान ब्युरोका एसपी ठाकुर ज्ञवाली नेतृत्वको समितिले अहिले पनि जिल्लामै बसेर अनुसन्धान गरिरहेको छ । उक्त समितिले घटनाबारे शून्य बिन्दुबाट अनुसन्धान थाले पनि घटना कसले गराएको भन्नेबारे केही भरपर्दो आधार फेला पारिसकेको छैन ।

 

सीआईबी टोलीले पार्टी भएको भनिएको ओपेरा होटलको सीसीटीभीमा रहेको डिलिट भएको भिडियो फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याब पठाएको छ । घटनाबारे यसअघि गरिएको कल डिटेलको पुन: अनुसन्धान पनि सँगसँगै सुरु गरेको छ, तर उल्लेख्य नतिजा आइहाल्ने विन्दुमा समिति पुगेको छैन ।

 

घटनामा संलग्न प्रहरी अधिकारीको भूमिकामाथि अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी धिरु बस्नेतको नेतृत्वमा गठित समितिले पनि छानबिन जारी राखेको छ ।

 

समितिले घटना कसले घटायो भन्दा पनि घटनाको अनुसन्धानमा प्रहरीको भूमिका कस्तो रह्यो र त्यस्तो भूमिका किन भयो भन्नेबारे अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...